धनुषामा गएराति लुटपाट भएको छ। धनुषाधाम नगरपालिका– ८ स्थित कुम्हारास्थित विजय यादवको घरमा राति पौने दुई बजे ५/६ जनाको समूहमा आएका लुटेरा समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।
विजयका १६ वर्षीय कान्छो छोरा अनिल यादव, ३० वर्षीय ज्वाइँ मञ्जय यादव र उनकी २५ वर्षीया श्रीमती कामनी यादवलाई रडले कुटपिट गर्दै उनीहरूले गरगहना र मोबाइल लुटेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।
उनका अनुसार मञ्जयले लगाएको ८ तोलाको सुनको औंठी, कामनीको ८ तोलाको मंगलसुत्र र घरधनी विजय यादवकी श्रीमतीले लगाएको ४० तोला चाँदीको कारा र तीन वटा मोबाइल लुटपाट भएको हो। झण्डे १ लाख ८ हजार रूपैयाँ बराबरको सामान लुटपाट भएको प्रहरी निरीक्षक सुवेदीले बताए।
‘चक्कु र रड लिएर उनीहरू आएका थिए। नजिकैका बदमास केटाहरूले लुटपाट गरेको हाम्रो आशंका छ,’ उनले भने।
लुटेरा समूहको खोजी गर्दै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।