राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम ऐतिहासिक महाधिवेशनको अवसरमा मेरो तर्फबाट र नेपाली कांग्रेस पार्टीको तर्फबाट सम्पूर्ण सफलताको कामना व्यक्त गर्दछु।
पार्टी गठन भएको करिब चार वर्षको समयमा तपाईंहरूले जुन जनसमर्थन प्राप्त गर्नुभएको छ, यो लोभलाग्दो छ। म मुक्तकण्ठले यसको प्रशंसा गर्दछु।
संगठन निर्माणदेखि निर्वाचनमा सफलता प्राप्त गर्ने यो यात्रामा पार्टी सभापति आदरणीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुशलतापूर्वक नेतृत्वको साथ गर्नुभएको छ र तपाईंहरूले साथ दिनुभएको छ, यसका लागि तपाईंहरू सबै बधाईका पात्र हुनुहुन्छ। तपाईंहरू सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु।
यो अधिवेशनबाट नेतृत्व चयन कसरी गर्ने भन्नेबारेमा तपाईंहरूले निधो गरिसक्नुभयो भन्ने कुरा हामीले छापाहरूमा पढ्यौं। रविजीले नै फेरि सभापतिका रूपमा जिम्मेवारी लिने र बालेनजी वरिष्ठ नेताका रूपमा रहने भन्ने हामीले छापाहरूमा पढ्यौं। तपाईंहरूलाई दुवैलाई शुभकामना छ। तपाईंहरूले मिलेर सबै कुरा टुंग्याउँदै हुनुहुन्छ। तपाईंहरूले हामीलाई अप्ठ्यारो पनि पार्ने हुनुभयो।
डेमोक्रेसी, रूल अफ ल, इन्क्लुजन, र सोसल जस्टिस — यी केवल संविधानमा सजाउनका निम्ति राखिएका विषय मात्र रहेनन्, नेपाली समाजको डिएनएमा यी सबै कुरा राम्रोसँग घोलिएका छन्।
म विश्वास गर्दछु, राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनले समाजका आधारभूत मूल्यहरूमा आफ्नो दृष्टिकोण स्पष्ट बनाउँछ मात्र होइन, मन, वचन र कर्मले यी मूल्यहरूलाई लिएर अगाडि बढ्ने कुराको प्रण गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु।
नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो जनमत असाधारण छ। यसमा दुईमत छैन।
इतिहासमा तीन-चार पटक मात्र नेपालका राजनीतिक दलहरूले यस्तो खालको जनमत प्राप्त गरे। तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो। किन पर्यो त?
एउटा, राजनीतिक दलले जनमत प्राप्त गरेपछि ती राजनीतिक दलका नेताहरूको अहंकारका बीचमा टकराव भयो, व्यक्ति-व्यक्तिबीच टकराव भयो र त्यसैका कारण दुर्घटना भयो।
अर्को कुरा, जनमत प्राप्त गरिसकेपछि के बुझियो भने— यो जनमतले मलाई शक्ति दियो, तर शक्तिको पनि सीमा हुन्छ भनेर बुझिएन। त्यो शक्तिले हामीलाई सत्ताको उन्मादमा चढायो र त्यसले हामी अलोकतान्त्रिक व्यवहार गर्न थाल्यौं, जसका कारण जनमत दुर्घटनामा पर्यो। म कामना गर्दछु, राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो अवस्थाको सामना गर्नु नपरोस्। म यो शुभेच्छा व्यक्त गर्दछु।
तपाईंहरूलाई लाग्न सक्छ— कांग्रेसको एउटा सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना किन दिँदैछ?
यसका दुई कारण छन्।
पहिलो कारण, इतिहासले यो पनि बताएको छ - जुन जुन बेला जनमत प्राप्त गरेका पार्टीहरू दुर्घटनामा परे, आफूलाई सम्हाल्न सकेनन्, त्यो बेला पहिलो सिकार त्यो पार्टी मात्र भएनन्। सँगै रहेका अरू पार्टी पनि सिकार भए। उनीहरूसँगै सिंगो प्रणाली सिकार बन्यो, डेमोक्रेसी सिकार बन्यो, र सबैभन्दा बढी नेपाली नागरिक सिकार बने। हाम्रा अधिकार कुण्ठित भए, हाम्रा वर्षौं खेर गए र जेनेरेसन टु जेनेरेसन हामीले असफलता भोग्यौं। अब नेपालमा त्यस्तो नहोस् र राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको यो सफलता स्थिरताको निम्ति सही ढंगले अघि बढोस् भन्ने नेपाली कांग्रेस पार्टीको तर्फबाट म मनैदेखि शुभकामना व्यक्त गर्छु।
दोस्रो कारण, नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं। तपाईंहरूको अग्लाइ देखेर हामीलाई लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं, बन्छौं पनि एकदिन, तर तपाईंहरूलाई सानो बनाएर होइन। तपाईंहरूको खुट्टा काटेर होइन।मन, वचन र कर्मले इमानदारपूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौं।
हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं। हामी तपाईंहरू दुश्मन होइनौं। हामी संसद्मा प्रतिपक्ष हौं, तपाईंहरू सत्तापक्ष हुनुहुन्छ। जहाँ प्रश्न उठाउनुपर्ने, त्यहाँ प्रश्न उठाउँछौं। जहाँ औंला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौं। जहाँ थपडी बजाउनुपर्ने हो, त्यहाँ थपडी पनि बजाउँछौं।
नीति तथा कार्यक्रम पारित गर्ने बेला सम्माननीय प्रधानमन्त्रीजी आउनुभएन, हामीले मज्जाले औंला ठड्यायौं। तर याद गर्नुभयो, त्यही दिन राष्ट्रियसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक जना पनि सांसद हुनुहुन्नथ्यो। राष्ट्रिय सभामा अलमल थियो। त्यति बेला नेपाली कांग्रेसले भन्यो— भर्खर आएको सरकारको नीति र कार्यक्रम बिनाव्यवधान पारित हुनुपर्छ। हामीले प्रतिनिधिसभामा औंला उठायौं तर राष्ट्रिय सभामा थपडी बजाएर त्यही नीति र कार्यक्रम पारित गर्यौं।
हामी प्रतिपक्ष हौं, जहाँ औंला उठाउनुपर्छ, त्यहाँ औंला उठाउँछौं।
सरकारको एक जिम्मेवार मन्त्रीले कुनै एक नागरिकलाई रूखमा बाँध्नुपर्छ वा खुट्टा भाँच्नुपर्छ भन्यो भने हामी औंला उठाउँछौं। तर कानुनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराध वा गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा कांग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको बा होस्, हामी सरकारको पक्षमा उभिन्छौं, दह्रोसँग थपडी बजाउँछौं।
देशले सीमाना मिच्यो भन्दै गर्दा हामीले औंला उठायौं। तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सीमाना मिचेको छैन, मिच्न पनि दिन्न, हामी कसैको मिच्दा पनि मिच्दैनौं भनेर बोलेको दिन जोडदार ढंगले रास्वपाभन्दा ठूलो स्वरले हामी थपडी बजाउँछौं। हामी प्रतिपक्ष हौं, हामी प्रतिद्वन्द्वी होइनौं।
सम्माननीय प्रधानमन्त्रीज्यू, आदरणीय पार्टी सभापतिज्यू र आदरणीय साथीहरू, म अब दुईवटा कुरा भनेर विदा हुन्छु।
