दसैंमा नवदुर्गा पूजाको लागि स्थापना गरिएको दुर्गा मूर्ति विसर्जनको क्रममा: नदीमा डुबेर रुपन्देहीमा एक जना युवकको मृत्यु भएको छ।
कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय अनिल चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
कोटहीमाई गाउँपालिका वडा नम्बर ५ स्थित दानव र तिनाउ नदीको संगमस्थल दुईमोहनमा मुर्ति विसर्जन गर्न गएका चौधरी नदीमा दुबेका थिए।
नदीमा डुबेर बेपत्ता भएका चौधरीलाई शसस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरे पनि फैला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोगमा शनिबार राती अबेर शव निकालिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार चौधरीको शवलाई भैरहवा भीम अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ।
मृतकका आफन्तले सुरुमा प्रहरीलाई घटनाको मुचुल्का उठाउन अवरोध गरे पनि पछि प्रहरीले सम्झाई बुझाई गरेपछि घटनाको मुचुल्का उठाउन र शव पोष्टमार्टम गर्न दिएका थिए।
रुपन्देही, कपिलवस्तु नवलपरासी लगायतका जिल्लाहरूमा हरेक वर्ष दुर्गा मूर्ति विसर्जनको क्रममा साना ठूला दुर्घटना हुने गरेका छन्।
कपिलवस्तुमा स्थानीय प्रशासनले शुक्रबार साँझदेखि शनिबार साँझसम्म सीमा क्षेत्रको आवतजावत र मदिरा विक्री वितरणमा रोक लगाएको थियो।
विगतमा दुर्गा मूर्ति विसर्जनको क्रममा मदिरा सेवन गरेका युवाहरु ट्याक्टर चढेर नाच्दै गाउँदै जाँदा खसेर मृत्यु हुने जस्ता घटना हुने गरेका थिए। सोही कारण दुर्गाामूर्ति विसर्जनलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाउँदै आएको छ।