सगरमाथा शिखरमा पहिलो मानव पाइला परेको भर्खरै ७३ वर्ष पूरा भएको छ। यो मे महिनामा पनि १००० भन्दा बढी आरोही त्यहाँ पुगे; कोही पहिलो पटक भने खुम्बुका कामीरिता शेर्पा ३२ औं पटक पुगेर नयाँ कीर्तिमान राखे।
हामी धेरैजसोलाई सगरमाथा चढ्न मन लाग्छ। तर त्यसका लागि पर्याप्त तालिम, रकमको बिटो र करिब दुई महिनाको समय छैन भने के गर्ने?
सर एडमन्ड हिलारीकै सल्लाह मान्ने हो भने, सगरमाथा नजिकैको कुनै अलि सानो चुचुरो चढ्ने र सगरमाथा लगायतका टाकुरा मजाले हेर्ने!
त्यसो गरेर पनि तपाईंले हिमशिखरमा पुगेको अनुभव लिन सक्नुहुन्छ।
हामीले पनि गत साता यस्तै गर्यौं। संसारभरका धेरै हिमाली पदयात्रा प्रेमीले पनि यसै गर्छन्।
हामीले सगरमाथादेखि ठिक दक्षिण–पश्चिमपट्टि रामेछाप जिल्लाको लिखु नदीपारि सोलुखुम्बुमा रहेको पिके पिक नामक चुचुरा चढ्यौं।
सोलुखुम्बुबासीहरू भन्छन्— वर्षौंअघि सर एडमन्ड हिलरी पनि पिके पिकको टाकुरा पुगेपछि गौरीशंकरदेखि नुम्बुर पुमोरी र सगरमाथा लगायतका हिमशिखरको लस्कर देखेर निकै सम्मोहित भएका थिए।
हिलारी र तेन्जिङ नोर्गे पिके पिक पुगेको भनिएको वर्षौंपछि हामी पनि गत साता सम्भवत: उत्ति नै वा त्योभन्दा बढी सम्मोहित भयौं।
तीव्र हुरीसँगै उडिरहेको बादलभित्र लुकिरहेको पिके पिकबाट बीचबीचमा सगरमाथा र छेउछाउका हिमशिखरको दर्शन पाएर आह्लादित भयौं।
शिखर पुग्दाको उत्साह
पिके पिक पदमार्ग समेटिएको नक्सा। सौजन्य: Excellent Expeditions
पहिलो दिनको जडिबुटी–किन्जा बस यात्राले थिल्थिलो भएको शरीर दोस्रो दिनको लिखुपिके गाउँको उकालोले झनै थकित भएको थियो।
पिके पहाडको माथिल्लो आधार शिविरमा रहेको टेन्डी शेर्पाको लजमा दोस्रो रात मुडा जस्तै लडेर सुते पनि उचाइले गर्दा राम्रो निद्रा नपर्ने।
तेसो दिन बिहान ४५ मिनेटको उकाली चढेर पिके शिखर पुग्नुपर्ने। बाक्लो कुहिरोले सिँढीयुक्त बाटो पनि छोपिदिएर चुनौती थोपरिदियो। अझै माथि पुगेपछि हावा हुन्डरीले सताउन थाल्यो।
तीव्र गतिको हुरीले सुस्तरी उकाली चढिरहेका हामीलाई ढालिदिने गरी हान्न थाल्यो निरन्तर। मैँले अलि पर ठिक त्यही बेला सगरमाथाको शिखर चढिरहेका साहसी आरोहीहरूलाई सम्झिएँ — साँच्चै यो बिहान सगरमाथाको शिखर नजिकै ८८०० मिटर र अझै माथि कति तीव्र बेगको हावा होला?
ती आरोहीहरूले सामना गरिरहेका त्यो हुन्डरीको अगाडि यो हुरी त केही होइन नि?
छातीमा हावा नपरोस् भनेर हुरी आएपट्टि ढाड देखाउँदै अघि बढिरह्यौं। शिखरको मौसम झन् कति खराब होला भन्ने चिन्ताले सताउन थाल्यो। त्यसको थप चर्चा थोरै तल गर्नेछु।
तेन्जिङ–हिलारी पदमार्ग हुँदै पिके पहाड
लिखु–पिके गाउँको भिरालो बारीमा आलु गोड्न व्यस्त किसान। तस्बिर: सुरेन्द्र फुयाल
पिके पिक जाने योजना सुनाएपछि मूलपानीको बच्चाबेलादेखिको साथी कमल ढकाल तम्तयार भइहाल्यो। रामेछापको मन्थली हुँदै शिवालय, बाम्ती भण्डार हुँदै लिकुनदीको बेँसीमा बसेको किन्जा गाउँ झर्ने बस जडिबुटीबाट छुट्छ भन्ने दुई वर्ष पुरानो अनुभवले सिकाएको थियो।
त्यतिबेला म तेन्जिङ–हिलारी पदमार्गको नयाँ अनुहार र त्यस क्षेत्रमा ७० वर्षमा आएको परिवर्तनको साक्षी बन्न अरनिको यातायातको बसमा बाम्ती भण्डार पुगेको थिएँ।
यस पटक जडिबुटीबाट अरनिको यातायातका चालक कवीन्द्र थापाले बिहान ५:३० बजे नै सुपर बस हुइँकाउँदै भने – रोशी नदी किनारको बाटो खत्तम छ। मन्थलीदेखि माथि पनि कच्ची छ। किन्जा पुग्दा भरे राती ८ बज्ला!
हुन पनि दुई वर्षअघिको असोजमा बागमती प्रदेशको महाभारत क्षेत्रमा करिब १०० घन्टासम्म लगातार परेको बेमौसमी वर्षाले गरेको क्षति रोशी नदी किनारमा अझै सग्लै देखियो। त्यहाँको करिब ३२ किलोमिटर खण्डा क्षतविक्षत अवस्थाको बिपी राजमार्गको भग्नावशेष बल्लबल्ल पन्छाउने काम हुँदै रहेछ।
राजमार्गको अवस्था यति दयनीय कि खोलैखोला बनाइएको अस्थायी सडकले त्यहाँ गुड्ने गाडीका पाटपुर्जा मात्र होइन, गाडीमा यात्रा गर्ने मानिसको पाटपुर्जा समेत भत्काइदेला जस्तो। नेपालथोक पुगेपछि बल्ल चिल्लो सडक भेटियो। मोटर मन्थली पुग्दा रामेछापको सदरमुकाममा बाफ आइरहेको जस्तो हपहप गर्मी।
त्यही सास्तीबीच हतारहतार खानापछि चालक कवीन्द्र थापा र उसका कन्डक्टरलाई अर्को हतारो — बजारमा अलि पर फेरि रोकिएर बस भित्र, पछाडि र छतमा रासन लगायतका सरसामान लोड गर्ने चटारो।
मन्थलीबाट तामाकोसी किनारै किनार खिम्ती पुगेपछि बस उकालो लाग्यो — नमाडी र बेताली नाउँ गरेका गाउँतिर।
बेतालीमा पाँच जना पुरूष बसमा भित्रिएर लड्बडाउँदै भित्रिएर पछाडिको सिटमा पसारिए। उनीहरू पूरै बेतालकै रहेछन्। दिउँसै पिएको सोलमारीको गन्ध पूरै बसभित्र फैलिएपछि नमिठो माहोल बन्यो।
शिवालय नजिकै बस रोकिएर पछाडिबाट केही फलाम अफलोड गर्ने र केही बोरा सिमेन्ट अनलोड गर्नु भएपछि यात्रुलाई केहीबेर बाहिर जान अनुरोध गरियो।
मैले ठट्टा गर्दै कवीन्द्रलाई हल्का कटाक्ष गरेँ, 'यो गाडी त यात्रु बोक्ने बस मात्र नभएर, सिमेन्ट–फलाम बोक्ने ट्रक, अनि बिरामी बोक्ने एम्बुलेन्स पनि रहेछ होइन?'
