विजय लिम्बूका घरमा एकदिन नौला मान्छे आए। दुई जना हुँदा हुन्, उनी ठ्याक्कै सम्झन सक्दैनन्।
नौला मान्छे आउने उनको एक्लो घर थिएन। अरू घरमा पनि अपरिचितहरू आइरहन्थे। त्यो दिन उनको घरको पालो परेछ। मान्छे मात्रै होइन, उनीहरूका कुरा पनि नौला थिए।
मिजासिला, फरासिला ती मान्छे सरसहयोगका कुरा गर्थे। मानौं, आफन्ती वा इष्टमित्र हुन्।
'बुवा बाहिर बस्नुहुन्थ्यो, घरमा आमा मात्रै हुनुहुन्थ्यो,' विजयले त्यो दिन सम्झिए, 'उनीहरूले सबै कुरा आमासँगै गरे। भनौं न, आमालाई फकाए।'
आयआर्जनको भरपर्दो माध्यम नभएको परिवार। छोराछोरीको लालनपालन, पढाइ नै बोझ बन्छ। यस्तोमा कसैले बालबच्चा पढाइदिन्छु, आर्थिक भरथेग गर्छु भन्दा खुसी नहुनु किन?
नाइँ भन्ने अवस्था नै थिएन। घरमा आएका नयाँ मान्छेलाई आमाले आठ वर्षीय विजय जिम्मा लगाइदिइन्।
कहाँ जाँदैछु? कसको साथ जाँदैछु? विजयलाई थाहा थिएन, नयाँ ठाउँ जाने भनेपछि केटाकेटी मन फुरूंग पर्यो।
यो झन्डै बीस वर्ष पहिलेको कुरा हो।
विजयको गाउँ र सीमावर्ती जिल्लाका थुप्रै केटाकेटी भारतीय नागरिकका साथ लगाइए। सीमा कटाइए।
मोरङ, बेलबारीका विजय पराइका साथ लागेर भारत छिर्दा जम्मा आठ वर्षका थिए। भारतको कुन ठाउँ लगियो, उनलाई यकिन थिएन। तर आफ्नै उमेरका थुप्रै केटाकेटी एकै ठाउँ देख्दा सखा भेटेजस्तो भयो।
केटाकेटी स्याहार्ने ठाउँ जस्तो पनि लाग्यो। लेखपढ गर्ने स्कुलजस्तो पनि लाग्यो।
यी सबै उनका भ्रम थिए। उनीहरू त सर्कसका लागि पुर्याइएका थिए। किताबकापी हेरेर पढ्न होइन अनेक ढंगमा जिउका बान्की सिक्नुपर्थ्यो। सर्कस खेल्नुहुन्छ कि हुँदैन भन्ने त परै जाओस्, सर्कस के हो पनि थाहा थिएन।
भारत पुर्याइलगत्तै तालिम सुरू भयो। बालख शरीर अनेक आयाममा मोड्नुपर्ने। एक्रोबेट खेल्नु, स्टन्ट देखाउनु दैनिकी भइगयो।
सुरूका केही दिन रमाइलो नै भयो। केटाकेटी मनले खेल्नु, कुद्नु उफ्रिनुलाई स्वतन्त्रता सम्झियो।
'रमाइलो माहोल थियो। केही समय त मलाई पनि रमाइलो लाग्यो,' विजय सुरूवाती दिन सम्झन्छन्, 'हामी थुप्रै केटाकेटी थियौं। बाहिरबाट हेर्दा नाच्ने, उफ्रने, खेल्ने रमाइलो वातावरण।'
तस्करहरूले कहाँकहाँ लगेर राख्थे थाहै हुन्थेन। कहिले कसको, कहिले कसको जिम्मा लगाउँथे। साथी पनि फेरिइरहन्थे। प्रशिक्षक पनि एउटै हुन्थेनन्।
बालखहरूप्रति प्रशिक्षकले कुनै माया नदेखाउने विजय बताउँछन्। काममा कहिलेकाहीँ लय मिल्थेन। सानै निहुँमा पनि उनीहरूले दया नराखी पिट्थे। गालीको वर्षा हुन्थ्यो।
यो सास्तीको विकल्प थिएन।
विस्तारै सर्कससँग विजय घुलमिल भए। ज्यान तम्तयार भएपछि उनीहरू बाहिर निकालिए। विभिन्न सहर पुगेर सर्कस देखाउनु र साहुका लागि पैसा कमाइदिनुपर्ने दैनिकी।
तर परिवारलाई दिएको आश्वासनअनुसार पढाइ भएन। कामबाहेक अर्को कामै थिएन। सहरका धनीमानीहरू केटाकेटीले जिउ मर्काएको र जोखिम मोलेको खुब चाख मानेर हेर्थे। सर्कस सञ्चालकले मनग्गे कमाइरहेका थिए। तर सर्कस गर्नेहरूको जीवन अधोगतितिर थियो।
