प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकार वैशाखसम्म मात्रै टिक्ने भनेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनेक्रममा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग छुट्नेबेला भएको कुराकानीको स्मरण गरेका हुन्।
त्यतिबेला अध्यक्ष ओलीले वैशाखसम्म मात्रै सरकार रहने दाबी गरेको उनले बताए।
‘केपी जीले छुट्ने बेलामा धेरै नै ठूलाठूला शिक्षा दिएर पठाउनुभएको छ। यसको लागि पनि केपीजीलाई धन्यवाद नै भन्न चाहन्छु। मैले त भने नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ तपाई र म नै गएर भनौं न त भनेकै थिएँ लास्ट दिनमा,’ उनले भने, ‘त्यो सम्भव छैन भन्नुभयो इमानदारिताका साथ। त्यसो भएपछि त हामी एकै ठाउँमा हुने भइएन। त्यतिबेला र पटकपटक तपाईं वैशाखभन्दा उता जानुहुन्न। वैशाखमा राष्ट्रपतिको बायाँपट्टिको लबीमा तपाईं र म एकैठाउँ हुन्छौं भन्नुभएको छ।’
उनले थपे, ‘अब उहाँको भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने हामी सबैको हातमा छ।’
यस्तै अघिल्लो सरकारमा एजेन्डा नमिल्नेसँग सरकार बनाइएको हुँदा नटिकेको र अब एजेन्डा मिल्नेसँगकै समर्थनमा सरकार बनाएको हुँदा टिक्ने सम्भावना प्रचुर भएको बताए।
यस्तै अध्यक्ष ओलीले प्रचण्डलाई बालकोटमा बोलाउँदा पहिले गरेका गल्ती महसुस भएर नै आफूलाई प्रधानमन्त्री बनाउन तयार रहेको भन्ने सोचेको पनि उनले बताए।
तर सरकार गठन भएर विश्वासको मत लिने बेलामा ओलीले संसद विघटन गर्नु ठीक हो भन्ने तर्क गरेपछि भने आफू झस्किएको बताए।
‘विश्वासको मत दिँदै गर्दा जसरी चाहिँ संसद विघटन गर्नु सही हो क्यानडा, इंग्ल्यान्ड, कहाँकहाँ यहाँ, शेरबहादुरले पनि विघटन गरेको भनेर सबै कुरा भनेपछि अब यो भंग हुनेतिर गयो भन्नेमा म भित्रबाट पुगिसक्या थिएँ। अब यो अगाडि जाँदैन,’ उनले भने, ‘किनभने त्यही लडाइँ लडिएको थियो, सडकमा लडिएको थियो, अदालतमा लडिएको थियो, सदनमा लडिएको थियो। त्यही लडाइँ यहीँ आइहालेपछि म कसरी सक्छु त्यहाँ बस्न।’
त्यही बेलामा नेपाली कांग्रेसले पनि त्रुटि गरेको भन्दै पश्चाताप गरेपछि कांग्रेससँग लभ परेको बताए।
‘नेपाली कांग्रेस त्रुटि गरिएछ भनेर पश्चाताप गरेपछि मेरो लभ यता परिहाल्यो। त्यो लभ प्रधानमन्त्रीको लागि परेको होइन है नेपाली कांग्रेसका साथीहरू र अरू साथीहरू पनि क्लियर हुनुहोला। एजेन्डाकै लागि हो,’ उनले भने।
दुई महिनामै विश्वासको मत लिनुपर्ने अवस्थाबारे पनि उनले जवाफ दिएका छन्। शान्ति, संविधान, परिवर्तनको रक्षाका लागि पनि यस्तो अवस्था आएको उनले बताए।