रसुवा, नुवाकोट र धादिङका भोटेकोशी–त्रिशूली किनारका बस्तीहरू तहसनहस भएको खबरले मन अस्थिर थियो।
सामाजिक सञ्जालका दृश्य झन् भयावह थिए। बाढी गएको चौथो दिन कम्तीमा एक सय परिवारलाई पुग्ने लत्ताकपडा, सेनेटरी सामग्री, खाद्यान्न, भाँडाकुँडा लगायतका सामग्री तीनवटा गाडीमा राखेर हामी धादिङको टुकेचेतर्फ लाग्यौँ।
सामाजिक सञ्जाल र बेत्रावती–रसुवातर्फ पुगेका साथीहरूबाट त्रिशूलीपारिका धेरै बस्तीमा राहत नपुगेको सूचना आएको थियो। अधिकांश पुल बाढीले बगाइसकेकाले हामीले नबगेको एउटा पुललाई आधार बनाएर त्रिशूलीपारि जाने निर्णय गर्यौँ।
कच्ची सडक, लगातारको वर्षा, पहिरो, हिलो र ठाउँ–ठाउँमा फसेका गाडीका कारण यात्रा सहज थिएन। पहिले तय गरेको रूट दुई पटक परिवर्तन गर्नुपर्यो। अन्ततः साँझ ६ बजे टुकेचे पुग्यौँ।
टुकेचे बजारको झन्डै ८० प्रतिशत भाग बगेको रहेछ। नदीले छोडेको वडा कार्यालय र अस्थायी प्रहरी चौकीमा राहत सामग्री राखिएको थियो। स्थानीयका अनुसार दोस्रो दिन हेलिकप्टरबाट केही बोरा चामल खसालिएको थियो भने चौथो दिनदेखि खाद्यान्न र अन्य सामग्री आउन थालेका थिए।
साँझ परिसकेकाले हामीले अर्को दिन राहत वितरण गर्ने निर्णय गर्यौँ। तर टुकेचेमा बस्ने ठाउँ थिएन। सामानको एउटा गाडी चौकीमै राखेर हामी कोलोनीतर्फ लाग्यौँ। लजहरू भरिएका रहेछन्। अन्ततः चिनजानकी एउटी बहिनीको डेरामा बस्यौँ। उनी आफै कोलोनी बजार पनि बगाउन सक्छ भन्ने डरले माथिल्लो गाउँमा गएकी रहिछिन्। हाम्रो स्वागतका लागि उनी बजार ओर्लिइन्।
उनको एउटा वाक्य अझै कानमा गुञ्जिरहेको छ—‘दाइ, यो बाढी होइन, महाप्रलय हो।’
उनले पकाएको शुद्ध घिउको भात र गुन्द्रुकको झोल खाँदै हामीले बाढीको भयावह कथा सुन्यौँ। बाहिर लगातार पानी परिरहेको थियो, त्रिशूली धेरै टाढा थिएन। डरबीच पनि थकानले निदाइयो। बिहानै उठेर चिया पियौँ, उनलाई धन्यवाद दियौँ र वास्तविक पीडित भेट्न निस्कियौँ।
पीडित, स्थानीय बासिन्दा, वडाध्यक्ष, स्वयंसेवक र प्रहरीसँग कुरा गर्दै जाँदा बाढीको वास्तविक तस्बिर खुल्दै गयो। टुकेचे, शोले, बेत्रावती, भैंसे, कदेलीतार, अकरे, छीपीटार, सताइस बजार लगायतका क्षेत्रका अधिकांश बस्ती बगेका थिए। कति मानिस हराए, कति घर बगे र कति परिवार विस्थापित भए भन्ने यकिन तथ्यांक अझै थिएन।
स्थानीयका अनुसार बाढी आउँदैछ भन्ने सूचना करिब ३० मिनेटअघि नै पुगेको थियो। तर घाम लागेको, त्रिशूली सामान्य रूपमा बगेको र ठूलो वर्षा नभएकाले धेरैले सूचनालाई गम्भीर रूपमा लिएनन्। जब फणा उठाएको गोमन सर्पजस्तो भेल गाउँतिर आउँदै गरेको देखियो, तब मानिसहरू भाग्न थाले। तर त्यतिबेला ढिला भइसकेको थियो। केही सेकेन्डमै भेलले मानिस र संरचनालाई बगर बनायो।
सम्पूर्ण घटना करिब पाँच मिनेटमै सकिएको रहेछ। नदी केहीबेरपछि शान्तजस्तो देखियो, तर बस्ती बगर बनिसकेको थियो। त्यसपछि छतमा फसेकाहरूको ‘बचाऊ’ भन्ने आवाज सुनिन थाल्यो। आफन्त खोज्नेहरूको चिच्याहट चल्यो। जंगलतिर भागेर ज्यान जोगाएकाहरूले आफ्नो घरसमेत छुट्याउन सकेनन्। हेलिकोप्टरहरू आए, तर छतबाट लुगा हल्लाएर बचाऊ भनिरहेकी महिलालाई हेलिकोप्टरले देखेन। अन्ततः गाउँलेहरूले नै उनको उद्धार गरे।
राहत वितरणका क्रममा मैले अर्को महत्वपूर्ण सामाजिक तस्बिर देखेँ।
