अब त सात दिन मात्रै बाँकी छ, त्यसपछि राम्रो डाक्टरलाई देखाऔंला — १५ सेप्टेम्बरको साँझ बुबासँग फोनमा कुरा गर्दा मैले यस्तै भनेको थिएँ।
उहाँलाई अलिअलि ज्वरो आएको रहेछ। अरू ठीकै छ भन्नुभयो। मैले सिटामोल खान आग्रह गरेँ। आमाको काजकिरियामा बसिरहनुभएका बुबासँग त्यस रातको कुराकानी त्यत्तिमै टुंगियो।
मलाई लागेको थियो, भोलि भेट भइहाल्छ। केही दिनपछि फुर्सद पनि मिल्छ। त्यसपछि मज्जाले कुरा गरौंला।
तर भोलिपल्ट बुबासँग मेरो भेट अस्पतालको एउटा सुनसान कोठामा भयो। उहाँको अनुहार छोपिएको थियो।
बोल्न खोज्ने म थिएँ, जबाफ दिने बुबा हुनुहुन्नथ्यो। अघिल्लो साँझ सजिलै बोलेको सात दिन भन्ने समय त्यसपछि कहिल्यै आएन।
१६ सेप्टेम्बर हाम्रो परिवारका लागि कालो दिन बन्यो। कुनै गम्भीर समस्या छ भन्ने हामीलाई स्पष्ट थाहा नहुँदै बुबाले हामीलाई छाडेर जानुभयो।
त्यो बिहानपछि मेरो जीवनको एउटा ठूलो भरोसा हराएको छ। उहाँको अभावसँग बाँच्न सिकिरहँदा मनमा बारम्बार आउने कुरा भनेको उहाँसँग गर्न बाँकी रहेका कुराकानी हुन्।
नेपालको विकास क्षेत्रमा काम गरेको बीस वर्षभन्दा बढी भयो। यसबीचमा देशभित्र र बाहिर थुप्रै तालिम, कार्यशाला र गोष्ठीमा सहभागी भएँ। नेपालका विभिन्न ठाउँमा प्रभावकारी सञ्चारसम्बन्धी तालिम पनि दिएँ। अरूलाई कुरा कसरी राख्ने, कसरी सुन्ने र एकअर्कालाई कसरी बुझ्ने भनेर सिकाएँ।
अहिले फर्केर हेर्दा लाग्छ, तालिम तयार पार्न र सञ्चालन गर्न सके पनि त्यसको मर्म आफ्नो दैनिक जीवनमा पर्याप्त उतार्न सकेको रहेनछु। आफ्नै बुबासँग मन खोलेर बोल्न नसकेको अनुभवले मलाई मैले सिकाउँदै आएको विषयले फेरि सिकाएको छ।
यस पटक कक्षामा बसेर होइन, कहिल्यै नपुरिने अभाव बोकेर सिकेको हुँ। यो लेख त्यही अनुभव बाँड्ने प्रयास हो। मेरा बुबालाई चिन्ने तर उहाँको निधनबारे अझै थाहा नपाएका शुभचिन्तकसम्म खबर पुर्याउने इच्छा पनि यसमा जोडिएको छ।
मेरा हजुरआमाको १० सेप्टेम्बरमा निधन भयो। उहाँ १०६ वर्षको हुनुहुन्थ्यो।
जीवनको अन्तिम समयमा कान्छो छोराको परिवारसँग बस्नुभएकाले काजकिरिया पनि काकाकै घरमा भइरहेको थियो। बुबा र काका तेह्र दिनको किरियामा बस्नुभएको थियो। घरमा शोक थियो। आफन्तको आवतजावत र संस्कारका काम भइरहेका थिए।
म १४ सेप्टेम्बरसम्म त्यहीँ बसेँ। काकाका छोराहरूले धेरैजसो काम सम्हालिरहेका थिए। मेरो जिम्मामा तत्काल गर्नैपर्ने काम तुलनात्मक रूपमा कम भएकाले अफिसका केही जरुरी काम पूरा गर्न १५ र १६ सेप्टेम्बरमा अफिस जाने निर्णय गरेँ।
काम सकेर बुबाआमालाई भेट्न जाने सोच थियो। त्यस बेला यो सामान्य निर्णय लागेको थियो। १५ सेप्टेम्बरको साँझ कार्यालयबाट निस्कँदा पनि उहाँहरूलाई भेट्न जाने मन थियो। तर बाटोमा अत्यधिक जाम भयो। मित्रपार्कबाट ट्राफिक कोटेश्वरतिर मोडिएपछि माकलबारीतर्फ जान सकिनँ। त्यसपछि घर पुगेपछि बुबालाई फोन गर्छु भन्ने सोचेर घरतिर लागेँ।
घर पुगेपछि श्रीमतीले बुबाआमालाई भेटेर आएको हो भनेर सोधिन्। मैले जान नसकेको बताएँ र बुबालाई फोन गर्छु भनेँ। फोन गरेँ पनि। उहाँको स्वास्थ्यबारे सोधेँ। उहाँले अलिकति ज्वरो आएको, अरू ठीकै रहेको बताउनुभयो।
मैले त्यसलाई त्यति बेला सामान्य रूपमा लिएँ। औषधि खान भनेँ। किरिया सकिएपछि डाक्टरलाई देखाउने कुरा गरेँ।
आज त्यही कुराकानी सम्झिँदा मनमा धेरै प्रश्न आउँछन्। अझ विस्तारमा सोध्न सक्थेँ कि? उहाँलाई कस्तो असजिलो भइरहेको थियो भनेर बुझ्न सक्थेँ कि? भेट्न पुग्न सकेको भए केही फरक हुन्थ्यो कि?
