उदयपुरकी उपमा कार्की हाल अमेरिकाको ओरेगन राज्यस्थित हिल्सबोरो सहरमा बसोबास गर्दै आएकी छन्। उनी अमेरिका बसेको आठ वर्ष भयो।
उनी त्यहाँ करिब डेढ वर्षदेखि इन्टेल कर्पोरेसन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छिन्।
इन्टेल विश्वकै अग्रणी प्रविधि कम्पनीमध्ये एक हो। यो कम्पनी मुख्य रूपमा कम्प्युटर तथा अन्य डिजिटल उपकरणमा प्रयोग हुने प्रोसेसर (चिप) र सेमिकन्डक्टर निर्माणका लागि परिचित छ। इन्टेलले कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सेन्टर, क्लाउड कम्प्युटिङ र उच्च प्रविधिका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएको छ।
चिप्स अझ गुणस्तरीय बनाउने, उत्पादन प्रक्रियामा हुने त्रुटि (डिफेक्ट) कम गर्ने तथा उत्पादनको प्रभावकारिता बढाउने जिम्मेवारीमा छिन् उपमा।
'चिप्स कसरी गुणस्तरीय उत्पादन गर्न सकिन्छ भनेर हामी काम गर्छौं,' उपमाले भनिन्।
उपमाको विभागमा अहिले ११ जनाको समूह छ।
जीवनमा कहिल्यै कार्यालयको कामको अनुभव नभएकी उपमालाई सुरूको चरणमा एकै पटक ठूलो कम्पनीमा काम गर्न गाह्रो भयो। तर समय अनुसार भिज्दै गइन्।
यो खालको काममा सानो गल्तीले पनि कम्पनीलाई ठूलो नोक्सानी पुग्न सक्ने भएकाले निकै सजग हुनुपर्ने उनी बताउँछिन्।
'काम निकै संवेदनशील प्रकृतिको छ। अनुशासनमा बसेर काम गर्नुपर्छ,' उनले सुनाइन्।
कार्यालयको समय बिहान साढे सात बजेदेखि साँझ पाँच बजेसम्म हुन्छ।
उनी र उनका श्रीमान एउटै कम्पनीमा कार्यरत छन्। उनीहरूका एक छोरी पनि छिन्। विदेशमा कामसँगै घरपरिवार व्यवस्थापन गर्न केही कठिन हुने उपमाको अनुभव छ।
उनीहरू बिहान काममा जाँदा छोरीलाई स्कुलमा छाड्छन् र फर्किँदा लिएर आउँछन्। एउटै दैनिकीले कहिलेकाहीँ छोरीलाई पर्याप्त समय दिन नसकेको जस्तो महसुस हुन्छ।
'छोरीको स्कुल साढे दुई बजे छुट्टी हुन्छ। त्यसपछिको समय हामी दुवै जना अफिसमा हुन्छौं। त्यसैले डे–केयरमा राखेका छौं,' उपमाले भनिन्, 'कहिलेकाहीँ त छोरीलाई समय दिन सकिएन कि जस्तो लाग्छ।'
सरकारी नियम अनुसार सातामा दुई दिन बिदा हुन्छ। बिदाको समयमा भने उपमा परिवारसँगै बिताउँछिन्।

नेपालमा रहँदा उपमा पढाइमा मात्रै केन्द्रित थिइन्। त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर सकेपछि विद्यावारिधि (पिएचडी) गर्न अमेरिका गएकी हुन्। उनका श्रीमान अमेरिकामै थिए।
उनले अलाबामा विश्वविद्यालयबाट भौतिकशास्त्र अन्तर्गत 'स्पिनट्रोनिक्स' विषयमा विद्यावारिधि गरिन्। 'स्पिनट्रोनिक्स' भौतिकशास्त्र र इलेक्ट्रोनिक्ससँग सम्बन्धित एक उन्नत प्रविधिगत अध्ययन क्षेत्र भएको उनले जानकारी दिइन्।
पढाइकै क्रममा बच्चा भएपछि आफूलाई व्यवस्थापन गर्न निकै गाह्रो भएको उपमाले बताइन्।
'पढाइको दबाब, नयाँ वातावरण, फेरि यहाँको अंग्रेजी अलि बुझ्न कठिन छ। म त भाषासँग पनि घुलमिल हुँदै थिएँ,' उनले सुनाइन्, 'त्यहीमाथि बच्चा पनि हुँदा त निकै गाह्रो भयो। कोभिडको बेला थियो। नेपालबाट आमाबुबा बोलाउने अवस्था पनि थिएन।'
बच्चा भएपछि सरकारले तीन महिनाको बिदा दिने व्यवस्था भए पनि उनले आफ्नो अन्य बिदा मिलाएर करिब ६ महिना बच्चासँग बिताइन्।
कार्यालय जान थालेपछि भने दिउँसो श्रीमानले र राति उनले बच्चाको हेरचाह गरेर मिलाए।
तर उपमाले पढाइमा समय दिनै सकिनन्। त्यसैले छोरी एक वर्ष पुगेपछि नेपालमा आमाबुबासँग ल्याएर राखिन्। दुई वर्षपछि पढाइ सकियो र छोरी पनि सँगै भइन्।
विद्यार्थी समयमा उपमालाई खर्च व्यवस्थापनमा पनि गाह्रो भएको थियो। जागिर खान थालेपछि बल्ल सहज भएको उनले बताउँछिन्।
नेपालमै स्थिर र राम्रो जागिरको अवसर छ भने आफ्नै देशमा बस्नु उपयुक्त हुने उपमाको अनुभव छ। तर आफूलाई रूचि भएको विषयमा उच्च अध्ययन वा अनुसन्धान गर्न चाहनेहरूले विदेश जाँदा राम्रै हुने उनी बताउँछिन्।
उनका अनुसार विदेश बसाइमा सबभन्दा कठिन परिवारसँग नियमित भेटघाट हुन नसक्नु हो।

'विदेशमा भावनात्मक रूपमा सहयोग गर्ने मान्छे चाहिन्छ,' उपमाले भनिन्।
उनी नेपाल फर्किएपछि गाउँका भाइबहिनीलाई प्रेरित र उत्साहित बनाउने काम कसरी गर्न सकिन्छ भन्ने विषयमा सोचिरहेकी छन्।
भन्छिन्, 'मैले एसएलसी (एसइई सरह) दिउन्जेल उदयपुरमै बिताएँ। बाहिरको केही जानकारी थाहा थिएन। कलेज पढ्न काठमाडौं आउनै डर लागेको थियो। त्यहाँका अन्य भाइबहिनीको अवस्था पनि त्यस्तै छ जस्तो लाग्छ।'
पहाडी भेगमा हुर्किएर अहिले अमेरिकाको ठूलो कम्पनीमा काम गर्न पाउँदा उपमा निकै खुसी छिन्।
यो खुसीको श्रेय आफ्ना बुबाआमालाई दिन्छिन्।
'हाम्रो गाउँमा छोरी पढाउन हुँदैन भन्ने थियो। तर बुबाआमाले हामीलाई पढाउन कहिल्यै सम्झौता गर्नुभएन,' उपमाले भनिन्, 'विश्वास गरेर हामीलाई उच्च शिक्षाका लागि काठमाडौं पठाउनुभयो र सपना पूरा गर्ने हिम्मत दिनुभयो।'
अहिले उनी दोस्रो सन्तानको आमा बन्दै छिन्।
भन्छिन्, 'सन्तानको हेरचाहसँगै आफ्नो करिअर अघि बढाउन अलि बढी मेहनत गर्नुपर्छ, असम्भव केही छैन।'