उनले आफ्नो विवशता सुनाए, 'हेर्नुस् यो दुर्गम गाउँ जाने बस हो। यसमा जे जे आउँछ त्यो हाल्नुपर्छ। मान्छेहरूलाई सुविधा दिनुपर्छ।'
शिवालय पुग्ने बेला सडकको दायाँ र बायाँ चियाबारी देखिए। मनै रमायो। केही महिला यात्रु चियाबारीमा टिकटकका लागि नाच्न थालेको दृश्य हेर्न लायक थियो।
शिवालयबाट लेकमाथि पुगेर अनेकन घुम्ती उक्लिएर फेरि झर्दै बस बाम्ती भण्डार पुग्दा झमक्कै साँझ पर्यो। घाम अस्ताउँदै गर्दा बाम्ती भण्डार क्षेत्रका वन जंगल बस्ती र हरिया चौर र खर्कका दृश्य निकै मनमोहक देखिए। क्षितिजमा अस्ताउँदो सूर्यको प्रकाशमा बाम्ती भण्डारको सौन्दर्यले स्विट्जरल्यान्डका तस्बिर बिर्साइदियो।
निकै घुम्ती पार गर्दै सुपरबस बल्लतल्ल किन्जा गाउँ पुग्यो जहाँ अलिवरै सिमेन्टका बोरा झार्न थालियो। लिखु नदीपारि सोलुखुम्बु जिल्लामा पर्ने बस बिसौनी नजिकैको स्थानीय खड्का परिवारले सञ्चालन गरेको पाहुनाघर पुग्दा रातको ९ बजिसकेको थियो।
लिखु–पिके पहाडका रित्ता गाउँ
किन्जाबाट लिखु–पिकेको उकालोमा देखिएको घना हरिया वन। तस्बिर: सुरेन्द्र फुयाल
'एक किलो अलैंचीको २५०० रूपैयाँ आउँछ। यो पाखाभरिको अलैंची बेच्दा आरामले २५ लाख कमाइ हुन्छ। कोही अमेरिका वा जापान जानै पर्दैन,' बिहान आँगनमा बसेर पिकेको फेदीको आफ्नो पाखा देखाउँदै खड्का दाइले गर्वले छाती फुलाउँदै भने।
हो रहेछ। उनका छोरा नजिकैको लिखु जलविद्युत आयोजनाका वरिष्ठ कर्मचारी। बुहारी बिएड पढेकी बस्नेतकी छोरी। बिहे गरेर बाम्ती गएकी छोरी पनि उस्तै शिक्षक। लिखु–पिकेको किन्जामा शिक्षाको उज्यालो देखियो।
तर लिखु–पिके पूर्वतिरको शेर्पा गाउँ भने झन्डै रित्तै रहेछ। केही दिनअघि मात्रै हामीले यही गाउँ घर भएकी एउटी किशोरी डोमालाई शिवपुरी उकालो चढ्ने पानी मुहानमा भेटेका थियौं। खोलीमाथि बनाइएको स्टिलको पुल तरेर माथि माथि अनि अझै माथि जाँदा कथा उस्तै।
लगभग रित्तैजस्ता देखिने गाउँ।
उकालोमा भेटिएको थापा निवासमा १८ वर्षकी बुहारीले भर्खरै नानी पाएकी रहिछन्। उनका बुढा चाहिँ भारततिर कतै भौंतारिँदै रहेछन्। कता गएका हुन् भनी सोध्दा ठाउँको नाउँ भन्न सकिनन्।
अझै माथि थामीका घरमा भने मुस्कानका लहरहरू। हजुरआमाले भर्खरै चिप्ले च्याउ टिपेर ल्याएकी रहिछन्। छोरा, बुहारी, सानी नातिनी सबै घरमै थिए।
अझै माथि एक जना शेर्पिनी आमैले गाउँबाट खेताला ल्याएर आलु गोडाउँदै थिइन्।
अझै माथि, निकै माथि, हामीले निकै मजाले खाएको ऐंसेलुको घारी माथि, एउटा स्कुल आयो — इसिडी (अर्ली चाइल्डहुढ एजुकेसन), अर्थात् मोन्टेसोरी जस्तै शिशु विद्यालय।
भवन भव्य ठूलो। माथि जाने बाटोबारे ढुक्क हुन निकै बेर कराएर बोलाएपछि दुई जना झुल्किए — एक बस्नेत थरकी शिक्षक र उनकी एक मात्र छात्रा, सानी शेर्पा नानी!