मैले बाल कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेको हुँ, आज म नेपाली कांग्रेस पार्टीको सभापति छु।
पार्टी कार्यालय जाँदै गर्दा कहिलेकाहीँ सम्झन्छु, जननायक बिपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हाल्ने अवसर मजस्तो एउटा सामान्य नागरिकका लागि ठूलो कुरा हो। म यसमा गौरव गर्छु। पुराना कुराहरू सम्झेर रोमाञ्चित पनि हुन्छु। तर विगत १०-१२ वर्षमा मेरो पार्टीसमेत सम्मिलित भएका कतिपय कामको सन्दर्भमा मेरो शिर निहुरिन्छ, म ग्लानीको बोध पनि गर्दछु र आलोचित पनि हुन्छु।
विगत १०-१२ वर्षमा हामीले केवल एउटा कुरा हेर्यौं, निर्वाचन जित्नैपर्ने, त्यो निर्वाचन जितेर सरकारमा पुग्नैपर्ने, शक्ति चाहिने। त्यो शक्ति केका लागि चाहिने भन्दा, घरका लागि चाहिने, परिवारका लागि चाहिने, आफ्ना मान्छेका लागि चाहिने। यो गल्ती गरेकै हो, यो गल्ती भएकै हो। यसका निम्ति हामी गठबन्धनको राजनीतिमा लाग्यौं, भागबन्डाको राजनीतिमा लाग्यौं।
हामीले सफा गर्ने कोसिस पनि गर्यौं। तर सकेनौं।
भदौ २३ र २४ गते ठूलो झट्का लाग्यो। थुप्रै युवाहरूले सहादत प्राप्त गरे। हामीले पनि महसुस गर्यौं, अब अबेर गरेर हुँदैन, सानो सानो धक्का दिएर हुँदैन। आफ्नै पार्टीभित्र लड्यौं, विद्रोह गर्यौं। बाहिर सफा गर्नुभन्दा पहिला आफ्नै घर सफा गर्नुपर्छ भन्ने ठान्यौं।
सभापतिजी र साथीहरू, बाहिर लड्न सजिलो हुँदो रहेछ, आफ्नै घरभित्र लड्न गाह्रो हुँदो रहेछ। किनकि, त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ।
म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु — तपाईंहरूको यात्रा भर्खर सुरू भएको छ। सुशासन तपाईंहरूको मन्त्र छ। तपाईंहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई 'भगवान्' बनाएर गल्ती गरिसक्यौं, 'बा' बनाएर गल्ती गरिसक्यौं, तपाईंहरूले त्यस्तो गल्ती नगर्नुहोला। गल्ती गरेका बेला आफ्नै नेतामाथि पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं, त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी 'दास र लास'को पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नुपर्थ्यो, तर सकेनौं। तपाईंहरूले त्यसबाट पनि सिक्नुहोला।
म प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई भन्न चाहन्छु— आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदा अरू पार्टीका साथीहरूलाई भन्नैपर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि राख्नुपर्छ भन्ने म ठान्छु।
अन्त्यमा, आज म चितवन आउँदै गर्दा, मैले जताततै नीलो भएको देखेँ। सहरभरि नीलो छ। गज्जब देखिएको छ। यो चितवनले डिजर्भ गर्छ, यो चितवनको हक हो र राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हक हो।
भोलि ४,००० प्रतिनिधिहरू बसेर, यो नीलो झण्डामुनि बसेर नेपालको भविष्यको बारेमा छलफल गर्न जुट्नुहुनेछ। तपाईंहरूलाई फेरि पनि शुभकामना छ। यसो गर्दै गर्दा तपाईंहरूले विगतमा धेरै फर्कनुपर्दैन। हामीसँग लामो विगत छ। विगतका केही प्रेरणा हामीसँग छन्, केही सबल पक्ष छन्, विगतका केही ब्यागेजहरू पनि हामीसँग छन्। हामीले त्यसबाट भागेर हुँदैन। सिक्दै, सच्याउँदै जानुपर्छ।
