(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल उपमहानगरपालिका वडा नं. ११ पूर्वी नहरपुरका कृष्ण बहादुर थापालाई केही दिन पहिले जिल्ला प्रशासन कार्यालय रूपन्देहीको गेट बाहिर भेटेकी थिएँ।
६८ वर्षीय कृष्ण बहादुर कार्यालयको गेट बाहिर निर्माण गरिएको चौपारीमा टोलाइरहेका थिए। चौपारीमा एक्लै बसिरहेका कृष्णबहादुरसँग सेतोपाटीको लागि कुराकानी गरेका छौँ।
चौपारीमा एक्लै बस्नुभएको छ, कतै केही कामले आउनुभएको थियो?
जिल्ला प्रशासनमा सानो मुद्दा छ, त्यसैको तारिखको लागि आएको हुँ। अझै भित्र सबै कर्मचारी आइनपुगेका होलान् भनेर केहीबेर यहीँ बसेको।
जिल्ला प्रशासनमा कस्तो मुद्दा हो, भन्न मिल्छ?
भन्न त मिलिहाल्छ नि। मैले घरमा एउटा स्कुटर किनेको थिएँ, छोराहरूले चलाउने गर्थे। एक दिन छोराले स्कुटर लिएर गाउँतिर गएको थियो। छोरो स्कुटर रोकेर साथीहरूसँग गफ गर्न लाग्यो, एउटा साथीले त्यही स्कुटर लिएर गएर एक जनालाई हानेछ। स्कुटरले हानेर घाइते भएको मान्छेलाई मैले नै उपचार गरेँ। ऊ सन्चो भएर कता गइसक्यो। मैले भने लाइसेन्स नभएको मान्छेलाई स्कुटर दिएको भनेर अझै जिल्ला प्रशासनमा तारिख धाइरहेको छु। सात आठ महिना भइसक्यो मुद्दा कहिले टुङ्गिने हो।
मुद्दा कहिले टुङ्गिन्छ भनेका छन्?
अघिल्लो महिना तारिख लिन आउँदा त्यो बारेमा केही भनेनन् अब के भन्छन् सोध्ने हो।
तपाईंले के काम गर्नुहुन्छ?
अहिले त केही काम गर्दिनँ। यस्तै झमेलामा हिँड्दा नै ठिक्क छ। काम गर्न छोडेको ६/७ वर्ष भयो। अहिले गाउँघरतिर डुल्ने गर्दै बसेको छु।
पहिले के काम गर्नुहुन्थ्यो?
मैले लामो समय ट्रक चलाएँ। आफ्नै ट्रक थियो। त्यति बेला टिपरहरू पनि त्यति थिएनन्। सामान बोकेर धेरै ठाउँ गएँ। माओवादीको युद्धको बेलामा धेरै डर मानेर गाडी चलाउनुपर्थ्यो। १५ वर्षसम्म नेपालभरी ट्रकमा सामान बोकेर पुर्याएँ। भैरहवाबाट सामान लोड गरेर रातभरी गाडी चलाएर काठमाण्डौं जान्थेँ। बिहान सामान अनलोड गरेपछि व्यापारीहरूले भाडा दिन आनाकानी गर्थे। दिनभरि पर्खिएर बल्ल बल्ल पैसा लिएर रातारात फेरि बुटवल फर्किन्थेँ। धेरै दु:ख भएपछि सामान लिएर टाढा जान छोडिदिएँ। त्यसपछि त्यही ट्रकमा सिमेन्ट उद्योगका लागि तिनाउ खोलाबाट ढुंगा बोक्न थालेँ। परासीमा सिमेन्ट उद्योग थियो, ढुङ्गा लगेपछि हाताहाती पैसा पाइन्थ्यो। झन्डै दुई वर्ष त्यसरी ढुङ्गा बोकेँ। टिपर चल्न थालेपछि तिनैले बोक्न थाले मैले पनि ट्रक चलाउन छोडिदिएँ।
अहिले दिन कसरी बिताउनुहुन्छ?
दिन त त्यसै बित्छ। म अलिअलि समाज सेवामा पनि छु। मैले सिर्जना नगर टोल समितिमा बसेर केही वर्ष काम गरेँ। पहिले लेखा समितिमा थिएँ अहिले सल्लाहकार छु। दुई तीन कट्ठा जग्गा छ, त्यसैमा तरकारी लगाएका छौँ। खन खोरस गर्छु। गाउँघर डुल्छु दिन यस्तै बित्छ।
घरमा कोको हुनुहुन्छ?
घरमा अहिले त हामी बुढाबुढी मात्रै छौँ। चार भाइ छोरा हुन्। एउटा छोराको दुर्घटनामा मृत्यु भयो। तीन भाइ छोराहरू कामका लागि बाहिर बाहिर छन्। छोरी एउटा हुन्, उनको विवाह भइसक्यो।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
त्यस्तै छ अझै सुख र खुसी दिन सक्ने बेला नआएको हो कि। उनीहरूले पनि संघर्ष गरिरहेका छन्।
तपाईंलाई के काम गर्न मन लाग्छ?
म नेपालको ७५ प्रतिशत ठाउँ पुगेको छु। मलाई शारीरिक मेहनतको काम भन्दा मान्छे कजाउने काम गर्न मन लाग्छ। कुनै पनि संस्थामा वा कम्पनीहरूमा बसेर काम गर्ने अवसर आयो भने अझै दुई चार वर्ष काम गर्ने इच्छा छ।
तपाईंलाई के खान मन लाग्छ?
म पूरै शाकाहारी हो। ४० वर्ष भयो माछा, मासु, जाड, रक्सी कुनै पनि चिज नखाएको। माछा मासु बाहेकका सबै चिज मन पर्छ। यो मिठो त्यो नमिठो भनेर खानेकुराको अपमान गर्न मलाई मन लाग्दैन। मलाई दालभात, रोटी तरकारी, दूध दही जस्ता नेपाली खाना बढी मन पर्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य पनि त्यति राम्रो छैन। ग्यास्ट्रिक र दमको समस्या छ। दुवै थरीको औषधि खाने गर्छु। पहिले गाडीमा भोक भोकै र धुलो धुवाँमा हिँडियो त्यही भएर पनि ग्यास्ट्रिक र दम भएको होला। दुई वटै समस्या देखिएको १५ वर्ष भयो। अहिले औषधि खाइरहेको छु।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
मनमा कुनै चिन्ता भएन भने निद्रा लाग्छ। चिन्ता पर्यो भने लाग्दैन।
केको चिन्ता आउँछ मनमा?
हुन्छ नि विभिन्न थरीका चिन्ता। धेरै वर्ष गाडी चलाए पनि मैले कहिल्यै आफूले दुर्घटना गरिनँ। अहिले अर्कैले गरेको दुर्घटनामा मैले जिल्ला प्रशासनमा तारिख धाइरहेको छु। यस्तै आइलाग्छन् बेला बेलामा। हरेक महिना तारिख भेट्न आउनु परेको छ। समय खर्च भएको छ। पैसा त्यस्तै खर्च भएको छ।
तपाईंलाई ठिक्क ठिक्क पैसा भए यस्तो चिज गर्थेँ भन्ने केही छ?
सानो तिनो पैसा भएर अब केही गर्न सकिन्न। दुईचार लाख रुपैयाँ भयो भने अर्ग्यानिक खेती गर्ने मन थियो।
खेती गर्छु भन्नेलाई त तहका सरकार छन्, सरकारले सहयोग गर्छन् होला नि?
सरकारले हामी जस्तालाई कहाँ सहयोग गर्छन्। उनीहरूको चाकडीमा धाइरहने आसेपासेलाई सहयोग गर्दैमा सरकारलाई ठिक्क छ।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
मलाई त त्यस्तो धेरै खुसी हुने मौका नै अझै मिलेको छैन। एउटा छोराछोरीको राम्रो भयो भने अर्कोको राम्रो हुँदैन। एउटाले जागिर पाए अर्कोले पाउँदैन। एउटाले जागिर पायो राम्रो भयो भनेर खुसी हुनुकी अर्कोले जागिर पाएन, व्यवस्थित हुन सकेन भनेर दुखी हुनु।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
दु:खी त बेलाबेलामा भइरहन्छु। यही स्कुटर दुर्घटनाको घटनाले पनि धेरै दु:खी भएँ। अड्डा अदालत कहिल्यै धाउनुपरेको थिएन। अहिले धाउनुपरेको छ।
तपाईंलाई यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही छ?
तीन चार वर्ष पहिले तिनाउ नदी किनारमा तटबन्धको लागि ठूलो ठूलो खाडल खनेर राखेको थियो। माथिपट्टि छोरा साथीहरूसँग बसेको रहेछ। खोला छेउको ढिक भत्किएर त्यही खाडलमा खस्यो। त्यही ढिकले च्यापेर छोराको पनि घटनास्थलमै मृत्यु भयो। त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लाग्छ। त्यो दिनको घटनाले अहिले पनि तर्साइरहन्छ।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज राम्रै छ। आफू अनुसार पनि हुने हो। अरूभन्दा पनि गाउँघरमा बेरोजगार युवाहरू धेरै छन्। बेरोजगार भएको ठाउँमा कहिलेकाहीँ गलत काम हुने जोखिम पनि हुन्छ। काम नभएपछि युवाहरूले पनि केही न केही त गर्नुपर्यो। सरकारले सबै जनतालाई रोजगारी दिने वा स्वरोजगार बन्ने वातावरण तयार गर्नुपर्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
राजनीति त ठिकसँग चलेको छैन। जसरी चल्नुपर्थ्यो त्यसरी चलेको छ जस्तो लाग्दैन।
कसरी चल्नुपर्थ्यो?
सरकारले त सबै जनतालाई समेटेर देश विकासमा लगाउन सक्नु पर्थ्यो। अहिले जति पनि मान्छे विदेशमा गएका छन् नेपालमा काम गर्ने वातावरण भए आधा भन्दा बढी फर्किने थिए। नेपाल कृषि प्रधान देश भनिन्छ तर, सबै जग्गा जमिन बाँझो पल्टिन थाले। कृषिलाई व्यावसायीकरण गराएर उत्पादन बढाउनु पर्थ्यो यी सबै गर्ने त राजनीतिले नै होला।
तपाईंलाई सबभन्दा मन पर्ने नेता को हो?
मलाई नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद भट्टराई मन पर्थ्यो। उनको पार्टीको विचार र सिद्धान्त मन नपरे पनि कृष्णप्रसाद भट्टराई जसरी प्रधानमन्त्री भइसके पनि निष्कलङ्क भएर जीवन बिताए। उनीबाट धेरैले सिक्नुपर्ने थियो। अहिले कुनै पनि पदमा कोही पुगेको छ भने कुनै न कुनै तरिकाले विवादमा मुछिने गरेको छ। भ्रष्टाचारमा मुछिने गरेको छ।
गएको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
भोट त अहिलेसम्म एमालेलाई हाल्दै आएको छु। गएको चुनावमा पनि एमालेलाई नै भोट हालेको थिएँ।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट हाल्नुहुन्छ?
अब त सोच्नुपर्छ कि भन्ने लाग्न थाल्यो। अब पार्टी नहेरेर मान्छे हेर्ने हो कि भन्ने लाग्न थालेको छ। केही गर्छु भनेर नयाँ युवाहरू आउँछन् भने एक पटक मौका दिनुपर्छ कि भन्ने लाग्न थालेको छ।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले पहिले कृषिलाई प्रोत्साहन गर्नुपर्यो। कृषिलाई प्रोत्साहन गर्ने र लगानी गर्ने हो भने बेरोजगार भनिएका युवाहरू कृषि पेसामा लाग्छन्। त्यसो भयो भने उत्पादन बढ्ने र बेरोजगारीको समस्या पनि हट्ने थियो।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्