ती मिसले अस्पष्ट तरिकाले बाटो देखाइदिएपछि डोजरबाटो छाडेर छोटो बाटो माथि लागियो।
अलि माथि गोडा चार–पाँच घर भएको अर्को समृद्ध देखिने शेर्पा गाउँ आयो। तर अझै माथि जाने बाटोबारे ढुक्क हुन सोधीखोजी गर्न मान्छे बोलाउँदा कुकुरको चर्को भुकाइ मात्र सुनियो।
निकै बेर कराउँदा कुकुरलाई पो तनाव। गाउँ पूरै रित्तै। अब मोबाइलका नक्सा आदि हेरेर अघि बढ्दै माथि जाँदा वनमा चौबाटा। साथी कमल पश्चिम हानियो। अरू दुई गोरेटा पूर्व र दक्षिण उक्लिए।
म दुई वर्षअघि आफू लामजुरा पासमा हराएर बल्लबल्ल बाटो भेटिएको सम्झिएँ। भो यहाँबाट अघि बढ्न हुँदैन।
फेरि एक घन्टापछि तल शेर्पा गाउँ झर्दा परैबाट देखिइन् गाईलाई घाँस हाल्न व्यस्त एक जना शेर्पिनी दिदी। निकै बेर कराएपछि उनले सही बाटोबारे बताइन्। त्यो हामी अघि गएकैतिर रहेछ तर पूर्वतिर, खहरे बगेतिर ओर्लिएर उकालो चढ्नुपर्ने।
निकै कष्टकर उकालोमा साथी कमलले सम्झायो — धेरैजसो नेपाली गीत विरह भाकाका बैरागी छन्।
खुसी हुने खाले नेपाली गीत सम्झिँदै गुनगुनाउँदै एक घन्टा अझै माथि उक्लिँदै वन छिचोलेपछि पुगियो एउटा सानो शेर्पा बस्ती – लामा माने।
त्यसलाई तल्लो पिके पिक आधार शिविर भने पनि फरक नपर्ने।
त्यहाँको पहिलो घरमा रहेको शेर्पा लज र भान्साघरमा भेटिए ७ जना शेर्पा–शेर्पिनी। त्य
हीँ हामीले उहाँहरूसँग हल्का दोहोरी गाउँदै खुबै रमायौं —
मलाई लाने को होला कहाँ छ, लर्के जोवन सुन माया जोगाउन धौ भा छ,
सुन माया हिउँचुलीमा हिउँ,
हिउँचुलीमा हिउँ लर्के जोवन यो भन कसलाई दिऊँ...
त्यहीँ भेटिए पिके पिकको माथिल्लो आधार शिविरमा गेस्ट हाउस चलाएर बसेका टेन्डी शेर्पा। साँझको पाँच बज्न लागिसकेको थियो। अझै चार घन्टा माथि रहेको उनको लज पुग्न अझै चार घन्टा हिँड्नुपर्ने बताए। स्ट्रङ बियर पिएर हल्का झ्याप दाइ निकै हतारोमा थिए।
उनी अघि लागेपछि हामी पछि लाग्यौं। उकालै उकालो। उकालै उकालो। उनी तल लिखु–पिके गाउँमा ससुरालीतिरकी कसैको अन्तिम संस्कारमा गएका रहेछन्। उकालोमा रोकिँदा उनले झोलाबाट नयाँ नयाँ क्यान बियर निकालेर यसरी पिइरहे, मानौं त्यो उनका लागि पानी बराबर!