आज बजारका रूपमा चिनिएका धेरै ठाउँ पहिले गाउँका बेँसी थिए। उर्वर फाँटमा खेती हुन्थ्यो। सडक विस्तार, गोसाइँकुण्ड, केरूङ, मानसरोवर लगायतका यात्राका बाटो विकास हुँदै गएपछि ती क्षेत्र व्यापार र बसोबासको केन्द्र बने। गाउँका मानिस तल झरे। कतिपयले जग्गा किनेर र कतिपयले खाली जमिन मिचेर घर बनाए।
त्यहाँका सबै पीडितको अवस्था भने एउटै थिएन। कसैले घर, व्यवसाय र आम्दानीको स्रोत सबै गुमाएका थिए। कसैको बजारको घर बगे पनि गाउँमा अर्को घर थियो। कसैको घर जोगिए पनि रोजगारी वा खेत गुमेको थियो। बाहिरबाट रोजगारी वा व्यवसायका लागि आएका केही मानिससँग पुर्ख्यौली घरजग्गा थियो। केहीले परिवारका सदस्य नै गुमाएका थिए। बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिमध्ये परिवार तथा हेरचाह गर्ने गुमाएकाहरू झन् जोखिममा थिए।
यही कारण राहत वितरण जटिल बनेको थियो। हामी पाँच वटा क्षेत्रमा पुग्यौँ। जताततै भीड थियो, तर वास्तविक पीडित १०–१५ जना मात्र भेटिन्थे। राहतको वास्तविक आवश्यकता र बाढीपीडितबीच ठूलो अन्तर देखियो।
कतिपय स्थानीय प्रतिनिधि राहत वितरणको दबाबमा थिए। राहतका नाममा मानिस जम्मा हुने, सामान बाँड्ने, फोटो खिच्ने र फर्किने सजिलो थियो; वास्तविक पीडित पहिचान गर्न कठिन।
हामी त्यहीँ हुँदा चितवनका एक तरकारी व्यवसायीले पीडितका लागि एक गाडी तरकारी प्रहरी चौकी र वडालाई जिम्मा दिए।
वास्तविक पीडित करिब १५ जना थिए होलान्, तर तरकारी लिन ठूलो भीड जम्मा भयो। जसलाई जे चाहियो, त्यही उठाएर लगे। बाँकी तरकारी छरिएर कुहिने अवस्थामा पुग्यो। कसलाई के चाहिन्छ भन्ने तथ्यांक नै थिएन।
कति परिवार विस्थापित छन्, कहाँ छन्, कसलाई खाद्यान्न चाहिन्छ, कसलाई लत्ताकपडा, औषधि, घर निर्माण सामग्री वा आर्थिक सहयोग चाहिन्छ भन्ने वर्गीकरण थिएन। राहत सहयोग स्वयं कतिपय अवस्थामा अर्को अव्यवस्थाको कारण बनिरहेको थियो।
प्रत्यक्ष अवलोकनपछि मेरो निष्कर्ष स्पष्ट भयो—अब मुख्य समस्या चामल, दाल, कपडा र भाँडाकुँडा मात्र होइन। मुख्य समस्या सडक हो। सडक नहुँदा राहत मात्र होइन, बिरामी, विद्यार्थी, व्यवसाय, कृषि उत्पादन र दैनिक जीवन सबै प्रभावित भएका छन्।
अर्को समस्या विद्युतको हो। बाढीले पोल र मुख्य लाइन ढालेको छ। बत्ती नहुँदा मिल, कुटानी–पिसानीदेखि सामान्य घरायसी कामसम्म प्रभावित छन्। स्थानीयहरू भन्दै थिए, ‘हामीसँग धान छ, पीडितलाई पाल्छौँ, तर मिल चलाउन बत्ती चाहियो।’ ती बेँसीमा दुई बाली धान फल्छ।
खानेपानीको अवस्था पनि गम्भीर छ। पाइपलाइन टुटेको छ, नदीको पानी खान सकिने अवस्था छैन। बोतलको पानी बाँड्नुभन्दा स्थायी खानेपानीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।
शिक्षाको अवस्था पनि उस्तै छ। धेरै विद्यालयका भवन बगेका वा क्षतिग्रस्त छन्। बाढीपीडितका मात्र होइन, सम्पूर्ण गाउँका बालबालिका पढ्नबाट वञ्चित छन्। राहत वितरण भएका ठाउँ र भीडतिर बालबालिका भौँतारिरहेका छन्। त्यसैले तत्काल अस्थायी संरचना बनाएर पढाइ सुरू गर्नुपर्छ।
