खासमा नभनेको
नपोखेको मात्र हो
भन्न मन लागे पनि
मन भित्रै राखेको मात्र हो
अब त!
भन्न पनि मिलेन, मिल्दैन।
देख्छु,
तिमी आफ्नै श्रवणसँग
आफ्नै दृष्टिसँग लडिरहेको
आफ्नै बुढ्यौलीसँग लडिरहेको
अनि
कसरी पोख्नु?
कसरी पो भन्नु?
बा!
खासमा अझै पनि
मलाई परेका मुस्किलहरूका
गुनासोहरू तिमीलाई पोख्न मन लाग्छ
अनि मलाई आइपर्ने
सबै सबै मुस्किलका गाँठोहरू
तिमीले फुकाइदिए हुने भन्न मन लाग्छ।
अझै पनि
यो भएन, त्यो भएन भनी
तिमीलाई मागहरू राख्न मन लाग्छ
अझै पनि
मैले कहीँकतै बाटो नपाउँदा
पछाडिबाट के भो! भन्दै
तिमी आए हुने
भन्न मन लाग्छ।
जीवन गाह्रो हुँदा
साह्रो हुँदा
तिमी आई
सानोमा झैँ फु फु फु फुकिदिएर
सबै ठिक पारिदिए हुने
भन्न मन लाग्छ।
जीवन यात्रामा थाक्दा
संघर्षहरूमा गल्दा
तिमी आई सानोमा झैँ
मलाई काँधमा चढाइ
अलि परसम्म पुर्याइदिए हुने
आस गर्न मन लाग्छ।
बा!
अझै पनि सबै-सबै कुराहरू
तिमीलाई भन्न मन लाग्छ
यो भएन त्यो भएन भनी
मागहरू राख्न मन लाग्छ...।