करिब करिब २७/२८ वर्षअगाडि — मोरङकी एक स्कुले किशोरीले आफ्ना साथीहरूलाई भनेकी थिइन् — तिमीहरू नेपालको नम्बर वान हिरोइनसँग खाजा खाँदैछौ!
त्यही बेला एक जना साथीले प्वाक्क भनिदिइन्, 'अनुहार यस्तो छ, बनिस् नम्बर वान हिरोइन!'
साथीको जबाफले ती किशोरी कत्ति उदास भइनन्। उल्टै सोधिन्, 'किन नहुनू?'
'काली न काली छेस्, कसरी बन्छेस् हिरोइन!' साथीले भनिन्।
किशोरीको आत्मविश्वास धर्मराएन, भनिदिइन् 'हेर्दै जा न!'
त्यसको छ वर्ष पनि बितेको थिएन, ती किशोरी सिनेमाको पर्दामा देखिइन्।
नाचिन्, अभिनय गरिन् — राजेश हमालकै जोडी बनिन्।
जसै फिल्म रिलिज भयो, किशोरीको चौतर्फी चर्चा सुरू भयो।
उनले नाचेको गीत 'तिम्रो मन त चक्कुछुरी' हेरेर धेरैले भने, 'ओहो कति राम्री हिरोइन! सबै हिरोइनको मिश्रण रहिछन्!'
केहीले भने, 'नेपाली फिल्ममा दबंग हिरोइन आइन् है!'
अहिले लाग्छ — यो उनको रगरगमा बसेको 'दबंग' चरित्र नै हो, जसले पुरूष हिरोहरूको दबदबा रहेको सिने क्षेत्रमा रेखा थापालाई तिनकै बराबरी उभ्यायो।
आफ्नो यो छविबारे रेखा भन्छिन्, 'म मात्र होइन, सबै महिला त्यस्तै हुन्छन्। जबदेखि मानिसको उत्पत्ति भयो, तबदेखि दबंग भनेका महिला नै हुन्। सबैले सफलता पाएनन् होला, तर महिलाहरू सधैं दबंग गरिरहन्छन्।'
किशोर उमेरमा साथीसंगी र परिवारमाझ होस्, वा सुन्दरी प्रतियोगिताको र्याम्पमा हिँडेर ताज पहिरिँदा; सिनेमामा हिरोइनको भूमिका खेल्दा होस् वा आफैं हिरो भएर 'फाइट' गर्दा; अरूका फिल्म हिट गराइदिने कलाकार बन्दा होस् वा आफैंले हिट फिल्म बनाउँदा; राजनीतिमा छिरेर भाषण गर्दा होस् वा चुनावी मैदानमा ओर्लिँदा; आफूले प्रश्न उठाउँदा होस् वा कसैले सोधेको प्रश्नको जबाफ दिँदा; रेखाले जुनसुकै भूमिकामा 'दबंग' स्वभाव देखाइरहिन्।
सोह्र वर्ष उमेरमा हिरोइन बनेकी रेखाले जीवनका चार दशक बिताइसक्दा वास्तविक जीवनमा पनि विभिन्न भूमिका निर्वाह गरिसकेकी छन्। र, सबैजसो भूमिकामा उनले आफूलाई 'दबंग' साबित गरेकी छन्।
अब उनको जीवनमा अर्को भूमिका थपिएको छ — उनी आमा बनेकी छिन्।
अनेक चुनौती झेल्दै थरीथरी पात्रलाई पर्दामा उतारेकी रेखा 'रेखा थापा' कसरी बनिन् — हामी यो विषयमा कुराकानी गर्न जाँदा उनी छ महिनाकी गर्भवती थिइन्।
कुराकानीको सिलसिला उन्दै रेखाले आफू आमाको गर्भमा हुँदा सुनेको कुरा हामीलाई सुनाइन्, 'आमा गर्भवती हुँदा एक जना ज्योतिषले तिम्रो कान्छो छोरा निडर हुन्छ भनेका रहेछन्। तर म जन्मेँ। ज्योतिषको छोरा जन्मिने भविष्यवाणी मिलेन, स्वभाव चाहिँ मिल्यो। म बच्चादेखि नै निकै बोल्ड र चञ्चल थिएँ।'
