पुरूष र प्रकृतिको द्वन्द्वबीच,
प्रकृतिको वसन्तमा हुने परिवर्तनसँगै,
देखिने नयाँ नयाँ प्राकृतिक रसरंगमा,
अनेकथरिका फूलहरूबाट आउने सुगन्धले
फेरि नविन मौसमको आगमन।
फेरि मानिसहरू फगत सुखको खोजीमा,
कृतिम उल्लाहासको किनबेचमा,
खुसी मिल्ने महत्वकांक्षा बोकी,
पसलतिर भौतारिँदै छन् आज।
प्रकृतिले काँचुली फेर्दै गर्दा,
एक अन्जुलीभरको प्रेम सहितको मुस्कान,
सक्कली अनुहार छोप्दै फेरि हुलका हुल तछाड मछाडमा,
रगिंन अनुहारहरू यत्रतत्र पोखिएका छन्।
थाहा छैन त्यो क्षणभरको खुसी,
कतिबेला
पानीले पखालिन्छ,
उही सक्कली
अनुहार फेरि देखिने छ,
उही दोहोरिरहने तालिका वरिपरि घुम्ने छ,
किनकि भोलि फेरि रंग दलिने छैन।
शुभकामना छ तिमीलाई तिम्रो खुसी,
अरूलाई रंगले दलेर देखाउनु छैन,
किनकि तिम्रो खुसी कहिले औइलाउने छैन,
यो रंग त खुसी नहुनेले पो दल्ने हो,
तिमी सधैँ खुसी हुनु र सुखी पनि,
रगिंन शुभकामना तिमीलाई।
पुरूष र प्रकृतिबीचको मिलन जस्तै,
तिमी र मेरो सधैँ सन्निकर्षण हुनेछ,
पानीमा रंग घुले जस्तै तिमीमा सधैँ घुल्न सकूँ
अन्याय, अत्याचार, शोषण र
आसुरी प्रवृत्तिका विरूद्ध सधैँ प्रल्हाद झैँ अडिग हुनु,
होलिकाले झैँ हिरण्यकश्यपरूपी खराब प्रवृत्तिसँग लड्नू,
रगिंन शुभकामना तिमीलाई
प्रिय प्रकृति।