हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
दाङ, तुलसीपुर उपमहानगरपालिका–१३ का ३५ वर्षीय युवा खेमराज खड्कासँग तुलसीपुर बजारस्थित एक चिया पसलमा भेट भयो। उनी पेसाले लेखापढी व्यवसायी रहेछन्।
हामीले उनलाई सोध्यौं —
पहिले आफ्नो बारेमा भन्नुस् न, परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
म पेसाले लेखापढी व्यवसायी हुँ। मैले यो पेसा घोराहीमा उच्च शिक्षा पढ्ने क्रममै सुरू गरेको थिएँ। झन्डै १७–१८ वर्ष पुग्यो। मेरो घर तुलसीपुर–१३ दमारगाउँ हो। म त्यो टोलको सचिव पनि हुँ।
हाल म परिवारसँग तुलसीपुर–६ मा कोठाभाडामा बस्दै आएको छु। छोराछोरी पनि यहीँ पढिरहेका छन्। योभन्दा मेरो व्यक्तिगत जीवन तथा प्रेम कथा थप उत्खनन नगरौं है।
पछिल्लो समय मेरो काम अलि मन्दी छ। त्यति राम्रो चलेको छैन। सरकारले विभिन्न समयमा जग्गाको कित्ताकाट बन्द गर्छ। यस्तो बेला नापी कार्यालयमा गई कित्ताकाट गर्नु नपर्ने जग्गाको मात्रै काम हुन्छ। त्यसको प्रत्यक्ष प्रभाव हाम्रो पेसामा पनि पर्छ। सुनेको छु– तुलसीपुर उपमहानगरपालिकाले लगत्तै कित्ताकाट खोल्दै छ।
हालसालै श्रीमतीले सानोतिनो कस्मेटिक पसल सुरू गरेकी छन्। योभन्दा पहिला फलफूल र किराना पसल थियो। फलफूल सही समयमा सही रूपमा बेच्न नसक्दा बिग्रिने र घाटा बेहोर्नुपर्ने जोखिम भयो। त्यसबाट जोगिन केही दिन पहिले मात्रै कस्मेटिक पसल सुरू गरेकी हुन्।
मेरो आमाबुबा दमारगाउँमै बस्नुहुन्छ। गाउँमा उहाँहरू खाजा–नास्ता र किराना पसल चलाउनुहुन्छ। हामी बिदामा गाउँ आउजाउ गरिरहन्छौं।
अहिले तपाईं र तपाईंको परिवारलाई सबैभन्दा बढी चिन्ता लागेको कुरा के हो?
सबैभन्दा बढी चिन्ता भनेकै कहिले आफ्नै एउटा घर ठड्याउन सकिएला भन्ने छ। सानो तर चिटिक्क परेको एउटा घर कहिले र कसरी बनाउन सकिएला भन्ने कुराले दिमागमा कावा खाइरहन्छ। यस्तै सोचमा डुब्दा कहिलेकाहीँ रातभर छटपटाउँछु। विगतमा मैले आफैलाई र पैसालाई सही रूपमा चिन्न सकिनँ भन्ने अनुभव भएको छ।
तपाईंका छोरा–छोरी नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्, किन?
मिलेसम्म र सम्भव भएसम्म विदेश जाने सपना पालेर बसेका छन्। विदेशको लहरले गर्दा पनि होला तर प्रमुख कारण बाध्यता हो। अहिलेको परिस्थितिमा यहाँको काम र जागिरले पुग्दैन। एक जनाले मात्रै विदेशमा मेहनत गरी कमाए त्यसले परिवारलाई सुखसँग राख्न सकिन्छ भन्ने नयाँ पुस्ताको बुझाइ छ।
राम्रो देश गएका आसपासका छिमेकीले ठड्याएका घर तथा महलका कारण पनि युवा विदेश जान लालायित छन् कि भन्ने लाग्छ।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
समयले केही सुधार र परिवर्तन खोजिरहेको थियो। एक्कासि जेनजी आन्दोलन सुरू भएपछि मलाई अब त्यो दिन आएछ कि क्या हो भन्ने लागेको थियो।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
त्यो समय एमाले नेतृत्वको सरकार थियो। पछिल्लो त्यो समय सामाजिक सञ्जाल यस्तो चिज भइसकेको थियो कि– एउटा एडिक्सन बनिसकेको थियो। विशेष गरी युवा वर्ग गेम, मायाप्रेम, मनोरञ्जन, शिक्षा तथा पठनपाठनका कुराहरू सबै पूरा गर्थे।
सामाजिक सञ्जाल युवा तथा किशोरका लागि अनिवार्य आवश्यकता जस्तै भइसकेको थियो। पेट्रोल नहाल्दासम्म मोटरसाइकल कुद्न नसकेको जस्तै।
सोही सामाजिक सञ्जालमाथि केपी ओली नेतृत्वको सरकारले एक्कासि प्रतिबन्ध लगाउँदा युवा मनोविज्ञान बुझ्न सकेन भन्न मलाई लाग्छ। यद्यपि सामाजिक सञ्जालमाथि नियमन गर्ने सरकारको कुरा ठीक पनि हुँदो हो। त्यो कुरा युवालाई बुझाउन सरकार चुक्यो भन्ने लाग्छ।
भदौ २३ गते राज्यद्वारा १९ जना मारिएपछि त्यसविरूद्धको आक्रोश विस्फोट हुन पुग्यो।
त्यो परिस्थितिमा कलिला बालबालिका पनि प्रयोग भए। मतलब उनीहरू उक्साइए वा परिचालित गरिए भन्ने लाग्छ। त्यति साना केटाकेटीले देशको राजनीति बुझ्ने कुरै थिएन। जसको स्वार्थ अर्कैले लियो भन्ने लाग्छ।
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठीक लाग्यो, के कुरा बेठीक लाग्यो?
गत भदौ २३ गते काठमाडौंमा मात्रै आन्दोलन थियो र दाङ लगायत अन्यत्र दुरदराजका सर्वसाधारणलाई त्यो आन्दोलनबारे त्यति थाहा थिएन। तर, बेलुकीपख स्कुले बालबालिका मारिएको खबर सामाजिक सञ्जालमा हावासँगै फैलिँदा साह्रै दुःख लागेको थियो।
भदौ २४ गतेको ध्वंश ज्यादै अकल्पनीय र नराम्रो घटना थियो। मैले सम्मुख बसेर काम गर्ने मालपोत कार्यालय लगायत सबै महत्त्वपूर्ण कागजपत्र नष्ट गरिएका थिए। अहिले ती कागजपत्र नयाँ बनाउनुपर्दा सबैले दुःख पाइरहेका छन्। यहाँका सबै सरकारी अड्डा, अदालत, लोकसेवाको कार्यालयमा आगो झोसिँदा त्यसको साक्षी बनेर बस्नुपर्दा निकै मन रोएको थियो।
छोटोमा भन्नुपर्दा देशभरका युवा परिवर्तनका पक्षमा एकैसाथ एकजुट भएको पक्ष राम्रो मान्नुपर्छ। राज्यले बच्चाहरू मारेको घटना नराम्रो थियो। विध्वंश गलत थियो। बर्दीका प्रहरीमाथिको आक्रमण वा हमला निकै निन्दनीय थिए।
आन्दोलनपछि देशमा केही राम्रो भए जस्तो लाग्छ कि, पहिले जस्तै छ?
केही राम्रो भएको देखिन्छ। जस्तो त्यो आन्दोलनपछि सरकारी कार्यालय नियाल्दा सेवाग्राही निर्धक्क आफै गई सोध्न–बुझ्न सक्ने भएका छन्।
सोझो अर्थमा कर्मचारीतन्त्रमा सुधार देखिन्छ। हरेक सरकारी प्रशासन थप 'एक्टिभ' हुन खोजिरहेको जस्तो लाग्छ।
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
आशा जागेको छ तर डर पनि लागेको छ। जुन शक्ति अहिले सत्तामा छ, त्यो आन्दोलनका बलमा एक्कासि पुगेको छ। जसको समाजमा बलियो आधार छैन। अर्कोतर्फ कांग्रेस र एमालेजस्ता पुराना दलहरूको समाजमा बलियो आधार छ। वर्षौंदेखिको मेहनत र संघर्ष छ।
कदाचित भविष्यमा फेरि यी शक्तिहरूबीच विचारको टकराव भइदिएको खण्डमा त्यस्तै विनाशक आन्दोलन हुन्छ कि भन्ने डर आममान्छेको मनमा छ।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के के हुन्?
कार्यालयहरूमा सेवा सुधार गर्न खोज्नु सकारात्मक पक्ष मान्नुपर्छ। यो सरकारसँग अनुभव र ज्ञानको कमी देखियो। देश चलाउने भन्ने कुरा चानचुने होइन। अग्रजको सल्लाह, सुझाव र अनुभव लिन खोजेको देखिएन। बुढापाका सबै खराब भन्ने चिन्तन घातक हुन सक्छ।
पुरानो पुस्ता अनुभवका खानी हुन्। जिउँदा इतिहासका साक्षी हुन्। युवा हुँ भन्दैमा म मात्रै जान्ने, म मात्रै असल भन्ने सोच रहे घमण्डको बेलुन जतिखेर पनि फुट्न सक्छ।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
केहीमा परिवर्तन देखिन्छ र केहीमा अझै उस्तै छ। खासगरी गगन थापाले अधिकार माग्दा नपाएपछि पार्टीभित्र जसरी विशेष महाधिवेशन गरी नेतृत्वमा पुगे, त्यो ठूलो परिवर्तन थियो।
म एमाले समर्थक हुँ तर एमालेमा अझै उस्तै छ। पार्टीको विधानसम्मत मागेको कुरा नपाएपछि अधिकार प्रयोग गरी सुरक्षित रूपमा युवा नेतृत्वमा पुग्नु गगनले उठाएको ठूलो जोखिम र साहस थियो। तर, कतिपयमा अझै पुरानै शैली छ। उस्तै छ। नसक्ने अवस्थामा पनि पद र नेतृत्वबाट सुरक्षित बहिर्गमन भई अभिभावकीय दायित्वमा बस्न खोजेको देखिँदैन।
यद्यपि एमालेमा पनि सुहाङ नेम्वाङजस्ता युवाहरू आउनु उपलब्धि हो।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
सही रूपमा दुई तिहाइ बहुमत नजिकको सरकार रास्वपाले नै देशलाई सही बाटोमा डोहोर्याउने म्यान्डेट पाएको छ। यो जनताको मतको तथ्य स्वीकार गर्नुपर्छ।
तर यही पार्टी मात्रै भन्नुभन्दा पनि राजनीति बुझेका युवाहरू हरेक पार्टीबाट अगाडि बढेर देशलाई सही बाटोमा लैजान हातेमालो गर्नु जरूरी छ।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
गगन थापा, सुहाङ नेम्वाङ र भीम रावल।
ती नेताहरूबाट किन आशा छ? उनीहरूले के गरून् भन्ने चाहनुहुन्छ?
गगन थापा विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएर संघर्ष गर्दै अहिले नेतृत्वमा पुगेका एक संघर्षशील, परिवर्तनकामी र राजनीतिमा परिपक्व युवा हुन्। सुहाङ नेम्वाङ एमालेभित्र एक आश लाग्दा युवा हुन्। देश–विदेशको ज्ञान, अनुभवका साथै उनका स्वर्गीय पिताको राजनीतिक संस्कार उनीमा छ कि भन्ने आभास छ।
त्यस्तै भीम रावल देशकै दोस्रो तहका नेता हुन्। यद्यपि उनलाई हाल गलत राजनीतिको छालले किनारमा हुत्याएको छ। उनले अवसर पाउनुपर्थ्यो भन्ने मलाई लाग्छ।
तपाईं आफै नेतृत्वमा पुगे के गर्नुहुन्थ्यो?
म टिमवर्कमा विश्वास गर्ने मान्छे हुँ। म सामाजिक क्षेत्रमा पनि क्रियाशील छु। म युवालाई स्वउद्यमी बनाउन पहल गर्थेँ। युवाले महत्त्वपूर्ण जुन समय विदेशमा बस्ने तथा बिताउनुपर्ने पीडा छ, त्यो न्यूनीकरणमा म लाग्थेँ। परिवारको हातमुख जोड्न विदेश जानुपर्ने बाध्यता र उमेर ढल्केपछि मात्रै घर फर्किने बाध्यता अन्त्य हुनुपर्छ।
राज्यको व्यवस्थापकीय भूमिका विशेष हुनुपर्छ। युवालाई विशेष काउन्सिलिङ, चेतना अभिवृद्धिमा जोड दिन्थेँ, शिक्षा, स्वास्थ्यमा विशेष जोड दिन्थेँ।
सभ्य र अनुशासित नागरिक तयार गर्न आध्यात्मिक बाटो र उपायको खोजी गर्थेँ। पर्यटन र विद्युतीयकरणमा विशेष जोड दिन्थेँ।
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे