संघीय सरकारले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।
मंगलबार विराटनगरस्थित भन्सार परिसरमा रहेको गोदाम घरको साँचो (चाबी) गृहमन्त्री रमेश लेखकले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरेका छन्।
यो घरमा टेन्ट, त्रिपाल, सेल्टर किट, स्लीपिङ ब्याग, ब्लाङ्केट लगायत ११ प्रकारका सामग्रीहरू छन्। नेपाल सरकारले हरेक प्रदेशमा यस्ता गोदामहरू निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्दै आएको छ। यी गोदामहरूमा दातृ निकायहरूले उपलब्ध गराएका विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सामग्रीहरू भण्डारण गरिएका छन्।
अबदेखि विराटनगर भन्सार क्षेत्रमा रहेको गोदाम घर र त्यसको क्षेत्र प्रदेश सरकारको मातहत रहने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले जानकारी दिए।
गोदामको चाबी हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले सरकारले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत यो कदम उठाएको जानकारी दिए।
‘संघीय सरकार संघीयता कार्यान्वयनमा प्रतिबद्ध छ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारले विपद व्यवस्थापनमा प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ। अब चाँडै नै शिक्षा विधेयक, निजामती विधेयक, नेपाल प्रहरीसम्बन्धी विधेयकहरू पास गरेर संघीयताको कार्यान्वयनलाई अझै सार्थक तुल्याइनेछ।’
अहिलेको गठबन्धनले स्थायित्वको सन्देश दिएको दाबी गर्दै लेखकले थपे, ‘यो गठबन्धनले स्थायित्वको सन्देश दिएको छ, औद्योगिक वातावरण निर्माण गरेको छ, मुद्रा सञ्चिति बढाएको छ र समग्र आर्थिक सूचकाङ्कमा पनि वृद्धि भएको छ।’
१० महिनाको अवधिमा सरकारले निराशालाई आशामा बदल्ने काम गरेको उनको दाबी थियो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अहिलेको सरकार गठन भएपछिमात्रै प्रदेशलाई अधिकार हस्तान्तरण हुने प्रक्रिया सुरू भएको बताएका थिए।