रसुवागढी भन्सार प्रमुखसहित ९ कर्मचारीको जिम्मेवारी खोसिएको छ।
भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई सहित ९ जनालाई जिम्मेवारीमुक्त गरी उनीहरूलाई विभागमा तानिएको अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।
रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिले गरेको सिफारिसअनुसार जेठ २० गते थप अनुसन्धानका लागि रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रुपमा छानबिन प्रक्रिया अगाडि बढाइरहेको जानकारी सचिवालयले दिएको छ।
छानबिनका लागि अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्धयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अनुसन्धान टोली यतिबेला पनि फिल्डमा रहेको जानकारी दिइएको छ।
प्रारम्भिक रुपमा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान चलिरहेको छ । यसको विस्तृत विवरण आउन बाँकी रहेको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
छानबिन चलिरहेको समयमा अर्थमन्त्रीलाई जोडेर गरिएका गलत प्रचारबाजी भएको भन्दै उनको सचिवालयले त्यसमा ध्यानाकर्षण भएको जनाएको छ।
त्यसरी प्रचार गर्नेमाथि कानुनी उपचारको प्रक्रिया केहीमाथि सुरू भएको केही माथि प्रक्रियामा रहेको सचिवालयले जनाएको छ।