नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ।
राजधानीको कार्की बैङक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएका छन्।
मुलुकभरका करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबारमा सघाउने गरी बैंक स्थापना गर्न प्रकृया अघि बढाइएको छ।
देशभरकै सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी बैंक स्थापनाको तयारी भइरहेको छ। प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ।
प्रारम्भिक भेलासँगै विभागमा दर्ता प्रकृया थाल्ने र राष्ट्र बैंकबाट स्वीकृत लिने प्रकृया अघि बढाइने बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले बताए।
नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको उनले बताए। उनका अनुसार भेला लगत्तै प्रकृया अघि बढ्नेछ।
बैंक दर्ता हुन ५ सय १ सदस्य सहकारी संस्था आवश्यक पर्छ। तर करिब एक हजार संस्था दर्ता प्रकृयामा सहभागी हुने तयारी भैरहेको छ।
बैंकमा सदस्य सहकारी हुन आवेदक सहकारी लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ। बैंक स्थापना हुन आवश्यक भन्दा बढी नै फाइल संकलन भैसकेको भण्डारीले बताए।
‘अहिले सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन’, उनले भने, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं।’ प्रारम्भिक चरणमा बैंकको सेयर पूँजी ३ अर्ब रुपैयाँ हुने उनले बताए।
हाल सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको राष्ट्रिय सहकारी बैंक संचालनमा छ। तथ्याङक अनुसार सो बैंकमा करिब १२ हजार सदस्य छन्। साे बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने ब्यवस्था छ।
नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नयाँ बैंक स्थापना प्रकृया अघि बढाइएको भण्डारीले बताए। सदस्य सहकारी संस्थालाई थोक कर्जाको रुपमा वित्तीय तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउनु बैंकको उद्देश्य रहने छ।
सहकारी ऐन २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैंक स्थापना गर्न पाउने व्यवस्था छ। सो ऐनको धारा ५४ देखि ६० सम्म बैकको विषयमा ब्याख्या गरिएको छ।
त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ।
आवेदन दिने संस्था वा संघहरुको संयूक्त सेयर पुँजी कम्तिमा तीन अर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ।
सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था छ। बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेलाका निर्णय, व्यावसायिक कार्ययोजना, शेयर पुँजी तथा शुल्क वापत संकलित रकमको भरपाई, स्वघोषणापत्र, विभागले तोके बमोजिम एक दिवशीय पूर्व सहकारी शिक्षा प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ।
हाल सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको जनाउँदै ऐन अनुसार नयाँ बैंक दर्ता प्रकृया शुरु गर्न भेला आयोजना गर्न लगिएको संयोजक भण्डारीले बताए।