प्युठानको नौबहिनीमा शंकास्पद वस्तु फेला परेपछि सेना घटनास्थलमा पुगेको छ।
जिल्लाको नौबहिनी गाउँपालिका– ६ लुङका नरेन्द्र केसीको घरसँगैको गाईगोठ पछाडि शनिबार दिउँसो साढे १ बजे विष्फोट भएपछि हेर्दा चार वटा शंकास्पद वस्तु फेला परेको थियो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार तारसहित चार शंकास्पद वस्तु फेला परेपछि बाँसको घाराले उडाइ आँगन छेउमा ल्याइफालेका थिए। ती फालेको नजिकै अर्को एउटा समेत बम जस्तो शंकास्पद वस्तु गरी कुल पाँच वटा शंकास्पद वस्तु फेला परेको भट्टराईले बताए।
प्रहरीका अनुसार फेला परेका वस्तुहरूमध्ये दुई वटा सिल्भर कलरको र थप तीन वटा कालो प्लाष्टिकले बेरेको अवस्थामा छन्।
स्थानीय युवराज केसीले सवा ४ बजेतिर शंकास्पद वस्तु फेला परेकोबारे इलाका प्रहरी कार्यालय लुङबहानेलाई खबर गरेका थिए। त्यसपछि इप्रका लुङबहानेबाट प्रहरी निरीक्षक दिपेश चौधरीको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीको आग्रहमा नेपाली सेनाको बर्द बहादुर गण फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्न भनेर सेनानी अमृत बाबु बस्नेतको कमाण्डमा २० जनाको टोली घटनास्थलमा खटिएको छ।