हाँस तिमी सधैँ
एकै छिन म पनि हाँसिदिउँला
बाँच युगौँ तिमी
एकै छिन म पनि बाँचिदिउँला
सम्झना छ सबै-सबै
तिम्रा ती माइलस्टोनसँगै
खोसिएका तिम्रा अधिकारहरू
केही गर्न सकिनँ माफ गरिदेऊ
रमिते बन्नु बाहेक
डराएर
हराएर
भगवान् पुकार्न बाहेक!
रहर लाग्दो तोते बोली
अनि तिमीले दिएका बाचा कसमहरू
कलिला ती तिम्रा पाइला
मेरै हात समाई
अघि बढेका ती गोधूलि
बिर्सी नसक्नु ती दिनहरू
त्यो सुन्दरता अनि
कठाङ्ग्रिने हिउँ
आफै म आगो माथि
कसरी तिमीलाई शीतलता दिऊँ
हिँड तिमी सधैँ
सफलताको चरम चुली टेक
म पनि
दुई-चार पाइला सारिदिउँला
सिखुवाको भेल-बाढी
अलि पर टारिदिउँला
जीवन र मृत्युको यो दौडमा
मृत्यु अलि पछि पारिदिउँला!
बाँच्दै थिएँ
सायद बाँच्नलाई बहाना खोज्दै थिएँ
त्यो तिमी थियौ
तिम्रा मायालु आँखाहरू
मनै लोभ्याउने त्यो बालापन
त्यो आत्मीयता
अनि अपनत्व बोध
अमृत सरह थियो मलाई
आशीर्वाद तिमीलाई मेरो
म भएसम्म सधैँ साथ तिमीलाई
मेरो चेत रहेसम्म
जित तिमी हर लडाइँमा
युद्धको मैदानबाट
फर्केर आउँदा
पर्खी बसौँला
मखमली
मन ओढौला
फुलै फूलको
डोली चढाउँला
तिमी आउने बाटोभरि
सिमलको भुवा बिछाउँला
सम्झनाका ती मिठा
छालहरूमा
भिज्दै
डुब्दै
तैरिँदै गर्दा
अंगालोभरि
तिमीलाई पाउँथे म!
तिम्रै अँगालोमा
त्यो दुःख अनि दुबिधा
बिसाउँथे म!
सम्झनामा कैद
त्यो चार पल
कुदिएका छन्
मन मुटुभरि
चर्किएका यी छातीभरि
आज पनि
उस्तै- उस्तै आत्मीय बनेर!
मुस्कुराऊ सधैँ
तिम्रो मुस्कानमा
मोह छर्न पाऊँ
रमाउँदै मुस्कुराउँदै बाँच्नु है
म रहुन्जेल तिमीलाई
आशीर्वाद
दिन पाऊँ
सधैँभरि
तिम्रै मनमा
बस्न पाऊँ
तिमीसँगै
हाँस्न पाऊँ
मायाको यो डोरी
गाँस्न पाऊँ
अर्को जुनी रहिछ भने
तिम्रै आमा बन्न पाऊँ
सधैँ-सधैँ
भन्न पाऊँ
कराएर ठुलो स्वर गरी
तिम्रो अँजुली भरी-भरी
खुसी सधैँ भर्न पाऊँ
तिम्रै सुन्दर जिन्दगी
हेरी-हेरी
हाँस्दा-हाँस्दै मर्न पाऊँ!