संयुक्त राज्य अमेरिकाको साउथ क्यारोलिना स्टेटको चर्ल्स्ट्न सहरमा आएको लगभग साढे तीन महिना भयो। म क्लेम्सन युनिभर्सिटीमा एन्टोमोलोजीमा विद्यावारिधि गर्न आएको हुँ।
घरबाट बाहिर बसेको यो पहिलो पटक त पक्कै हैन। आफ्नो ब्याचलर्स गर्न पक्लिहवा र मास्टर्स गर्न साउथ चाइना याग्रिकल्चरल युनिभर्सिटी, ज्ञ्वान्ग्जाओ पुगेको हुनाले र जागिरको सिलसिलामा नेपालको विभिन्न जिल्ला पुगेको हुनाले घरबाहिर बस्ने अनुभव पुरानो छ। तर पनि घरबाट बाहिर बस्ने भनेपछि मन अमिलो हुन्छ।
साथीभाइ भन्छन्, ‘तिमीलाई त बानी परिसक्यो।’
म भने आफैलाई भन्छु- ‘अझै बानी परेको छैन, घरबाट टाढा बस्न।’
फुर्सदको समयमा नेपालमा हुनुभएको काकाकाकी, मामा-माइजू, साथीभाइ, आफन्तसँग कुरा हुन्छ। सन्चो बिसन्चो सोधेपछि उही कुरा- ‘अब त तिमी नेपाल नफर्क, किन आउने? यहाँ केही त छैन, उतै व्यवस्था मिलाऊ।’
यो सुन्दा मन चर्केर आउँछ। आफूलाई भने कहिले हातमा सर्टिफिकेट लिउँला र घर जाउँला भन्ने भएको छ। घरको पूजा, भोज भतेर, सबै छुट्छ। हुन् त यी नेपालमा हुँदा पनि बिदा नमिलेर जान नसकेको अवस्था त छ तर सात समुद्र पारि हुँदा मन रुने रहेछ।
साथीहरू भन्छन्, ‘म पनि बाहिरको प्रोसेसिङ गर्दै छु, यहाँ के छ र? केही त छैन।’
आफू यहाँ भएर उनीहरूलाई तिमीहरू त्यही बस म पनि फर्किने भन्दा हाँसेर उडाउँछन्। कतिलाई नेपाल बस्न मन छैन, आफूलाई भने कहिले देश फर्किऊँ भएको छ। नघुमेका कति ठाउँ छ, नहिँडेका कति सडक छन्, नभेटेका कति आफन्त छन्, नबनाएका कति याद छन्। यी सबै जिउन, जिन्दगी जिउन नेपाल फर्कन मन छ।
फेरि सोच्छु, आखिर फर्केर के गर्ने? त्यत्रो साढे तीन वर्ष लगाएर गरेको मास्टर्सको डिग्री आजसम्म ‘एक्युभ्ह्यलेन्ट’ भएको छैन। मेरो मास्टर्सको डिग्री अस्ट्रेलिया, न्यु जिल्यान्ड, अमेरिका, नेदरल्यान्डमा स्वीकार्य भएको आफ्नै देशमा स्विकार्न गाह्रो भएको छ। नियमपूर्वक प्रोसेस गर्दा पनि दुई वर्षसम्म केही सूचना आएको छैन। यी सबै कुरा सोच्दा मनभित्र आँधी आइहाल्छ अनि मनलाई दह्रो पारेर भन्छु- केही त छ जसले मेरो मनलाई नेपालबाहेक अन्त जानै दिएको छैन।
अस्ति बाबाले भन्दै हुनुहुन्थ्यो, ‘माइली छोरी अमेरिकामा पिएचडी गर्दै छ भन्दा मान्छेले छुट्टै सोच्ने रहेछन् छोरो। तिमी चाइना हुँदा त, ए चाइना पो भन्थे।’ त्यस्तो फरक व्यवहार गर्नुपर्ने चाइना र अमेरिकामा के छ मैले आजसम्म बुझेको छैन।
म चाइना सरकारी स्कलरसिप पाएर गएको हुँ। किताबसँगै जिन्दगीका धेरै कुरा सिक्ने मौका पाएको छु मैले त्यहाँ गएर। तर खै मान्छेको व्यवहार किन फरक! तर चाइना गएको भनेर नाक खुम्च्याउने प्रत्येक पाइलामा भेटेको छु। हुन त हाम्रो समाजमा देशको नाम अनुसार व्यवहार हुने गर्छ।
केही समयअघि ओरेकमा काम गर्दा वैदेशिक रोजगारबाट फर्किएका दिदी-बहिनीसँग एक राष्ट्रिय स्तरको कार्यक्रममा आफू खाडी मुलुक गएकै भरमा समाजमा हेर्ने दृष्टिकोण फरक भएको र समाजमा पुनर्स्थापना हुन गाह्रो भएको अनुभव पनि मैले राम्रोसँग सुनेको छु। हामी आफ्नो श्रम बेच्न जाने हो, देशको नामका के राखेको छ खै मैले बुझ्न सकेको छैन।
चाइना हुँदा पनि अवसर पाएको थिएँ तर लाग्यो, यहाँ रोकिएँ भने सधैँलाई रोकिन्छु। त्यसैले आफ्नो अध्ययन सकिएपछि देश फर्किने निर्णय गरेँ। यसमा कुनै अपसोच छैन र कहिले हुने छैन पनि। तर आफ्नो देश फर्किन हजार पटक सोच्नु पर्ने यो अवस्था कसले ल्यायो?
यो प्रश्न आइरहन्छ मनमा। जवाफ पनि सबैलाई थाहा छ। एक दुई जनाको पद र शक्तिको मोह हामी सबैले चुकाउनु परेको छ। म जस्तो सामान्य परिवारको सदस्यलाई आफ्नै भरमा आफ्नो खुट्टामा उभिन किन यति गाह्रो बनाइदिएको छ यो सरकारले थाहा छैन।
अहिले देशमा माहौल तातेको छ। शिक्षक सबै आन्दोलनमा थिए। अलि समयपछि विद्यार्थी आन्दोलनमा हुने होला। आखिर चिन्ता कसलाई छ र? एउटा शिक्षक जस्तो गरिमामय पदमा हुँदा आफ्नो हक अधिकारको लागि सडकमै जानु पर्छ, डक्टर जस्तो व्यक्ति दिन रात या त कुटाइ खाने या त आन्दोलनमा गइरहनु पर्छ।
अनि सम्झिन्छु आफन्त अनि साथीभाइले भनेको कुरा- देश नफर्क। तर मनले माने पो। अझै पनि म फर्किन्छु भन्ने मलाई थाहा छ। समय जस्तोसुकै होस्, देशको अवस्था जस्तोसुकै होस्, मजस्तै दुई/चार जना त्यही छन्। मलाई थाहा छ त्यसैले पनि यो पागलपन अझै गएको छैन।