आयोजक इङ्ल्याण्डले घरेलु मैदानमा आइतबार पहिलो पटक विश्वकप क्रिकेट उपाधि उचाल्यो। सुपर ओभरमा पुगेको खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै उसले पहिलोपटक विश्वकपको उपाधि जितेको हो।
यस विश्वकपमा केहि पुराना कीर्तिमानहरू भंग हुँदै नयाँ बने। तर भारतीय ब्याटसम्यान सचिन तेन्दुलकरको कीर्तिमान भने यस विश्वकपमा भंग हुन सकेन।
एक समय भने यस विश्वकपमा उनको कीर्तिमान भंग हुने अवस्थामा नपुगेको भने होइन। रोहित शर्मा, डेविड वार्नर, केन विलियम्सन तथा जो रूट यस कीर्तिमानलाई तोड्ने बाटोमा थिए तर उनीहरू कसैलाई भाग्यले साथ दिएन।
सेमिफाइनलमा भारत र अस्ट्रेलिया पराजित भएसँगै रोहित शर्मा र डेविड वार्नर यस दौडबाट बाहिरिसकेका थिए भने फाइनल खेलमा केन र रूट पनि चाँडो आउट भएपछि सचिनको कीर्तिमान यस विश्वकपमा यथावत नै रहन पुग्यो।
बितेका १६ वर्षदेखि उनको कीर्तिमानलाई कसैले भंग गर्न सकेको छैन। सचिनले सन् २००३ को क्रिकेट विश्वकपमा ६७३ रन बनाएका थिए। उनले ११ खेलबाट सो रन जोडेका थिए। उनले बनाएको सो रन आजसम्म एउटै विश्वकपमा कुनै पनि खेलाडीले जोडेको सर्वाधिक रन हो। यसमा ६ अर्धशतक तथा एक शतक सामेल छ।
यस विश्वकपमा यो कीर्तिमान तोडिनका लागि केनले फाइनलमा १२६ रन जोड्नुपर्थ्यो तर उनी ३० रनमै पेभेलियन फर्किए। यस्तै जो रूटले पनि यसलाई भंग गहर्न १२५ रन बनाउनुपर्थ्यो। उनले केवल ७ रन मात्र जोडे।केनले १० खेलबाट यस विश्वकपमा कुल ५७८ रन बनाए भने रूटले ५५६ रन बनाए।
सचिनको यस रेकर्डको सबैभन्दा निकट भारतका रोहित शर्मा पुगे। उनले ६४८ रन बनाए। सेमिफाइनलमा उनले २७ रन बनाउँदा यो रेकर्ड तोडिनेवाला थियो तर अफ्शोच उनी १ रनमै पेभेलियन फर्किए। यसैगरी वार्नरको स्कोर पनि ६४७ भन्दा अगाडी बढ्न सकेन।
अव सचिनको यो विश्वकप रेकर्ड आगामी विश्वकपसम्मका लागि सुरक्षित बनेको छ।