सेतोपाटी फिनटेक शृंखला– ४
सन् २०१८ अन्त्यतिर मुम्बईको वर्लीस्थित 'एक्सिस हाउस' ठूलो तनावमा थियो। भारतको तेस्रो ठूलो निजी बैंक एक्सिस खराब कर्जाको भारी दबाबमा थियो।
कसरी, कहाँबाट निस्किने भन्ने अन्योल थियो।
त्यो बेला बैंकको खराब कर्जा अकासिएर ६.७७ प्रतिशत पुगेको थियो। एक्सिस बैंकले त्यो वर्षको चौथो त्रैमासिकमा झन्डै २२ अर्ब भारूको खुद घाटा बेहोरेको थियो।
यो रिपोर्ट सार्वजनिक भएपछि लगानीकर्ताहरूमा एक किसिमको हंगामा नै भयो।
कुरा घाटामा मात्र सीमित थिएन। केन्द्रीय बैंक आरबिआईको मूल्यांकनले एक्सिसले आफ्नो खराब कर्जा लुकाएको वा कम देखाएको औंल्याएको थियो। यसले बैंकको रिपोर्टिङ अनुशासन, जोखिम व्यवस्थापन र विश्वसनीयतामाथि नै प्रश्न उठायो।
यी खराब समाचारसँगै बजारमा एउटा जबरजस्त हल्ला चल्न थालेको थियो— एक्सिस बैंकको समस्या धेरै नै गहिरो छ!
यही विवाद र दबाबका बीच आरबिआईले तत्कालीन सिइओ शिखा शर्मालाई अर्को पूर्ण कार्यकालका लागि जिम्मेवारी दिने बोर्डको चाहना स्वीकार गरेन। अन्ततः उनको कार्यकाल छोट्याइयो।
यो निराशाजनक परिस्थितिबीच एक्सिस बैंकको बोर्डले नयाँ सिइओ खोज्न थाल्यो।
जब बैंकले नयाँ सिइओ घोषणा गर्यो, बैंकिङ क्षेत्रका मानिसहरू चकित भए। किनभने नयाँ सिइओ परम्परागत अर्थमा भारतीय बैंकिङ क्षेत्रबाट आएका थिएनन्। उनी कुनै भारतीय बैंकको सिइओ भएर काम गरेका थिएनन्।
उनी थिए— अमिताभ चौधरी।
बैंकिङ वृत्तमा कानेखुसी सुरू भयो— अमिताभ त बीमा क्षेत्रका मानिस हुन्। यत्रो अप्ठ्यारोमा परेको बैंकमा किन गैर–बैंकिङ क्षेत्रबाट मानिस ल्याइयो? के उनले संकटमा परेको यो विशाल संस्थालाई सम्हाल्न सक्छन्?
जुन बेला एक्सिस बैंक आफ्नै संकटमा थियो, त्यही बेला भारतीय बैंकिङ क्षेत्रमै अर्को किसिमको अनिश्चय पनि सुरू भएको थियो। बैंकहरूलाई फिनटेकको उदयले तर्साउन थालिसकेको थियो।
पेटिएम, फोनपे र गुगलपे जस्ता शक्तिशाली फिनटेक कम्पनीहरूले बैंकको मुटु मानिने पेमेन्ट व्यवसायको ग्राहक–सम्बन्ध आफ्नो हातमा लिन थालेका थिए।
बैंकहरूका लागि यो अप्ठ्यारो अवस्था थियो— पैसा बैंकको खातामा हुन्थ्यो, तर त्यो पैसा कसरी चलाउने, कसरी तिर्ने, कसरी खर्च गर्ने भन्ने ग्राहकको दैनिक अनुभव फिनटेक एपहरूले कब्जा गर्दै थिए।
धेरै बैंकरहरूले यी फिनटेकहरूलाई प्रतिस्पर्धी मात्र होइन, भविष्यको खतरा नै ठान्न थालेका थिए।
उनीहरूलाई डर थियो— यदि फिनटेकलाई बैंकिङ प्रणालीको ढोका खोलियो भने, बैंकहरू केवल पैसा राख्ने 'स्टोर' जस्ता मात्रै बन्नेछन्। ग्राहकसँगको सम्बन्ध फिनटेक एपहरूले लिएर जानेछन्।
