तिहार नजिकिँदै छ, घरहरू सफा हुँदैछन्, बजारमा सप्तरङ्गी टीका र मखमली फूल देखिन थालेका छन्। सबैको मनमा चाडपर्वको रमाइलो छ। तर तिहारसँगै मेरी आमालाई एउटा पुरानो प्रश्न फेरि पनि दोहोरिनेछ- तिहारमा टीका लगाउनकै लागि भए पनि एउटा भाइ चाहिँ चाहियो नि, एउटा छोरो पाइदेऊ न।
मेरी आमाले विगतका वर्षहरूमा जस्तै यसपालि पनि यस्ता कुरा सुन्नुपर्नेछ। उहाँको मनमा कति कुरा खेल्छन्, त्यो त उहाँलाई नै थाहा होला। तर बाहिर भने मुस्कुराउँदै भन्नुहुन्छ, ‘हुन्छ नि, भोलि बिहानै पाइदिन्छु।’ अनि खिस्स हाँस्दै आफ्नो बाटो लाग्नुहुन्छ। सायद उहाँ यस्ता प्रश्नको जवाफ दिँदादिँदै थाकिसक्नुभएको छ।
हाम्रो घरको अलि फरक तिहार
हामी दुई दिदीबहिनी छौँ, मेरी बहिनी अहिले ११ वर्षकी भइन्। उनी जन्मिएदेखि नै हामीले हरेक वर्ष एक-अर्कालाई टीका लगाउँदै आएका छौँ। हाम्रो घरमा भाइटीका आउँदा हामी दुवै जना एक-अर्कालाई टीका लगाउन आतुर हुन्छौँ।
म बहिनीको निधारमा टीका लगाउँदा उसको राम्रो स्वास्थ्य, खुसी र लामो आयुको कामना गर्छु। बहिनीले पनि मलाई त्यही माया र शुभेच्छासहित टीका लगाउँछिन् होला भन्ने मलाई लाग्छ। त्यो क्षणमा हामीलाई दाजुभाइको अभाव महसुस हुँदैन। मलाई हाम्रो यो परम्पराप्रति असाध्यै खुसी लाग्छ। अझ हाम्रा अभिभावकले हामीलाई यसरी हुर्काउनु भएकोमा गर्व लाग्छ।
त्यसैले मेरो लागि यो भाइटीका मात्र होइन, तिहारको टीका दिदीबहिनी टीका पनि हो, दाजुभाइ टीका पनि हो।
धार्मिक कथाले के भन्छ, हाम्रो मनले के भन्छ?
भाइटीकासँग यमराज र उनकी बहिनी यमुनाको एउटा प्रचलित धार्मिक कथा जोडिएको छ। जनविश्वासअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई घरमा बोलाएर टीका लगाइदिइन् र उनको दीर्घायुको कामना गरिन्। बहिनीको प्रेम र सत्कारबाट प्रसन्न भएका यमराजले उनलाई वरदान दिए। यही घटनाको सम्झनामा कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका मनाउने परम्परा सुरु भएको मानिन्छ।
यो कथाले हामीलाई दाजुभाइ र दिदीबहिनीबिचको प्रेम, सम्मान र शुभेच्छा सिकाउँछ।
तर एउटा सानो प्रश्न, यमुनाले दाजुको लामो आयुको कामना गरिन्, हामीले त्यसबाट एकअर्काको आयुको कामना गर्न किन नसक्ने? दाजुभाइको दीर्घायु चाहनु राम्रो कुरा हो। तर दिदीबहिनीको दीर्घायु चाहनु पनि त उत्तिकै राम्रो होइन र? के खुसी, स्वास्थ्य र लामो जीवनको आवश्यकता दाजुभाइलाई मात्रै हुन्छ?
परम्परा जोगाऔँ, सोच पनि बदलौँ
हाम्रो संस्कृति र परम्परा हाम्रो पहिचान हुन्। तिनलाई जोगाउनु हामी सबैको कर्तव्य हो। तर समयसँगै राम्रा कुराहरू थप्दै जानु पनि त संस्कृतिको संरक्षण नै हो।
आज हामीले नयाँ फेसन, नयाँ पहिरन र नयाँ चलनलाई सहजै स्वीकार गरिरहेका छौँ। समयअनुसार धेरै कुरा परिवर्तन पनि भएका छन्। त्यसो भए आपसी माया र समानताको सन्देश दिने एउटा सानो परम्परालाई अझ फराकिलो बनाउन किन नसक्ने?
आज धेरै दिदीबहिनीले एकअर्कालाई टीका लगाउन थालेका छन्। दाजुभाइले पनि एकअर्कालाई टीका लगाएर शुभकामना साटासाट गर्न थालेका छन्। यो निकै राम्रो सुरुवात हो।
यो कसैको परम्परालाई हटाउने वा कसैको धार्मिक विश्वास बदल्ने कुरा होइन। जसलाई जसरी टीका लगाउन मन लाग्छ, त्यसरी नै मनाउन पाउनुपर्छ। तर जसको दाजुभाइ छैनन्, उनीहरूले दिदीबहिनीबिच टीका लगाउन किन नपाउने? जसको दिदीबहिनी छैनन्, उनीहरूले दाजुभाइबिच टीका लगाउन किन नपाउने?
हामीले कसैलाई टीका लगाउनबाट रोक्ने होइन, सबैलाई टीका लगाउन सक्ने अवसर दिने हो।
एउटा सानो परिवर्तन, ठुलो खुसी
म चाहन्छु, तिहारको दिन दाजुभाइ नहुने दिदीबहिनीले कसैको घरमा भाइ खोज्दै हिँड्न नपरोस्। दिदीबहिनी नहुने दाजुभाइले पनि आफ्नो सम्बन्ध अधुरो भएको महसुस गर्न नपरोस्।
टीका लगाउनका लागि मात्रै नयाँ सम्बन्ध खोज्नुपर्ने बाध्यता नहोस्। भएका सम्बन्धलाई नै माया र सम्मानले सजाउन सकियोस्।
मेरी आमाले हरेक वर्ष ‘एउटा भाइ पाइदेऊ’ भन्ने प्रश्न सुन्नु नपरोस्। उहाँले जन्माउनु भएका हामी दुई छोरी नै उहाँका लागि पूर्ण सन्तान हौँ भन्ने कुरा सबैले बुझुन्।
म र मेरी बहिनीले एकअर्कालाई टीका लगाउन थालेको ११ वर्ष भइसक्यो। हामीले त परिवर्तनको सुरुवात आफ्नै घरबाट गरिसकेका छौँ। अब अरूले पनि आफ्नो घरबाट यस्तै सुन्दर सुरुवात गर्न सकुन् भन्ने चाहना छ।
आखिर चाडपर्व भनेको खुसी बाँड्ने दिन हो, कसैलाई केही नभएको महसुस गराउने दिन होइन। कसैको आँखामा आफन्तको अभावले आँसु नआओस्, कसैले आफ्नो सम्बन्धलाई अरूसँग तुलना गर्न नपरोस्।
टीका लगाउने हात फरक हुन सक्छन्, तर ती हातले दिने आशीर्वाद त एउटै हो नि हैन र?
(समृद्धि बस्ताकोटी अध्ययन स्कुल, सामाखुसीको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।)