नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक तर्साउनेतर्फ नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड उपस्थित रहेको अकोराबको कार्यक्रममा बोल्दै थापाले देश विकासका लागि कसरी अघि बढ्ने त्यतातर्फ ध्यान दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नभएको पनि बताए। जनतामा नैराश्यता देखिएको भन्दै उनले सरकारलाई काम नगरी बस्ने छुट नहुने पनि बताए।
‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक-पटक भनेको छु नागरिकलाई नतर्साउनुस्,’ महामन्त्री थापाले भने, ‘तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ। कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने अवस्था भएको छ।’
प्रधानमन्त्री डरायो भने बल्ल नागरिकका डरबाट मुक्त हुने अवस्था बन्ने उनको भनाइ थियो।
‘प्रधानमन्त्रीले मसँग १७२, १७३ भोट छ। ढुक्क छ भन्दै गयो भने हामीलाई सुन्ने मानिस बाँकी नरहन सक्छ। मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै देखेको थिइनँ। मानिस निराश भएका छन्।’
प्रधानमन्त्री उपस्थित बानेश्वरको एक कार्यक्रम स्थलमा मंगलबार युवाहरूले नाराबाजी गर्दा प्रहरीले मुख बन्द गरिदिएको थियो।
महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
उनले भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने पनि बताए।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९, १२:३६:००