'दिन–रात व्यायाम र अभ्यास गनुपर्थ्यो। उनीहरूले भनेजस्तै गर्नुपर्ने, कहिले त भागौं जस्तो पनि लाग्थ्यो,' विजय आफ्नो विगत सम्झँदै भन्छन्, 'सायद मान्छेलाई बच्चाहरूले गरेका जोखिमपूर्ण स्टन्ट हेर्न मनपर्थ्यो।'
महिना, वर्ष बित्यो। सर्कस बाहिर विजयको कुनै जीवन थिएन। न परिवारमा कसैलाई भेट्न दिइयो। उमेर बढ्दै गएपछि आफू बाँधिएको महशुस हुन थाल्यो, जाने कुनै बाटो थिएन।
चार वर्ष भारतका विभिन्न ठाउँमा बिताइसकेपछि एकदिन फेरि केही मान्छे उनीहरूकहाँ आइपुगे। विजयसहित ७० जना केटाकेटीलाई भ्यानमा राखेर हिँडे। तीमध्ये ३ केटा र १२ केटी विजयकै टोलीका थिए।
'सायद नियतिले अर्को सर्कसतिर हिँडायो होला। नयाँ स्टन्ट सिक्नुपर्ने होला। नयाँ सहरका मान्छेलाई नयाँ कुरा देखाउनुपर्ने होला,' १२ वर्षीय विजयले यही सोचे।
ती अन्जान मान्छे 'एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन'बाट गएका रहेछन्, उनीहरूलाई उद्धार गर्न!
धेरै समयपछि मात्र विजयले यो कुरा थाहा पाए। उनको बालापन मद्रासको एक सर्कसमा बितेको रहेछ।
यी कुरा सुनाइरहँदा र आफ्नै जिन्दगीतिर फर्किएर हेर्दा आफ्नो जीवन फिल्म जस्तो लाग्छ। १६ वर्षअघि मद्रासका सहरमा सर्कस देखाउँदै हिँड्ने विजय उद्धारपछि पनि सर्कसबाट उम्कन भने सकेनन्। न छुटकारा नै पाए। बरू सर्कस उनको नयाँ जीवनको अंग बन्यो।
विजय अहिले आफैं सर्कस 'मालिक' छन्। झम्सिखेल, ठाडो ढुंगास्थित 'सर्कस काठमाडौं'का सहयात्री हुन्। यो काठमाडौंको एकमात्र व्यावसायिक सर्कस संस्था भएको उनी बताउँछन्।
'म पो सर्कसबाट निस्कन चाहन्थेँ, मेरो जिन्दगीबाट सर्कस निस्कन चाहेन,' २८ वर्षीय विजयले भने।
एउटा दुःखदायी, पीडादायी क्षेत्रबाट उम्किएर फेरि त्यसमै होमिन किन मन लाग्यो? उनलाई यो प्रश्न सोध्ने धेरै छन्।
जवाफ प्रस्ट्याउन उनी ती दिनमा फर्किन्छन्।
उद्धार भएका सबै केटाकेटीलाई भैरहवा ल्याएर एक आवासगृहमा (सेल्टर) राखियो। छ महिना सबै त्यहीँ बसे। सामान्य जीवनमा फर्किने तालिम र परामर्श लगातार चल्यो। छ महिनापछि समाजमा पुनःस्थापना हुने भनेर कोही घर फर्किए। कोही आश्रयमा बसे।
विजय सुरूमा त्यहीँ बस्न रूचाए। संस्थाले काठमाडौं ल्यायो। दस कक्षासम्म पढे।
'काउन्सिलिङले जीवनलाई अगाडि फर्किएर हेर्न सिकायो। साथै आफूले जानेका ज्ञान, सीप प्रयोग गरे जीवन उन्नत बनाउन सकिन्छ भन्ने पनि बुझायो,' विजय भन्छन्।
सानैमा मानसिक दबावको बोझले होला, विजय र उनका साथीको पढाइ राम्ररी अघि बढ्न सकेन। तर जिन्दगीलाई एकै विन्दुमा रोकिराख्न पनि त भएन।
आफूले जानेको सीपबाटै उज्यालोतिर लम्किने सोचे, सर्कस नै सञ्चालन गर्ने योजना बनाए। साथीहरूसँग सल्लाह गरे, उनीहरूको पनि यस्तै सोच रहेछ। विजयलगायत १३ जना मिलेर सन् २०१० मा 'सर्कस काठमाडौं' स्थापना गरे।