यसो भन्दै गर्दा उनको हाँसोमा चञ्चलता प्रस्टै झल्कियो।
उनले अगाडि थपिन्, 'मेरो यो स्वभाव कहिल्यै हट्दैन होला। अहिले पनि म बच्चाहरूसँग एकदमै छिटो घुलमिल भइहाल्छु।'

रेखा पूर्वी नेपालको मोरङ जिल्लामा जन्मेकी हुन्। उनका बुबा प्रेम थापा सेनामा थिए, आमा सरस्वती थापा स्वास्थ्य कार्यकर्ता।
प्रेम र सरस्वतीका दुई छोरा र तीन छोरीमध्ये कान्छी हुन् रेखा। बुबाले भने उनलाई जहिल्यै 'मेरो छोरा हो' भन्थे।
आमाबुबाको आडभरमा रेखा आफूलाई शक्तिशाली मान्थिन्। सानै उमेरदेखि आफ्नै सिद्धान्तमा हिँड्न रूचाउँथिन्। अरूले के गरे, कस्ता लुगा लगाए, के खाए भन्नेमा कहिल्यै ध्यान दिइनन्।
'म सानैदेखि आफ्नै साम्राज्य बनाउनुपर्छ भन्ने सोच्थेँ,' उनले भनिन्, 'आफ्ना कुरा निसंकोच राख्थेँ। कसैले केही गर्न सक्दिनस् भन्यो भने गरेरै देखाउँथेँ।'
रेखाको आत्मविश्वास यति उँचो थियो, उनी आफूलाई हरेक मौकामा 'अगुवा' का रूपमा प्रस्तुत गर्थिन्। शानका साथ रूख चढेर देखाउँथिन्। साथीसंगी भेला पारेर आफ्नो पैसाले खाजा खुवाउँथिन्। अनि कसैले केही नमिठो कुरा भनिहाले कत्ति नहच्की जबाफ दिन्थिन्।
'तिमीहरू नेपालको नम्बर वान हिरोइनसँग खाजा खाँदैछौ,' उनले यो कुरा साथीहरूलाई खाजा खुवाउँदै गर्दा नै भनेकी थिइन्।
रेखाले खुला आँखाले देखेको एक मात्र सपना यही थियो। आमाबुबाले भने छुट्टै सपना देखेका थिए। आमा छोरीलाई डाक्टर बनाउन चाहन्थिन्, बुवा वकिल बनोस् भन्ने चाहन्थे।
रेखाको 'दबंग' यहीँबाट सुरू भयो।
उनले आमाबुबालाई निडर भएर भनिन्, 'म आफ्नो भविष्य आफैं बनाउँछु।'
'कसैले सन्तान जन्माउँछ भने ऊ अलग आत्मा हो भनेर बुझ्नुपर्छ। ऊ तपाईंको दास वा दासी होइन,' रेखाले भनिन्, 'हरेकले आफ्नो कर्म र भाग्य निर्धारण गर्न पाउनुपर्छ।'
केही समयपछि उनका आमाबुबालाई पनि उनकै सपना प्रोत्साहन गर्दा राम्रो हुन्छ भन्ने भयो।
रेखाको हिरोइन बन्ने सपना अझै मजबुत बन्यो।
तर त्यो बेला नाच्न नजाने के हिरोइन! रेखाको भने १४ वर्षकी हुँदासम्म गीतको तालमा एउटा खुट्टा पनि हल्लिँदैन थियो!
नाच्न कसरी सिक्ने होला भन्ने अन्योलमा थिइन् उनी। त्यही बेला गाउँकै एउटा युवा क्लबका एक जना दाइले नाच्न सिकाइदिन्छु भने।
त्यो साइत नजिकिँदो तिहारले जुराएको थियो।
रेखालाई के चाहियो! दंग परिन् उनी।
जसै तिहारको देउसी-भैलोमा नाच्ने बेला भयो, ती दाइले उनलाई समूहको पछाडि लगेर राखिदिए।
आफूले चाहेकै कुरा भइरहेको थियो, रेखालाई भने आफू पछाडि परेको चित्त बुझेन। मनमा इख बस्यो।
सोचिन् — म त अगाडि हुनुपर्ने मान्छे। मलाई नाच्न नआएर पछाडि राखेको! ठिकै छ, हेरौंला!
