Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, माघ १८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

चोखो कुवा

Nmb
Nmb
डा. राजु अधिकारी

डा. राजु अधिकारी

gibl
gibl
gibl
gibl
डा. राजु अधिकारी।
डा. राजु अधिकारी।
Tata box 1
Tata box 1

रात पर्न लागेको थियो। गोधुलीको त्यो झिसमिसेमा कुवाँमा पानी भरेर घर फर्कन लागेका पँधेर्नीहरु टाउको र कम्मरमा माटाका घैंटा बोकेर लहरै हिंडेका देखिन्थे। पँधेर्नीहरु घर फर्केपछि कुवाँ खाली भैसकेको थियो।

त्यही बेला पूर्वतिरबाट एकजना युवक दोडिदै आयो र सबैले देख्दा देख्दै कुवाँमा हाम फाल्यो। ऊ अरु कोही नभई पल्लो गाउँ डाँगीको साहिंलो छोरो थियो। जन्मदै अलि लठेब्रो ऊ पछि-पछि गाउँलेले मात्र हैन परिवारकाले पनि टोकस्न थालेपछि झन् सुस्त मनस्थितिको भएको थियो र घृणा र अपमान सहन गर्न नसकी आत्महत्या गर्ने सजिलो बाटो रोजेको थियो। ऊ आफ्नो योजनाअनुसार त्यो दिन कुवाँमा हाम फालेको थियो।

भर्खर चैतको महिना सुरु भएको थियो। चालिस हात गहिरो त्यो कुवाँमा दश हात जति पानी हुँदो हो। त्यति गहिरो कुवाँमा पसेर डाँगीको छोरोलाई बचाउने कसैको हिम्मत आएन। फेरि त्यो लठेब्रोलाई बचाए पनि के नै हुने हो र भन्नेमा सबैको एकैमत थियो।

‘मर्यो, ठिकै भयो’ भन्नेमा सबैको मतैक्यता भयो। डाँगी परिवारले छोरो मरेकोमा गाउँलेहरुको सहानुभूतिभन्दा छोरोलाई नस्याहारेकोमा खप्की खाए। जस्तो भए पनि आफ्नो सन्तान मर्दा कस्लाई पो पीडा नहोला र? तै पनि ‘बाँचेरै पो के नै गर्थ्यो र? मरेर सुखै पायो’ भन्ने सम्झी डाँगीका परिवारले पनि चित्त बुझाए।

फलामका काँटा हालेर साँझ नौ बजेतिर उसको लास कुवाँबाट निकालियो। काँटाले घोंचेर रक्ताम्य र छत बिछत भैसकेको उसको लास हेर्ने जस्तो थिएन। मान्छे मरेपछि त्यो कुवाँको पानी खाने कुरो भएन।

पानी मात्रै नखाने हैन, त्यो दिनदेखि मान्छेहरु भुत लाग्ने डरले त्यो कुवाँको नजिक जान पनि छोडे। सबैको सल्लाहअनुसार ढुङ्गा माटो हालेर दुई दिनपछि त्यो कुवाँ पुरियो। बिसौं वर्षदेखि वरपरका तीन/चार गाउँलाई पानी खुवाइरहेको त्यो कुवाँको अस्तित्व इतिहासमा सिमित भयो।

अधिकांश बाहुनहरु, केही क्षेत्री र केही घर थारु भएको त्यो गाउँमा त्यो कुवाँ गाउँको लागि जीवनकुण्ड जस्तै थियो। चैत सुरु नहुँदै खहरे सोतोको जरुवा सुकिहाल्थ्यो। अनि अर्को बर्खा सुरु नहुँदासम्म पानी खाने भनेकै त्यही कुवाँको थियो। बर्खा सुरु भएपछि सोताको जरुवामा पानी आउन सुरु गरे पनि नजिक पर्ने भएकोले धेरै जसोले कुवाँ नै प्रयोग गर्थे।

Laxmi bank
Laxmi bank

कहिले नसुक्ने सबभन्दा नजिकको जरुवा भनेको कृष्णपुरको भमइ खोलामा बेलको रुख मुनीको ‘तल्लो जरुवा’ थियो। तर लगभग डेढ किलोमिटरको दूरीमा रहेको त्यो जरुवाबाट पानी बोकेर ल्याउनु सजिलो काम थिएन। त्यसैले गाउँमा तुरुन्तै अर्को कुवाँ नखनी सुख थिएन।

तेस्रो दिन हरि प्रसादको घरमा सबै गाउँलेहरुको बैठक बसेर जसरी भए पनि चैत मसान्तसम्म नयाँ कुवाँ खनेर सकाउनै पर्ने कुरो टुङ्गो लाग्यो। समय पनि ठ्याक्कै मिलेको थियो। कुवाँ खन्ने समय भनेकै चैत वैशाखमै हो। वैशाखमा खनेको कुवाँमा पानी निस्क्यो भने त्यो कुवाँ कहिले पनि सुक्दैन।

Ncell
Ncell

'तर यति छिटो को पाइन्छ र कुवाँ खन्ने मान्छे?' केशवराजले बैठकमा आफ्नो शंका व्यक्त गरे।

'पल्लो गाउँको चुके कामीको छोरो भक्ते के हो तो, त्यसैले खन्छ' हरि प्रसादले भने।

'कामीले खन्या कुवाँको पानी त कसरी खानी हो र?' केशवराजले नाक खुम्च्याउँदै भने।

'इन्डियाका देशी आउँछन् त के र काम खोज्न, तिनैलाई खन्न भने त भै’गो नि, सस्तो पनि हुन्छ' माधवले भने।

'कल्ले पर्खिन्छ देशीलाई, आफ्नै ठाउँको मान्छे हुँदाहुँदै? त्यै भक्तेले खन्या कुवाँको पानी खाएर अर्घुका बाउन बाँचि’राछन्, हाम्ले खाए हामी के बिटुल्लिम्ला र?' हरि प्रसादका मामा पर्ने योग प्रसाद भान्जाको समर्थनमा बोले।

केशवराजको मुखमा ताल्चा लागिहाल्यो। त्यसै पनि समाज पहिलेभन्दा धेरै उदार भैसकेको थियो। त्यसैले भक्तेलाई नै कुवाँ खन्न जिम्मा दिने कुरामा सबै सहमत भए।

गुर्जेको चुके कामीले वरपर गाउँका सबैको हात हतियार बनाउने काम गर्थ्यो। उसको वास्तविक नाम के थियो कमैलाई मात्र थाहा थियो तर वर्ण अलि कालो भएकोले सबैले चुके कामी भन्थे र त्यही नामबाट नै ऊ चिनिएको थियो। वैशाख सुरु भएदेखि जेठको अन्तसम्म उसलाई भ्याई-नभ्याई काम हुन्थ्यो।

उसले बर्खामा खेती गर्दा चाहिने हलोको फाली, कोदाली, फरुवा मात्र हैन घरका दैनिक काममा चाहिने हँसिया, खुर्पा, गैंती, छिना, घन, बन्चरो, बछुला, खुकुरीदेखि भान्छामा प्रयोग हुने चुलेँसी, झिर, डाडु, कर्चुलो, कराहीसम्म सबै बनाउँथ्यो। सानो छँदा भक्तेले पनि बाउको काममा सघाउँथ्यो तर अलि ठूलो भएपछि उसलाई आरनमा बस्न त्यति मन परेन अनि अरु नै काम गर्न थालेको थियो।

सिकर्मी, डकर्मीको साथै उसले कुवाँ खन्ने काम पनि सिकेको थियो। खन्नेभन्दा पनि कुवाँमा लगाउने सिमेन्टका रिङहरु बनाउने र ती रिङहरुलाई कुवाँ भित्र राख्ने काममा उ निपुण थियो। त्यो काम अलि गाह्रो र खतरनाक पनि भएकोले त्यो काम गर्ने मान्छे सितिमिति पाइँदैनथे।

त्यसका अलावा फुर्सदको बेला गुर्जे खोलामा माछा पनि मार्थ्यो र अलि धेरै माछा मारेको दिन गाउँका बाहुनहरुसँग कहिले पैसा र कहिले जडनको चामलसँग माछा बेच्थ्यो। आफूलाई कुवाँ खनाउन लगाउने थाहा पाएपछि भक्ते पनि मख्ख पर्‍यो।

