न पाइन्छन् उपन्यासका पानाहरूमा
न भेटिन्छन् कविताका पङ्क्तिहरूमा
न त गुन्जिन्छन् गीतका अन्तराहरूमै
यो त शासकहरूको नजर नपुगेको सवाल हो
जुन प्रकाशित हुन्छ पाँच-पाँच वर्षमा
देशको नतिजा बनेर!
खै कसले देख्यो र?
त्यो पोसाकभन्दा पनि निलो भएर जमेका
पसिनाका दहहरूमा पौडिरहेको!
खै कसले महसुस गर्यो र?
हातको त्यो लौरोभन्दा पनि बलियो लौरो बर्साएर
समयले उठाइरहेको टुटुल्को
अनि बसाइरहेको सुम्लाहरू।
उ हेर त त्यहाँ,
नेतृत्वले विगतमा खुवाएको मिठो भाषणलाई
धिक्कारी रहेछन् नमिठो गरी
योजनाविद्का योजनाहरूलाई गिज्याउँदै
शैक्षिक प्रमाण-पत्रलाई खोस्टो प्रमाणित गर्दै
चालिस दिनको लागि तँछाडमछाड गर्दैछन्
ऊर्जाशील नौजवान युवाहरू!
ए चुनावी नशा पिएर मात लागेकाहरू हो
एकैछिन हेर त एक्कै छिन
तिमीहरूले बाँडेको सपनाहरू
बालुवाको महल घोषित भइरहेछ
तिम्रो जिन्दाबाद मुर्दावादको नारा रोकेर
तिम्रो राजनीतिक झन्डा बिसाएर
ती निधारका धर्साहरूमा पढ
ओठका कलेटीहरूमा पढ
सजिलै भेट्ने छौ सटिक उत्तर
अनि छर्लङ्ग तथ्यांक
आँखाको डिलमै रोकेर नुनिला ढिक्का
घाँटीमा गुम्स्याएर मौन चीत्कार
लामो सुस्केरा हाल्दै
लाम्वद्ध युवाहरूले
काखमा भविष्य च्यापेका दिदी-बहिनीहरूले
दर्साइरहेछन्
देशको दुर्दशा र नियति!
हेर्नुस् त उम्मेदवार ज्यु,
अभावले हासिल गरिरहेछ अग्रता
दोहोराउँदै पराजयको शृङ्खला
ऋणले मनाइरहेछ विजय उत्सव।
रोकेर तपाईंका प्रतिबद्धताहरू हेर्नुहोस् त,
असरल्लै छरिएर मक्किएका
सुखको सपना पूरा गर्ने घोषणापत्रहरू
स्वाभिमानको मनोनयन दर्ता गर्दै
हत्केलाको मतपत्रमा उठेका चिन्हहरू!
ए जनप्रतिनिधि ज्यु,
नियाल्नुहोस् त त्यो घुमाइ
तपाईंको कुर्सीभन्दा पनि सयौँ गुणा
फनफनी घुमिरहेछ
रिँगटा चलाइरहेछ!
लोकतन्त्रको पहरेदार भएर आज
सोधिरहेछन् लोकलाई नै
के रोकिएला त हाम्रो यो भेल
पाँच-पाँच वर्षमा बनाइने बाँधले?
प्रश्नसँगै दिइरहेछन्
एउटा अदृश्य अघोषित चेतावनी:
राष्ट्रिय म्यादी पार्टी नामको नपत्याउँदो बाढीले
कुनै दिन नबगाउला भन्न सकिन्न
लाजनीतिज्ञहरूलाई!