विश्वकप खेल्ने इरानी फुटबल टोलीलाई अमेरिकाले अन्ततः भिसा दिएको छ।
विश्वकप सुरू हुन एक साताभन्दा कम समय अगाडि मात्रै अमेरिकाले इरानी फुटबल टोली र प्रतिनिधिहरूलाई भिसा दिएको हो।
इरानी टोलीले टर्कीबाट भिसा आवेदन दिएका थिए। इरानी टोलीले टर्कीको अन्तल्यामा प्रशिक्षण गरिरहेका छन्।
टर्कीका लागि अमेरिकी राजदूत टम बाराकले इरानी राष्ट्रिय फुटबल टोलीका लागि भिसा प्रक्रिया सम्पन्न गरिएको पुष्टि गरेका छन्।
उनले खेलले सीमाना नाघ्ने बताउँदै विश्वभरका खेलाडी र समर्थकलाई स्वागत गर्न अमेरिका तयार रहेको बताएका छन्।
अमेरिकी अधिकारीका अनुसार खेलाडी, प्रशिक्षक, ट्रेनर तथा केही सहयोगी कर्मचारीलाई भिसा जारी गरिएको छ। यद्यपि कसैको आवेदन अस्वीकृत गरिएको छ वा छैन भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रूबिओले भने इरानी प्रतिनिधिमण्डलमाथि कडा निगरानी हुने बताएका थिए। उनले इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्ससँग सम्बन्धित व्यक्ति टोलीमा मिसाउन नदिइने चेतावनी दिएका छन्।
'हामीलाई खेलाडी वा सहयोगी स्टाफसँग समस्या छैन, तर खेलसँग सम्बन्ध नभएका र आईआरजीसीसँग जोडिएका व्यक्तिलाई टोलीमा राख्न दिँदैनौं,' रुबियोले अमेरिकी संसदको सुनुवाइमा भनेका थिए।
इरानले विश्वकपको समूह चरणका दुई खेल अमेरिकाको क्यालिफोर्नियास्थित इंगलवुडमा खेल्ने तालिका छ। इरानले जुन १५ मा न्यूजिल्याण्ड र जुन २१ मा बेल्जियम विरूद्ध प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेल जुन २६ मा इजिप्टसँग हुनेछ।
सुरक्षा चिन्ताका कारण इरानको प्रशिक्षण आधार अमेरिकाको एरिजोनास्थित टक्सनबाट सारेर मेक्सिकोको तिजुआनामा लगिएको छ।
इरानी फुटबल महासंघको आग्रहमा यो निर्णय गरिएको हो। इरानी फुटबल टोली अहिले मेक्सिकोमा छ। विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्।
गत फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेपछि इरानको विश्वकप सहभागितामाथि अनिश्चितता बढेको थियो। युद्धका कारण घरेलु फुटबल लिगसमेत प्रभावित भएको छ। इरानले सोमबार अन्तिम टोली घोषणा गर्दा १७ जना घरेलु क्लबका खेलाडी समावेश गरेको थियो, जसका क्लबहरू फेब्रुअरीयता युद्धका कारण खेल्न सकेका छैनन्।
यसअघि मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विश्वकप सहभागितालाई उपयुक्त नदेखिएको टिप्पणी गर्दै खेलाडीहरूको सुरक्षा र जीवनबारे चिन्ता व्यक्त गरेका थिए। त्यसको भोलिपल्ट इरानी राष्ट्रिय टोलीले प्रतिक्रिया दिँदै कसैले पनि इरानलाई खेल्नबाट रोक्न सक्दैन भनेको थियो।
भिसा विवाद यसअघि पनि देखिएको थियो। अप्रिलमा इरानी फुटबल महासंघका प्रमुख मेहदी ताजको क्यानडा प्रवेश भिसा रद्द गरिएको थियो। उनको आईआरजीसीसँग पुरानो सम्बन्ध रहेको आरोपका कारण क्यानडाले यस्तो निर्णय लिएको थियो।