तर यी प्रश्नको निश्चित उत्तर मसँग छैन। त्यो रात बढी कुरा गरेको वा भेटेको भए परिणाम बदलिन्थ्यो भनेर म भन्न सक्दिनँ। मृत्युको कारणबारे अनुमान गर्न पनि चाहन्नँ।
मलाई थाहा भएको कुरा यत्ति हो, त्यो मेरो बुबासँगको अन्तिम कुराकानी बन्यो। त्यस बेला भने अन्तिम हो भन्ने कुनै आभास थिएन। हामीले धेरै कुराकानी यस्तै सामान्य ठानेर टुंग्याउँदा रहेछौं।
फोन फेरि गर्न सकिन्छ, भेट फेरि हुन्छ, बाँकी कुरा पछि गरौंला भन्ने विश्वासले हामीलाई ढुक्क बनाउँदो रहेछ। मेरो त्यो ढुक्कपन एक रातमै टुट्यो।
१६ सेप्टेम्बरको बिहान म आठ बजेर पन्ध्र मिनेटमा अफिस पुगेँ। छिट्टै काम सकेर बेलुका बुबाआमालाई भेट्न जाने योजना थियो मेरो। अघिल्लो साँझको जस्तो जाममा नपरी केही चाँडो निस्किने सोच बनाएको थिएँ।
ल्यापटप खोलेको मात्र थिएँ, सहकर्मी प्रमोदलाई एउटा काममा सहयोग चाहियो। हामी त्यही विषयमा कुरा गर्न थाल्यौं। त्यसै बेला काकाको कान्छो छोराले फोन गरेको रहेछ। कुरामा अल्झिएकाले मोबाइलको कम्पन पहिलो पटक थाहा पाइनँ। दोस्रोपटक फोन आएपछि उठाएँ।
उसले बुबालाई सञ्चो नभएको र अस्पताल लैजाँदै गरेको बतायो। मलाई पनि अस्पताल आउन भन्यो। मैले कुन अस्पताल भनेर सोधेँ। उसले अत्तरखेलको नेपाल मेडिकल कलेज लाँदैछौं भन्यो।
त्यस बेलासम्म पनि अवस्था यति गम्भीर होला भन्ने लागेको थिएन। बुबालाई केही असजिलो भएको छ, अस्पतालमा जाँच हुन्छ, उपचार हुन्छ भन्ने नै सोच थियो मेरो।
प्रमोदलाई बुबा बिरामी भएकाले निस्किनुपर्ने बताएँ। उनले काम पछि गरौंला भने। म पार्किङतिर लागेँ।
पार्किङसम्म पुग्दै गर्दा पठाओ लिएर जाऊँ कि आफैं गाडी चलाऊँ भन्ने प्रश्न मनमा आयो। पछि अर्को अस्पताल लैजानुपरे आफ्नै गाडी सजिलो होला भन्ने सोचेर गाडी चलाउने निर्णय गरेँ।
त्यस निर्णयभित्र पनि बुबाको उपचार हुन्छ र आवश्यक परे अर्को अस्पताल लैजान सकिन्छ भन्ने आशा थियो। अफिस लाग्ने समय भएकाले लाजिम्पाटदेखि अत्तरखेलसम्म बाटोमा जाम थियो।
सुरूमा म सामान्य अवस्थामै थिएँ। तर एकपछि अर्को फोन आउन थाले। श्रीमतीले कहाँ पुगेको भनेर सोधिन्। त्यसपछि आफन्तहरूका फोन आए। भाइहरूले (काकाका छोराहरू) पटक पटक फोन गरे।
यादव ठूलोबुबाले फोन गर्नुभयो। ममीको पनि फोन आयो।
बिचरा ममीलाई पनि अस्पताल लगेको चाहिँ थाहा रहेछ, तर किन लगेको, बुबालाई के भएको हो भन्ने केही थाहा रहेनछ।
सबैले मेरो अवस्थाभन्दा म कहाँ पुगेँ भन्ने जान्न खोजिरहेका थिए। अब मनमा डर पस्न थाल्यो। केही गम्भीर भएको छ कि भन्ने लाग्यो। तर के भएको हो भनेर बुझ्न सकिरहेको थिइनँ। अस्पताल पुग्न हतार थियो, सडकले भने आफ्नै गतिमा अघि बढाइरहेको थियो।