यही इखको रापले होला, देउसी-भैलो जाने दिनसम्म उनको नाच दियोजस्तै चम्कियो।
खासमा उनी एउटा भोजपुरी गीत बजाएर नाच्न खोज्दै थिइन्। गीतको तालमा हल्लिँदै गरेकी उनको हाउभाउ देखेर वरिपरिका आफन्त छक्क परे।
'ओहो कस्तो राम्रो नाचेकी,' आफन्तजनको मुखबाट प्रशंसा सुन्दा उनलाई संसार जितेको महसुस भयो।
सपनाको भर्याङमा एक खुड्किलो माथि उक्लेजस्तो लाग्यो।
केही समयपछि भने उनी साँच्चै अर्को खुड्किलो उक्लिन्।
एक दिन उनलाई मनपराउने केटाले भने, 'तँ एकदमै राम्री छेस्, मिस कोसीमा जाँदा हुन्छ नि!'
'मलाई म राम्री छु जस्तो चाहिँ लाग्दैन थियो। लागोस् पनि कसरी, त्यति बेला राम्री केटी भन्नेबित्तिकै गोरो छाला भएकी, लामो र सिल्की कपाल भएकी हुन्छन् भन्ने थियो,' रेखाले भनिन्, 'म न गोरी थिएँ, न मेरो कपाल सिल्की!'
आफ्नो रूपलाई लिएर धेरै आत्मविश्वास नभए पनि उनी पछि हट्नेवाला थिइनन्।
हिरोइन बन्ने यात्रामा हिँडेको मान्छे, प्रतियोगितामा जान किन डराउनू!
उनले मिस कोसीमा सहभागी हुने निधो गरिन्।
जब यो कुरा उनका बुबाले थाहा पाए, उनले भने, 'तैंले कुलको इज्जत राख्छेस् भन्ने मलाई विश्वास छ। बाटो बिराइछेस् भने एउटा कुखुराको फुल फुट्यो भनेर सम्झिने छु।'
बुबाका कुराले रेखामा हौसला भरियो, भनिन्, 'फुट्दैन।'
अनि मनमनै सोचिन् — बुबाले मलाई चिन्नुभएकै छैन!
मिस कोसीको निर्णायकमा नीर शाह, राजेश हमाल, झरना बज्राचार्य, करिश्मा मानन्धर लगायत थिए। उनीहरूले पालैपालो प्रतिस्पर्धीहरूलाई भविष्यमा के बन्न चाहन्छौ भनेर सोधे। सबै जना डाक्टर-इञ्जिनियर भन्दै थिए, रेखाले भने निर्धक्क भनिन्, 'म नेपालको नम्बर वान हिरोइन बन्छु।'
२०५५ सालको कुनै एक दिन थियो त्यो, रेखाले 'मिस कोसी' को ताज पहिरिइन्।
उनको हौसला हलक्कै बढ्यो।
यही हौसला बोकेर उनी २०५६ सालको 'मिस नेपाल' मा सहभागी भइन्। उनको त्यो यात्रा भने उत्कृष्ट १० सम्म मात्र पुग्यो। त्यसपछि उनी एयरहोस्टेस बन्ने तयारीमा जुटिन्। सँगसँगै मोडलिङ पनि गर्न थालिन्।
हिरोइन बन्ने सपना चाहिँ सेलाएकै थिएन।
त्यसैबीच एक दिन फोन आयो, 'रेखाजी, म छवि ओझा। हामी तपाईंलाई फिल्ममा लिन चाहन्छौं, एकचोटि भेट्न मिल्छ?'
त्यो समय फिल्म निर्माणमा जम्दै गरेका छवि ओझा र नरेश पौडेल नयाँ फिल्मका लागि नयाँ अनुहारको खोजीमा थिए। छविले एउटा पत्रिकामा रेखाको फोटो देखेछन्। देख्नेबित्तिकै उनले हिरोइन बनाउने निधो गरेर फोन गरेका थिए।
आफूले थाहा पाउँदादेखि देखेको सपना रेखाको अगाडि थियो।
तर उनी दोधारमा परिन्। मन तुलबुल भयो।
किनभने, छविले फोन गरेको भोलिपल्टैदेखि एयरहोस्टेसको तालिम सुरू हुँदै थियो। फिल्म खेल्ने प्रस्ताव स्वीकार गर्न एयरहोस्टेसको तालिम छाड्नुपर्थ्यो।
निकै सोचविचारपछि रेखाले निर्णय गरिन् — म एयरहोस्टेस त बीस वर्षमा पनि बन्न सक्छु, हिरोइन बन्न चाहिँ सबभन्दा राम्रो समय यही हो।
निर्णय त गरिन्, तर केही दिनपछि नै पौडेल र ओझाले उनलाई बोलाएर भने, 'हाम्रो फिल्ममा राजेश हमाल हिरो हुने भए। उहाँसँग तिम्रो जोडी सुहाउँदैन होला। अर्को फिल्म बनाउँदा सम्झिऊँला है!'
हातमै आइसकेको अवसर फुत्किँदा रेखालाई छाँगाबाट खसेजस्तै भयो। हिरोइन बन्ने सपना धमिलिएझैं लाग्न थाल्यो।
उनी अक्क न बक्क भइन्।
केही समयपछि निर्माता टिमले उनलाई फेरि डाक्यो र 'मेकओभर' गर्दा राजेश हमालसँग 'केमेस्ट्री' मिल्छ कि भन्ने कुरा निकाल्यो।
मुर्झाइसकेको फूल फेरि अचानक फक्रन खोजेझैं लाग्यो रेखालाई।
उनले 'स्क्रिन टेस्ट' दिइन्।
कुनै कुरा पक्का मनले चाहेपछि जसरी पनि पूरा हुन्छ — रेखाको जीवनमा यही लागू भयो।
उनी फिल्ममा छानिइन्।

२०५७ सालमा 'हिरो' फिल्म रिलिज भयो, जसमा गौरी मल्ल, राजेश हमाल, निरूता सिंह लगायतको मुख्य भूमिका थियो।
पौने तीन घन्टाको फिल्ममा रेखाको भूमिका धेरै लामो छैन। तर 'तिम्रो मन त चक्कु छुरी' र 'मेरो लचक लचक चाल' गीतमा उनले गरेको नृत्यको धेरै प्रशंसा भयो। पहिलोपटक पर्दामा देखिए पनि उनले धेरै तारिफ बटुलिन्।
यति धेरै चर्चा पाएपछि अब त फिल्म पनि मज्जाले पाइन्छ होला भन्ने रेखाले सोचेकी थिइन्।
त्यस्तो भएन।
उनलाई फिल्मको प्रस्ताव नै आएन।
उनलाई फेरि के गरौं, कसो गरौं भनेर छटपटी हुन थाल्यो। उनले विदेश जाने सोच बनाइन्। त्यहीअनुसार तयारी पनि सुरू गरिन्।
तर कुनै कुरा पक्का मनले चाहेपछि जसरी पनि पूरा हुन्छ — रेखालाई जसरी पनि हिरोइन बन्नु थियो!
'हिरो' खेलेको करिब दुई वर्षपछि निर्माता अशोक शर्माले उनलाई फिल्मको प्रस्ताव गरे। शर्मा 'मितिनी' फिल्म बनाउँदै थिए। रेखाको अगाडि यो दोस्रो अवसर थियो।
उनले तुरून्तै हुन्छ भनिन्।
रेखासँगै दिलीप रायमाझी र विपना थापाको मुख्य भूमिका रहेको 'मितिनी' हिट भयो।
मितिनीसँगै रेखा पनि हिट भइन्।
त्यसपछि उनलाई निरन्तर फिल्मको अवसर आयो — हामी तीन भाइ, नसिब आफ्नो, किस्मत, कसले चोर्यो मेरो मन, हिफाजत, क्रोध जस्ता हिट फिल्म उनले आफ्नो नाममा दर्ज गराइन्।
हुँदाहुँदा यस्तो समय आयो, रेखा निर्माता र निर्देशकको पहिलो रोजाइ भइन्। लाखौं दर्शककी 'फेभरेट हिरोइन' बनिन्। पोस्टरमा रेखाको तस्बिर मात्रै देख्दा पनि दर्शकहरू फिल्म हेर्न जान थाले।
आखिरमा रेखा थापा नेपालकी 'नम्बर वान' हिरोइन बनिन्!
