एक दिन मेरो बाबाले सुत्ने बेला एउटा कथा सुनाउनुभयो। त्यो कथा लेखक झमक घिमिरेबारे रहेछ।
मलाई अचम्म लाग्यो। बाबाले फेसबुकमा उहाँलाई देखाउनुभयो। उहाँ बाबाको साथी पनि हुनुहुँदो रहेछ। बाबाले धेरै पहिले उहाँलाई भेट्नु पनि भएको रहेछ।
बाबाको मेसेन्जरबाट मैले पनि झमक घिमिरेसँग कुरा गरेँ। मैले बोलेर पठाएको कुरा उहाँले लेखेर जवाफ दिनुभयो। मेरो प्रश्नमा उहाँले ‘हुँदैन बाबु’ पठाउनुभयो। मेरो प्रश्नमा फेरि ‘हजुर खुट्टाले नै गरेको हो’ भनेर पठाउनुभयो।
यसरी उहाँले खुट्टाले नै लेखेर हामीले केही कुरा गर्यौँ।
त्यसपछि मलाई उहाँको किताब पढ्न मन लाग्यो। बाबाले आफ्नो बुकसेल्फमा त्यो किताब धेरै खोज्नुभयो। तर भेट्नुभएन। बाबा आफ्ना किताब खोज्नुहुन्छ। भेट्नुहुन्न। धेरै साथीहरूले लगेर फिर्ता गर्नुहुन्न रे।
एक दिन बाबाले जीवन काँडा कि फूल किनेर ल्याउनुभयो। केही च्याप्टर बाबाले पढेर सुनाउनुभयो। त्यसपछि मैले आफैँ पढेँ।
मलाई किताब धेरै राम्रो लाग्यो। यो किताबले एकै वर्षमा ११ वटा ठुला पुरस्कार पाएको रहेछ।
झमक घिमिरेले आफ्नो भाइबहिनीले पढेको सुनेर पढ्न सिक्नुभएको रहेछ। उहाँले आँगनमा लट्ठीले, अँगारले र खुट्टाको औँलाले लेख्न सिक्नुभएको रहेछ।
बिरामी छ भनेर धेरैले उहाँलाई हेप्थे। कतै हिँडडुल गर्न पाउनु हुँदैन थियो। दिनभरि घरमै एक्लै बस्नुहुन्थ्यो।
हात, मुख, ढाड नचले पनि उहाँको खुट्टा भने चल्थ्यो। उहाँको दिमाग पनि चल्थ्यो। तर यस्तो मानिसको दिमाग चल्दैन भन्ने धेरैले सोच्दा रहेछन्। त्यो खराब हो। हामीले फरक क्षमता भएका मानिसलाई पढ्न, लेख्न, काम गर्न दिनुपर्छ। अपांग भन्ने शब्द प्रयोग गर्नुहुँदैन।
मेरो बाबाको अफिस नेपालयमा हीरा आन्टी हुनुहुन्छ। उहाँ सधैँ ह्विलचियरमा बसेर काम गर्नुहुन्छ। उहाँ कक्षा १० मा पढ्दा रुखबाट खस्नुभएको रहेछ। उहाँ आफै स्कुटर चलाउनुहुन्छ। उहाँले अरू बराबर काम गर्न सक्नुहुन्छ।
मैले एक दिन खुट्टाले सिसाकलम च्यापेर लेख्न कोसिस गरेँ। तर सकिनँ। हामीले जे सक्दैनौँ, उहाँहरूले त्यो सक्नुहुन्छ। त्यसैले उहाँहरू कमजोर होइन। फरक क्षमतावान् हो।
अब म यस पुस्तकमा मलाई मन परेका केही वाक्य यहाँ लेख्छु।
१. जीवन त काँडाको बाटोबाट फूलको संसारमा प्रवेश गर्ने मार्ग रहेछ।
२. सुखले मलाई नमात्तिन सधैँ ऊर्जा दिइरह्यो, दुःखले सधैँ अघि बढ्न प्रेरित गरिरह्यो।
३. जीवनका नदीहरू निरन्तर बगिरहे, कहिले उछालिँदै, कहिले संयम हुँदै।
४. जीवनमा चोट, घाउ, दुःख, सुख, सजिला, अप्ठ्यारा घुम्ती, मोड, गल्ली, गल्छेंडाहरू सबै हुन्छन् र त जीवन पनि फूल जस्तै सुन्दर छ।
५. सत्य एकदमै तीतो हुन्छ, वास्तविकता पनि उत्तिकै खल्लो।
६. त्यति बेला आफ्नो घर राम्रो देख्थेँ, किनभने आफ्नो घरभन्दा पर कसैको घर देखेकी थिइनँ।
७. सबै ढुंगा ढुंगा मात्र हुँदैनन्, शालिग्राम पनि हुन सक्छन्।
८. मेरा लागि खुला धरती नै अभ्यास पुस्तिका बन्यो।
९. खुट्टाका मसिना औँलाहरू पेन्सिल र इरेजरहरू बने।
१०. आफूलाई पूर्ण ठान्नेहरूले पूर्वजन्मको पापको फल यस जन्ममा मिलेको भन्दै घृणा, अपमान, तिरस्कारका शब्दहरू खन्याउँछन् र जसमाथि घृणाका थुकहरू पर्दछन्। म तिनै घृणाका थुकहरू थपेर जिन्दगीको सुन्दर चित्र कोर्दै थिएँ, जिन्दगीको सबैभन्दा राम्रो चित्र सायद त्यति बेलै कोरेकी थिएँ मैले।
मेरो मम्मा घिमिरे हुनुहुन्छ। झमक घिमिरेलाई मैले ठूलोमामु भन्ने गरेको छु। उहाँलाई अहिलेसम्म भेटेको छैन। उहाँ मदन पुरस्कार पाउने पारिजात पछिको दोस्रो महिला हुनुहुन्छ।
ठूलोमामु, हजुर धेरै किताब लेखिसियो। हजुरले कति दुःखले लेख्न र पढ्न सिक्नुभयो। यसले हामीलाई प्रेरणा दिन्छ।
हामी पनि सानो कुरा भएन भनेर आत्तिनु हुँदैन। जे छ त्यसैमा खुसी हुनुपर्छ। सधैँ कडा मेहनत गर्ने मानिस मात्र सफल हुँदो रहेछन्। झमक ठूलोमामुको जीवनी सबैले पढिदिनुहोला।
(काठमाडौँ प्रज्ञा कुञ्जको कक्षा ४ मा पढ्ने संस्कृत आचार्यको २०८३ सालमा उनी ९ वर्ष भएको दिन ९ वटा सचित्र निबन्धको पुस्तक ‘सहरका हामी केटाकेटी’ प्रकाशित भएको छ।)