(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ढिकुराका लालमणि पाण्डे बुटवलमा व्यापार गर्छन्। ४२ वर्षीय लालमणिले बुटवल कालिकापथस्थित बुटवलमण्डीमा फलफूलको स्टल राखेको एक वर्ष जति भयो। यसै साता मैले उनलाई भेट्दा स्टलमा ग्राहक पर्खिएर बसेका थिए। लालमणिसँग सेतोपाटीका लागि गरिएको भलाकुसारी—
तपाईंले व्यापार गर्न थाल्नुभएको कति वर्ष भयो?
व्यापार नै सुरू गरेको ६ वर्ष भयो। फलफूल बिक्री गर्न थालेको भने एक वर्ष जति भयो।
पहिले के को व्यापार गर्नुहुन्थ्यो?
पहिलेको व्यापार अहिले पनि छ। यहीँ नजिकै कार्कीपथमा गल्ला (दाल, चामल, आलु, प्याज लगायत खाद्यान्न) को पसल छ। अहिले गल्लाको व्यापार श्रीमती सीताले हेर्छिन्, मैले फलफूलको व्यापार गर्छु।
दुई वटा व्यापार रहेछ। कस्तो छ नि व्यापार?
व्यापार ठिकै छ। यहाँ बजार सुरू भएको धेरै भएको छैन। अहिले पनि हामी प्रचारप्रसारमै छौं। एकदिनमा १२/१३ हजारको फलफूल बिक्री हुन्छ।
गल्ला पसलको व्यापार कस्तो छ?
त्यहाँ पनि दिनमा १५/१६ हजारको व्यापार हुन्छ। दुई वटा पसलमा गरेर दिनमा सेरोफेरो २५/३० हजारको व्यापार हुन्छ।
दिनमा २५/३० हजारको व्यापार हुँदा कति नाफा निस्किन्छ?
नाफा त सधैं एकनासले हुँदैन। लगानी र मेहनत अनुसार दिनमा पाँच छ हजार निस्किन्छ होला।
बुटवल बस्न थाल्नुभएको कतिवर्ष भयो?
व्यापार गर्न थालेपछि नै हो बुटवल बस्न थालेको पनि। अहिले छ वर्ष भयो।
घरमा को को हुनुहुन्छ?
अहिले बुटवलमा त हामी श्रीमान, श्रीमती र दुई जना छोराछोरी छन्। ठूली छोरीको विवाह भएर आफ्नै घरमा छिन्। पहाड घरमा भाइ र आमा हुनुहुन्छ।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
अहिले त बल्ल पढ्दै छन्। बाबुले १२ कक्षा पढ्दै छन्। कान्छी छोरीले १२ पास गरिन्। अहिलेसम्म भनेको मानेका छन्। पढाइसँगै घरमा र पसलमा पनि सघाउँछन्। नजिक बसेर हामीले गरेको दुःख, मेहनत महसुस गरेका छन्। पछि बुझ्ने हुँदै जाँदा सुख देलान् भन्ने आशा छ। ठूली छोरीबाट पनि सन्तुष्ट छु। अहिले नाति जन्मेको छ। पहिले बुवाआमा थियौं अहिले हजुरबुवा/आमा बनेका छौं यही त हो खुसी र सुख भन्ने।
पसल कति बजेदेखि सञ्चालन गर्नुहुन्छ?
दुई वटै पसलको व्यापार घरको भान्सासँग जोडिएको भएर पनि होला बिहान ६ बजेदेखि राति १० बजेसम्म नै खोल्छौं।
तपाईंलाई व्यापारबाहेक अरू के गर्न मन लाग्छ?
अहिलेको लागि त सबभन्दा मन लाग्ने नै व्यापार गर्न हो। म वैदेशिक रोजगारीको लागि कतारमा गएर फर्किएको भएर पनि होला आफ्नै देशमा पौरख गर्न पाउँदा सबभन्दा बढी खुसी मिल्छ।
कतारमा के काम गर्नुहुन्थ्यो, कति वर्ष बस्नुभयो?
काम गर्ने त विद्युतीय क्षेत्र थियो। ११ वर्ष काम गरें। काम गर्दै जाँदा कोरोना महामारी फैलियो। कोरोना महामारीपछि घर आएको फर्किनै मन लागेन।
आफ्नो व्यापारबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
व्यापारबाट म त धेरै सन्तुष्ट छु। मान्छेहरू व्यापारमा घाटा लाग्यो भन्छन्। मलाई भने व्यापार गर्न नजानेर होला भन्ने लाग्छ। पसल सञ्चालन गरेपछि पहिले नै विदेश नगएर नेपालमै व्यापारमा लागेको भए अहिले धेरै प्रगति गरिसकेको हुने थिएँ भन्ने लाग्न थालेको छ।
मैले पैसा कमाउन त विदेशमा पनि कमाएको थिएँ तर, विदेशमा काम गर्ने भनेको हातखुट्टा दह्रो हुँदासम्म नै हो त्यसपछि त फर्किएर आफ्नै देशमा आउनुपर्छ। १७ वर्ष पहिले नै नेपालमै व्यापार व्यवसाय गरेको भए अहिले सबै कुराले व्यवस्थित भइसकेको हुने थियो। परिवारसँग अलग हुनुपर्ने थिएन। नेपालमा रहँदा परिवारको महत्व त्यति बुझ्न सकिँदैन विदेश गएपछि बल्ल थाहा हुन्छ परिवारसँग रहँदाको महत्व।
विदेशमा ११ वर्ष बस्दा कति कमाउनुभयो?
मैले विदेशमा पनि राम्रै कमाएको थिएँ। तोकिएको समय भन्दा ओभरटाइम पनि गर्थें त्यो भएर पनि होला ११ वर्षमा ७०/८० लाख रुपैयाँ कमाएको रहेछु। त्यही पैसाले बुटवल तामनगरमा दुई वटा घडेरी जोडेको छु। व्यापार सुरू गर्दा पनि लगानी भयो। घरखर्च यसो उसो गर्दा विदेशमा बसेर पनि वर्षमा १० लाख जति कमाउन सकिएको रहेछ।
पसल कति लगानीबाट सुरू गर्नुभएको थियो?
गल्ला पसलमा सुरूमै साढे आठ लाख लगानी भएको थियो। अहिले त लगानी थपिएको छ। फलफूल पसल गर्दा २० हजार मात्र लगानी भएको थियो।
पसल सधैँ खोल्नुहुन्छ कि कुनै दिन बन्द पनि गर्नुहुन्छ?
सधैँ खोल्छौं। दसैं तिहारमा घर गइयो भने बन्द गर्ने हो नभए बन्द गर्दैनौं।
कहिलेकाहीँ घुमफिर गर्न, सिनेमा हेर्न मन लाग्दैन?
घुमफिर त टाढा जान नपाए पनि कहिलेकाहीँ समय मिलाएर नजिकका ठाउँ जान्छौं। सिनेमा हेर्न भने कहिल्यै मन लागेन। म त सिनेमा हलमा गएकै छैन भने पनि हुन्छ।
तपाईंलाई सबभन्दा बढी के खान मन पर्छ?
मलाई सबभन्दा बढी खान मन पर्ने अमिलो चिज हो। चुक राखेर बनाएको अचार मन पर्छ। दुधभन्दा दही र मही मन पर्छ। जाडो गर्मी जहिले पनि घरमा दही जमाउने गर्छौं।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या देखिएको छैन। ठिकै भएर नै होला।
स्वास्थ्य परीक्षण कत्तिको गर्नुहुन्छ?
स्वास्थ्य परीक्षण पनि बेलाबेला गरिरहन्छु।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा पनि राम्रै लाग्छ। बिहान ६ बजेदेखि पसल खोल्नलाई ५ बजे उठ्नै पर्छ। राति १० बजेतिर पसल बन्द गरेर खाना खाइवरी सुत्दा ११ बजिहाल्छ। सुत्ने भनेको ६ घन्टा हो निद्रा मस्त लाग्छ।
पैसा भए यस्तो चिज गर्न हुन्थ्यो भन्ने के छ?
मैले त ठूलो सपना देखेकै छैन। छोराछोरीलाई उनीहरूले चाहेजति राम्रोसँग पढाउन पाइयोस्, घरजम गरिदिन पाइयोस् भन्ने छ। जति गर्न सकेको छु त्यसैमा सन्तुष्ट हुने भएकोले यसो गर्न पाए हुन्थ्यो उसो गर्न पाए हुन्थ्यो भन्ने पनि केही छैन। हामी अहिले घरभाडामै बसेका छौं, सन्तुष्ट छौं।
दुई वटा घडेरी रहेछन्, एउटा घर बनाऔं भन्ने चाहना भएन?
हामी भाडामै सन्तुष्ट छौं। मलाई त धेरै खर्च गरेर घर बनाउने भनेको अनावश्यक लगानी फसाउनु हो भन्ने लाग्छ। हामी नेपालीको बानी नै वर्षौंसम्म विदेशमा बसेर कमाएको सबै पैसा घरमा लगानी गर्यो त्यसपछि केही काम नगरी बस्यो। त्यही भएर पनि नेपालीले प्रगति गर्न नसकेको हो भन्ने लाग्छ। अहिले डेढ दुई तलाको घर बनाउँछु भन्यो भने कम्तीमा एक करोड रुपैयाँ चाहिन्छ। त्यति पैसा व्यापारमा लगानी गर्ने हो भने १० वटा गल्ला पसल खोल्न सकिन्छ। एक करोड खर्चिएर बनाएको घरमा एउटा र बढीमा दुइटा परिवार बस्ने मात्र हो। १० वटा गल्ला पसलले कति जनाको रोजीरोटी चल्छ हिसाब गरौं त। अहिले १२/१५ हजार रुपैयाँ तिर्यो भने रोजीरोजी फ्ल्याट पाइन्छन्। म त सजिलै भाडामा घर पाइन्छ भने सकभर घरमा लगानी गर्नुहुन्न भन्ने पक्षमा छु।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
म सधैं खुसी छु। २२/२३ वर्षको उमेरदेखि नै मेहनत गरेर पैसा कमाउनुपर्छ भन्नेमा लागेँ। त्यहीअनुसार आम्दानी पनि भयो। सधैं खुसी नै छु। त्यसमध्ये पनि छोराछोरी जन्मिँदा सबभन्दा धेरै खुसी भइयो जस्तो लाग्छ।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
सबभन्दा धेरै दुखी त बुवा (रुक्मागत पाण्डे) बित्दा भइयो। आउने भदौमा दुई वर्ष पुग्छ बुवा बित्नुभएको। बुवालाई श्वासप्रश्वासको समस्या थियो ७२ वर्षमा बित्नुभयो।
तपाईंको मनमा गढेर बसेको कुनै पीर वा पछुतो केही छ?
मनमा बसेको पीर भन्दा पनि एउटै पछुतो बुवाको चौरासी पूजा गर्न पाइएन भन्ने हो। बुवाको इच्छा पनि चौरासी पूजा गर्नसम्म बाँच्न पाए हुन्थ्यो भन्ने थियो तर, भनेजस्तो नहुने रहेछ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
हाम्रो टोलसमाज राम्रो छ। दिनभरी आफ्नो व्यापारमा व्यस्त भए पनि टोलसमाजमा केही पर्दा समय निकालेर सहभागी हुन्छौं। पहाडको पनि राम्रै छ, यहाँको पनि राम्रै छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
नेपालको राजनीति त खिन्न लाग्छ। यस्तोलाई पनि ठिकसँग चलेको छ भन्न सकिन्छ र!
किन खिन्न लाग्छ, कसरी चल्नुपथ्र्यो?
राजनीतिमा जो आए पनि राम्रो काम गरेको देखिएन। जसले पनि सत्तामा भएकोलाई हटाएर आफू कसरी सत्तामा पुग्ने भन्ने ध्यानमा मात्रै लागेको देखिन्छ। एउटाले सरकार बनाएर सकेको हुँदैन अर्कोले कसरी हुन्छ सरकार ढाल्ने षड्यन्त्र बुन्न थाल्छ। राजनीतिक दलहरूले नेपालको राजनीतिलाई नै घिनलाग्दो बनाए। अहिले जति पनि युवाहरू विदेशमा गएका छन्, सबै नेपालको राजनीति देखेर नेपालमा आफ्नो भविष्य सुनिश्चित नदेखेर गएका हुन्। नभए अर्काको मुलुकमा जान कसैलाई रहर हुँदैन।
दुई चार लाख पैसा कमाउन सकिएला तर, विदेशमा रहँदा नेपालीले के अनुभव गर्छ भन्ने मैले भोगेको छु। नेपालमा नहुने केही छैन तर, फोहोरी राजनीतिले गर्दा केही नहुने बनाएको छ। म आफैले फलफूल बिक्री गर्छु, अधिकांश बाहिरबाट ल्याइएको हुन्छ। खेती गर्यो भने यी सबै फलफूल नेपालमै फल्छन्। तर, नेपालमा मल, बिउ, बजार, सबैतिर बेथिति छ। यही फलफूल किसानको बगैंचाबाट हामीसँग आइपुग्दा पाँच छ ठाउँ नाफा खाइसकेको हुन्छ। वर्षभरि दु:ख गरेर उत्पादन गर्ने किसान र घामपानी नभनी बिक्री गर्ने व्यापारीले भन्दा कैयौं गुणा बढी नाफाबीचको मान्छेले लिएका हुन्छन्। मेहनत अनुसार नाफा लिन नसकेपछि किसानले उत्पादन गर्न छोड्छ अन्तिममा बाहिरकै ल्याएर बिक्री गर्नुपर्यो। फलफूलका लागि सबै पैसा बाहिर गएको छ। हामीले त फलफूल लागि पैसा बाहिर पठाएर विषादी भित्र्याइरहेका छौं।
विषादीको कुरा गर्नुभयो, तपाईं आफूले बिक्री गर्न राखेको फलफूल ढुक्कले खान कत्तिको सक्नुहुन्छ?
