बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको एउटै आँखा शिविरमा नौ सय जनाभन्दा बढीको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरिएको छ।
राजकीय थाई बिहार लुम्बिनीले हरेक वर्षदेखि यस वर्ष पनि आयोजना गरेको शिविरमा ३ हजार ७ सय ५५ जना सर्वसाधारणले नि:शुल्क रूपमा आँखा जाँच गरी लाभ लिएका थिए।
आँखा जाँच गराएकामध्ये नौ सय नौ जनामा मोतियाबिन्दुको समस्या देखिएकोले उनीहरूको नि:शुल्क रूपमा शिविरमै शल्यक्रिया गरिएको राजकीय थाई बिहार लुम्बिनीले जनाएको छ। बिहारका अनुसार गत मंसिर १८ गतेदेखि २२ गतेसम्म नि:शुल्क शिविर सञ्चालन गरिएको थियो।
तिलगंगा आँखा अस्पताल काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत र थाइल्याण्डका नेत्ररोग विशेषज्ञ डा. अनुचित पोनाथ्याङको नेतृत्वमा गरिएको शिविरमा थाइल्यान्डका नेत्ररोग विशेषज्ञहरू डा. नवत वातानाची, डा. स्वात कौशाकुललगायत थाइल्याण्ड र नेपालका नेत्र प्राविधिकहरू बिरामीहरूको शल्यक्रिया र उपचारमा खटिएका थिए।
शिविरबाट विशेषगरी रूपन्देहीको लुम्बिनी, कपिलवस्तु र पश्चिम नवलपरासीको रामग्रामका बासिन्दाले लाभ लिएका छन्।
नवलपरासीको रामग्रामकी ७० वर्षीय कोइलीदेवी हरिजनले मोतियाबिन्दुका कारण बन्द भएको आँखाको दृष्टि शल्यक्रिया गरी १७ वर्षपछि फर्किएको बताइन्। नि:शुल्क रूपमा गरिएको शिविरले आफूहरू जस्तै गरिब व्यक्तिहरूलाई लाभ मिलेको भन्दै उनले खुसी व्यक्त गरिन्।
लुम्बिनी साँस्कृतिक नगरपालिका निभिहवाका रामदास भुज पनि कमजोर आर्थिक अवस्था र पारिवारिक बेवास्ताका कारण अस्पताल जान नसक्नेहरूलाई शिविरबाट ठूलो राहत मिलेको बताए।
राजकीय थाई बिहार लुम्बिनीले विगत १० वर्षदेखि हरेक वर्ष पाँच दिन लुम्बिनीमा नि:शुल्क आँखा शिविर गर्दै आएको छ।
विश्वभर शान्तिको ज्योति छर्ने गौतमबुद्धको जन्मभूमि लुम्बिनी वरपरका सर्वसाधारणको आँखाको ज्योति फर्काउने उद्देश्यसहित हरेक वर्ष नि:शुल्क आँखा शिविर गर्दै आएको बिहारका प्रमुख भिक्षु सुफोतले जानकारी दिए।
सुफोतका अनुसार लुम्बिनीको वरिपरिका जनताहरू जसको स्वास्थ्यमा पहुँच पुग्न सकेको छैन उनीहरूलाई लक्षित गरी १० वर्षदेखि बिहारले शिविर आयोजना गर्दै आएको छ। सुफोतले यसपटकको शिविर १४ औं संस्करणका रूपमा सञ्चालन गरिएको बताए।
थाइल्याण्डका राजा भूमिबोल अदुलयादेजको स्मृतिमा बिहारले नि:शुल्क आँखा शिविर आयोजना गर्दै आएको छ।
राजकीय थाई बिहार लुम्बिनीसँगै तिलगंगा आँखा अस्पताल काठमाडौं र थाई राजदूतावास काठमाडौंले समेत शिविरको लागि सहयोग गरेको तिलगंगा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले जानकारी दिए।
बिहारका प्रमुख भिक्षु सुफोतले तराई क्षेत्रका बासिन्दामा आँखाका सम्बन्धमा हेलचेक्र्याइँ हुने र आर्थिक अवस्था समेत कमजोर हुने भएकाले आँखा शिविर गर्ने गरिएको बताए।
यसअघि बिहारले आधुनिक प्रविधिबाट घुँडा प्रत्यारोपण, भूकम्प प्रभावितहरूलाई सहयोग जस्ता सामाजिक कार्य गर्दै आएको छ।
यस्तै, बिहारकै आयोजनामा नि:शुल्क दन्त शिविर समेत गरिएको छ। आँखा शिविरसँगै पाँच दिनसम्म गरिएको दन्तशिविरमा चार सय ४० जनाले नि:शुल्क दाँतको उपचार गराएका थिए।
दन्त शिविरमा यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा र लुम्बिनी स्वणर्भूमि फाउण्डेशनले सहकार्य गरेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका डा. सुभास कुमारले जानकारी दिए।