पैसा उठाउन सक्नेले पैसा उठाउने र पैसा उठाउने नसक्नेले कुवाँ खन्ने काम गर्ने सबैको सहमति भयो। भक्तेले पनि छिमेकी गाउँको काम भएकोले अलि कम ज्यालामा काम गर्ने भयो। कुवाँ बनेपछि गुर्जे खोला पुगेर पानी भर्ने आफ्नी स्वास्नीलाई पनि अलि नजिक होला भन्ने उसले सोंचेको थियो।

अर्को दिन नै नगद निकाल्न सक्नेहरुबाट पैसा लिएर तुरुन्तै घोराहीबाट सिमेन्ट र छड किनेर शेरेको घोंडामा लादेर ल्याइयो। भमइ सोताका ढुङ्गा जम्मा गरेर कसैले गिट्टी कुट्न थाले भने कसैले गैँती, फरुवा कोदाली जे-जे छ त्यही लगेर कुवाँ खन्न थाले।

चैतको गर्मीमा कुवाँ खन्न सजिलो थिएन तर पनि माहोल निकै रमाइलो थियो।

सबैले गीत गाउँदै, रमाइलो गर्दै कुवाँ खन्दा कसैले पनि थकाइ महशुस गरेका थिएनन्। जति जति गहिरो हुँदै गयो, खन्ने काम उति-उति कठिन हुँदै गयो तर भक्तेलाई कुवाँ खन्ने सबै तरिका थाहा भएकोले केही गाह्रो भएन। सोचेभन्दा छिट्टो कुवाँ खन्ने प्रगति भयो। चालिस हात गहिरो खनिसक्दा पानी रसायो।

सबै खुसीले दङ्ग परे। थकान मेटियो, वातावरण उल्लासमाय भयो। अरु पाँच हात खनेपछि त भल्भलती नै पानी निस्कन थाल्यो। पानी धेरै भएकोले त्योभन्दा धेरै खन्न पनि सकिएन। सोचेभन्दा निकै कम समय- सात दिनमै कुवाँ खनेर सकियो। तर कुवाँमा रिङ हाल्ने मुख्य काम त बाँकी नै थियो। खन्न त के गाह्रो थियो र, रिङ हाल्नु सबभन्दा कठिन र खतरनाक काम थियो।

मोटो बनकसको डोरीले बाँधेर छिटुवामा हालेर गाउँलेहरुले भक्ते र चाहिने जति सिमेन्ट र बालुवाको झोल कुवाँको पिंधसम्म पुर्‍याए। त्यसपछि रिङहरु पनि एक एक गर्दै तल झारे। निकै होशियारीपूर्वक एउटा रिङमाथि अर्को रिङ राख्दै भक्तेले पानी भएको भागमा रिङ राख्ने काम सकायो। पानी माथिको भागमा रिङ राख्दै सिमेन्टले प्लास्टर गर्दै माथि-माथि गर्दै आयो।

छ दिनमा कुवाँमा सबै रिङहरु हालेर सकियो। कुवाँ लागभग तयार भयो। तर फेरि कुनै पागल गएर कुवाँमा हाम नफालोस् भनेर केशवराजले कुवाँमा ताल्चा लगाउने प्रस्ताव राख्दै भने, 'अब त कुवाँमा ताल पनि लगाउनी हो, फेरि कुन दिन कुन बौला आएर मोर्ला के थाहा?'

'अलबलै, कुवाँमा पनि कसैले ताल लाउँचन्? को मोर्नी थ्यो र अब? सप्पै डाँङीका छोरा जस्ता हुन्छन् र?' गिरिराजले भने।

'हैन अर्को एउटो रिङ थपेर एउटो ढक्कन थपे त भै’गो ए। के बिग्रन्छ र ताल लगाएर?' केशवराजले मानेनन्। सबैको सहमति अनुसार कुवाँमा ताल्चा लगाउने व्यवस्था पनि मिलाइयो।

कुवाँ तयार भयो। तर अर्को एउटा समस्या थियो- भक्तेले रिङ हालेको कुवाँ कसरी शुद्ध बनाउने भनेर।

'अर्घुकाले के गर्‍या रैचन् र?' सबै बाहुनहरु जम्मा गराएर हरि प्रसादले सोधे।

'अलि अलि पुजा गर्‍या जस्तो गरेर सुन पानी छिटेर खान सुरु गर्‍या हुन् रे' टिकारामले आफूले सुनेको कुरो बताए।