त्योसँगै बालबालिकाको मनोसामाजिक अवस्था पनि गम्भीर छ। आफ्ना साथी, आमाबुबा, आफन्त र घर आँखाअगाडि बगेको देखेका बालबालिकालाई विद्यालयसँगै मनोसामाजिक परामर्श र सुरक्षित खेल्ने वातावरण आवश्यक छ। घर, परिवार र सामाजिक संरचना गुमाएका ज्येष्ठ नागरिकका लागि पनि सुरक्षित आश्रय, स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग आवश्यक छ।
अस्पताल तथा स्वास्थ्य संस्थाहरू क्षतिग्रस्त भएकाले अस्थायी स्वास्थ्य चौकी र औषधिको व्यवस्था पनि तत्काल आवश्यक देखिन्छ।
स्थानीयका अनुसार नुवाकोटतर्फ त्रिशूलीपारि तीनवटा होल्डिङ क्षेत्र बनाइएको छ। हामी त्यहाँ पुग्न सकेनौँ। स्थानीयहरू एक सय पचास किलो क्षमताको तुइन सञ्चालन गर्ने तयारीबारे बताउँदै थिए। पतञ्जलीले सञ्चालन गरेको खाना खुवाउने स्थलमा पनि दुई–चार जना मात्र खाना खाइरहेका थिए। यसले समस्या खाना मात्र नभई पहुँच र व्यवस्थापनमा पनि रहेको देखाउँछ।
अब त्यहाँ राहतभन्दा पुनर्स्थापनाको समय सुरू हुनुपर्छ। प्रभावित परिवारलाई एउटै समूहमा राखेर योजना बनाउनु हुँदैन। घर, जमिन, व्यवसाय र आम्दानी सबै गुमाएकालाई फरक सहयोग चाहिन्छ। घर गुमे पनि गाउँमा आश्रय भएकालाई फरक सहयोग चाहिन्छ। रोजगारी वा खेत गुमाएकालाई फरक सहयोग चाहिन्छ। परिवारका सदस्य गुमाएका तथा बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई विशेष सहयोग आवश्यक छ।
अर्को चिन्ताजनक कुरा विस्थापित परिवारका नाममा जंगल फडानी गरेर नयाँ टहरा बनाउने प्रयास हो। पीडितलाई सुरक्षित आवास दिनुपर्छ, तर वन विनाश वा अव्यवस्थित बस्ती विस्तारलाई समाधान मान्नु हुँदैन।
यस विपत्तिले अर्को कठोर पाठ पनि दिएको छ। बाढी आउँदैछ भन्ने सूचना आधा घण्टा अगाडि पुगे पनि धेरैले विश्वास गरेनन्। हरेक वर्ष बाढी आउने र मानिसहरू भागेर फेरि फर्किने अभ्यासले असामान्य जोखिमप्रति पनि मानिसलाई असंवेदनशील बनाएको देखियो।
त्यसैले अब ‘बाढी आउँदैछ’ भन्ने सूचना मात्र पर्याप्त छैन। ‘बाढी आउँदैछ, तुरून्तै घर छोड्नुहोस्’ भन्ने स्पष्ट आदेश र त्यसको नियमित अभ्यास आवश्यक छ।
हामी राहत बोकेर त्यहाँ पुगेका थियौँ। हामीलाई लागेको थियो—मानिसलाई चामल, कपडा र भाँडाकुँडा चाहिन्छ। तत्काल ती सामग्री आवश्यक थिए होलान्। तर फर्किंदा हाम्रो बुझाइ फेरिएको थियो।
त्रिशूली किनारका मानिसलाई अब राहत मात्र होइन, पुनःजीवन चाहिएको छ। उनीहरूलाई बाटो, बिजुली, पानी, विद्यालय, रोजगारी र सुरक्षित घर चाहिएको छ। बालबालिकालाई भविष्य र वृद्धवृद्धालाई भरोसा चाहिएको छ। सबैभन्दा ठूलो कुरा, फेरि यस्तो त्रास नदोहोरियोस् भन्ने सुरक्षा चाहिएको छ।
बाढीलाई प्राकृतिक विपत्ति भनेर मात्र बुझ्यौँ भने फेरि गल्ती गर्नेछौँ। विपत्ति प्राकृतिक थियो होला, तर कहाँ बस्ती बनाउने, कहाँ सडक बनाउने, कहाँ घर ठड्याउने, कसरी चेतावनी दिने, उद्धारको योजना कस्तो बनाउने र विस्थापितलाई कसरी पुनर्स्थापना गर्ने भन्ने निर्णय हाम्रो हो।
त्यसैले अब प्रश्न अर्को राहत ट्रक पठाउने मात्र होइन—उनीहरूलाई फेरि उही जोखिममा फर्काउने कि सुरक्षित भविष्य दिने भन्ने हो।
बाढीले बस्ती बगाइसकेको छ। अब हाम्रो काम बगेको बस्ती फेरि उही ठाउँमा उठाउने होइन, बगेको जीवनलाई सुरक्षित ठाउँमा पुनःनिर्माण गर्ने हो। यही नै राहतबाट पुनर्स्थापनातर्फ जाने सही बाटो हो।
(प्रत्यक्ष अनुभव र स्थानीय संवादमा आधारित विश्लेषण)