दसैं सम्बन्ध, आत्मीयता, आशीर्वाद र पारिवारिक मिलनको उत्सव हो।
यही उत्सवको झिलिमिलीभित्र केही परिवारका यस्ता पीडा लुकेका हुन्छन्, जसलाई समाजले प्रायः देख्दैन, देखे पनि बुझ्दैन र बुझे पनि बुझ पचाउँछ।
अटिज्म भएका बालबालिका र उनीहरूका अभिभावकका लागि दसैं सामाजिक प्रश्नको उत्तर दिने एउटा कठिन परीक्षा र मनभित्र दबाएर राख्नुपर्ने आँसुको मौसम पनि हो।
अटिज्म कुनै रोग होइन, यो मस्तिष्कको विकाससम्बन्धी एक अवस्था हो, जसले व्यक्तिको सञ्चार, सामाजिक अन्तरक्रिया, व्यवहार र सेन्सरी अनुभवलाई फरक बनाउन सक्छ। प्रत्येक बालबालिकाका क्षमता र आवश्यकता फरक–फरक हुन सक्छन्। कसैलाई बोल्न कठिन होला, कसैलाई ठूलो आवाज र भीड असहज लाग्ला, तर अझै पनि हाम्रो समाजमा अटिज्मलाई बुझ्नेभन्दा पनि आफ्नै धारणा अनुसार व्याख्या गर्ने प्रवृत्ति विद्यमान छ।
‘अझै बोलेन?’
‘स्कुल जान्छ कि जाँदैन?’
‘जति बोलाए पनि नहेर्ने, कान सुन्दैन र?’
‘जिब्रो त ठीकै छ?’
‘मोबाइल धेरै हेरेर यस्तो भएको हो?’
दसैंमा वर्षदिनपछि भेटिएका आफन्तबाट यस्ता प्रश्न सुन्नु धेरै अभिभावकका लागि असहज अनुभव हो। अझ कतिपयले भाकल सम्झन, झारफुक गर्न, ढोरबाराही, जोगीपानी, मनकामना लैजान त कतिपयले पालनपोषण र रेखदेखका थप टिप्स दिन्छन्।
प्रश्न र सुझाव दिनेहरू आफ्नै बुझाइअनुसार चिन्ता व्यक्त गरिरहेका हुन सक्छन्, तर प्रत्येक चिन्ता सहयोग हुँदैन, प्रत्येक सल्लाह समाधान हुँदैन। कहिलेकाहीँ नबुझीकन गरिएका प्रश्न, नमागीकन दिइएका सल्लाह–सुझाव र पछाडि गरिने तुच्छ टिप्पणीले घाउमा नुनचुक छर्किएजस्तै पोल्छ।
घर फर्किएका पाहुनाका पाइला आँगनबाट बाहिरिए पनि उनीहरूले छाडेका शब्द अनि देखाएका व्यवहार अभिभावकको मनबाट नबाहिरिन सक्छन्।
सबैलाई आफ्नो सन्तानको अवस्था थाहा नहुने होइन। उनीहरू अस्पतालका ढोका धाउँछन्, विशेषज्ञसँग परामर्श गर्छन्, थेरापी र पुनर्स्थापनाका सम्भावना खोज्छन्, नयाँ तरिका सिक्छन् र सन्तानको एउटा सानो प्रगतिमा पनि जीवनको ठूलो उज्यालो भेटेको महसुस गर्छन्। तर समाजले उनीहरूको लामो यात्रालाई केही मिनेटको भेटमै नाप्न खोज्दा विचलित बनाउन सक्छ। त्यसैले यो दसैंमा अटिज्म भएका बालबालिका र उनीहरूको परिवारबारे हरेक प्रश्नको उत्तर खोज्नुभन्दा महसुस गर्ने प्रयास गरौँ।
अटिज्म कुनै पूर्वजन्मको पापको फल होइन, आमाबाबुको असफलता वा मायाको कमी पनि होइन। यो तथ्य हामी अभिभावकलाई थाहा छ। हामी अरूलाई बुझाउने प्रयास पनि गर्छौँ, तर कहिलेकाहीँ आफ्नै मनको ऐना हेर्दा असहज सत्य लाग्ने प्रश्न (आफ्ना बालबच्चाको फरक अवस्थालाई आफूले स्वीकार गरे पनि समाजले कसरी हेर्छ?) ले सबैलाई लखेटिरहेको हुन्छ।
समान उमेर समूहका बालबालिकाले दसैंमा चङ्गा उडाउँदा, टीका–जमरामा सजिँदा र अर्कोतिर आफ्नो बच्चा एक्लै आफ्नै संसारमा हराउँदा मनमा एउटा विचार आउँछ।
‘मेरो सन्तानले कुनै दिन यसै गरी दसैं मनाउला?’
यो विचार ईर्ष्याको होइन, यो एउटी थकित आमाको अधुरो सपना हो। यो एउटा बाबुको मौन प्रार्थना हो। यो हजुरबा–हजुरआमाको आफ्ना नातिनातिनाको भविष्यलाई लिएर काँपिरहेको मन हो।
अब एउटा दृश्य सम्झौँ।
दसैंमा टीका लगाउने समय आयो। घरका सबै सदस्य सजिएर बसे। निधारमा रातो टीका, कानमा जमरा र वरिपरि आफन्तको भीड छ। कसैले मोबाइल निकाल्यो र बोल्यो, ‘ल, सबैजना क्यामेरातिर हेरौँ।’
बच्चाले हेरेन।
‘बाबु, क्यामेरातिर हेर!’ चोर औँलाले क्यामेरा र क्यामेरा म्यानतिर सङ्केत गर्यो।
अहँ, बच्चा अर्कोतिर फर्कियो।
क्यामेरा म्यानले बच्चालाई मन पर्ने खेलौना मोबाइलमाथि राखेर ध्यान तान्ने कोसिस गरे। लामो समयको प्रयासपछि उसले खेलौना देख्यो, उतैतिर हेर्यो। खिचिक्क! तस्बिर खिचियो।
सामाजिक सञ्जालमा राख्न मिल्ने एउटा सुन्दर पारिवारिक तस्बिर तयार भयो। त्यो तस्बिरको फ्रेमबाहिर एउटा प्रश्न उभिन्छ—हामीले बच्चाको खुसी कैद गर्यौँ कि आफ्नो अपेक्षाअनुसारको क्षण?
यो दसैंबाट हामीले पनि एउटा कुरा महसुस गरौँ। हाम्रा बच्चाको खुसी एउटा क्यामेराको लेन्समा कदापि अटाउँदैन। हामीले समाजलाई मिल्ने अनुहार मात्र खोजिरह्यौँ भने आफ्नै सन्तानको वास्तविक अनुभूति ओझेलमा पर्छ। कहिलेकाहीँ सबैभन्दा सुन्दर क्षण ती हुन्छन्, जसलाई सुन्दर बनाउन कुनै दबाब आवश्यक पर्दैन।
दसैंमा घरघरमा स्पिकर बज्छन्, टोलटोलमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्छन्, घरमा मानिसहरू थपिन्छन्, बालबालिकाको हल्ला बढ्छ, भान्साकोठामा पहिलेभन्दा बढी भाँडाकुँडा बज्छन्। धेरैका लागि यी आवाज उत्सवका सङ्गीत भए पनि हाम्रा बच्चाका लागि असहजताका आँधी बन्न सक्छन्। यो बेला कसैले कान थुन्छ, कोही कोठाको एकान्त कुनामा जान खोज्छ, कोही बेस्सरी रून्छ वा एउटै गतिविधि दोहोर्याउँछ, कसैले टीका–जमरा अनि नयाँ लुगा लगाउन मान्दैन। अरूलाई बच्चा जिद्दी, अटेरी लाग्ला। यो उनीहरूले आफ्नो असहजता व्यक्त गर्ने तरिका हो।
उसले कान थुनेर, चर्को स्वरमा चिच्याएर अरूको खुसी बिगार्न खोजेको होइन, ऊ भिडबाट टाढा जाँदा आफन्तलाई नटेरेको होइन। उनीहरूको संसारमा आवाजहरू हामीले महसुस गरेभन्दा चर्का छन्, स्पर्शहरू असहज छन् र परिवर्तनहरू कठिन छन्। हाम्रा लागि दसैंको आत्मीयता बच्चालाई हाम्रो ढाँचामा ढाल्नुमा होइन, उसको आवश्यकताअनुसार हामीले आफ्नो व्यवहार बदल्न सक्नुमा छ। टीका लगाउनुभन्दा अगाडि उसको सहजतालाई सम्मान गर्नु, भिडबाट विश्राम लिन दिनु पनि संस्कारकै मानवीय रूप हो।
दसैं असत्यमाथि सत्य र अहङ्कारमाथि विवेकको विजयको पर्व हो। यसपालि हामी आफ्नै मनको सङ्कीर्णतामाथि विजय प्राप्त गर्न सकौँ, फरकपनलाई कमी होइन, मानव अनुभवको विविधता मान्न सिकौँ।
निधारमा टीका सबैको होस्, तर मनमा कसैका लागि विभेदको दाग नबसोस्।
यसपालिको दसैंले हामी सबैका घरमा आशीर्वादसँगै बुझाइ, परम्परासँगै मानवीय संवेदना र उत्सवसँगै स्वीकारोक्ति पनि भित्र्याओस्।
विजया दशमीको शुभकामना ती सबै बालबालिकालाई, जसको संसार हाम्रोभन्दा भिन्न छ; ती सबै अभिभावकलाई, जसको मुस्कानभित्र अनुत्तरित प्रश्न छन्; र हामी सबैलाई, जसले अटिज्म भएका व्यक्तिलाई माया र स्वीकार गर्न सिक्दैछौं।