कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन। प्रेम कहिले आउँछ, कसैलाई थाहा हुँदैन। कहिलेकाहीँ जीवनको सबैभन्दा कमजोर समयमा कसैले हात समातिदिन्छ र हामीलाई लाग्छ— ‘यही मान्छे हो, जसले मेरो जीवन बुझ्छ।’
तर जीवन केवल प्रेमको नाम होइन। जीवनमा प्रेमसँगै सपना पनि हुन्छ। करियर हुन्छ। परिवार हुन्छ। आफ्नो पहिचान बनाउने संघर्ष हुन्छ। आफ्नो खुट्टामा उभिने चाहना हुन्छ। त्यसैले प्रेममा परियो भन्दैमा आफ्नो सपना छोड्नु हुँदैन।
बरु यस्तो प्रेम रोज्नुपर्छ, जसले तिमीलाई रोक्दैन— अगाडि बढाउँछ। जसले भन्दैन, ‘मलाई माया गर्छौ भने आफ्नो सपना छोड।’ बरु भन्छ, ‘तिमी आफ्नो सपना पूरा गर, म तिम्रो साथमा छु।’
साँचो प्रेमले पखेटा काट्दैन, पखेटा बलियो बनाउँछ। कहिलेकाहीँ हामी प्रेमलाई यति ठुलो बनाइदिन्छौँ कि आफ्नो भविष्य नै बिर्सिन्छौँ। कसैलाई गुमाउने डरले आफ्नो लक्ष्य गुमाउँछौँ। कसैको प्रतीक्षामा आफ्नो समय गुमाउँछौँ।
तर याद राख्नुपर्छ— जसले तिमीलाई साँचो माया गर्छ, उसले तिम्रो भविष्य नष्ट भएको हेर्न चाहँदैन। त्यसैले प्रेम गर। मन खोलेर गर। इमानदार भएर गर। तर आफ्नो सपना पनि सँगै बोकेर हिँड। आज तिमी पढ्दै छौ भने पढ। सीप सिक्दै छौ भने सिक। काम खोज्दै छौ भने प्रयास गर। व्यवसाय गर्न चाहन्छौ भने सुरु गर। विदेश जाने सपना छ भने त्यसका लागि मेहनत गर।
आफ्नो परिवारको अवस्था सुधार्न चाहन्छौ भने आजैबाट संघर्ष गर। किनकि जीवनमा एउटा समय आउँछ, जहाँ प्रेम मात्र पर्याप्त हुँदैन। त्यहाँ आफ्नो खुट्टामा उभिन सक्ने क्षमता चाहिन्छ।
विवाह गर्नुअघि आफूलाई एउटा प्रश्न सोध— ‘म कसैको जीवनसाथी बन्न तयार छु कि केवल कसैको प्रेमी बन्न चाहन्छु?’
यी दुई कुरा फरक हुन्। प्रेमी बन्न मन चाहिन्छ। जीवनसाथी बन्न मनसँगै जिम्मेवारी चाहिन्छ। त्यसैले विवाह हतारमा नगर।
उमेर पुगेको छ भन्दैमा विवाह गर्नुपर्छ भन्ने छैन। अरू सबैको विवाह भयो भन्दैमा आफ्नो जीवनको गति बदल्नुपर्छ भन्ने छैन।
समाजले ‘अब त उमेर भइसक्यो’ भन्दैमा आफ्नो भविष्यको निर्णय अरूलाई दिनुपर्दैन। तिम्रो जीवन हो, तिम्रो निर्णय हो।
पहिले आफूलाई बनाऊ। आफ्नो पहिचान बनाऊ। आफ्नो क्षमता बनाऊ। आफ्नो करियर बनाऊ। आफ्नो आत्मविश्वास बनाऊ।
त्यसपछि जीवनमा आउने मान्छेसँग समान भएर हिँड्न अझ सजिलो हुन्छ। किनकि विवाह कसैको सहारामा बाँच्नका लागि मात्र होइन, दुई सक्षम मानिसले एक-अर्काको सहारा बन्नका लागि हो। र यदि अहिले तिम्रो प्रेम तिम्रो साथमा छैन भने पनि निराश नहुनू। कसैलाई गुमाउनु भनेको जीवन गुमाउनु होइन।
कहिलेकाहीँ छुट्टिनु पनि जीवनको एउटा पाठ हुन्छ।
कहिलेकाहीँ गलत मान्छेबाट टाढा हुनु नै सही भविष्यतर्फको पहिलो कदम हुन्छ। आज जसले तिमीलाई छोडेर गयो, सायद उसले तिम्रो जीवनको एउटा अध्याय मात्र बन्द गरेको हो।
पूरै किताब होइन। अझ धेरै पाना लेखिन बाँकी छन्। तिमीले अझ धेरै सिक्न बाँकी छ। अझ धेरै जित्न बाँकी छ। अझ धेरै ठाउँ पुग्न बाँकी छ। अझ धेरै सपना पूरा गर्न बाँकी छ।
त्यसैले प्रेममा असफल भयौ भने आफूलाई असफल नसम्झ।
कसैले तिमीलाई रोजेन भन्दैमा तिमी रोजिन लायक छैनौ भन्ने हुँदैन। कहिलेकाहीँ सही मान्छे आउनुअघि जीवनले केही गलत मान्छेहरूबाट पाठ सिकाउँछ। त्यसैले अहिलेको समयलाई प्रेमको प्रतीक्षामा मात्र नबिताऊ। आफूलाई बनाउने समय बनाऊ। एक दिन तिमी यति बलियो बन्नू कि तिमीलाई कसैले पूरा गर्नुपर्ने आवश्यकता नहोस्। बरु तिमी आफैँ पूर्ण भएर
आफ्नो जीवनमा आउने मान्छेलाई भन्न सको— ‘म तिमीबिना अधुरो छैन, तर तिमी मेरो जीवनमा आयौ भने हाम्रो यात्रा अझ सुन्दर हुनेछ।’
त्यो प्रेम सबैभन्दा सुन्दर हुनेछ। त्यसैले प्रेम गर, तर आफ्नो अस्तित्व नहराऊ। प्रेम गर, तर आफ्नो सपना नछोड। प्रेम गर, तर आफ्नो आत्मसम्मान नबेच। प्रेम गर, तर आफ्नो भविष्यसँग सम्झौता नगर। र विवाह? विवाह त्यति बेला गर, जब प्रेमसँगै जिम्मेवारी बोक्ने साहस पनि आउँछ। किनकि प्रेमले जीवन सुन्दर बनाउँछ, तर सही समयमा गरिएको सही निर्णयले त्यो सुन्दर जीवनलाई टिकाइराख्छ।
अन्ततः प्रेम पाउनु भाग्य हुन सक्छ तर आफूलाई बनाउनु मेहनत हो। सही मान्छे भेटिनु संयोग हुन सक्छ तर सही सम्बन्ध जोगाउनु जिम्मेवारी हो। र विवाह गर्नु उमेरको कुरा मात्र होइन, जीवन सम्हाल्न तयार भएको मनको कुरा हो।
त्यसैले हतार नगर। आफ्नो समयलाई सम्मान गर। आफ्नो सपनालाई सम्मान गर। आफ्नो मेहनतलाई सम्मान गर। किनकि एकदिन तिमीले पछाडि फर्केर हेर्दा आजको संघर्षलाई सम्झेर भन्न सक्नेछौ— ‘मैले प्रेमको प्रतीक्षा मात्र गरिनँ, मैले आफूलाई पनि प्रेम गर्न सिकेँ। र त्यसै क्रममा मैले आफ्नो जीवन बनाउन सिकेँ।’
कहिलेकाहीँ लाग्छ, प्रेम कति अचम्मको चीज रहेछ है!
यसले न उमेर सोध्छ, न जात। न त धन हेर्छ, न हैसियत। न भविष्यको हिसाब गर्छ, न समाजको डर मान्छ। बस्, एउटा मान्छे मन पर्छ। उसको आवाज सुन्दा मन शान्त हुन्छ।
उसको एउटा सन्देशले दिनभरको थकान हराउँछ। उसको नाम मोबाइलको स्क्रिनमा देखिँदा अनुहारमा आफैँ मुस्कान आउँछ। अनि थाहा नै नपाई हामी प्रेममा परिसकेका हुन्छौँ। प्रेम गर्दा हामी धेरै कुरा सोच्दैनौँ।
हामीलाई उसको साथ चाहिन्छ, उसको समय चाहिन्छ, उसको आवाज चाहिन्छ। उसले ‘म तिम्रो साथमा छु’ भनिदिए पुग्छ। त्यति बेला लाग्छ— संसारले जे भने पनि के फरक पर्छ र?
मसँग मेरो मान्छे त छ। तर जीवन केवल भावनाले चल्दैन रहेछ।
एक दिन त्यही प्रेमको अगाडि विवाहको प्रश्न उभिन्छ- अब के गर्ने?
त्यसपछि प्रेमले पहिलो पटक उमेर सम्झिन्छ। परिवार सम्झिन्छ। आर्थिक अवस्था सम्झिन्छ। समाज सम्झिन्छ। भविष्य सम्झिन्छ। अनि थाहा हुन्छ—प्रेम गर्न मन मात्र भए पुग्दो रहेछ, तर विवाह गर्न मनसँगै जिम्मेवारी पनि चाहिँदो रहेछ।
प्रेममा हामी एक-अर्काको हात समात्छौँ। विवाहमा त्यही हात समातेर जीवनभर हिँड्ने वाचा गर्नुपर्छ। प्रेममा ऊ रोएको देख्दा आँसु आउँछ। विवाहमा ऊ रोएको बेला आँसु पुछ्ने जिम्मेवारी पनि आफ्नै हुन्छ।
प्रेममा ‘तिमीलाई कहिल्यै दुःख दिन्नँ’ भन्न सकिन्छ। विवाहमा कहिलेकाहीँ आफ्नै व्यवहारले दुःख दिएपछि त्यसलाई स्वीकार गरेर माफी माग्न सिक्नुपर्छ। प्रेममा उसको राम्रो रूप मन पर्छ। विवाहमा उसको रिस, कमजोरी, थकान, असफलता र मौनतालाई पनि स्वीकार गर्नुपर्छ। त्यसैले विवाहका लागि उमेर चाहिन्छ भनिन्छ। तर त्यो उमेर केवल क्यालेन्डरमा बढेको संख्या होइन। विवाहका लागि सोचको उमेर चाहिन्छ।
जिम्मेवारीको उमेर चाहिन्छ। सम्झौता गर्न सक्ने उमेर चाहिन्छ। माफी माग्न सक्ने उमेर चाहिन्छ। र आफूभन्दा अर्को मान्छेलाई पनि बुझ्न सक्ने उमेर चाहिन्छ। किनकि विवाहपछि ‘म’ भन्दा ‘हामी’ ठुलो हुन्छ। कहिलेकाहीँ आफ्नै इच्छा छोड्नुपर्छ।
कहिलेकाहीँ आफ्नो रिस निल्नुपर्छ। कहिलेकाहीँ आफू सही हुँदाहुँदै पनि सम्बन्ध बचाउन चुप लाग्नुपर्छ। यो हार होइन। यो प्रेमको अर्को रूप हो। तर जीवनले दुःख दिँदा पनि ‘म तिमीसँगै छु’ भनेर नछोड्नु चाहिँ साँचो प्रेम हो।
सायद त्यसैले विवाहपछि प्रेम पहिले जस्तो लाग्दैन। पहिले प्रेममा धड्कन धेरै हुन्छ। पछि प्रेममा शान्ति हुन्छ। पहिले उसलाई भेट्न मन आतुर हुन्छ। पछि उसको छेउमा चुपचाप बस्दा पनि मन भरिन्छ। पहिले उसको हात समाउँदा संसार बिर्सिन्छौँ। पछि त्यही हातले जीवन सम्हाल्न खोज्छौँ।
पहिले प्रेम कविता हुन्छ। पछि प्रेम जिम्मेवारी बन्छ। पहिले प्रेम सपना हुन्छ। पछि त्यही सपना पूरा गर्न गरिने संघर्ष बन्छ। र सायद प्रेमको सबैभन्दा सुन्दर अवस्था यही हो।
जहाँ दुई जना मानिस एक-अर्कालाई केवल आफ्नो खुसीका लागि होइन, एक-अर्काको जीवन सहज बनाउन प्रेम गर्छन्।