त्यस्तो अवस्थामा मानिसको मन र बाहिरको संसार फरक गतिमा चल्दा रहेछन्। अस्पताल पुग्न करिब पैंतालीस मिनेट लाग्यो। अहिले सम्झिँदा त्यो दुरी कसरी पार गरेँ, आफैंलाई अचम्म लाग्छ। घडीको समय पैंतालीस मिनेट थियो, मनले बिताएको समय भने वर्षौंजस्तो लागिरहेको थियो।
हरेक फोनसँगै अनिश्चितता बढ्दै गयो। तैपनि बुबा अब रहनुभएन भन्ने सोच मनमा पटक्कै आएको थिएन।
अस्पताल पुग्दा काकाका तीनै छोरा, मेरी श्रीमती र अरू केही आफन्त बाहिर देखिए। उनीहरूले गाडी राख्ने ठाउँ देखाइदिए। पार्किङ गरेर उनीहरू बसेको ठाउँतिर गएँ। मेरी श्रीमती मभन्दा अगाडि नै पुगेकी रहिछिन्। उनी रोइरहेकी थिइन्। अरू चुपचाप थिए।
सबैको अनुहारमा केही यस्तो थियो, जसलाई म बुझ्न खोजिरहेको थिएँ तर स्वीकार गर्न तयार थिइनँ। त्यही बेला मेरो ध्यान भाइहरूका खुट्टामा गयो। उनीहरूले चप्पल वा जुत्ता लगाएका थिएनन्।
पछि थाहा पाएँ, बुबालाई अस्पताल ल्याउने हतारमा लगाउने समय नै पाएनछन्। करिब सात मिनेटमै उहाँलाई अस्पताल पुर्याएका रहेछन्। त्यो हतार र उनीहरूको खाली खुट्टाको दृश्य अहिले पनि मनमा बसिरहेको छ।
मानिसले साथ दिएको कुरा सधैं शब्दमा मात्रै देखिँदैन रहेछ। कहिलेकाहीँ चप्पलसमेत लगाउन नभ्याई दौडिएका खुट्टाले धेरै कुरा भनिरहेका हुँदा रहेछन्।
त्यति बेला भने म त्यसको अर्थ लगाउने अवस्थामा थिइनँ। मेरो मनमा एउटै तर्क घुमिरहेको थियो, हिजो राति कुरा गर्दा बुबा ठीकै हुनुहुन्थ्यो। अहिले बिरामी भए पनि अस्पताल त आइपुग्नुभएको छ। उपचार होला। त्यसो भए सबै किन यति असामान्य देखिएका होलान्?
काकाको माइलो छोराले भित्र जाऔं भन्यो। हामी अघि बढ्यौं। भित्र ईश्वरी ठूलोबुबा र डाक्टर कुरा गरिरहनुभएको थियो। उहाँहरूबीच के कुरा भइरहेको थियो, मैले बुझिनँ।
सायद उहाँहरूको आवाज सानो र बाहिरी हल्ला भएर होला। मलाई बुबा कहाँ हुनुहुन्छ भन्ने मात्रै जान्नु थियो। त्यस क्षणसम्म पनि उहाँको निधन भइसकेको होला भन्ने लागेको थिएन। भाइले मलाई आकस्मिक कक्षतिर लगेन।
एउटा अँध्यारो, सुनसान कोठातिर लाग्यो। कोठामा बुबा हुनुहुन्थ्यो। उहाँलाई कपडाले छोपिएको थियो। अरू कोही थिएन। भाइले अनुहारको कपडा हटाइदियो।
त्यसपछि मनमा के भयो, शब्दले पूरा भन्न सक्दिनँ। मैले बुबा मात्रै गुमाएको थिइनँ। मेरो आदर्श, साहस र भरोसा एकैपटक हराएजस्तो भयो।
जीवनमा समस्या पर्दा सम्झने मानिस अब बोल्नुहुन्न भन्ने यथार्थ अगाडि थियो। तर मनले त्यसलाई मान्न सकिरहेको थिएन। त्यो क्षणको पीडा र त्यसपछिका दिनबारे अर्को लेखमा विस्तारमा लेख्न सकुँला। यहाँ म शोकको प्रत्येक विवरण सुनाउन चाहन्नँ।
मैले गुमाएको मान्छेसँग जोडिएको एउटा प्रश्न तपाईंहरूसँग बाँड्न चाहन्छु।
हामी आफ्ना सबैभन्दा नजिकका मानिससँग मनका कुरा गर्न किन यति ढिलो गर्छौं?