पिके पिक जाने उकालोमा ढलेको एक सल्लाको रूखको अवशेष। स्थानीय टेन्डी शेर्पाको भनाइमा यो रूख हालै चट्याङ पर्दा जलेर लडेको हो। तस्बिर: सुरेन्द्र फुयाल
झमक्कै साँझ पर्दा ङ्गाउर नामक अर्को आधार शिविरमा केही घर देखिए। हामी रोकिएनौं; अझै माथि, अझै माथि उकालो लागिरह्यौं।
बिहान १६०० मिटरको किन्जाबाट हिँडेका हामी ४०६५ मिटरको उचाइमा रहेको पिकेतिर जाँदै थियौं। त्यो रात हामी करिब ३८०० मिटरमा बनाइएको उनको लजतर्फ लाग्दै थियौं।
स्वास्थ्यविदहरूको भनाइमा एकैदिनमा गरिने यति धेरै ठाडो चढाइपछि हुने लेक बिमारीले मानिसको ज्यानै लिन सक्छ। यस्तै गर्दा नेपालका हिमालमा युवा डाक्टरले समेत ज्यान गुमाएका घटना ताजै छन्।
त्यो कुरा मनन गर्दै हामी बिस्तारै उकालो लागिरह्यौं। निकै सास्तीपूर्ण तर रोमाञ्जक हिँडाइ र सिँढी चढाइपछि रातको ९ बजेतिर हामी त्यहाँ पुग्यौं।
उनकी श्रीमती ङिमा डोल्मा अर्को चिन्तामा थिइन्, भनिन्, 'बाटोमा भालु आउन सक्छ भनेर निकैबेर बाटो हेरेँ। फोन पनि लाग्दैन। बल्ल आइपुगेछ।'
उनले उसिनिदिएको आलु र भुटेको मकैसँगै पदमचालको अचार र लसुन हालेको सुपले त्यो रात हामीलाई लेक लाग्ने बिमारीबाट बचाएकै मान्नुपर्छ। निद्रा पातलो भए पनि केही घन्टा आँखाको विष मारियो।
पिके चुचुरा आरोहणपछि जसमाने हुँदै सल्लेरीको ओरालो
पिके पिक क्षेत्र देखिने नक्सा। स्क्रिनसट गुगल अर्थ
सबेरै सर एड हिलारीकै देश न्यूजिल्यान्डको जय नाम गरेमा ठिटो उठेर सर्याकसुरूक गर्न थालेपछि साथी कमल ढकाल तात्यो र भन्यो – हामी पनि जाऔं।
मैले भर्खरै मात्र निद्रा परेको र हिजो राति टेन्डी दाइले भने अनुसार मौसम नखुल्दा माथि जानु बेकार हुन्छ भन्ने जबाफ दिएँ। तर उसकव व्यंग्यबाण जारी रह्यो।
सात बजेतिर कैयौं कप कालो कफी पिएर टेन्डी दाइकोबाट बिदा भयौं। माथि जाने बाटो सोधेर हिँडे पनि कुहिरोको काग भयौं। पूरै धुम्म। केही बेरपछि बल्ल सिँढी देखियो र उकालो लाग्यौं। ४५ मिनेटमा शिखर पुगिने आशामा।
तर आधा घन्टा जति चढेपछि दुब्लो पातलो ज्यान भएकालाई ढालिदिने र उडाइदिने गरी तीव्र बेगको हावा चल्न थाल्यो। सगरमाथा शिखर नजिकैका आरोहीले ठिक त्यति नै बेला गरिरहेको संघर्ष सम्झिएर मैले आफूलाई सम्हालेँ। अघि बढिरहेँ। थोरै अघि वा पछि कमल ढकाल।
केही बेर धैर्य गर्दै हिँडेपछि तीव्र हुन्डरी रोकिएजस्तो भयो। अगाडि एउटा बोर्ड देखियो जसमा लेखिएको थियो – पिके पिक ४०६५ मिटर।
शिखर पुग्दाको खुसी बयान गरी नसकिने खाल्को। अगाडि नाटकीय पाराले तीव्र गतिमा फुस्स फुस उडिरहेका बादलबीच अलि परका हिमचुली झललल टल्किन थाल्दा सबै थकान र पीडा अचानक गायब भएजस्तो।
शिखरमा एकातिर बौद्ध लुङ्दार फहराइरहेका। अर्कोतिर करिब ५० देखि ८० किलोमिटर परको दुरीमा पूर्वतिर सगरमाथा देखियो। ठिक उत्तरतिर समीपमै जस्तो नुम्बुर हिमाल। पश्चिमतिर अलि पर गौरीशंकर।
पिके पिकबाट सबेरै देखिएका हिमशिखरको लश्कर। यहाँबाट गौरीशंकरदेखि सगरमाथा र मकालु हिमाल देख्न सकिन्छ। सौजन्य: Saurav Thapa Shrestha
पिके पिकबाट देखिने हिम चुचुराहरू। सौजन्य: Blossom Expeditions
तर तीव्र बेगको हावासँगै दक्षिणतिर उडिरहेका बादले तिनलाई छोपिदिइहाल्ने। अनि फेरि खोलिदिने। अनि एकै निमेषमा छोपिदिइहाल्ने।
बिहानीको घाममा चाँदीझैं टल्किएका ती हिमचुचुराका लश्कर!
