दसैं ढोकाढोकामा आउँदै थियो। वर्षाले हात हल्लाई नसक्दै आई पनि हाल्थ्यो।
कति बेला चिसो, कतिबेला तातो। शरीरले एकै दिनमा तराई र पहाडको अनुभूति गर्यो भने क्यालेन्डर नै नहेरी थाहा हुन्थ्यो, 'अब दसैं आउन थाल्यो।'
दसैं प्रवेशको झल्को दिने धेरै सूचकहरू थिए।
गाडीको छत भरिएको हुन्थ्यो, लाहुरेले टेप काँधमा राखेर घन्काइरहेका हुन्थे। रातो माटो र कमेरोले लिपपोत गरिएका घरहरू टलक्क टल्किएका हुन्थे भने लिंगे पिङका लागि डोरी बाट्ने तँछाडमछाड गाउँघरमा सुरू भइसक्थ्यो।
आकाशमा चंगाका लर्काहरू देखिन थाल्थे। आहा दसैं! ओहो दसैं! मन फुरूंग हुन्थ्यो।
दसैं सुरू हुनै लाग्दा यता विद्यालयमा भने दसैं होमवर्क सम्मेलन व्यापक तयारीका साथ चलिरहेको हुन्थ्यो। सर र मेडमहरू पाना नम्बर यतिदेखि यतिसम्म टिपाउनमै व्यस्त हुन्थे।
किताबसँग सम्बन्धविच्छेद नहोस् भनेर सामान्य होमवर्क दिए पनि हुने। तर दसैंपछि किताबसँगै बिहे हुन्छ कि क्या हो भन्ने भान पार्दै एकछिन पनि छाड्न नमिल्ने गरी होमवर्क पाइन्थ्यो/दिइन्थ्यो।
मनले नमाने पनि कहाँ उजुरी गर्नु? कहाँ नालिस दिनु? कतिपय असन्तुष्टिहरू उजुरी गर्ने ठाउँ नपाएरै दबाउनुपर्दो रहेछ।
मनभित्र कुहाएरै कम्पोस्ट बनाउनुपर्दो रहेछ। फोहोर कुहिएको कम्पोस्ट पो काम लाग्छ, मनमा कुहिएको असन्तुष्टिको कम्पोस्ट त के काम हुन्छ र? होमवर्कलाई केन्द्रमा राखेर भन्ने हो भने दसैं रमाइलोभन्दा पनि यातनाको पर्व जस्तो लाग्थ्यो।
शिक्षकहरूले पानाका पाना भरिने गरी दिएका ती होमवर्कका चाङहरू सम्झिँदा हिटलरको यातना शिविरतर्फ लम्किरहेको यहुदी जस्तै लाग्थ्यो।
एकातिर नयाँ लुगा फेर्ने र टीका लगाएर दक्षिणा बटुल्ने लोभ, अर्कोतिर कापीका पाना कोरेर सकिनसक्नुको त्यो बोझ। दसैंको बिदा भनेको खेल्ने, कुद्ने र रमाइलो गर्ने समय हो भन्ने हाम्रो बुझाइ थियो।
तर शिक्षकहरूका लागि भने यो विद्यार्थीलाई अक्षरको घेराभित्र थुनेर राख्ने सुवर्ण अवसर जस्तो हुन्थ्यो। धेरै होमवर्क दिएकोमा उनीहरू आफूलाई धन्य सम्झिन्थे।
लाहुरे दाइले बजाएको 'ऐना हेरेर लाऊ माया लाउनेले' गीतको धुन कानमा गुञ्जिरहँदा हातमा भने कलम समातेर 'ए फर एप्पल' वा 'गाईको निबन्ध' लेख्नुपर्दाको पीडा कति कष्टकर हुन्थ्यो, त्यो भोग्नेलाई मात्र थाहा छ।
आँगनमा अग्रजहरूले पिङ खेलिरहेको होहल्ला सुनिन्थ्यो, तर आफू भने झ्यालबाट टोलाउँदै गणितका समस्या सुल्झाउन विवश हुनुपर्थ्यो।
हरेक पटक कलम चोप्दा मन भन्थ्यो, 'धत्तेरिका! यो होमवर्क भन्ने कुराको आविष्कार गर्ने मान्छेलाई भेटाउन पाए दुई–चार झापड दिन हुन्थ्यो।'
तर के गर्नु, बिदा सकिएपछि विद्यालय जाँदा लौरोको पिटाइ खानुपर्ने डरले उत्साहको त्यो माहोलमा पनि होमवर्कको यातनाले खेदिरहन्थ्यो।
दसैंको फूलपाती भित्रिँदा समेत मनमा एउटै कुरा खेलिरहन्थ्यो, 'अझै कति पाना बाँकी छ होला?'
न त प्रश्न सकियो, न त होमवर्क नै।
त्यति बेलाको बालमस्तिष्कले यो बुझ्न सक्दैनथ्यो कि चाडपर्व भनेको टीका, जमरा र नयाँ लुगा मात्र होइन, यो त कापीका पानाहरूमा कोरिने अक्षरका काला धर्काहरूको पहाड पनि हो।
साथीभाइ मिलेर चंगा उडाउनु, लिंगे पिङमा आकाश छुने गरी मच्चिनु र रातो माटोले घर पोत्नुको आनन्दलाई होमवर्कको ठूलो बोझले थिचिदिन्थ्यो।
दसैंको बिदा सुरू हुनुअघिको अन्तिम दिन झोलाभरि थपिएका नयाँ कापी र शिक्षकहरूले 'यो बिदामा नसके कारबाही हुन्छ' भन्दै दिएको चेतावनीले मुटुमा ढ्यांग्रो ठोक्न सुरू गर्थ्यो। मनमा दसैंको उल्लासभन्दा पनि होमवर्कको त्रास बढी हुन्थ्यो।
लाग्थ्यो— यो दसैंमा होमवर्क गर्नुभन्दा त बरू राक्षसैसँग लड्न सजिलो हुन्छ होला।
लाग्ने कुरालाई यथार्थ बनाउन कहिले पो सकियो र? कहाँ सकिएको छ र?
लाग्थ्यो भनेर मनमा रसबरी भर्दै तितेपाती चपाएर जिन्दगी अहिले पनि चलिरहेको छ।
गाउँमा खसी काट्ने तयारी भइरहँदा वा आमाले सेलरोटी पकाउँदाको बास्ना आइरहँदा पनि मन भने कुनै कुनामा अल्झिरहन्थ्यो, 'एउटा विषयको त सकियो, अझै पाँच वटा विषय बाँकी छ।'
बिहानको झिसमिसेदेखि राति अबेरसम्म कापीमा कलम घिसार्दा हातका औंलाहरू सुन्निन्थे।
कहिलेकाहीँ त लाग्थ्यो, यो होमवर्कको भारी बोक्नुभन्दा बरू विद्यालय नै लागेको भए हुन्थ्यो, कम्तीमा बिदाको बेला 'होमवर्क नसकिएको' मानसिक तनाव त हुने थिएन।
रमाइलो गर्नुपर्ने समयमा गृहकार्यको चिन्ताले गर्दा टीका थाप्न जाँदासमेत झोलामा कापी र किताब बोकेर हिँड्नुपर्ने बाध्यता कुनै सजायभन्दा कम लाग्दैन थियो।
मामाघरमा जाँदा समेत लोकसेवाको परीक्षा नजिकै आएको परीक्षार्थी जस्तो किताब र कापीका ढड्डा बोकेर जानुपर्थ्यो।
वर्ष दिनमा एक पटक आउने दसैंमा त कम्तीमा ज्यानै जाने गरी होमवर्क नदिनु नि!
