आइतबार अस्ट्रेलियामाथिको शानदार जितसँगै भारतीय क्रिकेट टोलीका कप्तानले आफ्नो नाममा अर्को एउटा कीर्तिमान थपेका छन्। उनले अस्ट्रेलियाविरूद्धको खेलमा ८२ रनको परी खेले। यस पारीसँगै एक दिवसीय क्रिकेटमा उनको ५० औं अर्धशतक पुगेको छ ।
यतिमात्र होइन उनले एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने मामिलामा राहुल द्रविडलाई समेत पछाडि पारेका छन्।
कोहलीले २२९ वान डे बाट २२१ पारी खेल्दै हालसम्म १० हजार ९ सय ४३ रन जोडेका छन्। यसक्रममा उनको औषत रनदर ५९.४७ छ भने स्ट्राइकदर ९२.९३ रहेको छ। उनले ४१ शतकसमेत लगाइसकेका छन्। त्यसैगरी सर्वाधिक रनको हान्ने मामिलामा उनी नवौं स्थानमा उक्लेका छन्।
सर्वाधिक रनको मामिलामा उनले राहुल द्रविडलाई पछाडि पारेका हुन्। राहुलले ३४४ म्याचमा ३१८ पारी खेल्दै १० हजार ८ सय ८९ रन बनाएका थिए। यसमा १२ शतक तथा ८३ अर्धशतक सामेल छन्। विराटको नयाँ उपलब्धिसँगै उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा १० औं नम्बरमा झरेका छन्।
११ हजार रनबाट विराट ५७ रन टाढा छन्। अब उनी सौरभ गांगुलीले बनाएको ११ हजार ३ सय ६३ रनको रेकर्ड तोड्ने दौडमा प्रवेश गरेका छन्। गांगुली यस सूचिको ८ औं नम्बरमा छन्। कोहली यस स्थानमा पुग्न ४२१ रन पर छन्।
अस्ट्रेलियाविरूद्धको यस जितमा कोहलीले एकदिवसीय करियरको पचासौं अर्धशतक पनि पूरा गरे। सर्वाधिक अर्धशतक बनाउनेको सूचिमा कोहली हाल २३ औं नम्बरमा रहेका छन्। आजसम्म भारतका ७ ब्याट्स्म्यानले यो उपलब्धी हासिल गरेका छन्। सर्वाधिक अर्धशतकको कीर्तिमान सचिन तेन्तुलकरको नाममा छ। उनले ९८ अर्धशतक प्रहार गरेका छन्।