बालापनदेखि देखेको सपना पूरा भए पनि रेखा भने सन्तुष्ट थिइनन्। फिल्मी दुनियाँमा छिरेपछि उनलाई हिरोइनहरूको भूमिकामा अन्याय भएको महसुस हुन थालिसकेको थियो। सबैजसो फिल्ममा प्रमुख पात्र र कथा पुरूषकै हुन्थे। उनीहरूकै नाममा र उनीहरूकै फिल्म भनेर प्रचार हुन्थ्यो।
'मलाई महिला कलाकारको कथामा पनि फिल्म बन्न सक्छ, महिला कलाकारका नाममा पनि फिल्म प्रचार हुनुपर्छ भन्ने लागिरहेको थियो,' रेखाले भनिन्।
उनको मनमा सल्किरहेको यो भुसको आगो निभाउने पानी बनेर आयो — 'दुर्गा'।
सोभित बस्नेतले निर्देशन गरेको 'दुर्गा' मा पहिलोपटक रेखा प्रमुख पात्र बनिन्। कुनै पनि परम्परागत हिरोले फिल्ममा गर्ने सबै काम गरिन्।
यो रेखाको पहिलो एक्सन फिल्म बन्यो।
त्यो बेला धेरैलाई महिला कलाकार केन्द्रमा रहेको यस्तो फिल्म सफल होला भन्ने लागेकै थिएन। तर 'दुर्गा' ले उग्ररूप लियो, हलमा सय दिनसम्म चलेर रेकर्ड बनायो।
दुर्गाको सफलताबाट रेखाले मात्र फड्को मारिनन्, नेपाली फिल्म क्षेत्रले पनि ठूलो छलाङ मार्यो। महिला कलाकार पनि 'हिरो' बन्न सक्छन् र यस्ता फिल्म हिट पनि हुन्छन् भन्ने प्रमाणित भयो।
'त्यसपछि महिलाले चाहे के हुँदैन भन्ने धारणा बन्दै गयो,' रेखाले भनिन्, 'कोही नम्बर वान अभिनेता या अभिनेत्री बन्न चाहन्छ भने फिल्ममा आफ्नो व्यक्तित्व पनि झल्काउनुपर्छ। आफ्नो नामले फिल्म चलाउन सक्नुपर्छ। समूहमा फिल्म खेल्नेलाई म नम्बर वान मान्दिनँ। फिल्म क्षेत्रमा हिरोइनको यात्रा लामो हुँदैन भन्छन्, तर मैले लामो यात्रा गरेकी छु।'
यसरी हिरोको भूमिकामा पुरूष कलाकारको एकछत्र राज तोडेपछि पनि रेखा थामिइनन्। उनी आफूलाई हरेक पात्रमा बलियो साबित गराउने प्रयत्नमा लागिरहिन्।
त्यसकै नतिजा थियो, उनको दोहोरो भूमिका भएको फिल्म 'हिम्मत'।
'मैले यो फिल्मका लागि भोटेकोसीमा बन्जी जम्प गरेकी थिएँ,' रेखाले सुनाइन्, 'भोटेकोसीमा बन्जी जम्प गर्ने म पहिलो नेपाली अभिनेत्री हुँ।'
रेखा प्रमुख भूमिकामा जम्दै गएपछि उनका फिल्म चल्तीका नायकहरूले पन्छाउन थाले। पुराना अभिनेताले साथ दिन छाडे। तर रेखालाई के डर थियो र! उनकै भरमा फिल्म चलिहाल्थे। हरेकजसो फिल्ममा नयाँ नायक भए पनि उनको 'हिट यात्रा' डगमगाएन। दर्शकले उनलाई विभिन्न पात्रमा रूचाइरहे।
यसले उनको आत्मविश्वास अझै चुलियो।

'हिम्मतवाली' बाट उनले अर्को हिम्मत जुटाइन्, फिल्मको कमान्ड सम्हाल्ने अर्थात् निर्देशन गर्ने।
रेखामा निर्देशनको खुबी छ भन्ने छवि ओझाले नियालिरहेका थिए। उनले धेरैपटक रेखालाई निर्देशन गर्न सुझाए पनि। तर त्यसअघि उनले नकारिरहेकी थिइन्।
'म हावा तालमा फिल्म निर्देशक भएकी होइन। मैले थुप्रै फिल्ममा सहायक निर्देशकका रूपमा काम गरेकी थिएँ। मलाई नयाँ कुरा सिक्न रमाइलो लाग्छ। कसले कुन सट लिइरहेको छ, कसरी छायांकन भइरहेको छ भन्ने निकै ध्यान दिएर हेर्थेँ। फिल्म क्षेत्र मेरो विद्यालयजस्तै थियो,' उनले भनिन्।
हिम्मतवालीपछि उनले 'रूद्रपिया' र 'मालिका' निर्देशन गरिन्। तीमध्ये 'मालिका' उनका लागि निकै खास छ। फिल्ममा आफू 'हिरो' का रूपमा देखिँदै आएकी रेखाले मालिकामा अर्की 'हिरो' चिनाइन्, जाजरकोटकी कमला वली।