त्यति बेला उनीहरूको साझा उद्देश्य थियो, आफूजस्तै स–साना नानीबाबु तस्करको हातमा नपुगून्। किताबकापी समाउने हात सर्कसका सामानमा नपरून्। अनि सर्कसको समग्र परिभाषा फेर्न सकियोस्।
परम्परागत परिभाषा बदलेर केही सिक्ने, सीप देखाउने, कला प्रदर्शन गर्ने माध्यमका रूपमा स्थापित गर्न लागि परेको छ, सर्कस काठमाडौं। अहिले संस्थामा ५ जना सदस्य छन्। सदस्य घट्दै गए पनि उद्देश्य फैलिँदै गएको ठान्छन् उनी।
'सर्कसप्रति नकारात्मक दृष्टिकोण छ। जनावर नचाउने र मान्छेका अनेक रूप हेर्ने भन्ने छाप छ,' विजय भन्छन्, 'सर्कसमा काम गर्छु भन्दा नाक खुम्च्याउने प्रवृत्ति बदल्ने हाम्रो चाहना र प्रयास हो। त्यसैले काम फराकिलो बनाइरहेका छौं। सर्कसले बालापन त गुमाएँ, तर भविष्य यसमै बनाउँछु।'
आफ्नो कलामार्फत चेतना दिने हेयले थुप्रै सामाजिक विषयलाई टिप्दै, नृत्य, नाटक र सर्कसका सीप एकै ठाउँमा समेटेका छन् उनीहरूले।समाजको विकृतिका रूपमा रहेको बालविवाह, बहुविवाह, छाउपडी, बालतस्करी विषय उजागर गर्दै र न्यूनिकरणका लागि सहयोग पनि पुर्याइरहेका छन्।
हालसम्म रामेछाप, डडेलधुरा, दोलखा, काभ्रेलगायत थुप्रै जिल्लामा 'सर्कस काठमाडौं'को टोलीले प्रस्तुति दिइसकेको छ। उनीहरूको प्रस्तुतिले देशको भूगोल पार गरेर विदेशमा पनि छाप छाडेको छ। नर्वे, अष्ट्रेलिया, युएई, अमेरिकामा समेत देखाइसकेको विजय सुनाउँछन्।
'सर्कस काठमाडौं'ले दुई किसिमका कार्यक्रममा जोड दिएको छ।
पहिलो, सामाजिक क्षेत्रमा चेतना जागृत गर्ने। अर्को, सेवा वा मनोरञ्जन दिने- यस्तो कार्यक्रममा भने निश्चित शुल्क लिने गरेको छ।
सामाजिक क्षेत्रमा गएर प्रस्तुति दिँदा बढी आनन्द हुने विजय बताउँछन्।
'सामाजिक विषयमा कार्यक्रम चलाउँदा समाजका नराम्रा कुरा देखाउँछौं। समाधानका विकल्प देखाउँछौं,' विजय भन्छन्, 'कति कुरा हाम्रो आँखा अगाडि नै भइरहेको हुन्छ, हामी वेवास्ता गर्छौं। त्यसैले ती समस्या आँखा अगाडि नचाउँदै समाधानका तरिका बुझाउने प्रयास गर्छौं।'
एक हिसाबमा यो सामाजिक जागरूकताको अभियान नै भएको उनी बताउँछन्।
'सर्कस काठमाडौं' आफैंले मात्र नभई बिगअम्ब्रेला र आशा नेपाल संस्थामार्फत् पनि सीप सिकाउँदै छन्। संस्थाका पाँच सदस्यमा आ–आफ्नै खुबी छन्। यिनीहरूमध्ये सरस्वती अधिकारी, शितल सुनार, डोली तामाङ पनि भारतका सर्कसमा बेचिएका थिए। विजय चौधरीलाई भने विजय लिम्बूले काठमाडौंको सेमिनारमा भेटेका हुन्।
खुला ठाउँ अभावमा अहिले घरमै अभ्यास गर्न बाध्य हुनुपरेको उनीहरूको गुनासो छ।
'सर्कस काठमाडौं' सानो टोली भए पनि फराकिलो लक्ष्य बोकेर हिँडेको छ। आउने दिनमा कुनै केटाकेटीले आफ्नोजस्तो नियति भोग्न नपरोस्, भनेर सचेत छन् विजय।
संस्था बलियो बनाएर भारतका सर्कसमा बेचिएकाहरूको उद्धार गर्ने नयाँ बाटो देखाउने उनको सपना छ।
उत्साहित हुँदै सुनाउँछन्,'उद्देश्यमा छिट्टै पुग्छु।'