ठिक्कको पारिलो घाम, चहकिलो सूर्योदय, चिसो हावापानी र समय–समयमा सरर–सरर बहिरहने हावाले सबैलाई दसैंको आगमन महसुस गराउँछन्।
दसैंको मालश्री धुन, बिस्तारै आ–आफ्नो घर जाने तरखर र घर हिँड्न लागेका गाडीहरूको चहलपहलले पनि नजिकिँदो दसैंको आभास गराउँछन्।
खुला नीलो आकाश, बादलका टुक्राटाक्रीहरू र मज्जा लाग्ने हावापानीले दसैंको स्वागत घरदैलोमै ओर्लिएको अनुभूति हुन्छ।
घटस्थापना लागेपछि विधिवत् रूपमा दसैंको शुभारम्भ हुन्छ। व्यापक रूपमा दसैं भनिए पनि भक्तपुरमा आफ्नै मोहनी नखा लाग्छ।
दसैंको नवरात्रमा भक्तपुरका अष्टमातृका पीठहरूमा मेला लाग्छ। बाजागाजासहित बिहान र साँझ क्रमशः भक्तपुर नगरबाहिर रहेका देवीदेवताहरूको पूजा गरिन्छ।
ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी देवीको दर्शन गरिन्छ।
कतिलाई दसैंको रौनक विगतका नमेटिएका पिङका झट्काहरूमा होला। कतिलाई खुला आकाशमा उडाइएका रंगीचंगी चंगाहरूमा, कतिलाई पाकेका धानका लहलहाउँदा बालाहरूमा होला भने कतिपय पुस्तकप्रेमीहरूका लागि नयाँ–नयाँ बास्नादार किताबका पानाहरूमा पनि होला।
भक्तपुर र भक्तपुरवासीहरूको मोहनी नखा भने मासु, शक्तिपीठ, नवदुर्गा, एकान्त कुमारी र तलेजुसँग गाँसिएको छ।
भक्तपुरमा मोहनी नखाको दिनदेखि नवदुर्गा भवानीको जीवनचक्र सुरू हुन्छ। विजया दशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा ठूलो मेला लाग्दछ। यहीँबाट भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको वार्षिक क्रम पनि सुरू हुन्छ।
दसैंका मिथकीय कथाहरूमा भगवती र महिषासुरका कथाहरू जोडिन्छन्। भगवतीले महिषासुरको वध गरी असत्यमाथि सत्यको शंखघोष गरेको सर्वव्यापी दशमीको कथानक सम्झिइन्छ।
तर भक्तपुरको दसैं वा भनौँ मोहनी नखा भने भक्तपुरको मल्लकालीन राजनीतिक शक्तिकेन्द्र भगवान तलेजु, नवदुर्गा, कुमारी, खड्ग जात्रा र पायो न्ह्याकेगु जात्रासँग जोडिन्छ।
पहिलो दिन पूर्वको ब्रह्मायणी मन्दिर गई बलौटे माटो/पाँचा घर लिएर घटस्थापनाको पूजा गरी नलाँ स्वानेगु अर्थात् जमरा राख्ने गरिन्छ। कोही–कोहीले आफ्नो पीठनजिकबाट बलौटे माटो जमरा राख्न लैजान्छन्।
मकै, धान, गहुँलगायतका अन्नलाई जमराका रूपमा माटोमाथि छरिन्छ। धरती अर्थात् माटोको पूजा गरिन्छ।
दसैंको नवरात्रमा पुजिने अष्टमातृकाका आ–आफ्नै तीर्थस्थल छन्। विशेषतः हनुमन्ते खोला किनारमा पीठहरू रहेकाले यी खोलाहरूमै तीर्थका रूपमा स्नान गरिन्छ।
यसका अलावा खासाङ खुसुङ खोला, पश्चिमको सिद्धपोखरी र पूर्वको कमलपोखरीमा पनि तीर्थस्थलका रूपमा स्नान गरी अष्टमातृकाका पीठमा गई पूजा गरिन्छ।
घरको मध्यभागमा रहेको ढुकु कोठा अथवा ढुकुटीमा दुर्गा भगवतीको स्तुतिका लागि मोहनी नखालाई समर्पित गरी नलाँ स्वानेगु अर्थात् जमरा राखिन्छ। घरमा मात्रै होइन, तलेजु, आगमघर र देवघरहरू सबैमा नलाँ स्वानेगु विधिवत् रूपमा गरिन्छ।
नलाँ स्वानेगु पूजाको प्रतीकात्मक अर्थले सांस्कृतिक वैभवको उच्चतम प्रतिभा प्रस्फुटित गराउँछ। नलाँ स्वानेगु र कुनै पनि तान्त्रिक मोहनी पूजा गर्दा सुकुन्दा बालिन्छ, जसमा गणेशमूर्ति हुने भएकाले यसलाई शिव र शक्तिको प्रतीक मानिन्छ।

कलशलाई भगवतीको प्रतीक मानिन्छ, जुन माटोमाथि राखिन्छ। जमराका रूपमा अन्नहरू माटोमाथि छरेर नयाँ जीवनको सुरुवात भएको मान्न सकिन्छ। कलश र माटोलाई फूलपाती नआएसम्म चोखो पानी हालेर पुजिन्छ।
जमरा कोठा, पीठ, इष्टदेवता, सवारीसाधन र पसलहरूमा पशुबलि दिइएको मासु पोलेर रक्सीसहितको समयबजी चढाइन्छ। अष्टमातृका, नवदुर्गा र आ–आफ्ना इष्टदेवताहरूको पूजा गरिन्छ।
यसरी प्रतीकात्मक अर्थहरूलाई नियाल्दा दसैं अर्थात् मोहनी त माटोको पूजा पो रहेछ। एक अर्थमा धरतीको पूजा पो रहेछ। शिव र शक्तिको पूजा रहेछ। शाश्वत जीवनका लागि आवश्यक अन्नहरूलाई पुजिने पो रहेछ। काम, जल, वायु, आकाश, अग्नि र धरतीका पञ्चतत्त्वलाई आत्मसम्मान प्रदान गर्नु पो हुँदो रहेछ। प्रकृतिमा लुप्त रहेको जीवन प्रदान गर्नु पो रहेछ, नयाँ जीवनको स्वागत पनि त रहेछ।
एक अर्थमा भौतिक तत्त्वहरूको बीजलाई पो पूजा गरिएको रहेछ।
त्यसैगरी, नवरात्रको उपक्रममा बिहान र साँझ बाजागाजासहित संगीतको माहोलमा दोस्रो दिन दक्षिणपूर्वको महेश्वरी, दक्षिणको कुमारी, दक्षिणपश्चिमको भद्रकाली, पश्चिमको वाराही र उत्तरपश्चिममा रहेको इन्द्रायणी देवीको दर्शन गर्दै नवरात्रिको छैटौं दिन बित्छ।
सातौं दिन उत्तरमा अवस्थित महाकाली मन्दिरमा मेला लाग्दछ। यस दिनबाट बल्ल साँच्चै दसैं आएको महसुस पनि हुन्छ। किनकि यस दिनबाट पूजाआजा, भोजभतेर र खानपिन सुरू हुन्छ।
तलेजु भवानीको सवारी दरबारको मूलचोक अगाडि हुन्छ। ज्योतिषले शुभ साइतको समय निर्धारण गरी उपयुक्त समयमा तलेजु भवानीको मूल बासस्थानबाट तल सवारी हुन्छ।
तलेजुका मुख्य पुजारी, राजपुरोहितहरू, राजज्योतिष र आचाजुहरूले आ–आफ्नै जिम्मेवारीहरू पनि बहन गर्छन्। यस दिन शुभ साइत हेरी तलेजु भवानीको सवारी तलेजुको मूलचोकमा गरिन्छ।
आठौं दिन भक्तपुरको महालक्ष्मी मन्दिरमा मेला लाग्दछ। शक्तिपीठहरूमा विशेषतः पशुबलि दिइन्छ र राति कुछी भोय खाइन्छ। नवरात्रिको आठौं दिनलाई कालरात्रि पनि भनिन्छ।
नवौं दिन त्रिपुरासुन्दरी देवीको पूजा हुन्छ। यस दिन हरेक घरको नलास्वं कुठी अर्थात् जमरा कोठामा पूजाआजा गरिन्छ। यस दिन नलास्वं कुठी अर्थात् जमरा राखिएको गुप्त कोठामा दुर्गा भगवतीको रौद्र कालीरूप अवतार प्रकट हुँदो हो।
राँगामाथि चढेका, हातमा तरवार लिएका असुरहरूका राजा महिषासुर पनि उत्तेजित अवस्थामा हुँदो हो। हातमा खड्ग लिएर रौद्र रूप धारण गरेकी देवी भगवतीले राँगामाथि चढेका असुरको छातीमाथि कुल्चेर घमासान युद्ध हुँदो हो। भगवतीको तस्बिरअगाडि भर्खरै कलकलाउँदो गरी पलाएका जमरा र कलशलाई साक्षी राखेर पशुबलिमा विशेषतः भाले कुखुराको रगत बलिका रूपमा चढाइन्छ।
यस दिन मुख्य पीठहरू र आगमघरहरूमा पनि पशुबलि दिइन्छ। यस प्रकार देवी भगवती असत्यमाथि सत्यको सधैं जित, जगत्जननी, धरतीमा नयाँ जन्म र जीवनको जिजीविषाका रूपमा जमरा र कलशमा विलुप्त रहेको अर्थमा देखा पर्छिन्।
