अचम्म लाग्छ कहिलेकाहीँ
एकान्तमा त्यसै हराएकी थिएँ
भिडहरूको कोलाहलमा भन्दा
आफैभित्र रमाएकी थिएँ।
बस्तीहरूको यी भिडबाट
किन मलाई तिमीले रोज्यौ?
भिडमा एक्लै हराएकी थिएँ
किन मलाई तिमीले खोज्यौ?
हात तानी आफ्नो मुटुभित्र
तिमीले जतन गरी पो राख्यौ
अस्तित्वको बोध गराउँदै
किन मलाई तिमीले अँगाल्यौ?
बग्ने आँसु बगिरहँदा
तिमीले पुछ्ने रुमाल दियौ
रुँदा रुँदै थाकेका आँखामा
किन तिमीले मुस्कान छर्यौ?
आँखा रुन्छ आँखा हाँस्छ
तर पनि यो आँसु किन?
पिउँदा पिउँदै प्यास लाग्ने
कस्तो तिमीले तिर्खा दियौ?
हराउनुमै मस्त थिएँ
एकान्त नै साथी थिएँ
खोज्नुको सफलतामा
कस्तो तिमीले यो जीवन दियौ?
नादका गुञ्जने ध्वनिहरूले
रित्ता मेरा पात्रता भर्यौ
संकल्पका अनित्य वाचाहरूले
अद्भुत तिमीले यो अनुभूति दियौ।