दीपक भट्टबारे सेतोपाटीमा प्रकाशित सामग्रीको चतुर्भुज भट्टले खण्डन गरेका छन्।
'चोलेन्द्रका निकट भन्दै विभागले छापा मारेका नवराज थपलिया र दिपक तिमिल्सिना को हुन्?' र 'चोलेन्द्र र इनामसँग सम्पर्कका कारण निलम्बनमा परे सशस्त्रका एआइजी वंशीराज दाहाल' शीर्षकका दुई समाचारका सामग्रीमा आफ्नो खण्डन रहेको भन्दै चतुर्भुजले सेतोपाटीलाई पत्र पठाएका छन्।
हामीले उनको खण्डन जस्ताको तस्तै प्रकाशन गरेका छौं।
चतुर्भुज भट्टले पठाएको खण्डनको पूर्णपाठः
उपरोक्त सम्बन्धमा सेतोपाटी सञ्चार प्रा. लि. पत्रिका/टेलिभिजन/रेडियो/अनलाइन सञ्चार माध्यमबाट मिति १० असोज २०८३ देखि 'चोलेन्द्र शमशेर राणा' र 'दीपक भट्ट' जोडिएको शिर्षकमा प्रकाशित/प्रसारित सामग्री उपर मेरो ध्यानाकर्षण भएको छ।
उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहाय अनुसार खण्डन प्रतिक्रिया एवं खण्डन रहेको छ।
देहायः
प्रकाशित/प्रसारित सामग्रीमा 'दीपक भट्टले पुर्पक्षका लागि थुनामा राखिएको कारागार (नख्खु कारागारबाट पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई आफ्नो मुद्दामा चलखेल गर्न अनुरोध गरेको' भनी उल्लेख भएको रहेछ। उक्त विषय फरक परेको छ।
यथार्थ 'दीपक भट्टले पुर्पक्षका लागि थुनामा राखिएको कारागार (नख्खु कारागार) बाट पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई फोन सम्पर्क गरी मुद्दामा चलखेल गर्न खोजेका होइनन्। गरेको पनि छैनन्। दीपक भट्ट अदालतबाट न्याय प्राप्त हुने विषयमा निश्चित छन्। दीपक भट्टले सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको कार्य गरेका होइनन् भनेर अनुसन्धान अधिकारी, विशेष अदालत र उच्च अदालत पाटनमा समेत बयान गरेका छन्।
बीमा सम्बन्धी कसुर र धितोपत्र सम्बन्धी कसुर समेत उनले नगरेको भनी अनुसन्धान अधिकारी र काठमाडौं जिल्ला अदालतमा बयान गरेका छन्। मुद्दाको पुर्पक्षका लागि थुनामा रहेको तथा न्यायको पर्खाइमा बसेको व्यक्तिले कारागारबाट तोकिएको स्थान र समयमा मात्रै फोन सम्पर्क गर्न सक्ने तथा ह्वाट्स-एप लगायतका कुनै पनि माध्यम प्रयोग गर्ने नपाउने हुँदा उनले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई फोन सम्पर्क गरेका छैनन्। गरेको भनी फैलिएको अफवाह झुट्टा हो' रहेको छ ।
निवेदक
नाम: चतुर्भुज भट्ट
ठेगाना: ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.२ सानेपा