आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मुखैमा विद्यार्थी संघ संगठनले क्याम्पसहरूमा तालाबन्दीको होड चलाएका छन्।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा शनिबार तालाबन्दी गरेको छ। यसअघि नेविसंघले विराटनगरकै नर्सिङ क्याम्पसमा शुक्रबार ताला लगाएको थियो।
दुवै पक्षले हार्ने डरले तालाबन्दी गरेको विद्यार्थी संघसंगठनका नेताले आरोप लगाएका छन्।
महेन्द्र मोरङमा मतदाता नामावली फाइनल नगरेको र क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो। क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैर जिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइएपछि तालाबन्दी गरेको अनेरास्ववियुका नेता भाष्कर खनालले जानकारी दिए।
यस्तै अन्य क्याम्पसमा गइसकेका विद्यार्थीको पनि मतदाता नामावलीमा नाम समावेश भएको, आफ्नो संगठन निकटका मानिसको मतदाता नामावलीमा नाम प्रकाशित नगरेको उनको आरोप छ।
५७ सय विद्यार्थी अध्ययनरत यो क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियुका एमाले र एकीकृत समाजवादीका संघ-संगठन चुनावी मैदानमा छन्।
नेविसंघले पराजित मानसिकता बोकेर नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको र महेन्द्र मोरङमा क्याम्पस प्रशासनदेखि निर्वाचन समितिले लापरबाहीपूर्ण काममा लागेपछि तालाबन्दी गरेको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले बताए।
नेविसंघले भने महेन्द्र मोरङमा अखिल हार्ने निश्चित भएपछि ताला लगाएको आरोप लगाएको छ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९, १३:३२:२७