'उसो भए हाम्ले पनि त्यै गर्नी त हो। के भन्नुहुन्छ मामाले?' हरि प्रसादले योग प्रसादलाई सोधे। योग प्रसाद गाउँका सबैभन्दा पाका उमेरका भएकोले उनले भनेको कुरो सितिमिति कसैले काट्दैनथे।

'दे तो के गर्नी हो? भान्जा तिम्ले आफै मभन्दा बढी बुझ्याछौ, सबैले जे भन्छन् त्यै गर्नी त हो के र, मैले के भनम् तो' बुढाले जिम्मेवारी बहन गर्न अलि डर मानेर सबैको विचार अनुसार गर्न सुझाए।

'उसो भा’ अर्घुकाले गर्‍या जस्तै गर्नि त हो, सुन पानी छिट्नी, खानी' हरि प्रसादले सजिलो उपाय सुझाए।

'हँसिबाट त्यो भक्तेले छ्वा’को, त्यसले कुच्या कुवाँको पानी खानी?' केशवराजले फेरि नाक खुम्च्याए।

'उसो भए यसो गरम् न तो- माथि-माथिको पानी सप्पै निकालेर फालम्, कुवाँमा धुप बत्ती गर्दिम्, अनि दुई भुड्की सुन पानीमा अलिकति गंगालज पनि मिसाएर कुवाँमा हालम्। त्यति गरेपछि त शुद्ध होला नि?' हरि प्रसादले अर्को गजबको उपाए सुझाए।

हरि प्रसादको उपायमा सबैले सहमत जनाए। अर्को दिन थारुहरुलाई लगाएर कुवाँमा जम्मा भएको निकाल्न सकिने जति सबै पानी निकालेर फाल्न लगाइयो। अनि पर्सीपल्ट बिहानै हरि प्रसाद कुवाँमा गएर धुप बत्ती गरे अनि गंगाजल मिसाएको दुई भुड्की सुन पानी कुवाँमा खन्याएर कुवाँ शुद्ध बनाए र बाल्टिनबाट पानी निकालेर अलिकति पानी आफ्नो मुखमा हालेर कुवाँको उद्घाटन गरे। त्यो दिन देखि नयाँ र चोखो कुवाँको प्रयोग विधिवत रुपमा सुरु भयो।

कुवाँ सुरु भएपछि भक्तेकी स्वास्नी गौंथली पनि डोकोमा माटोको घैंटो बोकेर कुवाँमा पानी भर्न गई। हुन त पहिलेको कुवाँमा गौंथली कहिले पनि पानी भर्न जाने आँट गरेकी थिइनँ, नयाँ कुवाँ आफ्नै लोग्नेले खनेको हुनाले बाहुनहरु उदार भैसके भन्ने ठानेर आफूलाई पानी भर्न कसैले रोक्लान् भन्ने गौंथलीले सोचेकि थिइनँ।

कुवाँको नजिकै पुगेकी सुन्तलीलाई देखेर काखीसम्म पेटीकोट बाँधेर नुहाउन लागेको एउटी अधबैंशे बाहुनीले सोधिन् 'काँ जान लागिस् ए गौंथली?'

'पानी भर्न आहम् बोई' गौंथलीले सोझो उत्तर दिई।

'गुर्जे खोला नगएर काँ ह्याँ मोरिछेस् तो?' बाहुनीले शरीरमा पानी खन्याउँदै फेरि सोधिन्।

'गुर्जे खोलाभन्दा कुवाँ नजिक भयो, अब त हिंबाट भर्नी हो बोई' गौंथलीले भनी।

गौंथलीको कुरा सुनेर बाहुनी र त्यहाँ भएका अरु सबैले मुखा मुख गरे। सबैको मुखाकृति देखेपछि गौंथली अलिकति झस्किई।

'कुवाँ छोइन्च भन्नी था’ छैन तँलाई?' बाहुनीले हकारेको जस्तो स्वरमा गौंथलीलाई भनिन्।

'हाम्रा घरकाले त खन्या हुन के र। खन्दा नछोइनि ऐली छोइनी हुन्छ र बोई?' गौंथली पनि के कम, मुख भरिको जवाफ फर्काई।

'बढी जान्ने हुन्छे। तेरो पोइले छ्वा’को पानी त निकालेर फालिसक्यो, पुजा गरेर, धुप बत्ती बालेर सुन पानी र गंगाजल छिटेर चोखो बनाइसकिम हाम्ले कुवाँ, अब छुन पाउँदैनेस् तैंले। जा उतै गुर्जे खोलामा गएर भर्' बाहुनीले आदेशको लवजमा भनिन्।

'अनि हाम्रा घरकाले हाल्या रिङग त भित्रै छ त, रिङ छोइन्न तो बोई?' बाहुनीको तर्कले आफूलाई विश्वस्त पार्न नसकेपछि गौंथलीले भनी।

'रिङ छोइन्न भन्ने था’ छैन तँलाई? सुख्खा सामान छोइन्न। टमटाले बना’को ताउलो छोइन्च? सुनारले बना’को गहना छोइन्च? कामीले बना’को कराई छोइन्च? सार्कीले बना’को जुत्ता छोइन्च? दमाइले सिला’को लुगा छोइन्च? चमारले बना’को खाट छोइन्च? चुनारोले बना’को कोसी र ठेकी छोइन्च? पानी पो छोइनी हो नि। कुरा सुरा बुझ्नु छैन, त्यत्तिकै बढी जान्नी हुन्चे' बाहुनीले राम्रै पाठ पढाउँदै गौंथलीलाई हकारिन्।

के कुरो छोइने, के कुरो नछोइने भन्ने त्यति धेरै कुरा गौंथलीलाई थाहा रहेनछ। बाहुनीबाट दिव्य ज्ञान प्राप्त गरे झैं अचम्म मानेर ऊ एकछिन् टोलाई र आफू पहिले कति मूर्ख रहिछु भन्ने ठानेर प्रष्ट हुन उसले फेरि सोधी 'उसो भए पानी परेर चिसो भएपछि मात्रै छोइने हो बोई?'

'त्यै त हो नि। बल्ल बुझिस्?' बाहुनीले पूरै वेद नै पढाएको जस्तो गरेर फूर्ति गर्दै भनिन्।

गौंथलीले स्वीकारोक्तिमा टाउको हल्लाई तर उसको दिमागमा एकाएक अर्को प्रश्नले बास गर्‍यो। त्यो प्रश्नको उत्तर पनि थाहा पाइहालौं न त भन्ने सोचेर गौंथलीले बाहुनीलाई सोधी, 'उसो भए हाम्रो घरकाले मारेको माछा किन छोइन्न तो बोई? माछा पनि चिसै त हुन्छ नि हैन र?'

बाहुनीलाई गौंथलीको प्रश्नले अकमक्कमा पार्‍यो। उनी गौंथलीलाई फेरि मुख भरिको उत्तर दिन चाहन्थिन् तर उत्तर नै भेटिएन।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १०:५५
सिफारिस
माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश
माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश
चितुवाभन्दा फुर्तिला 'टाइगर' दीपेन्द्र
चितुवाभन्दा फुर्तिला 'टाइगर' दीपेन्द्र
नेपाली मिलन केन्द्र आन्त्वेर्पेनमा नयाँ नेतृत्व
नेपाली मिलन केन्द्र आन्त्वेर्पेनमा नयाँ नेतृत्व
नाफामा अग्रणी बनेको नबिल बैंकको कस्तो छ सेयर?
नाफामा अग्रणी बनेको नबिल बैंकको कस्तो छ सेयर?
'फेरि भिसा नपाइने चिन्ताले फर्किहाल्न सकेको छैन'
'फेरि भिसा नपाइने चिन्ताले फर्किहाल्न सकेको छैन'
त्यो हातको इसारा नै अन्तिम कुराकानी बन्यो पार्वती र देवको
त्यो हातको इसारा नै अन्तिम कुराकानी बन्यो पार्वती र देवको
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

पहिले मैले रिजेक्ट गरेँ, अहिले पालो तपाईंको!
विवाह पछिको प्रेमले बर्बाद बनायो उसको दाम्पत्य जीवन!
नेताजी… आउनुस् न, फोटो खिचौँ!
सकिँदैछ एउटा युग!
काफ्काई: सत्ता, शक्ति र अस्तित्वको दर्शन!
फर्केर आउनुस्, गाउँ अझै बाँकी छ!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP