२०८२ वैशाख २७, शनिबार।
घाँटीमा खादा लगाएर सबैलाई हात हल्लाउँदै बाई-बाई भनेको दिन।
दुई वटा सुटकेस लत्ताकपडा, कराही, प्रेसर कुकर, ममीले घरमै बनाउनुभएको बेसार, बाह्र मसला, सातु, घिउ अनि सबैको आशीर्वादले भरिएका थिए। मैले ढाडमा ल्यापटप ब्याग पनि झुन्डाएको थिएँ।
'घर छोडेर आज मात्र जाने लागेको हो र?'
स्कुल सकेर पनि त ११ पढ्न आमाले बसमा चढाएर घरदेखि टाढा पठाएकै हो। त्यसैले होला, त्यो दिन त्यति धेरै भावुक भइनँ। यद्यपि अलिक टाढै जाँदै थिए यो पालि।
रोइनँ म। रून आएन।
अहिले २०२६ अक्टोबर।
म फिनल्यान्डको Satakunta University of Applied Sciences मा नर्सिङ पढ्दैछु। अहिले मेरो दोस्रो वर्ष चलिरहेको छ।
कति ऋण बोकेर आएँ त फिनल्यान्ड पढ्न?
धेरै छ।
सायद धेरै वर्ष लाग्ला, एक–एकको हिसाब चुक्ता गर्न।
बिर्सन्छु भनेर गुगल डक्समा टिपेर राखेको छु। तर मलाई त्यो फाइल खोलेर हेर्दा कुनै प्रेसर महसुस हुँदैन। न कुनै तनाव।
अझ मेरो मन त प्रेरणाले ओतप्रोत भएर आउँछ। मलाई हौसला मिल्छ।
अरूको लागि ती ऋण होलान्।
तर मेरो लागि ती लगानी हुन्।
मेरा आफन्तले मेरो शिक्षामा लगाएको लगानी। मेरा प्रेरकहरूले मलाई अझै अघि बढ्न दिएको आशीर्वाद हुन् ती। ती मेरा आफन्तहरूले मप्रति गरेको विश्वासका साक्षी हुन्। ती मैले यो उमेर मै धेरै कमाई सके भन्ने प्रमाण हुन्।
कहिलेकाहीँ रकम ठूलो लाग्छ। तर त्यो रकमभन्दा ठूलो मलाई ती मानिसहरूको विश्वास लाग्छ, जसले मेरो भविष्यका लागि हिजो लगानी गर्न तयार भए।
कस्तो छ त फिनल्यान्ड?
समरमा धेरै हल्ला हुन्छ। जताततै खुसीयाली, हरियाली अनि न्यानो हुन्छ। जङ्गलमा बेरी हुन्छ। सबैको छुट्टी हुन्छ।
अटममा खुब हावा चल्छ। जताततै रङ्गीचङ्गी हुन्छ। जङ्गलमा च्याउ हुन्छ।
विन्टरमा खुब जाडो हुन्छ। जताततै हिउँ हुन्छ। घाम उदाउन नपाई अस्ताउँछ। कहिलेकाहीँ रातमा ध्रुवीय ज्योतिले आकाश रङ्गाइदिन्छ।
स्प्रिङमा बल्ल अलिअलि हल्ला सुरू हुन्छ। सेतो फिनल्यान्ड अब हरियो बन्दै जान्छ। मान्छेदेखि जीवजनावर र बोटबिरूवालाई नि ठूलो सास आउँछ।
नौटङ्की छ फिनल्यान्ड। आफ्नो रूप फेर्न खुब सिपालु छ।
तर धेरै शान्त छ फिनल्यान्ड।
यहाँका नागरिकहरू शान्त वातावरण रूचाउँछन्। ट्रेनमा पैसा तिरेर किन्छन् शान्ति।
बेरोजगारी बढ्दो छ। वृद्धिदर नि बढ्दो छ। तर यहाँ सामाजिक सुरक्षा र स्वास्थ्य सुरक्षा धेरै राम्रो छ।
अनि महत्त्वपूर्ण कुरा, शिक्षा यहाँका तथा ई.यू.का नागरिकहरूलाई निःशुल्क छ। यदि म नि यहीँको नागरिक भए सायद डाक्टर पढ्थे होला झैँ हुन्छ।
संसारको खुसी देशका नागरिकहरू सुखी छन्, खुसी नभए पनि।
यहाँका नागरिकहरूको मातृभाषा फिनिस र स्वीडिस हो। फिनल्यान्डलाई फिनल्यान्डमा फिनल्यान्ड भनिँदैन। सुओमी भनिन्छ।
किन आएँ म फिनल्यान्ड?
पढ्नलाई।
मेरो कक्षामा किशोरकिशोरीदेखि ३०–४० वर्षको उमेर समूहका साथीहरू हुनुहुन्छ। अरू देशबाट भिसा रिजेक्ट भएर आउने नि धेरै हुनु हुन्छ। मायालु जोडीसँगै आउन मिल्ने भएर आउने नि धेरै हुनुहुन्छ।
नेपालमा नर्सिङमा नाम निकाल्न असफल भएर पढ्न आउने नि हुनुहुन्छ। अन्य देशमा नर्सिङ महँगो भएर पढ्न आउने नि हुनुहुन्छ। सुरक्षित स्थान खोज्दै फिनल्यान्ड पढ्न आउने नि हुनुहुन्छ। छोराछोरीको राम्रो र निःशुल्क शिक्षाको लागि पूरै परिवार आउने नि धेरै हुनुहुन्छ।
म भने नयाँ ठाउँ, नौलो संसार, बेग्लै भाषा, भिन्नै जीवनशैलीमा पढ्न र सिक्न भनेर फिनल्यान्ड आएँ।
अन्य देशमा भन्दा नर्सिङ सस्तो भएर नि आएँ।
बेरोजगारी भएको ठाउँमा कसरी बाँचिरहेको छु त म?
नर्डिक राष्ट्रहरू 'Everyman’s Right' अर्थात् प्रकृतिमा सबैको पहुँच र उपभोगको अधिकार भन्ने अवधारणामा विश्वास गर्छन्।
त्यसैले फिनल्यान्डको जङ्गलमा स्वतन्त्रताका साथ गएर त्यहाँका फलफूलहरूको उपभोग गर्न सकिन्छ।
पोहोर सालको समरमा यहाँकै बाजेहरूले मलाई जङ्गलमा बेरी टिप्न सिकाउनुभयो। टिपेर कसरी सफा गर्ने अनि बेच्ने, त्यो नि सिकाउनुभयो।
बेरी बेचेर ल्यापटप किन्ने योजना थियो मेरो।
यो कुरा थाहा पाएपछि बाजेहरूले मलाई बेरी किन्ने कस्टमर खोजिदिनुभयो।
मैले बेरी टिपेँ। बेचेँ। अनि ल्यापटप किनेँ।
फिनिस भाषाको माग र ढल्दो श्रम बजारका कारण रोजगार पाउन ठूलो चुनौती छ यहाँ जो कोहीलाई नि।
मेहनतको फलस्वरूप मैले मेरो पहिलो प्लेसमेन्ट गरेको ठाउँमै मेरो पहिलो समर जब नर्सिङ होममा गर्ने अवसर पाएँ। भाषा धेरै विकास भैइसकेको थियो त्यो बेलै मेरो।
अस्ट्रेलियातिर भएका साथीहरूसँग उनीहरूले आफ्नो फी तिर्न तयार पारेको पैसा सापटी मागेर मेरो तेस्रो सेमेस्टरको फी तिरेँ। अनि समर जबको कमाइले उनीहरूलाई तिरेँ।
यो यात्रा मैले एक्लै गरेको होइन।
कसैले कामको अवसर दिए। कसैले बेरी किन्ने ग्राहक खोजिदिए। कसैले टाढाबाट भए पनि पैसा सापटी दिए। अनि सबैले हौसला दिए।
तर यहाँ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको धेरै राम्रो सुविधा छ।
फिनिस कोर्सबाट १,५०० युरो अनि शैक्षिक सफलता छात्रवृत्तिबाट ४,७५० युरो प्राप्त गरेँ। जुन रकम मेरो अर्को सेमेस्टरको फी हुनेछ।
खर्च कसरी धानिरहेको छु त म?
हामी चार छात्र स्टुडेन्ट अपार्टमेन्टमा सेयरिङमा बस्छौँ। त्यसो गर्दा एकजनाको भागमा १४८ युरो कोठा भाडा पर्छ। रासनलाई २०–२५ युरो महिनामा जान्छ।
म बसेको सानो सहरमा पढ्न आएको विद्यार्थीले योभन्दा धेरै खर्च गर्ने ठाउँ मैले भने देखिनँ। तर खर्च कम हुनु मात्रै पर्याप्त हुँदैन। आफ्नो ठाउँ आफै बनाउनुपर्छ।
काम खोज्नुपर्छ। भाषा सिक्नुपर्छ। पढाइ सम्हाल्नुपर्छ। कहिलेकाहीँ घर सम्झेर एक्लै रूनु नि पर्छ।
महिनामा २–४ पटक अवसर पाए नर्सिङ होममा गिग वर्क गर्न जान्छु। घण्टाको १२.७९ युरो पाउँछु। धेरै होइन, तर म जस्तो विद्यार्थीलाई काफी छ।
फिनल्यान्डको शिक्षा कस्तो छ?
यहाँ शिक्षक–विद्यार्थीबीच ठूलो ग्याप छैन। गुरूलाई उहाँको नामबाट बोलाउने संस्कृति छ यहाँ।
सिकाइ–पढाइमा वैकल्पिक तरिकाको भरपुर उपयोग गरिन्छ।
क्लासको बीचमा 'ताउकोयुम्प्पा' छोटो कसरत गर्ने ब्रेक हुन्छ, जहाँ कक्षा भित्र शिक्षक र विद्यार्थीहरूले हल्का शरीरलाई स्ट्रेच गर्छन्।
कोर्स सकिएपछि विद्यार्थीबाटै प्रतिक्रिया र सुझाव लिने गरिन्छ र मागअनुसार सुधार गरिन्छ।
स्वतन्त्र रूपमा पढाइमा केही कुरा चित्त नबुझे गुनासो राख्न सकिन्छ र सोहीअनुसार सम्बोधन नि हुन्छ।
परीक्षा नि हुन्छ। धेरै हुन्छ।
विद्यार्थी फेल नि हुन्छन्। तर फेल हुनेका लागि पुनः परीक्षा हुन्छ भने ग्रेड सुधार गर्नेका लागि ग्रेड सुधार परीक्षा नि हुन्छ। र मिति चयन नि विद्यार्थीको सहमतिमै हुन्छ।
जे होस् विद्यार्थीको नजरमा निकै लचिलो छ यहाँको शिक्षा प्रणाली। कहिलेकाहीँ त शिक्षा प्रणाली शिक्षकले होइन, विद्यार्थीले चलाइरहेका छन् जस्तो लाग्छ। विद्यार्थीको प्रतिक्रिया, आवश्यकता र रूचिअनुसार यहाँ धेरै कुरा परिवर्तन हुन्छ।
कहिलेकाहीँ फरक देशबाट आएको साथीको एउटा अनुभवले पनि केही सिकाउँछ। फरक संस्कृतिको एउटा कुराकानीले पनि धेरै सिकाउँछ। अनि कहिलेकाहीँ आफूले नजानेको भाषामा कसैले बोलेको एउटा वाक्यले पनि धेरै कुरा सिकाउँछ। आफ्नो सुनाउने, अरूको सुन्ने अनि मिलेर सिक्ने।
अनि फिनल्यान्डमा दसैं आउँछ त?
आउन्न। दसैं त नेपालमा आउँछ। विदेशमा आउँदैन। यहाँ त सम्झना मात्र आउँछ।
अनि अब नेपाल नफर्कने?
फर्कने नि। घर नफर्की बस्न सकिन्छ र?
कति कमाएर फर्किने?
पीएचडी कमाएर फर्किने।
सधैंका लागि फर्किने।
केही गरेर फर्किने।
केही गर्नलाई फर्किने।
केही बनेर फर्किने।
आफूले सिकेको कुरा लिएर फर्किने।
आफूलाई यहाँसम्म ल्याउनेहरूको विश्वासको जबाफ लिएर फर्किने।
मेरा लागि बुवा साउदी जानु भयो। म मेरा सन्तानको लागि नेपाल जान्छु।
पढ्न आएको, पढेरै फर्किने।