लमतन्न खोला बगर
हिउँदो मास सेतै फुलेको सिरु
हरियो घाँसले भरिएको ठुल्दिदी डोको।
हिउँदभरि उल्लास बोक्ने बगर
एक कुनामा समेटिएको पानीको सानो भंगालो
सुरुवाल अलिकति सुर्किएर खोला पार गर्ने बटुवा
अनि साइकलको स्पिड बढाएर खोला पार गर्ने केटाकेटी।
हिउँदभरि सुक्खा हुने बगर
वैशाख जेठमा घाम चर्किएसँगै पाइतालामा बालुवाले फूल उठाउँछ
चुर खाएर सिरुभारीमा सलाईको काँटी फाल्ने ठुल्दाइको बानीले
सिरुबारी डढेलोको सिकार हुन्छ।
असारको सुरुवातसँगै दर्कने वर्षा
रुखका जरा र काँसको ठुटा बगाउँदै आउने भेल
कमिलाको ताँती र धमिराको देवल बगाउँदै
आउने बाढी।
चौबिसै घण्टा सुसाउने खोला
किनाराको दायाँ कटान बायाँ कटान
यता खोला पस्यो उता बाढी पस्योको हल्लाखल्ला
गाउँभर हल्ला टोलभरि त्रास
माइला दाइको खेत काट्यो जन्तरेको उठायो बास।
माथिल्लो गाउँको धानबाली सबै पुर्यो
तल्लो गाउँ नै उठीबास लगायो
खोलाघरे काकाको स्कुलमा बास छ
गैराघरे कान्छी माइतीको शरणमा छिन्
परार यस्तै, पोहोर यस्तै, अहिले यस्तै
सायद आघौँ पनि यस्तै।
बाढी पसेर गर्नु बिगार गरेर गएपछि
वडा आउँछ, पालिका आउँछ
प्रहरी आउँछ, प्रशासन आउँछ
पत्रिका आउँछ, रेडियो आउँछ
अचेल त झन् युट्युब पनि आउँछ।
सत्तापक्ष आउँछ, प्रतिपक्ष आउँछ
स्वतन्त्र पक्ष आउँछ, नयाँ दल आउँछ
राहतमा चाउचाउ आउँछ, प्लास्टिक आउँछ
उस्तै परे च्यातिएको त्रिपाल पनि आउँछ
पीडा भाइरल हुन्छ, दुखको आँसु विदेश पुग्छ।
दुई/चार दिन मिठा-मिठा सपना आउँछ
ठुला-ठुला आश्वासन आउँछ
तर अर्को भाइरल खबरसँगै
यी पीडा गुमनाम हुन्छन्
पीडितका आँसु मूल्यहीन हुन्छन्।
फेरि हिउँद लागेसँगै खोला सुक्दै जान्छ
सिरु पलाउँछ, कमिलाको ताँती लाग्छ
ठुल्दिदीको घाँसको डोको भरिन्छ
पोहोर खेत कटान भएका घर बगाएका कहाँ छन् कसैलाई पत्तो हुन्न
अर्को वर्ष कस-कसको घर बग्ने हो त्यो पनि पत्तो छैन।
गाउँमा ढुंगे जालीको बजेट आयो रे
तर त्यो कता गयो खोला किनारका बासिन्दालाई थाहा छैन
तटबन्धको योजना पर्यो रे
त्यो पनि जग्गा कटान हुनेलाई पत्तो छैन।
तिनलाई थाहा छ त केवल
समय-समयमा चुनाव आउँछ
चुनावसँगै जिन्दाबाद र मुर्दावादको नारा आउँछ
मेरो पार्टी राम्रो तेरो पार्टी नराम्रोको बहस आउँछ।