तपाईंहरूलाई अगाडि बढ्न सजिलो छ। मेरो तपाईंहरूलाई शुभकामना छ। मैले तपाईंहरूबाट धेरै कुरा सिक्ने हो। म सिक्छु, मेरो पार्टीले पनि सिक्छ। हामी सिक्न चाहन्छौं।
तर म एउटा अनुरोध गर्दछु — जब तपाईंहरूले नीलो झन्डामुनि बसेर विगतलाई इन्कार गर्नुहुन्छ, विगतलाई खराब भन्नुहुन्छ, तब कृपया विगत ३५ वर्षमा केही पनि भएन भनेर नभन्दिनुहोला। कृपया पञ्चायतका ३० वर्षका संघर्षका कथाहरूलाई 'अन्डरमाइन' पनि नगर्नु होला।
तपाईं जुन ठाउँमा उभिनुभएको छ, त्यही माटोमुनि करिब ५० जना मान्छेको लास गाडिएको छ। २०१८ सालमा पञ्चायत सरकारले काटेर गाडेको छ। तपाईंहरू त्यही लासमाथि उभिनुभएको छ।
तपाईंहरूले भोलि कार्यक्रम गर्ने ठाउँमुनि पनि थुप्रै साथीहरू गाडिएका छन्।
ती सबैले कांग्रेसको चारतारे झन्डा उठाएका थिए। 'जय नेपाल' भनेका थिए। तर आफ्नो लागि होइन। आफ्नो परिवारका लागि होइन। टाउको काटियो, रेटियो, तर तिनले बोलेको कुरा तपाईंहरूका लागि थियो, मेरो लागि थियो, यो डेमोक्रेसीका लागि थियो। तपाईंहरूले नीलो झन्डा फहराउन पाउनुभएको छ, झन्डा फहराउँदै गर्दा एकपटक भुइँमा हेर्नुहोला, चितवनको भुइँमा हेर्नु होला, त्यहाँ रातो छ। त्यो रातो थुप्रै सहिदहरूको रगतको रातो हो। त्यसलाई तपाईंहरूले बिर्सन पाउनुहुन्न। हामी कसैले बिर्सन पाउँदैनौं। न जेनजी आन्दोलनमा सहादत पाएकाहरूलाई बिर्सन पाउँछौं, न नेपालका ती आन्दोलनहरूमा बलिदान पाएकाहरूलाई बिर्सन पाउँछौं।
त्यही डेमोक्रेसीलाई हामीले मन्त्र बनाएर सुशासन दिने हो, डेलिभरी दिने हो। शिक्षामा राम्रो गर्ने हो, स्वास्थ्यमा राम्रो गर्ने हो, सबै कुरा राम्रो गर्ने हो। हाम्रो कोही पनि दुश्मन छैन।
अन्त्यमा, गरिबी हाम्रो दुश्मन हो, अज्ञानता हाम्रो दुश्मन हो, विभेद हाम्रो दुश्मन हो र अक्षमता हाम्रो दुश्मन हो। यी सबैका विरूद्धमा राष्ट्रिय स्वतन्त्र पार्टीले लड्दै गर्दा नेपाली कांग्रेस पार्टीलाई तपाईंहरूले आफ्नो साथमा उभिएको पाउनुहुन्छ।
तर जहाँ विधि मिचिन्छ, त्यहाँ तपाईंहरूले नेपाली कांग्रेसलाई प्रश्न गर्दै गरेको पाउनुहुन्छ। किनकि, तपाईंहरूको धर्म तपाईंहरूले निर्वाह गर्ने हो, हाम्रो धर्म हामी निर्वाह गर्ने हो। आ-आफ्नो धर्म हामीले निर्वाह गर्ने हो। मलाई विश्वास छ, नेपालको राजनीति लामो समयको आरोह-अवरोहपछि एक ठाउँमा आएर थामिएको छ।
हामीले यो संविधानलाई जोगाउँछौं, यो व्यवस्थालाई जोगाउँछौं र यो अवस्था फेर्छौं भन्ने उद्घोष गरेका छौं। यसका लागि कसैले आफ्नो दलभित्र लडे, कसैले बाहिर लडे। तर सबैले मिलेर सफलता प्राप्त गर्छौं भन्ने विश्वास राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशनलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट हृदयबाटै फेरि एक पटक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रविजी, बालेनजी र सिंगो टिमलाई हृदयदेखि नै बधाई प्रकट गर्दै शुभेच्छा व्यक्त गर्दछु।
धन्यवाद, नमस्कार। जय नेपाल!
(नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा दिएको शुभकामना मन्तव्यको पूर्णपाठ)