प्रिय अमित ढकाल जी र सुदीप श्रेष्ठ जी,
तपाईंहरू दुवैजना नेपाली पत्रकारिता र पत्रकारिता मार्फत् हुने सार्वजनिक बहसका क्षेत्रमा सुपरिचित हुनुहुन्छ। लेखक, विश्लेषक र सम्पादकका रूपमा तपाईंहरूले बनाएको बौद्धिक छवि र सम्पादकीय विश्वसनीयता सामान्य छैन।
तपाईंहरूको पेसागत उत्कृष्टताप्रतिको मेरो आदरभावका बारेमा तपाईंहरूलाई नै पनि थाहा छ।
तर सेतोपाटीमा प्रकाशित भइरहने 'तारिफकारिता' शृंखलामा मंसिर ७ मा प्रकाशित 'बेलायतको कमाइ छाडेर मेयर बन्न नेपाल फर्किँदै' शीर्षकमा रूपेश काफ्ले नामक पात्रको प्रचार सामग्री पढेपछि यो प्रश्न नगरी बस्न सकिनँ– तपाईंहरू जस्ता सम्पादकले यस्तो सामग्रीलाई समाचारका रूपमा पस्केर के गर्न खोज्नुभएको हो?
पहिलो नजरमा यो विदेशको आकर्षक कमाइ र सुविधाजनक जीवन त्यागेर समाजसेवाका लागि स्वदेश फर्किन लागेको एकजना संघर्षशील युवाको प्रेरणादायी कथा जस्तो देखिन्छ।
तर अलि ध्यान दिएर पढ्दा यो पत्रकारिताभन्दा रूपेश काफ्ले स्वयंले आफ्नो परिचय, जीवनवृत्त, महत्त्वाकांक्षा र राजनीतिक आकांक्षाको प्रचार गर्न तयार पारेको सामग्रीलाई समाचारको आवरणमा प्रस्तुत गरिएको 'कुसमाचार' हो भन्ने छर्लंग हुन्छ।
मैले यसका लागि 'कुसमाचार' जस्तो कठोर शब्द प्रयोग गर्नुको कारण असहमत भए पनि तपाईंहरूले बुझ्नु हुन्छ। उक्त समाचारको लगभग सम्पूर्ण कथ्य उनै काफ्लेको भनाइमा आधारित छ।
उनले बेलायतमा के गरे, कति कमाए, कस्तो जीवन बिताए, किन नेपाल फर्किन लागे, समाजका लागि के गर्न चाहन्छन् र मेयर किन बन्न चाहन्छन्– सबै कुरा उनैले बताएका छन्।
ती भनाइको स्वतन्त्र पुष्टि चाहिँदैन? उनको दाबी परीक्षण गर्ने अर्को स्रोत आवश्यक पर्दैन? उनको राजनीतिक पृष्ठभूमि, स्थानीय समाजसँगको सम्बन्ध, नगरपालिकाबारेको बुझाइ, विकाससम्बन्धी अवधारणा र नेतृत्वको तयारीबारे पत्रकारले एउटा पनि प्रश्न गर्नु पर्दैन?
पत्रकारितामा सम्बन्धित व्यक्तिको भनाइ लिनु अस्वाभाविक होइन। तर उनको भनाइलाई नै समाचारको सम्पूर्ण सत्य मान्नुलाई पत्रकारिता त तपाईंहरू नै पनि मान्नुहुन्न होला, होइन?
समाचारमा काफ्लेले काम गरेको रेस्टुरेन्टमा दुबईका राजकुमारदेखि अमेरिकी धनाढ्य र बलिउड कलाकारसम्म आउने गरेको प्रसंग छ। उनले बेलायतमा देखेको सामाजिक वातावरणको वर्णन छ। अल्डरसटलाई 'मिनी नेपाल' भनिएको छ।
अनि आफ्ना लागि र परिवारका लागि केही गरिसकेको र अब समाजका लागि केही गर्ने हुटहुटी जागेको भावुक कथा छ। तर ती सबै कुरा उनकै एकालाप हुन् र ती मध्येका केही पनि पत्रकारको स्वतन्त्र खोज र परीक्षणबाट प्राप्त तथ्य होइनन् भन्ने कुरा समाचार पढ्दा स्पष्ट हुन्छ।
अझ रोचक त के छ भने, समाचारको शीर्षकले नै उनको राजनीतिक महत्त्वाकांक्षालाई त्याग र समर्पणको आख्यानमा रूपान्तरण गरिदिएको छ। बेलायतको कमाइ छाडेर मेयर बन्न नेपाल फर्किनु आफैमा कुनै असाधारण सामाजिक योगदान होइन। त्यो उनको राजनीतिक निर्णय र महत्त्वाकांक्षा हो। त्यसलाई प्रेरणादायी सामाजिक सेवाको कथा बनाउने जिम्मा पत्रकारिताको होइन।
रूपेश काफ्लेले मेयरको उम्मेदवारी घोषणा गरेका छन्, एउटा राजनीतिक दलमा आवेदन दिएका छन् र नगरपालिकाको विकास गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसो भए पाठकले जान्नुपर्ने कुरा उनको बेलायत बसाइको रोचक विवरण मात्र हो र? उनले नेतृत्व गर्न चाहेको नगरपालिकाका समस्या के हुन्?
तिनको समाधानबारे उनको योजना के छ? स्थानीय नागरिकले उनलाई कसरी चिन्छन्? नगरपालिकाको आवश्यकता र सम्भावनाबारे उनको बुझाइ के छ? राजनीतिक दलभित्र उनको हैसियत र भूमिका के हो? यस्ता प्रश्न पत्रकारिताका विषय होइनन् र?
यो सामग्रीमा प्रयोग भएका तस्बिरहरू पनि काफ्लेले नै उपलब्ध गराएका हुन् भन्ने देखिन्छ। त्यसलाई आफैमा ठूलो समस्या नमान्ने हो भने पनि तस्बिरदेखि कथ्यसम्म सबै कुरा समाचारका पात्र अर्थात् काफ्लेजीकै नियन्त्रणमा रहेको आभास हुन्छ। पात्रले आफ्नो कथा सुनाएका छन्, पत्रकारले त्यसलाई आकर्षक भाषामा पुनर्लेखन गरेका छन् र सञ्चारमाध्यमले त्यसलाई समाचारको मान्यता दिएको छ। यसमा पत्रकारको आफ्नै खोज, जिज्ञासा र हस्तक्षेपचाहिँ कहाँ छ?
पहिले पहिले यस्ता सामग्रीलाई म 'विश्वासी पत्रकारिता' भन्थेँ– पात्रले जे जे भन्यो, सबै अक्षरशः पत्याएर लेखिने समाचार। अहिले त मलाई त्यतिले पनि पुग्दैन जस्तो लाग्न थालेको छ। कसैको आत्मप्रचारका लागि पत्रकारिताकै दुरूपयोग गरिएको भन्न मन लाग्छ।
यसमा रूपेश काफ्लेलाई अवश्य लाभ छ। उनको सार्वजनिक छवि निर्माण हुन्छ, राजनीतिक परिचय विस्तार हुन्छ र सम्भावित मतदातासमक्ष पुग्ने अवसर मिल्छ। तर सेतोपाटीलाई के लाभ छ? पाठकलाई के नयाँ सूचना प्राप्त भयो? सार्वजनिक बहसमा के योगदान पुग्यो? समाचार र प्रचारबीचको भेद मेटेर एउटा व्यक्तिको राजनीतिक ब्रान्डिङमा सहयोग गर्नुबाहेक यस सामग्रीले के उपलब्धि हासिल गर्यो?
पत्रकारितामा मानवीय अभिरूचिका सामग्रीको महत्त्वलाई कसैले अस्वीकार गर्दैन। संघर्ष, सफलता, प्रवास, स्वदेशफिर्ती र सामाजिक योगदानका कथाको महत्व नभएको होइन। तर मानवीय रूचिको कथा भन्दैमा पत्रकारले आफ्नो आलोचनात्मक चेत त्याग्न मिल्दैन। खासमा कथा जति आकर्षक देखिन्छन्, तिनको तथ्य, सन्दर्भ र दाबीको दोहोरी संपरीक्षण अझ महत्त्वपूर्ण हुन्छ।
मलाई लाग्छ, यो कुनै एउटा समाचारको गुणस्तरको मात्र प्रश्न नभएर सेतोपाटीले पत्रकारिताको आफ्नो मापदण्ड कहाँ राखेको छ भन्ने प्रश्न हो। पाठकले समाचार पढ्दा त्यो पत्रकारको खोज, परीक्षण र विवेकबाट आएको हो कि समाचारको पात्रले आफ्नै लागि तयार पारेको प्रचार सामग्री हो भनेर प्रयत्न गरेर छुट्ट्याउनुपर्ने अवस्था आउनु सुखद कुरा होइन।
अझ दुःखको कुरा, यस्ता सामग्रीले वास्तविक खोजमूलक पत्रकारिताका लागि आवश्यक समय, श्रम र बौद्धिक इमानदारीको अवमूल्यन गर्छन्, अनि पाठकको विश्वासमा पनि खिया पर्न थाल्छ। यस्ता ससाना सम्पादकीय सम्झौताबाट सञ्चारमाध्यमको विश्वसनीयतामा असर पर्छ भन्यो तिललाई पहाड बनाए जस्तो सुनिएला भन्ने डर लाग्छ।
मलाई आशा छ, यी कुरालाई एउटा असन्तुष्ट पाठकको गुनासोका रूपमा मात्र लिनुहुने छैन। तपाईंहरूबाट सामान्य समाचार कक्षको स्पष्टीकरण होइन, सम्पादकीय दृष्टिकोण र पत्रकारिताको मापदण्डबारे जबाफको अपेक्षा छ।
पत्रकारिताले कसैको प्रचार गर्न सक्छ, तर प्रचारलाई पत्रकारिता भनेर 'बेच्दा' चाहिँ निष्ठावान् पाठकको साँच्चै नै चित्त दुख्छ।
सादर,
केदार शर्मा