विजया दशमीको दिन ब्रह्मायणी मन्दिरमा ठूलो मेला लाग्छ। ब्रह्मायणी पीठमा दाफा, भजन र गुठी समूहले स्वंताकी तानेगु गर्छन्, जसको शाब्दिक अर्थ फूलहरू तहगत रूपमा चढाउनु हो।
धुमधामका साथ दिनभरि भक्तपुरको ब्रह्मायणी मन्दिर र तलेजु मन्दिरमा भीडभाड हुन्छ।
भक्तपुरको कुनै पनि चाडपर्वको केन्द्रबिन्दु हो तलेजु भवानी। तलेजु भवानीको तिथिमिति नै भक्तपुरवासीको चाडपर्व मनाउने तिथिमिति हो। मल्लकालीन राजदरबारमा विराजमान मल्ल राजाहरूको शक्तिकेन्द्रका रूपमा रहेको तलेजु भवानीको तान्त्रिक पूजाआजा पनि दसैंमा हुन्छ।

मल्ल राजाहरूको दरबारभित्र रहेका आफ्ना कुलदेवता, इष्टदेवता र आगमदेवताको तान्त्रिक पूजाआजा र उपासना उसैगरी चल्छन्, जसरी हिजोका दिनमा हुन्थे। राजनीतिक सत्ताको केन्द्र, सांस्कृतिक चालचलन र चाडपर्वको केन्द्र, शक्तिको केन्द्र, वैभव र न्यायनिसाफको केन्द्र मल्लकालीन भक्तपुर राजदरबार र तलेजु हो भन्ने कुरालाई यसले हिजो पनि र आज पनि बोध गराइदिन्छ।
त्यस कारण यहाँ दसैं एक प्रकारले शक्ति र सामर्थ्यको पूजा पनि हो। राजसत्ता र राजनीतिक केन्द्रको सांस्कृतिक उपासना पनि हो। हातहतियार, साधन, वाहन र ढुकुटीको धनदौलतलाई पुज्नु, आ–आफ्ना पुर्खाको ऐतिहासिकतालाई जोड्नु र नेपाल मण्डल आइपुग्नुअघि आफ्नो पुर्ख्यौली थलो वा आफू हिँड्दै आएको पुर्खाको बाटोलाई स्मरण गर्नु पनि हुँदो रहेछ।
दशमी अर्थात् विजया दशमीको रात भक्तपुर राजदरबारबाट पायो न्ह्याकेगु जात्रा सुरू हुन्छ। तलेजु भवानीको सेतो घोडालाई पनि शुभ साइत हेरी नगरको माथिल्लो टोल वा तल्लो टोलमा घुमाइन्छ।
भगवान तलेजुको भक्तपुर आगमनका ऐतिहासिक सन्दर्भहरू राजा हरिसिंह देवसँग जोडिन्छन्।
राजा हरिसिंह देवको तिरहुत राज्य पतन भएपछि तलेजु भवानीसँगै भक्तपुर आइपुगेको ऐतिहासिक क्षण पनि मोहनी नखाले स्मरण गराइदिन्छ। तलेजु भवानीको महिमा आज पनि उत्तिकै उच्च कोटिको सांस्कृतिक दर्जामा चलिआएकै छ। तलेजु भवानीलाई विधिवत् तान्त्रिक पूजाआजा गरेर बलि पनि चढाइन्छ।
यस रात तलेजुका पुजारीले राजा हरिसिंह देवको भूमिका निर्वाह गर्छन्, जसले दक्षिण भारतकी तलेजु भवानीलाई भक्तपुरमा स्थापना गरे।
सिम्रौनगढबाट आएका राजा हरिसिंह देव र त्यही राज्यबाट आएका एक व्यापारीबीच नाटकीय संवाद हुन्छ।
त्यसमा राजाले व्यापारीलाई 'कताबाट आयौ? पुरानो चलनअनुसार व्यापार चलिआएको त छ नि? महँगी कस्तो छ? जनताको कुशलमंगल के कस्तो छ' भनी सोध्छन्।
जबाफमा व्यापारीले सबै ठीक छ, मंगल छ भन्ने जबाफ दिएपछि राजा ढुक्क हुन्छन्।
यस प्रकार सिम्रौनगढसँग जोडिएको नेपाल मण्डलको इतिहास र तलेजु भवानीको भक्तपुर आगमनको इतिहास नाटकीय ढंगमा सम्झाइन्छ।
त्यसपछि शुभ साइत हेरी पायो न्ह्याकेगु जात्रा थने वा कोने सवारी भएर दशमीको राति समाप्त हुन्छ।
बाँकी रहेको पूर्णिमासम्मको समयमा छोरीचेलीहरूलाई भोजभतेर खुवाउन नखात्या बोलाइन्छ र दसैंको प्रसाद ग्रहण गरी मोहनी नखा समाप्त हुन्छ।