सिनेमा हलसमेत नदेखेकी कमलालाई उनले फिल्मको मुख्य पात्र बनाएकी थिइन्। फिल्ममा बालविवाहको मुद्दा उठान गरिएको छ। रेखाले कर्णाली र मधेसका केही ठाउँमा 'छोरीका निम्ति स्वर्णिम नेपाल अभियान' मार्फत बालविवाहको विरोधसमेत गरेकी थिइन्। उनी त्यो अभियान सफल भएको बताउँछिन्।
'केटा होस् या केटी, २० वर्षमुनि मानसिक र शारीरिक रूपमा परिपक्व हुँदैनन्, खेल्ने-कुद्ने उमेरमा बिहेको दबाब दिनु हुँदैन भनेर हामीले त्यो अभियान सुरू गरेका थियौं,' उनले भनिन्, 'हाम्रो देशमा बालविवाह अर्थतन्त्रसँग जोडिएको छ। जबसम्म महिलाहरू आर्थिक हिसाबले आफ्नो खुट्टामा उभिँदैनन्, तबसम्म अर्थतन्त्रमा सुधार आउँदैन।'
हुन त रेखाले पनि अपरिपक्व उमेरमै विवाह गरेकी थिइन्। रेखा र छवि ओझाको उमेरमा १५ वर्ष अन्तर छ। उनीहरूले २०५७ सालमा बिहे गरेका थिए, तर यो सम्बन्ध धेरै समय टिकेन। २०६९ सालदेखि उनीहरू अलग बसे। छुट्टिएर बसेको चार वर्षपछि सम्बन्ध विच्छेद गरे।
रेखा त्यो सम्बन्धबारे भन्छिन्, 'हो, उहाँसँग बिहे गर्नु मेरो अपरिपक्व निर्णय थियो। तर त्यसप्रति मेरो अथाह सम्मान छ। मान्छेको आफ्नो भाग्य हुन्छ, आफ्नो कर्म हुन्छ। लेखान्तमा भएजति भोग्नुपर्छ। छवि ओझासँगको १२ वर्षे सहकार्यमा मैले राम्रो अभिभावक पाएँ। त्यस बेला महिला कलाकारले बिहेपछि फिल्ममा काम पाउँदैनन् भन्ने मान्यता तोडियो। छवि ओझाले सानी रेखालाई सम्हालेर एउटी परिपक्व र बहादुर रेखा थापा बनाउनुभयो।'
रेखाका अनुसार उनीहरूले वैचारिक मतभेदका कारण सम्बन्ध टुंग्याउने निर्णय गरेका थिए। बिहेको सम्बन्ध टुंगिए पनि उनीहरू अहिले भेट्दा मुख बटार्दैनन्। खुलेर बोल्छन्। मिडियाकर्मीसँग एकअर्काको तारिफ गरेर थाक्दैनन्।
'हाम्रो सम्बन्ध निःस्वार्थ थियो, त्यसैले आजसम्म सुमधुर छ,' रेखाले भनिन्, 'छवि ओझा मेरो निम्ति अभिभावकजस्तै हो, जसले मलाई समाज र फिल्म क्षेत्र चिनाउनुभयो।'
रेखाले फिल्म र सामाजिक क्षेत्रमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाएकी छन्। राजनीतिमा भने गिरिजाप्रसाद कोइरालाको प्रभावले आएको उनी बताउँछिन्।
उनले यो प्रभावको 'किस्सा' पनि सुनाइन्।
फिल्मी दुनियाँबाट रेखाको सार्वजनिक पहिचान बनिसकेको बेला थियो। एक दिन उनी विराटनगरबाट काठमाडौं आउँदै थिइन्, त्यही जहाजमा गिरिजाप्रसाद कोइराला पनि थिए।
चर्चित हिरोइन भएकाले जहाजका अरू यात्रु रेखालाई हेरिरहेका थिए। रेखा भने गिरिजाप्रसादलाई हेरेर दंग परिरहेकी थिइन्। गिरिजाप्रसादको व्यक्तित्वले उनलाई प्रभावित गर्यो।
जहाजबाट ओर्लिएपछि कोइरालालाई लिन सुरक्षाकर्मीहरू आएका थिए। अरू मानिसले उनीप्रति देखाएको श्रद्धाभाव देखेर रेखा चकित परिन्।
त्यो दिन गिरिजाप्रसादलाई आँखै अगाडि त्यसरी देखेपछि उनलाई आफू पनि यस्तै बन्न सक्छु होला भन्ने लागेको थियो।
त्यही प्रभावले हो, उनी राजनीतिमा आएकी। उनको राजनीतिक यात्रा गिरिजाप्रसादकै पार्टी नेपाली कांग्रेसबाट भने सुरू भएन, नेकपा माओवादीबाट भयो।
२०६५ सालमा पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि माओवादीले आन्दोलन कार्यक्रम गरेको थियो। त्यही क्रममा रेखा स्टेजमा उक्लेर प्रचण्डसँगै 'लालुपाते नुग्यो भुइँतिर' गीतमा नाचिन्। त्यो नृत्यले निकै चर्चा पायो।
रेखा राजनीतिमा प्रवेश गर्ने स्पष्ट संकेत थियो त्यो।
दोस्रो संविधानसभा निर्वाचनमा रेखाले माओवादीबाट चुनाव लड्ने कुरा आयो। तर उनी उम्मेदवार भइनन्।
२०७३ सालमा उनले माओवादी छाडिन् र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरिन्।
पार्टी परिवर्तनबारे रेखा भन्छिन्, 'परिवर्तनशील मान्छेहरू एकै ठाउँ बस्दैनन्। पार्टी परिवर्तन गर्नु सामान्य हो। माओवादीलाई मेरो एक किसिमको समर्थन र साथ थियो। तर म आफ्नो देशभित्र कुनै पनि पार्टीमा रहेर जनताको सेवा गर्न सक्छु। खासमा हरेक व्यक्ति आफैंमा एउटा पार्टी हो। ऊ राम्रो नियत बोकेर काम गर्छ भने सफल हुन्छ।'
२०७८ सालको राप्रपा महाधिवेशनमा रेखाले महामन्त्रीमा उम्मेदवारी दिएकी थिइन्। जित भएन।
त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले मोरङ–३ बाट उम्मेदवारी दिइन्। त्यसमा पनि पराजित भइन्।
चुनाव हारे पनि आफ्नो हौसला नहारेको उनी बताउँछिन्।
'परिवर्तन गर्न हिँडेको मान्छे सुरूमा हारेकै हुन्छन्। म सुरूमा फिल्ममा पनि हारेकै थिएँ। केही वर्ष फिल्म नै पाइनँ। यस हिसाबले म एकदम खुसी छु। आज मन्त्री हुने, भोलि खुस्किने नाम होइन रेखा थापा। मेरो नाम सदाबहार लोकप्रिय छ। मान्छेहरू आउँछन्, जान्छन्। म राजनीतिमा आएको १५ वर्ष भयो,' उनले भनिन्, 'मलाई प्रदीप गिरि असाध्यै राम्रो लाग्ने व्यक्तित्व हो। उहाँले कहिल्यै पद खोज्नुभएन। तर एउटा असल र इमानदार व्यक्तिलाई देशले चिन्दै चिन्दैन। जे पाए त्यही बोल्ने, गालीगलौज गर्नेलाई जनताले पत्याइदिनुहुन्छ। त्यो दुर्भाग्य हो।'
'इमानदार, सच्चा र देशको सेवकलाई चिन्ने चस्मा कहिले फेर्ने हो,' उनी प्रश्नसँगै थप्छिन्, 'जहिले त्यो चस्मा फेरिन्छ, त्यो बेला रेखा थापालाई चिन्छन्। यो मेरो सुरूआत हो। चुनाव हारे पनि जमानत जफत भएन। दुई महिनाको भ्रमणमा ११ हजार मत ल्याएँ, सानो कुरा होइन। मैले यसलाई ठूलो उपहारका रूपमा लिएकी छु।'
उनी आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिइरहने बताउँछिन्।
अहिले भने उनी आफ्नो जीवनको नयाँ यात्रामा व्यस्त छिन्।
जीवनको सहयात्री आफूले खोजेजस्तै पाएकाले खुसी 'डबल' भएको उनी बताउँछिन्।
श्रीमान बलराम शाहीसँग रेखा थापा। तस्बिर: निशा भण्डारी/सेतोपाटी
'म आफ्नो उमेर मिल्ने, काले काले खालको केटाको पखाईमा थिएँ,' उनले आफ्ना श्रीमान बलराम शाहीतिर हेरेर हाँस्दै भनिन्, 'पहिले पनि कसैले बिहेको बारेमा सोध्दा मेरो श्रीमान विदेशबाट आउँछ भन्थेँ।'
नभन्दै अमेरिकाबाट आएका बलराममा उनले आफूले कल्पना गरेजस्तै गुणहरू भेटिन्। उनीसँग निकै तालमेल मिलेको अनुभव हुन्छ रेखालाई।
उनीहरूको भेट कोरोना लकडाउन बेला भएको थियो। रेखा सडकका कुकुरलाई खानेकुरा खुवाउन गएकी थिइन्। घर फर्किँदै गर्दा उनले एक जना चिनजानका भाइ भेटिन्। ती भाइसँगै थिए, बलराम।
उनीहरू कफी खान बसे।
नम्बर साटासाट भयो।
फर्केर म्यासेज लेखिन् — तिम्रो र मेरो अघिल्लो जन्मको सम्बन्ध छ!
'पहिला त म रेखाको लुक्सले प्रभावित भएँ,' बलरामले रेखालाई हेर्दै भने, 'म पनि बुझ्ने मान्छेको खोजीमा थिएँ। मान्छे बाहिरी रूपले मात्र होइन, भित्रैदेखि राम्रो हुनुपर्छ। धेरै वर्षको खोजीपछि त्यो कुरा रेखामा पाएँ।'
उनीहरूको सम्बन्धको अझ रमाइलो कुरा के भने — बलरामले रेखा थापालाई चिनेका थिएनन्। बलराम व्यवसायी हुन्, 'तपस टुर' का सिइओ। पहिलोपटक भेट हुँदा बलरामले रेखालाई आफ्नो साथीकी दिदीका रूपमा चिने। उनी नेपालकी चर्चित अभिनेत्री, फिल्म निर्माता र राजनीतिमा समेत सक्रिय व्यक्ति हुन् भन्नेबारे थाहै नभएको उनी बताउँछन्।
बलराम सानै उमेरदेखि अमेरिका बसेका हुन्। त्यसैले नेपाली फिल्म र कलाकारबारे धेरै जानकार थिएनन्। राजेश हमालबाहेक उनी कसैलाई चिन्दैन थिए।
'फिल्म क्षेत्रको मान्छे चिन्ने माहोल नै थिएन मेरो। पछि रेखा पनि राजेश हमालजस्तै हाइप भएकी हिरोइन हुन् भन्ने थाहा पाएँ। रेखाजस्तो मान्छे श्रीमतीका रूपमा पाउँदा आफूलाई भाग्यमानी ठान्छु,' बलरामले भने।
डेढ वर्षजति कुराकानी गरेपछि उनीहरूले कानुनी रूपमा विवाह गरेका हुन्।
'कतिपय केटीहरूलाई बिहे गरौं कि नगरौं हुन्छ। तर उहाँलाई भेटेपछि मलाई बिहे गर्छु भन्ने भयो,' रेखाले भनिन्।
बलरामको परिवार अमेरिकामा छ। परिवारकै आग्रहमा उनीहरू अमेरिका गएका थिए। त्यहीँ छोरीको जन्म भयो।
यसबीच रेखाको नयाँ फिल्म 'उपहार' पनि आयो, जसमा उनको एक्सन भूमिका छ। शारीरिक अवस्थाका कारण खुलेर एक्सन गर्न भने नपाएको उनी बताउँछिन्।
यही फिल्म छायांकनमा जानुभन्दा एक महिनाअघि रेखाले आफू गर्भवती भएको थाहा पाएकी थिइन्। सुरूमा फिल्म खेल्ने कि नखेल्ने, अन्योल भयो। शारीरिक रूपमा कठिन भयो भने के गर्ने भन्ने चिन्ता थियो।
'दबंग' रेखा यसपालि पनि पछि हटिनन्।
'म मेरो मेहनत, आत्मबल, सही नियत र सत्कर्मले आज रेखा थापा भएकी छु। म अझै बनिसकेकी छैन, केही कुरा बाँकी छन्। मैले रूपान्तरण र परिवर्तनको जुन बिउ रोपेकी छु, त्यो फलाउन बाँकी छ,' रेखा थापाले भनिन्।
...