मैले संसार बुझ्न थालेको बेलाको हाम्रो घरपरिवार सम्झिन्छु। हाम्रो केही पाखोबारी थियो, तर आफ्नै घर थिएन। अरूको घरमा बसेका दिनहरू अझै याद छन्।
आज हामीसँग जे छ, त्यसमा बुबाममीको निरन्तर श्रम र पसिना जोडिएको छ। उहाँहरूले गरेको दुःखलाई सम्झिँदा आफ्नो जीवनका धेरै सुविधा आफै बनेका होइनन् भन्ने झन् स्पष्ट हुन्छ।
मेरो बुझाइमा बुबा आफ्नो परिवारलाई राम्रो जीवन दिन चाहनुहुन्थ्यो। त्यसका लागि दिनरात मेहनत गर्नुभयो। परिवारले अभाव भोग्नु नपरोस् भन्ने चाहनाले उहाँलाई काममा व्यस्त बनायो होला।
त्यो चाहनालाई म आज अझ गहिरोसँग बुझ्न खोजिरहेको छु।
उहाँको माया धेरै पटक बोलीभन्दा जिम्मेवारीमा देखिन्थ्यो भन्ने लाग्छ। तर त्यही जिम्मेवारी र व्यस्तताका बीच परिवारसँग फुर्सदमा बस्ने समय कम भयो।
सँगै बिताएको समय पनि व्यवहारका कुरा, काम र आवश्यकतामै सीमित हुन पुग्यो होला। मन खोलेर एकअर्कालाई बुझ्ने अवसर पर्याप्त बनाउन समयको व्यवस्थापन गर्न नै सकिएन र समय पाएको बेलामा पनि भावनात्मक कुराभन्दा व्यावहारिक कुरामा मात्र जोड दियौं।
परिवारको आर्थिक सुरक्षा र भावनात्मक निकटता दुवै चाहिने रहेछन् भन्ने आफ्नो अनुभव बाँड्न खोजेको हुँ। घरको भविष्य राम्रो बनाउने दौडमा घरभित्रका मानिससँगको वर्तमान पनि जोगाउनुपर्ने रहेछ। यो कुरा मैले समयमा पर्याप्त बुझिनँ।
हाम्रो सम्बन्धमा सम्मान थियो। माया थियो। तर मनमा लागेको कुरा सहजै राख्न सक्ने खुलापन कम थियो। बुबासँग बोल्दा केही डर पनि लाग्थ्यो। त्यो डरमा उहाँप्रतिको आदर मिसिएको थियो।
तैपनि मनको कुरा भन्नुअघि हिचकिचाउने बानी अन्तिम कुराकानीसम्म रह्यो।
उहाँलाई म कति मान्छु, उहाँको परिश्रमले मेरो जीवनमा के अर्थ राख्छ, उहाँसँग बसेर के सोध्न मन छ भन्ने धेरै कुरा मनमै रहे।
म ठूलो भएँ, कामको जिम्मेवारी बढ्यो, अरूका अगाडि बोल्ने आत्मविश्वास पनि बढ्यो। तर बुबासँग आफ्ना भावना व्यक्त गर्ने त्यो संकोच सजिलै हटेन।
उहाँसँग पनि हामीलाई सुनाउन मन लागेका कुरा थिए होलान् भन्ने लाग्छ। आफ्नो संघर्ष, थकान, इच्छा वा चिन्ताबारे भन्न चाहनुहुन्थ्यो होला। ती कुरा के थिए भनेर अब म निश्चित रूपमा जान्न सक्दिनँ।
यही नजान्नुले पनि मन दुखाउँछ। हामीले एकअर्कालाई माया गर्यौं, तर एकअर्काको भित्री संसार कति बुझ्यौं भन्ने प्रश्न बाँकी रह्यो।
प्रभावकारी सञ्चार भन्नाले यहाँ मैले आकर्षक भाषण गर्ने वा राम्रो प्रस्तुति दिने सीपलाई मात्र भनेको छैन। मेरा लागि यसको अर्थ घरमा यस्तो वातावरण हुनु हो, जहाँ छोराछोरीले आफ्ना बुबाआमासँग मनमा लागेको कुरा भन्न सकून् र बुबाआमाले पनि आफ्ना भावना सहजै राख्न सकून्। कुरा राख्दा अपमान हुन्छ कि, रिस उठ्छ कि भन्ने डरले बोली रोकिन नपरोस्।
घरमा धेरै कुरा भइरहे पनि मनका कुरा नहुन सक्छन्। खाना खायौं कि खाएनौं, काम सकियो कि सकिएन, पैसा चाहियो कि चाहिएन भन्ने आवश्यक प्रश्न हुन्।
तर त्यतिले मात्रै एकअर्काको अवस्था पूरा बुझिँदैन रहेछ। आज मन कस्तो छ, के कुराले चिन्ता लागिरहेको छ, के भन्न मन छ भन्ने प्रश्नको पनि ठाउँ चाहिने रहेछ।
