नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका कार्यसमितिको बैठकले वैशाख ३० मा हुने स्थानीय चुनावमा अरू दलसँग चुनावी तालमेल जरूरी नपर्ने निश्कर्ष निकालेको छ।
आज बिहान बसेको कार्यसमिति बैठकमा चुनावी तालमेल र उम्मेदवार सिफारिसलगायत एजेन्डामाथि छलफल भएको थियो।
महानगरका सभापति नीलकाजी शाक्यले महानगरमा पार्टी बलियो रहेकोले अरू दलसँग तालमेलको जरूरी नपर्ने भएकोले एक्लै अघि बढ्न सुझाव आएको बताए।
‘मेयरका लागि महानगर सभापति नीलकाजी श्रेष्ठको नाम एक नम्बरमा राखेर सिफारिस गर्ने निर्णय भयो,’ उनले भने, ‘मेयरका लागि अन्य आकांक्षीको नाम लिएर केन्द्रमा सिफारिस गर्ने निर्णय छ।’
महानगरको मेयरका लागि उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नरोत्तम वैद्य, सुशन वैद्य, प्रगतीमान रञ्जित, सिर्जना सिंह, सपना जोशी, तीर्थराम डंगोललगायत आकांक्षी छन्।
साथै उनले महानगरमा कांग्रेस एक्लै चुनावमा जान सकिने अवस्था रहेको बताए।
‘चुनावी तालमेल अहिलेका लागि उपयुक्त छैन भन्ने सुझाव आएको छ,’ उनले भने। आजको बैठकमा ३२ जनाले धारणा राख्दा कसैले पनि गठबन्धन गरेर जानुपर्ने पक्षमा बोलेका थिएनन्।
केही दिनमा मेयर र उपमेयरका लागि आकांक्षीको नाम केन्द्रमा पठाउने उनले जानकारी दिए।