ती तीव्र गतिमा उडिरहेका बादलले हामीलाई हिमचुलीका सौन्दर्य आँखा र फोन क्यामरामा कैद गर्न भने पर्याप्त समय दिए।
पिके पिकमा पूर्व सोलुतिरबाट अरू पदयात्री पनि आइपुगे। सबै शिखर र पारि हिमचुलीका दृश्य कैद गर्न व्यस्त। एकैछिनमा उनीहरू विपरीत दिशातिर गए र फेरि जिप चढेर सोलु नै फर्किने योजना अनुसार ओरालो लागे।
हामी भने पिकेसँगै रहेको पूर्वतर्फको अर्को चुचुरातिर लाग्यौं। त्यो पनि चढ्ने आँट आएन। किनभने हामीलाई फर्किने सही बाटो पहिल्याउनु थियो।
तर विडम्बना त्यस बखत पिके पहाडमा त्यसबारे बताइदिने कोही थिएन। फोनको नक्सा अस्पष्ट।
त्यसैले सोलुमा रहेकी बिबिसीकी पूर्वसहकर्मी सुजाता तामाङलाई फोन लगाएँ। उनले पूर्वतिरकै बाटो आउने सल्लाह दिएपछि ओरालो लाग्यौं, सेता अनि गुलाबी गुराँसका पातला वनको सुन्दरतामा रमाउँदै।
अझै तल पुग्दा झनै घना गुराँसका वन भेटिए।
करिब २ घन्टा ओरालो झरेपछि जस्ताका रंगीचंगी छाना भएका केही घर देखिए। यही रहेछ जस्माने भन्ज्याङ, जहाँबाट जुनबेँसी वा सोलुतिरबाट पदयात्री पिके पहाड चढ्न आउँदा रहेछन्।
जस्मानेबाट पारि फाप्लु विमानस्थलको धावनमार्ग देखियो। हामी त्यहीँबाट फर्किने योजनामा थियौं।
जस्मानेदेखि फेरि ओरालो झर्दा रातै गुराँसका वनले सविन राईको 'गुराँसको फेदमुनि' बोलको गीत सम्झायो।
ओरालोमा माथिबाट सुनपातीको पोको बोकेर झर्दै गरेकी फुर्वा शेर्पा भेटिइन्। भर्खरै काठमाडौंमा १२ कक्षाको पढाइ सकेकी उनी अब अमेरिका कि जापान हान्निने तयारीमा रहिछन्।
हाम्रो मन च्वास्स हुनेगरी भन्दै थिइन्, 'नेपालमा के काम छ? अब उतै जाने हो।'
बेँसीमा उनको गाउँ झरेपछि भेटिएको एउटा जिपले हामीलाई सोलु सल्लेरी पुर्यायो। जहाँ नयाँ नयाँ होटल र गेस्ट हाउससँगै बालबालिकाका लागि नयाँ स्केट पार्क पनि खुल्न थालेका रहेछन्।
सुजाता तामाङले आफू अडिन क्याफेसहितको स्केट पार्कमा लगानी गरेकी रहिछन्।
साना विमान सबै डलर कमाउने उडानका लागि लुक्ला वा हुम्लाको सिमकोटतर्फ व्यस्त रहेकाले फाप्लु उडान बन्द। अर्को बिहान अर्थात् चौथो दिन सबेरै बिजुली गाडीमा ओखलढुंगा र मध्यपहाडी अनि बिपी राजमार्ग हुँदै काठमाडौं आउने चाँजोपाँजो मिल्यो।
चर्को गर्मीमा रोशी खण्डको गर्मी र उथलपुथल पार गर्दै घर फर्किँदा काठमाडौं सहर उस्तै थियो।
यहाँका सबै व्यवसायी र उद्यमी जस्तै, मोबाइल फोनमा घोप्टेको घोप्ट्यै गर्ने बानी परिसकेका इनड्राइभ, पठाओ, यांगोका चालकहरू देशका कुना कुनाबाट आइपुग्ने मानिसलाई लाग्दो रकम असुलेर स्वागत गर्न सदाझैं तम्तयार थिए।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal
यी पनि पढ्नुहोस् –
ट्रेकिङ जाँदै हुनुहुन्छ? लेक लाग्नबाट यसरी जोगिनुस्
तेन्जिङ–हिलारी पदमार्गको नयाँ अनुहार
यसपालि सगरमाथा शिखरमा के के आश्चर्य भयो?