मनमा यस्ता कुरा आइरहन्थे अनि असिनाजस्तै एकैछिनमा बिलाएर जान्थे। मनमा लागेको कुरा र भोग्नुपर्ने कुराका बीचमा कैयौं मिटरको भिन्नता रहेछ।
यसरी होमवर्कको चक्रव्यूहमा फसेका हामीलाई घटस्थापनाको दिनसम्म त कता–कता 'अझै समय छ' भन्ने भ्रमले टिकाइ राख्थ्यो।
तर जब फूलपाती भित्रिन्थ्यो र गाउँघरमा पञ्चेबाजाको धुन गुञ्जिन थाल्थ्यो, तब त्यो भ्रमको पर्खाल तासको महलझैं ढल्थ्यो। बालुवाको घरझैं बालुवामै बिलाउँथ्यो।
साथीहरूले चंगा उडाएको देख्दा वा पिङमा मच्चिएको आवाज सुन्दा मन भित्रभित्रै ऐँठन हुन्थ्यो।
आमाले 'बाबु, जाऊ नुहाइधुवाइ गर, फूलपाती भित्र्याउने बेला भयो' भन्दा पनि मनमा भने गणितका सूत्र र पूर्वव्यावसायिक शिक्षाका लामा उत्तरहरू नाचिरहेका हुन्थे।
दसैंको त्यो विशिष्ट सुगन्ध— लिपपोतको बास्ना, नयाँ लुगाको सुगन्ध र केराका घरीहरूको बास्ना—सबै होमवर्कको कापीबाट आउने मसीको गन्धमा बिलाएर जान्थ्यो।
सप्तमी, अष्टमी र नवमीका दिनहरू त झन् कसरी बित्थे, पत्तै हुँदैनथ्यो। एकातिर मार हान्दाको तामझाम र अर्कोतिर अधुरो गृहकार्यको चाङ। राति मट्टीतेलको टुकी वा लालटिनको मधुरो प्रकाशमा बसेर अक्षरहरू कोर्दा आँखा तिर्मिराउँथे।
आमाले 'अलिअलि खाएर सुत, भोलि टीकाको दिन हो' भन्दा 'टीकापछि त झन् पाहुना आउँछन्, कसरी भ्याउनु' भन्ने चिन्ताले निद्रा नै पर्दैन थियो।
निधारमा लपक्क अक्षता र कानमा जमरा सिउरिएर दक्षिणा गन्दै गर्दा पनि मनको एउटा कुनामा त्यो 'अपूर्ण सप्रसंग व्याख्या' वा 'विज्ञानको कोषको चित्र' ले बिझाइरहन्थ्यो। दक्षिणाको खुसीभन्दा पनि होमवर्क नसकिएको त्रास बलियो हुन्थ्यो।
दसैं सकिएर स्कुल खुल्ने अघिल्लो रात त झन् साक्षात् प्रलय आएजस्तै हुन्थ्यो।
बाँकी रहेका सबै पानाहरू हतार–हतार भर्न खोज्दा अक्षरहरू यति बिग्रिन्थे कि आफैले लेखेको कुरा आफैलाई बुझ्न गाह्रो हुन्थ्यो। साथीहरूले 'मैले त सबै सकेँ' भन्दा मुटुको ढुकढुकी झन् बढ्थ्यो।
आज फर्केर हेर्दा लाग्छ, ती दिनहरूले हामीलाई उत्सव मनाउनभन्दा पनि दबाबमा काम गर्न सिकाएछन्।
त्यो बाल्यकालको दसैं, जहाँ रहरहरू कापीका पानामा थुनिएका थिए र खुसीहरू होमवर्कको भारीले दबिएका थिए, आज एउटा मीठो तर केही नमीठो सम्झना बनेर मानसपटलमा आइरहन्छ।
ती पलहरूमा हामीले दसैं मात्र मनाएनौं, बरू जीवनको एउटा कठिन परीक्षा पनि पास गरिरहेका थियौं, जुन सायद कुनै पनि पाठ्यपुस्तकमा लेखिएको थिएन र लेखिने पनि छैन।