गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन्।
गृह मन्त्रालयमा आइतबार भएको भेटवार्ता द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ।
भेटमा गृहमन्त्री खाणले राजदूत थम्पसनलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए।
नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोगले निरन्तरता पाउने विश्वास उनको थियो।
नेपालमा मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन लागेको जानकारी गराउँदै सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको गृहमन्त्री खाणको भनाइ थियो।
राजदूत थम्पसनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
नेपालको विकासमा अमेरिकाले गर्दै आएको सहयोग निरन्तर रहने राजदूत थम्पसनले बताए।