(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
वैशाख ३० गते दिउँसो तुलसीपुर उपमहानगरपालिका–७, खर्चवा गाउँको एउटा घरअगाडि एक पुरूष पिपलको छहारीमा एक्लै बसेका थिए। उनी रहेछन् ३८ वर्षीय सुनिल विक। सामुन्नेको घर उनकै रहेछ।
मैले उनीसँग चिनजान गरेँ। आफूले सेतोपाटीका लागि कुरा गर्न चाहेको बताए। उनी राजी भए। रोजगारीका सिलसिलामा तीन पटक विदेश गएका रहेछन्। एक वर्षयता घरमै रहेछन्।
आजकाल के गर्दै हुनुहुन्छ?
खासै केही गरेको छैन। घर बस्ने, खाने र दिन कटाउने जस्तो मात्रै भएको छ।
परिवारमा कोको हुनुहुन्छ?
बुबा, आमा, मेरो छोरो, माइलो भाइ र कान्छो भाइकी श्रीमती एकै घरमा छौं।
कान्छो भाइ मलेसियामा छ। बहिनीहरूले एउटै घरमा सहोदर दुई भाइसँग बिहे गरेका छन्।
तपाईंकी श्रीमती कहाँ हुनुहुन्छ त?
एक वर्ष भयो, श्रीमतीसँग राम्रो सम्बन्ध छैन। उनी माइती घरमा छिन्। उनी मलाई नसोधी भारतको बैंगलुरू गइन्।
मैले मलाई नसोधी किन गएकी भनेँ। त्यसपछि हाम्रो खटपट सुरू भयो।
एक वर्ष बैंगलुरू बसेर आइन्, भर्खरै हो आएकी। उताबाट आएर माइतीमै बसेकी छन्। घर आउन मानेकी छैनन्।
छोरा त स्कुल जान्छन् होला, होइन?
यो वर्षदेखि छोरो पनि पढ्न गएको छैन। पारिवारिक बेमेलको असर पर्यो कि! ऊ भर्खरै १४ वर्षमा लाग्यो। अहिले पाँच कक्षामा पढ्नुपर्ने हो तर म ठूलो भएँ, सानो कक्षामा पढ्न लाज भयो भन्छ।
घरनजिकैको बोर्डिङ (निजी) स्कुलमा पढाएको थिएँ। अहिले स्कुल जान मानेको छैन। बरू भविष्यका लागि केही सीप सिक्छु भन्दै अड्डी कसेर बसेको छ। मैले पनि करकाप गर्न सकेको छैन। सानै छ, काममा लगाउन पनि मन छैन।
छोरा तपाईंहरूका एक्ला सन्तान हुन्?
होइन, छोरी पनि छिन्। उनले स्कुलमा पढ्दा पढ्दै १६ वर्षकै उमेर भागेर बिहे गरिन्। ज्वाइँ सुनचाँदीको कालीगढी काम गर्नुहुन्छ।
आमा बैंगलुरू गएपछि छोरीलाई नराम्रो असर पर्यो कि भन्ने लाग्छ।
तपाईं श्रीमती लिन जानुभएको छैन?
दुईपटक गइसकेँ। पहिला एक्लै गएको थिएँ। सम्झाएर ल्याउन खोजेँ तर मानिनन्। वैशाख २९ गते बुबाआमालाई पनि लिएर गएँ। सबैजनाले सम्झाउन खोज्यौं तर मानिनन्।
छोरीलाई पनि पठाएँ। छोरीले सम्झाउँदा पनि घर फर्किन मानेकी छैनन्।
तपाईंसँग उहाँको गुनासो के रहेछ?
उनको माइतीमा हामी सबै जना बसेर कुरा गर्दा उनले आफ्नो खुसले बैंगलुरू जाने गल्ती गरें भनेर स्वीकार गरिन्।
मैले रक्सी खाने गरेको र विदेशबाट पठाएको पैसा के गरिस् भनेर घोचपेच गरेको भन्ने उनको आपत्ति छ।
मैले घोचपेच गरेर वचन लगाएपछि आफै कमाएर देखाउँछु भन्ने सोचले बैंगलुरू गएकी हुँ भन्ने उनको कुरा छ।
मैले अब रक्सी खादिनँ, पैसाको कुरा पनि गर्दिनँ भनेर वचन दिएँ। छोरीले आफै बिहे गरी, छोरो पनि ठूलो हुँदैछ, समाजले के भन्ला भनेर सम्झाउँदा पनि घर फर्किन मानिनन्।
तपाईंहरूबीच सुरूमा के कुराले ठाकठुक परेको थियो?
मैले रक्सी खाएर बोले हुँला, गल्ती त मेरै थियो होला तर मैले कहिल्यै कुटपिट गरिनँ। ससुराको मृत्यु भएपछि सासूलाई सहयोग होस् भनेर श्रीमतीको माइतीनजिकै रक्षाचौरमा घर बनाएका थियौं।
मेरो त्यस्तो माया पनि उनले बुझ्नु पर्ने हो। सँगै सुतेपछि कहिलेकाहीँ लात्ती पनि लाग्छ भनेर मनन गर्नुपर्ने हो। हो कि नाइँ? भन्नु त!
तपाईंहरूको बिहे कसरी भएको थियो?
बिहे हुनुअघि हाम्रो चिनजान र देखभेट थिएन। पहिले हाम्रो घर तुलसीपुरको मोतीपुरमा थियो। यता (खर्चवा गाउँ) आएको १४ वर्ष भयो। वडा एउटै हो, गाउँ मात्र फरक।
मागी बिहे भएको हो। केटी माग्न बुबाआमासँग म पनि गएको थिएँ। केटीका ठूलाबासँग कुरा भएको थियो।
बिहे हुँदा म १५ वर्षको थिएँ, ऊ १३ वर्षकी थिई। बिहे भएको २३ वर्ष पुग्यो।
तपाईंले कति पढ्नुभएको छ?
जम्मा पाँच कक्षा पास गरेको हुँ। घरको आर्थिक स्थितिले गर्दा पढ्न पाइनँ। हामी पाँच जना छोराछोरी थियौं, बुबाआमा ज्याला मजदुरी गर्नुहुन्थ्यो।
म सबैभन्दा जेठो हुँ। बुबाआमा काममा जाँदा मैले नै भाइबहिनीको रेखदेख गर्नुपर्थ्यो। घरको काममा लाग्नु परेपछि पढाइ छुट्यो।
बुबा काठको काम गर्नुहुन्थ्यो। मैले उहाँलाई पनि सघाउनुपर्थ्यो।
तपाईं पनि रोजगारीका लागि विदेश जानुभयो?
गएँ नि! तीनपटक गएँ। पहिलोपटक साउदी अरब (सन् २००७ मा) गएको थिएँ, १७ महिनामै फर्कें। त्यसपछि पाँच वर्ष घर बसेर कतार गएँ। त्यहाँ एक वर्ष बसेर फर्कें।
फेरि पाँच वर्ष घर बसेर कतार नै गएँ, दुई वर्ष बसेर फर्केको १३ महिना भयो। बिदामा आएको थिएँ। श्रीमतीका कारणले जान पाइनँ।
कसरी श्रीमतीका कारणले?
म दुई महिनाको घरबिदामा आएको थिएँ। हजुरआमाको ८४ पूजा पनि थियो। म कतार फर्किन एक हप्ता बाँकी हुँदा श्रीमतीले घाँटी दुख्यो भनिन्, कोहलपुरमा उनको टन्सिलको अपरेसन भएको थियो।
दुई जना जाँदा बढी खर्च लाग्छ। कोहलपुर गएर डाक्टरलाई देखाएर आउँछु भनेर गएकी थिइन्। उतैबाट बैंगलुरू पुगेर मात्रै मलाई थाहा दिइन्। म कमाउन आएकी हुँ, खोजी नगर्नू भनिन्।
म तनावमा परें तर सम्बन्ध ठूलो कुरा हो भनेर चुप लागें। केही दिनमा श्रीमती भेट्न जानुपर्यो भनेर हिँडे। लद्दाक पुगेपछि त्यहाँको बरफमा ज्यालामजदुरी गरें।
रुकुमको ठेकेदारले ६२ हजार रुपैयाँ ज्याला ठगेर भाग्यो। त्यहींबाट घर फर्कें। बचेको अलिकति पैसा घरखर्चमा सकियो।
तपाईंले दुई वर्ष कतार बस्दा घरमा कति पैसा पठाउनुभएको थियो?
मैले जम्मा १३ लाख (रुपैयाँ) पठाएँ। विदेश जाँदा पाँच लाख रुपैयाँ ऋण लागेको थियो। त्यसमा एक लाखजति थपियो होला। श्रीमतीको उपचारका लागि ७५ हजार पठाएँ।
यो हिसाबबाहेक अरू पैसा देखिएन। त्यही कुरा सोधिखोजी गर्दा श्रीमती रिसाइन्। त्यो पैसा पनि घर खर्चमा सकिएको थियो होला। त्यही कुरा भनेको भए पनि हुन्थ्यो।
ऋण बाँकी छ कि छैन?
एक लाख जति बाँकी छ। बैंकको होइन, व्यक्तिको हो। त्यो पनि सासूआमाले खोजिदिनुभएको थियो। सासूआमाले सम्झाइदिँदा मेरी श्रीमती घर फर्किन्छिन् भन्ने विश्वास छ।
तपाईंको जग्गाजमिन कति छ?
यही घरबास भएको १२ धुर मात्रै हो, त्यै पनि ऐलानी। यो जग्गा किनेको १४ वर्ष भयो। अन्नपात सबै किनेर खाने हो।
तपाईंको स्वास्थ्य कस्तो छ?
राम्रो छ, कुनै पनि समस्या छैन तर श्रीमती मलाई ढाँटेर हिँडेपछि टेन्सन (तनाव) भएको छ। टेन्सनले गर्दा राति निद्रा लाग्दैन।
श्रीमती घर छाडेर हिँड्नु, छोराले पढाइ छाड्नु, स्कुल पढ्दै गरेकी छोरीले आफै बिहे गर्नु; यस्तै कारणले राति निद्रा लाग्दैन।
तै निद्रा लाग्छ कि भनेर रक्सी खाएर सुत्छु। रक्सीले त मान्छेलाई झन् कमजोर र बर्बाद बनाउँदो रहेछ। हप्ता दिन भयो रक्सी खाएको छैन। श्रीमती बैंगलुरूबाट आएको थाहा पाएपछि खाएको छैन।
यति बेला तपाईंसँग खर्च गर्न सक्ने ठिक्क पैसा भए के गर्नुहुन्थ्यो?
श्रीमतीलाई मनाएर घर ल्याउने थिएँ, फेरि एकपटक विदेश जाने थिएँ। यहाँ ज्यालामजदुरी गरेर खान पुग्दैन। एकपटक विदेशमा मेहनत गर्ने थिएँ।
विदेशमा कमाएर जग्गा किन्ने थिएँ, एउटा घर बनाउने थिएँ। भोलि छोरी माइत आउली, घर भए पकाएर खान पाउली। छोराका लागि अलिकति जग्गा हुने थियो।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
आफ्नो बिहे गर्दा र छोराछोरी जन्मिँदा खुसी लागेको थियो तर बिहे भएको २१ वर्षपछि ऊ (श्रीमती) मसँग टाढा हुने प्रयास गर्दै छे।
(बोल्दाबोल्दै सुनिलका आँखा बगे। सुँकसुँक आवाज सुनियो। उनले आँसु पुछे।)
तपाईं धेरै दुःखी कहिले हुनुभयो?
श्रीमतीले घर छोडेर हिँड्नुजस्तो अर्को दुःख के हुन्छ र! अझै पनि मलाई विश्वास छ, ऊ मलाई माया गर्छे, मलाई सम्झेर आउँछे। एक दिन सम्झाएर घर ल्याउँछु।
अस्ति उसले मलाई अर्को बिहे गर भनी। म बिहे त गर्दै गर्दिनँ, बरू यो जीवन यसै बिताइदिन्छु।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
मलाई भरोसा नै समाजको लाग्छ। समाज सहयोगी छ। दुःखसुखमा साथ दिने समाज छ। आफू राम्रो भए सबै राम्रो हुन्छ जस्तो लाग्छ।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
उद्योगधन्दा खोलेर रोजगारी दिए हुन्थ्यो भन्ने लाग्छ। युवाहरू विदेश जानु नपरे हुन्थ्यो। विदेश गएर ८० हजार कमाउनुभन्दा आफ्नै ठाउँमा परिवारसँग रमाउँदै ३० हजार कमाउन पाए ठूलो कुरा हुने थियो।
तपाईंले गएको चुनावमा भोट दिनुभयो?
म विदेशमा थिएँ। भोट दिन पाइनँ। त्यसअघिको चुनावमा नेकपा एमालेलाई दिएको थिएँ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त सबै कुरा बुझेर मात्र दिने हो।
तपाईंलाई सबैभन्दा धेरै मन पर्ने नेता को हो?
रवि लामिछाने, उनी देश विकासका लागि काम गर्न सक्ने नेता हुन् भन्ने सुनेको छु। चितवनमा राम्रो गरेका छन् भन्ने पनि सुनेको छु।
अन्तिममा के भन्न चाहनुहुन्छ?
मेरी उनी (श्रीमती) लाई एउटा सन्देश पठाउन चाहन्छु– उनी छिट्टै घर आऊन्। उनले धेरै पढेकी त छैनन् तर यो कुरा अवश्य पढ्नेछिन्।
म मेरा गल्ती सच्याउन तयार छु। रक्सी खान्नँ। मलाई धेरै गाह्रो भएको छ। तिमी छिट्टै आऊ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्