सबै फलफूलको सिजन सधैं होइन। सिजनको भन्दा बेसिजनको फलफूल खाँदा अलि ध्यान पुर्याउनुपर्छ। किसानहरूले रोगव्याधीको लागि मात्र होइन भिटामिनको नाममा पनि विभिन्न विषादी हाल्नुपर्ने बाध्यता छ। त्यस्ता फलफूल खाँदा सफा पानीले राम्रोसँग धोएर खानुपर्छ। फेरि हाम्रो बुझाइ नेपालमा कुनै फलफूल अहिले उत्पादन हुँदैन भने अन्यत्र मुलुकमा पनि उत्पादन हुँदैन ती फलफूल लामो समय कोल्डस्टोरमा राखिएका वा धेरै भिटामिन र विषादी हालेर जबरजस्ती फलाएर पकाइएका हुन्छन् भन्ने छ।
अहिले नेपालमा आप भर्खर फल्दै छन् तर, बजारमा पाकेको आँप आएको डेढ दुई महिना भइसक्यो। नेपालमा पो अहिले बल्ल फल्दैछ। नेपालभन्दा फरक हावापानी हुने भारत लगायत अरू देशमा पहिले नै फलेर पाकेको हो भन्ने बुझ्नुपर्छ। यी आँप मैले ल्याउँदा काँचो थिए अहिले पाकेका छन्।
फलफूल बिक्री गर्दाको अनुभवमा नेपाली उपभोक्ताहरू यसबारे कत्तिको सचेत भएको पाउनुहुन्छ?
धेरैजसो उपभोक्ता सचेत नै हुनुहुन्छ। उहाँहरूले बेसिजनको भन्दा सिजनको फलफूल खोज्नुहुन्छ। नेपालमा उत्पादन भएका मेवा, अम्बा, आरु बखडा, केरा, नासपातीको माग गर्न थाल्नुभएको छ। सरकारलाई, व्यापारीलाई र किसानलाई समेत सुधार्न अब सचेत हुने भनेकै उपभोक्ता हो। उपभोक्ता सचेत भइदिने र विषादी हालेर बाहिरबाट ल्याएको भन्दा नेपालकै अर्गानिक उत्पादन खान खोज्ने हो भने नेपाली उत्पादन पनि स्वतः बढ्छ।
तपाईंलाई नेपालका नेताहरूमा मनपर्ने को हो?
नेताहरूमा मनपर्ने भनेको काठमाडौंको मेयर बालेन साह नै हो। आउने चुनावसम्म बालेनले पनि काम गरेर आफूलाई कसरी प्रमाणित गर्छन् थाहा भएन तर, अहिलेसम्मलाई मन पर्छन्।
तपाईंले गएको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
मैले भोट दिएको भनेकै गएको चुनावमा हो। त्यो भन्दा पहिले विदेशतिर भइयो, भोट हाल्ने मौका मिलेन। गएको चुनावमा एमालेलाई भोट दिएको हो।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अहिलेको अवस्थामा चुनाव भयो भने रवि लामिछानेको पार्टीलाई भोट दिन्छु।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले देशको विकास गर्ने हो भने सबभन्दा पहिले युवाहरू विदेश जानबाट रोक्नुपर्छ। युवालाई विदेश जानबाट रोक्न उत्पादन बढाउनुपर्यो। रोजगारी दिनुपर्यो। आफ्नै देशमा रोजगारी पाउने र उत्पादनमा लाग्न पाउने हो भने कोही पनि युवा विदेश जाँदैन। अहिले विदेशमा भएका पनि नेपाल फर्किन्छन्। घरमा बुढा भएका बुवाआमालाई छोडेर विदेश जाने रहर कोही छोराछोरीलाई छैन। नेपालमा जलविद्युत र कृषिमा पर्याप्त सम्भावना छ भनेर नेताहरुले नै भन्छन् तर, ती क्षेत्रमा लगानी नै गर्दैनन्। त्यस्ता क्षेत्रमा सरकारले पनि लगानी गर्ने र व्यक्तिले लगानी गर्न चाहे पनि लगानीमा अनुदान, ऋण सहुलियत र बजारको ग्यारेण्टी गर्नुपर्छ मुलुक त्यसै बन्छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्