उहाँको हातमा 'बुरूस' थियो। मैले सोधेको प्रश्नको जबाफ दिँदा पनि त्यो ब्रस रोकिएन।
म भक्तपुरको तान्त्रिक नृत्य नवदुर्गा देवगणका ख्वापा: (मुखौटा) बनाउने ८० वर्षीय पूर्ण चित्रकारलाई भेट्न गएको थिएँ। उहाँले यो काम थालेको ६५ वर्ष नाघिसक्यो।
कसैलाई यो कुरा सुनाउँदा सजिलो लाग्ला, तर ६५ वर्ष भनेको एउटा मानिसको पूरै जीवन हो।
म त सोधपुछ गर्न बसेको मान्छे थिएँ। तर कुराकानीको क्रममै मैले यहाँ प्रश्न सोध्ने मान्छे म नभएर, उहाँले भन्न चाहेको कुरा सुन्ने ठाउँ यो पो रहेछ भन्ने बुझेँ।
आफ्नो जीवनबारे कुरा गर्न थालेपछि उहाँले पहिले अरूको जीवन झिक्नुभयो। तुलना पनि उहाँकै तरिकाले आयो।
'अरूहरूले पढेर सरकारी जागिर खाने, पेन्सन खाने भए। मेरो त्यस्तो भएन। यसैमा मेरो लगानी र मेहनत पनि भयो। मेरो जीवन त यसैमा गयो नि,' उहाँले भन्नुभयो।
स्वरमा कुनै गुनासो थिएन। अरू कसैले मौसमको कुरा गरेजस्तै सहज स्वरमा उहाँले भन्नुभयो, ''६५–६६ वर्ष यही काम गर्दै आएँ। थोरै पढेर यसैमा लाग्नुपर्यो। मैले आधारभूत नेपाली अक्षर मात्र पढेको हुँ, अनि यही कामले मलाई समात्यो।'

बुवा र काकाका हात
मैले बोदेको नीलबाराही द्यःप्याखंबारे प्रसंग निकालेँ। यो नाचको ख्वापा: पनि उहाँले नै बनाउनुहुन्छ।
उहाँले भन्नुभयो, 'यो नाच त मैले २०१५ साल देखि नै थाहा पाएको हो। त्यति बेला बुवा, काकाहरूले बनाउनुहुन्थ्यो।'
यो सीप किताबबाट आएको होइन। एउटा बालकले बुवाका हात हेरेर सिकेको हो। रङ कसरी घोल्ने, रेखा कहाँ कोर्ने र आँखा कस्तो बनाउने, यी सबै कुरा त्यहीँबाट आए।
नीलबाराही नाचको ख्वापामा कहिलेकाहीँ ३/४ वटा, त कहिले ४० वटासम्म पनि फेरि रङरोगन गर्ने र नयाँ ख्वापा: बनाउने काम उहाँकै जिम्मामा आउँछ। यो नाचको समयसीमा कडा छ।
'यो नाचको चाहिँ १८ दिनभित्रै सक्नैपर्ने नियम छ। कि गठामुगः चतुर्दशीको दिन, कि त नागपञ्चमीको दिन। नयाँ बनाउनेहरूको चाहिँ एक वर्षअघिदेखि नै भनिराखेका हुन्छन्,' उहाँले भन्नुभयो।
यहाँ घडीको पात्रो चल्दैन। पात्रो देवताको हो, तिथिको हो। चित्रकारले आफ्नो हात त्यसै पात्रोको लयमा चलाउनुपर्छ।
बाहिरबाट देखिने र भित्रबाट बुझिने कुरा
बाहिरबाट हेर्दा यो काम आम्दानीको स्रोत जस्तो देखिन सक्छ। पूर्ण चित्रकारलाई यो बुझाइबारे थाहा छ। तर उहाँको भनाइ फरक छ।
'आम्दानी हुने भए पो भन्नु, आफ्नै मेहनत, आफ्नै खर्च लगाएर गर्नु त दुःख हो नि। हुन त भगवानको काम हो, त्यसैले पनि सकेसम्म मैले गरिरहेकै छु,' पूर्ण भन्नुहुन्छ, 'मानिसहरूले भन्न सक्छन्, आम्दानी नभएको भए यसले गरिरहन्थ्यो र? कतिले त यति सहयोग छ, यति आउँछ भनेर पनि कुरा गर्छन्।'
खर्चको वास्तविकता भने फरक छ। एउटा ख्वापा: बनाउन पूरै ३ महिना लाग्छ र कम्तीमा ३ लाख रूपैयाँ खर्च हुन्छ। माटो थिच्नेलाई मात्रै ८० हजार दिनुपर्छ। ज्याला दिने र खुवाउने काम त्यसबाहेक छुट्टै छ।
सहयोग कहाँबाट आउँछ भनेर सोध्दा उहाँको जबाफ सरल थियो, 'सरकारबाट थोरै आउने हो। अलि साथीभाइहरूले थोरै थोरै पैसा हालिदिन्छन्। म नगरपालिकाहरूमा एउटा निवेदन हालिदिन्छु, त्यति त हो। दियो भने दियो, नभए आफ्नै खर्चमा गर्ने हो।'
'दियो भने दियो' भन्ने वाक्यमा कुनै कटुता थिएन। हिसाब यति सरल थियो कि मैले आफ्नो प्रश्नमै लज्जा महसुस गरेँ।
तिनै ३ महिना र ३ लाखको बोझ बोकेर पनि उहाँले किन छोड्नुभएन?
यो प्रश्नको उत्तर मैले आर्थिक हिसाबमा खोजेको थिएँ। उहाँले सीपको कुरा गर्नुभयो।
'जतिसुकै समय आए पनि, जस्तोसुकै भए पनि मैले यो काम छोड्न सक्दिनँ। किनभने यो अरूजस्तो काम होइन। जान्नेलाई मात्र यसको समग्र ज्ञान हुन्छ। नजान्नेलाई त मानिसले काम गरिरहेको छ, बनाइरहेकै छ, सबै उस्तै त हो भन्ने लाग्छ।'
सांस्कृतिक सम्पदाबारे बाहिरबाट बोल्ने हामी मानिसहरू प्रायः 'संरक्षण' शब्द प्रयोग गर्छौं। तर संरक्षणको पहिलो सर्त के हो? कुन कुरा बचाउनुपर्ने हो भन्ने कुरा पहिले बुझ्नु हो।
उहाँले भनेको 'जान्नेलाई मात्र' भन्ने कुराको अर्थ त्यही हो।

उमेर, आँखा र हात
यो ज्ञान शरीरमा बस्छ र शरीर ८० वर्षको भइसकेको छ।
'अब यो उमेरमा आँखाले अगाडिको देख्न छाडिसक्यो। चस्मा लगाउँदा अलि देख्छु। अब यी लाइनहरू कोर्ने बेला यति सूक्ष्म काम गर्नुपर्छ। हात एकदम स्थिर हुनुपर्छ। उमेरमै त्यो सिकेको भए त सकिन्छ, नत्र त गाह्रो हुन्छ नि,' उहाँले भन्नुभयो।
मैले उहाँको हात हेरेँ। ब्रस समात्दा हात काम्दैनथ्यो। सायद ६५ वर्षको अभ्यासले हातलाई नै सिकाइसकेको थियो।
'यही बुरूसकै भारमा मेरो जिन्दगी जान लाग्यो। अहिलेसम्म सकेजति गरिरहेको छु,' उहाँले थप्नुभयो, 'मेरो उमेरको हिसाबले यसरी दुःख गरेर बस्नुपर्ने पनि थिएन, तर अहिलेसम्म गरिरहनुपरेको छ।'
'गरिरहनुपरेको छ' भन्ने शब्दमा थकान र कर्तव्य दुवै छन्। सायद उहाँ आफैले पनि यी दुईको सीमा छुट्ट्याउनुभएको छैन।
उहाँको दिनचर्या ख्वापा:सँग मिल्छ। प्रार्थना पनि ख्वापा:सँगै मिल्छ।
दिनरात नभनीकनै बनाउनुपर्छ।
'मैले भगवानसँग माग्ने भनेकै, काम गर्ने तीन महिनाको समयमा केही रोग, दुःख नहोस् भनेर नै हो,' उहाँ भन्नुहुन्छ।
उहाँ धन माग्नुहुन्न। उहाँ केवल तीन महिना शरीर चलोस् भनेर माग्नुहुन्छ। यो प्रार्थना सुन्दा मलाई लाग्यो, हामी सहरका मानिसले माग्ने थुप्रै कुरा यहाँ कति अनावश्यक भइदिन्छन्।
पूर्ण भन्नुहुन्छ, 'अहिलेसम्म उमेर भएर पनि जे छ, भगवानले सक्ने बनाइराख्नुभएको छ।'

ख्वापा:ले देखाउने र लुकाउने कुरा
'दसैंका बेला नवदुर्गा जात्रा त ब्रह्मायणीमा हुने हो। यता नवमीमा ख्वापा: प्रदर्शनीमा राख्ने हो। त्यो पनि भक्तपुरका मानिस दर्शन गर्न आउँछन्, तर सबैलाई थाहा हुँदैन नि,' उहाँले भन्नुभयो।
दर्शन गर्न आउनेहरूले देवगणको ख्वापा: देख्छन्। तर त्यो ख्वापा: कसरी बन्यो, कति दिनरात लाग्यो, त्यो उनीहरूको आँखामा पर्दैन।
उहालाई चिन्ता आफ्नो होइन, परम्पराको छ।
अन्तिममा उहाँले जे भन्नुभयो, त्यो सबैभन्दा भारी लाग्यो।
'मेरा छोरा ३ जना छन्, तीमध्ये एक जनाले गरिरहेको छ। मेरो पुस्तापछि अघि बढ्दै जाँदा गाह्रो छ,' उहाँ भन्नुहुन्छ।
तीन छोरामध्ये एक जना। यसको अर्थ 'एक जना त छ' भनेर पनि लगाउन सकिन्छ। तर उहाँको स्वरमा 'एक जना' भन्ने शब्द आशाभन्दा गन्तीजस्तै थियो।
उहाँ यो समस्यालाई आफ्नो परिवारको मात्र ठान्नु हुन्न।
नयाँ पुस्तालाई कसरी बचाउन सकिन्छ, त्यतातिर निकायहरूले हेर्नुपर्ने बताउनुहुन्छर
'सरकारी स्तरबाट कसरी हुन्छ, सोचे राम्रो हो,' उहाँले भन्नुभयो, 'संस्कृति कसरी बचाउने हो, त्यतातिर ध्यान दिनुपर्छ। यो लोप नहुने गरी गर्नुपर्छ।'
कुराकानी सकिँदा उहाँले आफूलाई यसरी चिनाउनुभयो —वास्तवमा म त एक साधारण व्यक्ति हुँ नि, तैपनि यस्तो संस्कृति बचाइरहेको छु। देख्नेले देखेको छ, नदेख्नेले केही भन्ने कुरा छैन।
म कोठाबाट निस्किँदा पनि ब्रस रोकिएको थिएन।
बाहिर भक्तपुरका गल्लीमा मानिसहरू हतारमा हिँडिरहेका थिए। तिनले आज कुन देवीको ख्वापा: कसले कति रात जागेर कोरेको हो भन्ने कुरा सोच्ने फुर्सद पाएका थिएनन्।
मैले पनि पाएको थिइनँ— उहाँको घरमा नपुगेसम्म।

हरेक वर्ष गठामुगः (घण्टाकर्ण चतुर्दशी) को दिन पूर्ण चित्रकार मुकुण्डो बनाउन थाल्नुहुन्छ। त्यही दिन कामको शुभारम्भ हुन्छ। बडादसैंको महानवमीमा ख्वापा:हरू प्रदर्शनका लागि तयार राख्नै पर्छ।
पूर्णले भैरव, महाकाली, बाराही, ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्ह र दुम्ह गरी १३ वटा ख्वापा: बनाउनुहुन्छ। रङका लागि जडीबुटीदेखि सुनसम्म प्रयोग हुन्छ।
ख्वापा: बनाउन बोचासहित विभिन्न किसिमका ढुंगाबाट बनेका रङ, सुन, मैदा, मट्टितेल, कपास, नेपाली कागज, जुटको बोरा र कोरा कपडा चाहिन्छ।
ख्वापा: तयार गर्दा सबैभन्दा धेरै खर्च कालिगढको ज्यालामा हुन्छ। त्यसपछि रङरोगनमा लगभग उत्तिकै खर्च हुन्छ। सुनको रङका लागि मात्रै कम्तीमा ७०/८० हजार रूपैयाँ चाहिन्छ।
खर्चको ठूलो भाग सामग्रीमा होइन, श्रममा गएको छ। अनि सबै काम हातले मात्र हुन्छ। अरू क्षेत्रमा उत्पादकत्व बढ्दा पनि हातको कलाले उत्तिकै समय लिन्छ, तर ज्याला र सामग्रीको मूल्य बढ्दै जान्छ।
खर्च धान्न गाह्रो भएपछि गुठी संस्थानले २०३६ सालदेखि सहयोग दिन थालेको देखिन्छ।
अहिलेसम्म आइपुग्दा गुठी संस्थानले ७० हजार रूपैयाँ दिन्छ। यसबाहेक संस्कृति मन्त्रालयले केही वर्षदेखि ५० हजार रूपैयाँ दिँदै आएको छ। तर कुनै वर्ष त्यो आउँछ, कुनै वर्ष आउँदैन। नगरपालिका, संघसंस्था र व्यक्तिगत तर्फबाट पनि केही रकम सहयोग प्राप्त हुन्छ।
२०५५ सालमा श्री नवदुर्गा भवानी मुकुण्डो निर्माण अक्षयकोष व्यवस्थापन समिति, भक्तपुर स्थापना भयो। २०७५ सालमा समितिले १५ लाख रूपैयाँ स्थिर निक्षेपमा राखेर अक्षयकोष खडा गर्यो। हाल त्यो रकम बढेर कुल २५ लाख रूपैयाँको कोष भएको देखिन्छ।
तर आजको बैंक दरमा नेपाली बैंकहरूले औसत २.७५ देखि ३.५० प्रतिशतसम्म ब्याज दिन्छन्। त्यस हिसाबले २५ लाखको वार्षिक ब्याज ६८ हजारदेखि ८७ हजार रूपैयाँ हुन्छ।
अब यो रकमलाई ख्वापा:को खर्चसँग राखेर हेर्दा रोचक देखिन्छ। वार्षिक ब्याज एउटा ख्वापा:को सुनको रङमै खर्च हुने रकम (७०/८० हजार रूपैयाँ) जतिकै छ। गुठीको ७० हजार, मन्त्रालयको ५० हजार (जुन अनियमित छ) र ब्याज, सबै एकै वर्ष आए पनि जम्मा करिब १ लाख ९० हजारदेखि २ लाख १० हजार रूपैयाँ हुन्छ।
मन्त्रालयको रकम नआएको वर्ष यो घटेर करिब १ लाख ४० हजारदेखि १ लाख ६० हजार रूपैयाँमा झर्छ। बाजेका अनुसार एउटा ख्वापा:को खर्च ३ देखि ४ लाख रूपैयाँ हो। अर्थात् सबै स्रोत नियमित आए पनि एउटैको खर्च पूरा हुँदैन।

नयाँ पुस्ता?
नाचको मुकुण्डो बनाउन नयाँ कालिगढ तयार गर्ने कुरामा कसैको ध्यान गएको छैन। चित्रकारका तीन छोरामध्ये एक जनाले मात्र यो काम गरिरहेका छन्।
याद राखौं, यो काम संस्थाले होइन, एउटा परिवारले धानेको छ।
अनुष्ठानका यस्ता वस्तु बनाउने ज्ञान कागजमा लेखिएको हुँदैन, शरीरमा बसेको हुन्छ। जबसम्म यो ज्ञान कुनै संस्थागत तालिमसँग जोडिँदैन, तबसम्म एउटा पुस्ताको अन्त्यसँगै सबै कुरा हराउने जोखिम रहन्छ।
समय, पैसा र ज्ञान— यी तीन वटै कुराले एउटै निष्कर्षतिर लैजान्छन्। यो परम्परा श्रद्धा र एउटा परिवारको सहनशक्तिमा टिकेको छ।
पूर्ण चित्रकारले आफूलाई 'साधारण व्यक्ति' भनेर चिनाउनुभएको थियो। तर आर्थिक र सामाजिक संरचनाको हिसाबले हेर्दा उहाँ एउटा सम्पूर्ण सांस्कृतिक व्यवस्थाको एकल जोखिम-बिन्दु हुनुहुन्छ।