काठमाडौं प्रेस डटकममा चैत १८ गते प्रकाशित 'महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता' शीर्षकमा छापिएको समाचार हटाएको स्वीकार गर्दै सिरान टेक्नोलोजिजले माफी मागेको छ।
सिरान टेक्नोलोजिज 'काठमाडौं प्रेस' को साइट डेभलपर हो। काठमाडौं प्रेस डटकमले बुधबार सिरानले अनलाइनको सिस्टमभित्रै घुसेर आफ्नो सञ्चालकविरूद्धको समाचार हटाइदिएको भन्दै आपत्ति जनाएको थियो।
सिरान टेक्नोलोजिजले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै उक्त समाचार हटाएकोमा माफी मागेको हो।
'काठमाडौं प्रेसको वेबसाइटबाट केही समयका लागि अनपेक्षित रूपमा समाचार हटेको घटनामा हामी क्षमाप्रार्थी छौं,' सिरानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटि स्वीकार गर्दै काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत, हाम्रा शुभचिन्तकसँग क्षमायाचना गर्छौं।'
लकडाउनका कारण आफ्नो प्राविधिक टिम घरबाट काम गरिरहेका बेला 'गलत सूचना आदानप्रदान हुँदा गम्भीर त्रुटि हुन गएको' कम्पनीले जनाएको छ।
सिरान टेक्नोलोजिज इसेवाको सहायक कम्पनी हो। यसका सञ्चालकमध्ये अस्गर अली प्रधानमन्त्रीका आइटी विज्ञ हुन्।
काठमाडौं प्रेस अनलाइनले बुधबार प्रधानमन्त्रीका आइटी विज्ञ अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल रहेको समाचार प्रकाशित गरेको थियो।
उक्त समाचार हटाउन पटक-पटक दबाब आएको तर नहटाएपछि सिस्टमभित्रै घुसेर समाचार हटाइदिएको काठमाडौं प्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारले सेतोपाटीलाई बताएका थिए।
यो पनि पढ्नुस्ः प्रधानमन्त्रीका आइटी विज्ञले आफूविरूद्धको समाचार अनधिकृत रूपमा मेटाइदिए
आफूलाई बिहान इसेवा र सिरान टेकसमेत सञ्चालन गर्ने एफवान सफ्टका सञ्चालक विश्वास ढकाल र इसेवाका प्रमुख कार्यकारी सुवास शर्माले फोन गरेर समाचार हटाउन भनेको परियारको भनाइ थियो।
पछि बुधबारै काठमाडौं प्रेसले हटाइएको समाचार पुन: प्रकाशित गरेको थियो।
यो पनि पढ्नुस्ः अनलाइन पोर्टलबाट प्रधानमन्त्रीका आइटी सल्लाहकारले समाचार अनधिकृत हटाएकोमा छानबिन गर्न सम्पादकहरूको माग
सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिः
