सत्तागठबन्धनले बनाएको स्थानीय तह चुनाव केन्द्रित तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा बसेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तागठबन्धनले चुनावी तयारी तथा अनुगमन समिति गठन गरेको थियो।
उक्त समितिको आज पहिलो बैठक बसेको हो।
‘बालुवाटारमा बैठक जारी छ,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले भने। बैठक सञ्चालन कार्यविधि बनाउनेदेखि चुनावी मापदण्ड तयार पार्नेजस्ता कामका लागि आज बैठक बसेको हो।
संयोजक पौडेलका अनुसार जिल्ला-जिल्लाबाट दलहरूको बस्तुगत अवस्थाबारे उल्लेख गरेर प्रतिवेदन पठाएका छन्।
कुन पालिकामा कुन दलको कस्तो अवस्था छ भन्ने हेरेपछि गठबन्धनभित्र रहेका दलहरूले चुनावी तालमेलको ढाँचा तय गर्ने भएका छन्।
पौडेल संयोजक रहेको समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्।
यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरूङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जसपाबाट वरिष्ठ नेता अशोक राई र मन्त्री रेणु यादव, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन्।
सत्तागठबन्धनले गत चैत १७ मा चुनावी तालमेल गरेर जाने औपचारिक निर्णय गरेका थिए। त्यसअनुसार जिल्लाहरूमा चुनावी तालमेलका निर्णय भइरहेका छन्।