यसरी एक्सिस बैंक आफै अप्ठ्यारोमा फसेको बेला र भारतीय बैंकिङ क्षेत्रमा फिनटेकको त्रास फैलिएको बेला अमिताभले एक्सिसको सिइओको जिम्मेवारी लिएका थिए।
शैक्षिक योग्यताका हिसाबले अमिताभ इन्जिनियर र व्यवस्थापक हुन्। उनले भारतको प्रतिष्ठित बिट्स पिलानीबाट इन्जिनियरिङ र आइआइएम अहमदाबादबाट एमबिए गरेका छन्।
यसरी उनी प्रविधि र व्यवस्थापन दुवैमा भिजेका मानिस हुन्।
उनले भारतमा कुनै बैंकको सिइओ भएर काम नगरे पनि प्रविधि, वित्तीय सेवा र बीमा क्षेत्रमा लामो अनुभव बटुलेका थिए। उनी इन्फोसिस बिपिओमा सिइओ र एमडी थिए। त्यसपछि उनी एचडिएफसी लाइफमा एमडी र सिइओ भए। त्यसअघि पनि उनले वित्तीय सेवा र बैंकिङ क्षेत्रसँग जोडिएका संस्थाहरूमा काम गरेका थिए।
इन्फोसिसमा काम गर्दा उनले एउटा कुरा गहिरोसँग अनुभूति गरेका थिए — प्रविधि भनेको केवल सफ्टवेयर होइन। यो कार्यक्षमता र स्केल बढाउने शक्तिशाली औजार हो। प्रविधिले हजारौं कारोबारलाई छिटो, सुरक्षित, कम लगानी र कम गल्तीका साथ सम्पन्न गर्न सक्छ।
नौ वर्षसम्म एचडिएफसी लाइफको नेतृत्व गर्दा उनले बीमा व्यवसायमा डिजिटल सोच, नयाँ उत्पादन र ग्राहकसम्म पुग्ने नयाँ बाटोहरू अघि बढाएका थिए। इन्फोसिस र एचडिएफसी लाइफमा हुँदा उनले आर्जन गरेको यही ज्ञान र अनुभव संकटग्रस्त एक्सिस बैंकमा काम लाग्यो।
जब उनी एक्सिस छिरे, उनले ब्यालेन्स–सिट मात्र हेरेनन्। उनले बैंकको प्राविधिक क्षमता, जोखिम व्यवस्थापन र ग्राहकसम्म पुग्ने प्रणाली पनि जाँचे।
उनलाई लाग्यो— यदि एक्सिस बैंक विशाल शरीर हो भने यसको स्नायु प्रणाली अर्थात् प्रविधि र प्रक्रियामा समस्या छ। यसलाई फेर्नुपर्छ, आधुनिक बनाउनुपर्छ।
अमिताभले फाइनान्सियल एक्सप्रेससँगको एउटा अन्तर्वार्तामा एक्सिसमा आउँदा आफूले देखेका मुख्य चुनौतीबारे भनेका छन् — खराब कर्जा, पुरानो प्रविधि प्रणाली र जोखिमयुक्त व्यवसाय विस्तार।
यसले अमिताभको प्राथमिकता स्पष्ट देखाउँछ।
उनले एक्सिस बैंकमा डिजिटल चमक मात्र थप्न खोजेका थिएनन्। पहिले बैंकको जग बलियो बनाउनुपर्छ भन्ने उनको ध्यान थियो। खराब कर्जा र जोखिमयुक्त व्यवस्थापन ठिक नपारी डिजिटल विस्तार दिगो हुन सक्दैन थियो।
उनले बैंकिङ क्षेत्रमा उदाउँदै गरेको फिनटेकको चुनौती पनि अनदेखा गरेनन्। बरू त्यसलाई राम्रोसँग ठम्याए।
प्रविधि क्षेत्रमै दख्खल भएकाले उनलाई थाहा थियो — प्रविधिविरूद्ध उभिएर बैंकिङको भविष्य सुरक्षित हुँदैन। प्रविधिलाई अपनाउनुपर्छ। फिनटेकलाई प्रतिस्पर्धीका रूपमा होइन, सम्भावित साझेदारका रूपमा हेर्नुपर्छ।
फिनटेकको जे विशेषता हो, त्यसलाई पनि उनले बैंकभित्र भित्र्याए। ग्राहकलाई छिटो सेवा दिन सक्छ भने बैंकले पनि सुरक्षित, निय अनुकूल र छिटो सेवा दिन सक्नुपर्छ भन्ने उनको मूल सोच थियो। उनले बैंकभित्र गति र जोखिम व्यवस्थापन दुवैलाई जोड दिने संस्कृति अघि बढाए।
ओपन बैंकिङतर्फको मोड
अमिताभको नेतृत्वमा एक्सिस बैंकले आफूलाई परम्परागत शाखा–केन्द्रित बैंकबाट डिजिटल प्लेटफर्मतर्फ लैजान सुरू गर्यो। बैंकको रणनीति अरू धेरै बैंकले जस्तै केवल शाखा खोल्ने वा वेबसाइट सुधार्नेमा सीमित रहेन। बैंकले ग्राहक जहाँ छन्, त्यहीँ पुग्ने बाटो खोज्न थाल्यो।
यसका लागि एक्सिसले डिजिटल प्लेटफर्म, एपिआई, फिनटेक साझेदारी र मोबाइल–आधारित सेवाहरूलाई विस्तार गर्यो। सरल भाषामा भन्दा, बैंक अब आफ्नै भवनभित्र बसेर ग्राहक कुरिरहने संस्था रहेन। ग्राहकले चलाउने एप, इ–कमर्स प्लेटफर्म र डिजिटल सेवाहरूभित्र बैंक छिर्न थाल्यो।
प्राविधिक रूपमा एपिआई यस्तो सुरक्षित डिजिटल पुल हो, जसले बैंकको प्रणालीलाई बाहिरी एप वा प्लेटफर्मसँग जोड्छ। इ–कमर्स एप, पेमेन्ट एप वा अन्य डिजिटल सेवाभित्रै बैंकिङ सेवा उपलब्ध गराउन एपिआईले मद्दत गर्छ। यसले बैंक र बाहिरी प्लेटफर्मबीच सुरक्षित रूपमा सूचना आदानप्रदान गर्न सम्भव बनाउँछ।
एक्सिस बैंकले यही सोचका साथ 'नियो प्लेटफर्म' सुरू गर्यो। नियो मूलतः कर्पोरेट र ट्रान्ज्याक्सन बैंकिङलाई डिजिटल बनाउने प्लेटफर्म हो। यसले कम्पनीहरूलाई बैंकिङ सेवा, कारोबार, भुक्तानी र अन्य वित्तीय काम डिजिटल रूपमा गर्न सहयोग पुर्यायो। एक्सिसको बैंकिङ प्रणालीलाई अझ खुला र डिजिटल ढाँचामा लैजान मद्दत गर्यो।
अमिताभले अर्को साहसिक निर्णय गरे — ठूला डिजिटल प्लेटफर्महरूसँग साझेदारी गर्ने।
धेरै बैंकहरूले फिनटेक र टेक कम्पनीहरूलाई शंका र संशयका दृष्टिले हेरिरहेका बेला एक्सिसले तिनलाई ग्राहकसम्म पुग्ने पुलका रूपमा सदुपयोग गर्न थाल्यो।
सन् २०१९ मा एक्सिस बैंकले भारतको ठूलो ई–कमर्स कम्पनी फ्लिपकार्टसँग सहकार्य गर्यो र फ्लिपकार्ट एक्सिस बैंक क्रेडिट कार्ड ल्यायो। यसले एक्सिसलाई इ–कमर्समा सक्रिय ठूलो युवा ग्राहक वर्गसम्म पुग्ने बाटो खोल्यो। ग्राहकहरू बैंकको शाखामा नगईकनै, आफ्नो अनलाइन किनमेलको व्यवहारसँग जोडिएर बैंकको क्रेडिट उत्पादनसँग जोडिन थाले।
यो केवल एउटा कार्ड मात्र थिएन। यसले बैंकलाई ग्राहकको दैनिक जीवनसँग जोड्ने नयाँ ढोका खोल्यो। ग्राहकले अनलाइन किनमेल गर्दा, क्यासब्याक खोज्दा वा डिजिटल भुक्तानी गर्दा एक्सिस बैंकको सेवा प्रयोग गर्न थाले। बैंक ग्राहकको खल्तीभित्र होइन, ग्राहकको मोबाइलभित्र पस्न थाल्यो।
त्यसपछि सन् २०२० मा एक्सिस बैंकले गुगलपे र भिसासँगको सहकार्यमा एक्सिस बैंक एस क्रेडिट कार्ड ल्यायो। योग्य प्रयोगकर्ताले गुगलपे एपबाटै यो कार्डका लागि आवेदन दिन सक्ने व्यवस्था थियो। पछि गुगलपे मार्फत एक्सिस बैंकका अन्य ऋण तथा क्रेडिट उत्पादन पनि विस्तार भए।
यसले अमिताभको मूल दर्शन देखाउँछ — बैंकले ग्राहकलाई आफ्नै शाखा वा वेबसाइटमा मात्र बोलाउने होइन, ग्राहक जहाँ छन्, त्यहीँ पुग्ने हो। फिनटेक एप र डिजिटल प्लेटफर्महरूलाई प्रतिस्पर्धी ठान्ने होइन, ग्राहकसम्म पुग्ने नयाँ बाटोका रूपमा प्रयोग गर्ने हो।
सन् २०२४ को ग्लोबल फिनटेक फेस्टमा अमिताभले भनेका थिए— फिनटेकसँग काम नगर्नु हामी बैंककै लागि घाटा हो। बैंकसँग सबै प्रविधि, उत्पादन र ग्राहक–अनुभव आफै बनाउने पर्याप्त स्रोत हुँदैन; त्यसैले फिनटेकसँग सहकार्य गर्दा दुवै पक्ष लाभान्वित हुन सक्छन्।
उनले त्यसै कारण बैंकहरूले फिनटेकहरूलाई खुला मनले स्वागत गर्नुपर्ने बताएका थिए।
यसरी एक्सिस बैंकले पेमेन्ट, इ–कमर्स, क्रेडिट कार्ड र डिजिटल ऋणको संसारमा फिनटेक र टेक कम्पनीहरूसँग सहकार्य लगातार अघि बढायो। बैंकले आफ्नो नियमन, पुँजी र जोखिम व्यवस्थापन हेर्यो। फिनटेक र डिजिटल प्लेटफर्महरूले एक्सिस बैंकलाई ग्राहकसम्म पुग्ने पहुँच, गति र सुविधा दिए।
खासमा यही नै आधुनिक बैंक–फिनटेक सहकार्यको मूल मन्त्र हो।
बैंकसँग पुँजी, नियमन, विश्वास र जोखिम व्यवस्थापन हुन्छ। फिनटेकसँग गति, सरलता, ग्राहकको डिजिटल व्यवहार बुझ्ने क्षमता र प्रयोगकर्तामैत्री इन्टरफेस हुन्छ। यी दुई जोडिँदा दुवैलाई फाइदा पुग्छ।
अमिताभको नेतृत्वमा एक्सिस बैंकले के प्रगति गर्यो?
अमिताभ चौधरीको नेतृत्वमा एक्सिस बैंकले सन् २०१९ पछि आफ्नो व्यवसाय, नाफा, डिजिटल क्षमता र बजार उपस्थितिमा उल्लेखनीय सुधार गर्यो।
सबभन्दा पहिले, बैंकले खराब कर्जाको दबाबबाट बाहिर निस्किने प्रयास गर्यो। जोखिम व्यवस्थापनमा व्यापक सुधार ल्यायो। बैंकले आफ्नो ब्यालेन्स–सिट सफा गर्ने कामलाई प्राथमिकता दियो।
दोस्रो, बैंकले नाफा र पुँजीगत स्थिति बलियो बनायो। सन् २०१८ को संकटपूर्ण अवस्थाबाट बाहिर निस्केर एक्सिस बैंक फेरि भारतका प्रमुख निजी बैंकमध्ये बलियो रूपमा उभियो।
तेस्रो, बैंकले डिजिटल ग्राहक जोड्ने क्षमतामा ठूलो फड्को मार्यो। बचत खाता खोल्ने, क्रेडिट कार्ड आवेदन दिने, ऋण प्रक्रिया अघि बढाउने र भुक्तानी गर्ने धेरै काम डिजिटल माध्यमबाट हुन थाले। शाखा अझै महत्त्वपूर्ण रह्यो, तर शाखा मात्र बैंकिङको केन्द्र रहेन।
चौथो, क्रेडिट कार्डको बजारमा एक्सिस बैंक निकै आक्रामक र प्रभावशाली खेलाडी बन्यो। फ्लिपकार्ट, गुगलपे र अन्य डिजिटल साझेदारीले बैंकलाई युवा, सहरी र डिजिटल ग्राहकसम्म पुर्याउन ठूलो सहयोग गर्यो।
यो परिवर्तन कुनै जादु थिएन। यो एकै रातमा भएको चमत्कार पनि थिएन। यसका पछाडि खराब कर्जा पहिचान गर्ने साहस, पुँजी र जोखिम व्यवस्थापन सुधार्ने अनुशासन, प्रविधि बुझ्ने र डिजिटल साझेदारीको स्पष्ट रणनीतिका साथ ग्राहकसम्म पुग्ने अमिताभको सोचको परिणाम थियो।
अमिताभको नेतृत्वमा एक्सिसले लिएको बाटो भारतीय बैंकिङ क्षेत्रमा जारी ठूलो डिजिटल परिवर्तनको ट्रेन्डकै हिस्सा हो।
एसबिआईले सन् २०१७ मै 'योनो' एप ल्याइसकेको थियो। योनोले बैंकिङ, बीमा, लगानी, ऋण, कार्ड र लाइफस्टाइल सेवाहरूलाई एउटै एपमा जोड्ने प्रयास गरेको थियो। एसबिआईले सन् २०२५ मा योनो २.० ल्याइसकेको छ।
आइसिआइसिआई बैंक, एचडिएफसी बैंक र अरू ठूला बैंकहरू पनि डिजिटल बैंकिङ, मोबाइल एप, पेमेन्ट कार्डहरूमा आ–आफ्नो रणनीति अघि बढाइरहेका थिए।
एक्सिस बैंकको कथा भने फरक कारणले महत्त्वपूर्ण छ। बैंक आफै खराब कर्जा, घाटा र विश्वसनीयताको संकटबाट गुज्रिरहेका बेला अमिताभ चौधरीले डिजिटल साझेदारीलाई बैंकको पुनर्स्थापनाको एउटा मुख्य रणनीति बनाए।
पछिल्ला वर्षहरूमा भारतीय बैंकिङमा एउटा कुरा स्पष्ट हुँदै गएको छ — भविष्यको बैंक शाखाबाट मात्र चल्दैन। भविष्यको बैंक डेटा, एपिआई, मोबाइल एप, डिजिटल साझेदारी, जोखिम व्यवस्थापन र अलगोरिदमको संयोजनबाट चल्छ।
यसको अर्थ शाखा समाप्त हुन्छ भन्ने होइन। शाखा रहन्छ। तर शाखा अब बैंकिङको एक मात्र ढोका रहँदैन। ग्राहकले बैंकलाई मोबाइलमा भेट्छ, इ–कमर्समा भेट्छ, पेमेन्ट एपमा भेट्छ, कर्जा आवेदनमा भेट्छ र कहिलेकाहीँ बैंकको सेवा यति सहज रूपमा प्रयोग गर्छ कि बैंकिङ अलग काम जस्तो लाग्दैन।
अमिताभको काम गर्ने शैलीमा एउटा विशेषता देखिन्छ — उनी परम्परागत बैंकर मात्र होइनन्, प्रविधि, जोखिम र ग्राहक अनुभव एकै ठाउँमा राखेर सोच्ने व्यवस्थापक हुन्। उनले बैंकमा बैंकर र प्रविधि विज्ञबीचको दूरी घटाउने प्रयास गरे। बैंकिङ उत्पादन डिजाइन गर्दा अब केवल ब्याजदर, धितो र शाखा मात्र सोचेर पुग्दैन; ग्राहकको डिजिटल यात्रा, डाटा, जोखिम र प्रयोगको सहजता पनि बुझ्नुपर्छ भन्ने सोच उनले अघि बढाए।
त्यसैले एक्सिस बैंकको कथा केवल एउटा बैंक संकटबाट कसरी बाहिर निस्कियो भन्ने होइन।
यो कथा हो— एउटा परम्परागत बैंकले फिनटेकलाई शत्रु होइन, साझेदारका रूपमा हेर्दा कसरी आफूलाई फेरि सान्दर्भिक बनाउन सक्छ भन्ने।
नेपालका लागि अमिताभ चौधरीको शिक्षा
नेपालमा अहिले पनि बैंकहरू र फिनटेक कम्पनीहरू अर्थात् वालेटहरूबीच एउटा अदृश्य मनोवैज्ञानिक पर्खाल छ।
बैंकहरूलाई डर छ— उनीहरूले वर्षौं लगाएर बनाएको ग्राहक–सम्बन्ध र निक्षेपको आधार फिनटेकहरूले खोसिदिने हुन् कि?
अर्कोतिर फिनटेकहरूलाई लाग्छ— बैंकहरू धेरै ढिलो, धेरै बन्द र धेरै नियन्त्रणमुखी छन्।
यो अविश्वास दुवैतर्फ छ।
फिनटेक कम्पनीहरूका सवालमा पनि अमिताभले भनेका केही कुरा महत्त्वपूर्ण छन्।
सन् २०२२ को ग्लोबल फिनटेक फेस्टमा उनले फिनटेक कम्पनीहरूमा आफूले चाहेको काम गरिरहने र नियामक नआओस् भन्ने आशा गर्ने प्रवृत्ति कहिलेकाहीँ हुने बताए। त्यो प्रवृत्ति बदलिनुपर्ने भन्दै उनले फिनटेकहरूले 'कम्प्लायन्स' बारे अहिलेभन्दा धेरै ध्यान दिनुपर्ने बताए।
फिनटेक कम्पनीहरूले बैंकहरूसँग दीर्घकालीन सहकार्य चाहने हो भने नवप्रवर्तन (innovation) मात्र पर्याप्त नहुने अमिताभको धारणा छ। नियमन (regulation), डेटा सुरक्षा (data protection), ग्राहक सुरक्षा (customer protection), जोखिम व्यवस्थापन (risk management) र गुनासो सुनुवाइ (grievance handling) लाई सुरूदेखि नै सिस्टममा हाल्नुपर्ने उनको धारणा छ।
बैंकहरू फिन्टेकहरूसँग सहकार्य गर्न किन हिच्किचाउँछन् भन्नेबारे पनि अमिताभको धारणा महत्त्वपूर्ण छ।
उनको दृष्टिकोणमा बैंकका वास्तविक चिन्ता हुन्छन्— ग्राहकको पैसा सुरक्षित रहन्छ कि रहँदैन, डेटा कसरी प्रयोग हुन्छ, नियामकले के भन्छ, जोखिम कसले लिन्छ, गल्ती भए जिम्मेवारी कसको हुन्छ, ग्राहकले गुनासो गरे कसले समाधान गर्छ?
उनी भन्छन्, 'यी प्रश्नको विश्वसनीय जबाफ नदिई बैंक–फिनटेक सहकार्य बलियो हुँदैन।'
अर्कोतिर बैंकहरूले पनि फिनटेकलाई केवल जोखिमका रूपमा हेरेर बस्न मिल्दैन। नेपालमा बैंकहरू अझै पनि धितोमा आधारित कर्जा प्रणालीमा धेरै निर्भर छन्। साना व्यवसायी, युवा उद्यमी, स्वरोजगार व्यक्ति, डिजिटल कारोबार गर्ने तर औपचारिक धितो नभएका मानिसहरूको अझै पनि कर्जामा सजिलो पहुँच छैन।
वालेट, पेमेन्ट कम्पनी र डिजिटल सेवा प्रदायकहरूसँग ग्राहकको व्यवहार सम्बन्धी सूचना र पहुँच बढ्दै गएको छ। यसले डेटामा आधारित कर्जा दिन चाहिने सूचनाको जोहो बढ्दै गएको छ।
यदि बैंक र फिनटेकबीच सुरक्षित, नियमअनुकूल र पारदर्शी सहकार्य बन्न सक्यो भने नेपालमा कर्जाको पहुँच विस्तार गर्न सकिन्छ। ग्राहकको डिजिटल कारोबार, आम्दानीको ढाँचा, खर्च गर्ने बानी र भुक्तानी अनुशासनलाई बुझेर नयाँ प्रकारका साना कर्जा, व्यावसायिक कर्जा र उपभोक्ता वित्तीय सेवा विकास गर्न सकिन्छ।
अमिताभ चौधरीले एक्सिस बैंकमा देखाएको बाटोको मुख्य शिक्षा यही हो— भविष्यको बैंकिङमा प्रतिस्पर्धा र सहकार्य सँगसँगै जान्छन्। बैंक र फिनटेकले एकअर्कालाई 'खानु' पर्दैन। उनीहरूले मिलेर ठूलो बजार बनाउन सक्छन्।
भारतमा अमिताभले एक्सिस बैंकलाई संकटबाट निकाल्दै डिजिटल साझेदारीको बाटोमा अघि बढाए।
नेपालको बैंकिङ उद्योगमा अमिताभ चौधरी बन्ने ल्याकत कसले राख्ला? यो बाटोमा कस्सिएर को पहिला हिँड्ला?
सेतोपाटी फिनटेक शृंखलाका अन्य स्टोरीहरूः