कसैको अनुहार हेरेर सबै बुझिहालिन्छ भन्ने हाम्रो विश्वास पनि अधुरो हुन सक्छ। नजिकका मानिसले 'ठीकै छ' भन्दा हामी सहजै ढुक्क हुन्छौं। कहिलेकाहीँ त्यसपछि पनि केही बेर कुरा सुन्ने धैर्य चाहिन्छ होला।
त्यसको अर्थ प्रत्येक उत्तरमा शंका गर्नु होइन। बोल्न चाहने मानिसलाई समय र ठाउँ दिनु हो।
आफ्ना कुरा राख्न पाउनुजत्तिकै अरूको कुरा पूरा सुन्न पाउनु पनि आवश्यक रहेछ। हामी सुन्दै गर्दा जबाफ तयार पारिरहेका हुन्छौं। तुरून्त सल्लाह दिन्छौं, समाधान खोज्छौं वा विषयलाई सामान्य बनाइदिन्छौं।
तर परिवारको सदस्यलाई कहिलेकाहीँ आफ्ना कुरा बीचमै नरोकिऊन् भन्ने मात्र चाहिएको हुन सक्छ।
म यो लेखेर आफूले यी सबै अभ्यास गरिसकेको दाबी गरिरहेको छैन। आफ्नै कमजोरीसँग इमानदार हुन खोजिरहेको छु। सञ्चारबारे अरूलाई तालिम दिने मानिसले पनि घरमा यति धेरै सिक्न बाँकी रहेछ भन्ने स्वीकार गरिरहेको छु।
व्यावसायिक दक्षता हुँदैमा व्यक्तिगत सम्बन्धमा त्यसको अभ्यास स्वतः हुँदैन रहेछ। विशेष गरी बुबा र छोराबीचको सम्बन्धमा जिम्मेवारी र सम्मानले धेरै ठाउँ ओगटेको हुन सक्छ।
म आफ्नै अनुभवबाट यत्ति भन्न सक्छु, सम्मान जोगाएर पनि खुलेर बोल्न मिल्छ। आदरको अर्थ आफ्ना भावना सधैं लुकाउनु नपर्ने रहेछ।
यो सहजता छोराछोरीले मात्रै बनाउने होइन, बुबाआमाले पनि निमन्त्रणा दिन सक्नुहुन्छ।
तिमीलाई के लाग्छ भनेर सोध्नु, असहमति आए पनि केही बेर सुन्नु र आफ्नै थकान वा चिन्ता बाँड्नु संवाद सुरू गर्ने साना उपाय हुन सक्छन्। यस्तो कुरा एक दिनको गम्भीर बैठकबाट मात्रै बन्दैन होला। दैनिक व्यवहारमा सुरक्षित महसुस गर्दै जाँदा खुलापन बढ्छ भन्ने मलाई लाग्छ।
मलाई सधैं लागेको थियो, बुबाले कामबाट अलि फुर्सद पाएपछि हामीसँग समय हुनेछ। उहाँले काम छोडेपछि आरामसँग बसौंला। पुराना कुरा सुनौंला। मनमा भएका कुरा राखौंला। परिवारका लागि गर्नुभएको मेहनतबारे उहाँसँग खुलस्त कुरा गरौंला।
यो सोच गलत नियतबाट आएको थिएन। समय प्रशस्त छ भन्ने विश्वासबाट आएको थियो। तर त्यो समय आएन।
अब फर्केर हेर्दा भविष्यका लागि साँचेका कुराहरू नै मेरो जीवनका ठूला पछुतामध्ये बनेका छन्। भेटको अवसर सधैं ठूलो हुनुपर्ने रहेनछ।
लामो यात्रा, विशेष कार्यक्रम वा पूरै खाली दिनको प्रतीक्षा गर्दा साधारण साँझका अवसर हराउन सक्दा रहेछन्।
हामी कामको बैठकका लागि समय छुट्ट्याउँछौं। त्यसको तयारी गर्छौं। बैठक सार्नुपरे कारण दिन्छौं।
तर घरका मानिससँग बस्ने समयलाई प्रायः बाँकी रहेपछि प्रयोग गर्ने समय बनाउँछौं। उनीहरू त आफ्नै हुन्, बुझिहाल्छन् भन्ने लाग्छ। आफ्नो भएकै कारण उनीहरूलाई समय कम दिने बानीबारे सोच्नुपर्ने रहेछ।
समस्या काम गर्नुमा मात्रै छैन। मैले पनि काम गर्नुपर्छ, जिम्मेवारी पूरा गर्नुपर्छ। प्रश्न भनेको व्यस्तताका बीच सम्बन्धलाई कति निश्चित ठाउँ दिएका छौं भन्ने हो।
दिनभरि समय नपाए पनि केही बेर ध्यान दिएर सुन्न सक्छौं कि? भेट्न नसके फोन गर्दा हतारमा औपचारिक हालखबर सोधेर मात्रै टुंग्याउँछौं कि?
मेरो अनुभवले कसैलाई आफ्नो विगतका लागि दोषी महसुस गराओस् भन्ने चाहन्नँ। सबैको परिस्थिति, दुरी र सम्बन्ध फरक हुन्छ।
अचानक आउने मृत्युको जिम्मेवारी कुनै अधुरो फोन वा छुटेको भेटलाई दिन पनि मिल्दैन। तर अहिले उपलब्ध अवसरलाई प्रयोग गर्न सकिन्छ।
मैले भन्न खोजिरहेको कुरा त्यही नै हो।
आज बेलुकाको खाना खाँदा मोबाइल अलि पर राखेर बस्न सकिन्छ। सामाजिक सञ्जालका सूचना केही बेर नहेरे पनि हुन्छ। परिवारका सदस्यले कुरा गर्दा स्क्रिनतिर हेर्नुको सट्टा उनीहरूतिर फर्कन सकिन्छ।
एउटै टेबुलमा बस्नु र एकअर्कासँग उपस्थित हुनुबीचको फरक मैले अहिले अझ बढी महसुस गरेको छु। बुबाआमालाई औषधि खानुभयो कि भएन भनेर सोध्नु आवश्यक छ। त्यससँगै उहाँहरूलाई के कुराले खुसी बनायो, के कुराले थकायो, कुन पुरानो कुरा सुनाउन मन छ भनेर पनि सोध्न सकिन्छ।
जबाफ छोटो आयो भने संवाद असफल भयो भन्ने होइन। नियमित चासोले बिस्तारै कुरा खोल्ने आधार दिन सक्छ।
आफ्नो तर्फबाट पनि भन्न बाँकी राखिरहनु नपर्ने रहेछ। धन्यवाद भन्न मन छ भने भनौं। चित्त दुखेको छ भने मिल्ने समयमा सम्मानपूर्वक राखौं।
आफूलाई गाह्रो भएको छ भने सधैं बलियो देखिनैपर्छ भन्ने नठानौं। घरमा एकअर्काको कमजोरी पनि अट्ने ठाउँ भए सम्बन्ध अझ नजिक हुन सक्छ। स्वास्थ्यको कुरा पनि संवादमै अट्नुपर्छ।
घरमा कसैलाई असजिलो हुँदा त्यसलाई खुलस्त भन्न र सुन्न सहज होस्। आवश्यक जाँच वा स्वास्थ्यकर्मीको सल्लाह लिन संस्कार सकिने दिन वा अर्को सुविधाजनक समय नै पर्खनुपर्छ भन्ने नहोस्।
यो मेरो अनुभवबाट आएको आग्रह हो। यसबाट बुबाको निधनको कारण वा रोक्न सकिने सम्भावनाबारे कुनै निश्चित निष्कर्ष निकाल्न भने म चाहन्नँ।
बुबालाई गुमाएपछिका दिनमा संवादको अर्को रूप पनि देखेँ। त्यो थियो दुःख परेको परिवारको कुरा सुन्न आउने मानिसहरूको साथ।
हिन्दु संस्कारका सबै अभ्याससँग मेरो सहमति छैन। केही अभ्यासबारे मेरा आफ्नै प्रश्न छन्। तर तेह्र दिन किरिया बस्दा मानिसहरू भेट्न आउने चलनले मलाई दिएको सहारा भने बिर्सिन सक्दिनँ।
आफन्त र शुभचिन्तकहरू आउनुभयो। कसैले बुबाका कुरा सम्झिनुभयो। कसैले हाम्रो कुरा सुन्नुभयो। कसैले आवश्यक काम सम्हाल्नुभयो।
एउटै घटना बारम्बार सुनाउँदा पनि सुनिदिने मानिस हुनु ठूलो कुरा रहेछ। आफ्नो पीडा व्यक्त गर्न पाउँदा त्यसलाई एक्लै बोकिरहनु नपर्ने अनुभूति हुन्थ्यो। सबै भेटमा धेरै कुरा हुनैपर्दैन रहेछ। केही मानिसको उपस्थितिले मात्रै पनि साहस दियो।
कसरी सान्त्वना दिने भन्ने सही शब्द नपाए पनि छेउमा बसिदिनु, आवश्यक काम देखेर हात बढाउनु र फेरि खबर गर्नुको अर्थ ठूलो रहेछ। त्यस बेला कुनै प्रभावशाली भाषणभन्दा निरन्तरको साथ उपयोगी लाग्यो।
अमेरिकामा रहेका साथी सञ्जीवको साथ विशेष रूपमा सम्झिन्छु। हामी नियमित सम्पर्कमा थिएनौं। तर खबर पाएपछि उनले दिएको हौसला मेरो लागि ठूलो भयो।
सम्बन्धको नजिकपन सधैं अघिल्लो महिनामा कति पटक कुरा भयो भन्ने हिसाबले मात्रै बुझिँदैन रहेछ। कठिन समयमा कसरी उपस्थित भइयो भन्ने कुराले पनि त्यसको अर्थ देखाउँदो रहेछ।
प्रिय मित्र भोज, मेरो बाल्यकालको साथी मनोज, प्रदीप दाइ सधैं सहयोगका लागि अघि रहे। परिवारका सदस्यहरू, विशेष गरी तीन जना भाइहरू र आफन्तले संस्कारका काम सम्पन्न गर्न धेरै मेहनत गर्नुभयो।
राम ज्वाइँको निरन्तर साथ र सहयोग सम्झिन्छु। छिमेकी दुर्गा सर, मोहन सर, दीपक सर, ध्रुव सर, प्रह्लाद सर र मनोज सरले दिनुभएको साथप्रति आभारी छु।
भट्टराई अंकल र परशुराम दाइको निरन्तर साथले पनि त्यो कठिन समय काट्न बल दियो।
यहाँ नाम लेखिएका व्यक्तिहरू मात्रै होइन, भेटेर, फोन गरेर, सन्देश पठाएर वा आवश्यक काममा हात दिएर साथ दिनु हुने सबैप्रति हाम्रो परिवार कृतज्ञ छ।
शोकमा रहेका बेला सबै सहयोगको हिसाब राख्न सम्भव हुँदैन। तर कसैले दिएको समय र अपनत्व मनमा रहिरहन्छ। त्यसको मूल्य शब्दमा पूरा उतार्न सकिँदैन।
यस अनुभवले परम्परालाई हेर्ने मेरो दृष्टिमा पनि केही थपेको छ।
संस्कारको मानवीय पक्ष जोगाउन सकियो भने त्यसले पीडामा परेको परिवारलाई सहारा दिन सक्दो रहेछ। दुःखमा बसेको परिवारलाई थप बोझ दिनुभन्दा उनीहरूलाई बोल्न, रून वा चुप लागेर बस्न पाउने ठाउँ दिनु त्यसको उपयोगी पक्ष हो भन्ने लाग्यो।
यस्तो बेला मानिस र सम्बन्धलाई नयाँ ढंगले चिनिने रहेछ। नसोचेका ठाउँबाट गहिरो साथ आयो। केही ठाउँमा भने अपेक्षा थियो, तर त्यो पूरा भएन।
बुबा र मैले कठिन समयमा धेरै साथ दिएका केही व्यक्तिको व्यवहार औपचारिकतामा सीमित भएजस्तो लाग्यो। शोकको बेला त्यो दुरीले मन दुखायो।
यो कुरा लेख्नुको उद्देश्य कसैको हिसाब सार्वजनिक गर्नु होइन। पीडामा साथ खोज्नु स्वाभाविक रहेछ भन्ने स्वीकार गर्नु हो।
हामीले अरूका अस्पतालका दिनदेखि पारिवारिक कामसम्म सहयोग गरेका सम्झना आउँदा आफ्नो दुःखमा पनि उनीहरू नजिक होलान् भन्ने आशा हुने रहेछ। त्यो आशा पूरा नहुँदा चित्त दुख्दो रहेछ।
तैपनि आफ्नो दुःखको क्षणबाट मात्रै अरूको सम्पूर्ण अवस्था बुझ्न सकिँदैन भन्ने पनि ठान्छु। कसैका आफ्नै बाध्यता हुन सक्छन्। कसैलाई यस्तो बेला कसरी साथ दिने भन्ने थाहा नहुन सक्छ।
त्यसैले यो अनुभवलाई कसैप्रति स्थायी आरोप बनाउने इच्छा छैन। बरू मैले अरूको दुःखमा कसरी उपस्थित हुनुपर्छ भन्ने प्रश्न आफैतिर फर्काउन चाहन्छु।
औपचारिक समवेदना आवश्यक हुन सक्छ, तर त्यसपछि पनि खबर गर्न सकिन्छ। धेरै मानिसको आवतजावत सकिएपछि परिवार कस्तो छ भनेर सोध्न सकिन्छ।
आवश्यक काममा के सहयोग चाहिएको छ भनेर बुझ्न सकिन्छ। शोक कुनै निश्चित दिन पूरा भएपछि सकिँदैन भन्ने कुरा अहिले आफ्नै जीवनमा महसुस गरिरहेको छु।
तेह्रौं दिनपछि घरको भीड घट्न सक्छ। तर बुबालाई सम्झिने समय घट्दैन। दैनिक काम फेरि सुरू हुन्छन्, जिम्मेवारी अगाडि आउँछन्, मानिसले सामान्य रूपमा देख्न थाल्छन्। त्यसबीच पनि भित्रको अभाव उस्तै रहन सक्छ।
यस्तो बेला पछि आउने एउटा फोनले समेत आफ्नो दुःख अरूले बिर्सेका छैनन् भन्ने अनुभूति दिन सक्दो रहेछ।
बुबाको निधन भएको एक महिना बित्दा पनि उहाँको कामका सिलसिलामा दैनिक दसदेखि पन्ध्र वटासम्म फोन आइरहेका छन्। फोन गर्ने कतिपयलाई उहाँ अब हुनुहुन्न भन्ने थाहा छैन।
त्यसैले यो लेख उहाँलाई चिन्ने र सम्मान गर्ने शुभचिन्तकहरूका लागि एउटा दुःखद जानकारी पनि हो।
हरेक पटक खबर दिन सजिलो हुँदैन। फोनको अर्को पट्टि बुबासँग कुरा गर्न चाहने मानिस हुन्छन्। यता हामीले उहाँ अब रहनुभएन भन्नुपर्छ।
त्यस्तो क्षणमा उहाँको अभाव फेरि नयाँ भएर अगाडि आउँछ। साथै उहाँ परिवारभन्दा बाहिर पनि कति मानिससँग जोडिनुभएको रहेछ भन्ने अनुभूति हुन्छ।
मानिसको जीवन उसको घरभित्र मात्रै सीमित हुँदैन रहेछ। उसका काम, सम्बन्ध र अरूका सम्झनामा पनि ऊ रहँदो रहेछ। बुबालाई खोजेर आउने ती फोनले उहाँको जीवनको त्यही फैलावट सम्झाइरहेका छन्।
उहाँलाई चिन्नुहुने सबैलाई सम्मानपूर्वक यो खबर पुर्याउँदै उहाँप्रति देखाउनुभएको विश्वास र सदभाका लागि धन्यवाद दिन चाहन्छु।
यो लेख पढिसकेपछि तपाईंले कुनै ठूलो प्रतिज्ञा गर्नुपर्दैन। सम्भव छ भने आज आफ्ना बुबाआमासँग केही बेर कुरा गर्नुस्। सँगै हुनुहुन्छ भने छेउमा बस्नुस्। टाढा हुनुहुन्छ भने फोन गर्नुस्।
हालखबरपछि केही बेर अरू कुरा पनि सुन्नुस्। सबै संवाद गहिरो हुनुपर्दैन। सामान्य कुराबाट पनि नजिक हुने बाटो खुल्न सक्छ।
बुबाआमाले पनि आफ्ना छोराछोरीलाई कुरा राख्ने ठाउँ दिन सक्नुहुन्छ। उमेर बढेपछि मात्रै छोराछोरीका सबै डर हट्दा रहेनछन्।
मेरो अनुभव त्यसकै एउटा उदाहरण हो। जे लाग्छ, भन्न सक्छौ भन्ने सहजता व्यवहारमा दिन सकियो भने मनमा थुप्रिएका कुरा बाहिर आउन सक्छन्।
मेरा लागि अब बुबासँग बसेर ती अधुरा कुरा गर्ने अवसर छैन। तर ममीसँग, श्रीमतीसँग, आफ्ना छोराहरूसँगको संवादमा यो सिकाइ उतार्ने अवसर छ। बुबाको अभाव मेटिँदैन। उहाँबाट पाएको जीवनलाई कसरी अगाडि बढाउँछु भन्ने कुरामा भने मेरो जिम्मेवारी बाँकी छ।
बुबालाई सम्झँदा अहिले पनि त्यही साँझको फोन आउँछ। उहाँको सामान्य जबाफ र मेरो सात दिनपछि भन्ने वाक्य सम्झिन्छु, त्यस बेला मसँग समय छ भन्ने विश्वास थियो।
आज मसँग उहाँको सम्झना छ र भन्न बाँकी धेरै कुरा छन्।
तपाईंका लागि त्यस्ता कुरा अझै भन्न सकिने अवस्थामा छन् भने तिनलाई अनिश्चित भविष्यका लागि नसाँच्नुस्। माया छ भने व्यक्त गर्नुस्। सुन्न मन छ भने समय दिनुस्। मन दुखेको छ भने सम्बन्धभित्रै त्यसबारे बोल्ने बाटो खोज्नुस्।
मैले पर्खेको त्यो समय आएन।
तपाईंको घरमा संवाद सुरू गर्न भने आजकै साँझ पर्याप्त हुन सक्छ।