नेपाली कांग्रेसले सरकारमा जानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलपछि निर्णयमा पुग्ने बताएको छ।
प्रधानमन्त्री प्रचण्डले ८ दलको बैठक राखेर छलफल गरेपछि सरकारमा जानेबारे निर्णयमा पुगिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।
‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट बाहिरिने निर्णय गरेपछि आजदेखि थप नयाँ परिस्थिति सिर्जना भएको छ,’ प्रवक्ता महतले सेतोपाटीसँग भने, ‘कांग्रेस सरकारमा जानेजस्ता विषयमा प्रधानमन्त्रीजीले पहल गर्नुहोला, बैठक राख्नुहोला।’
सत्ता साझेदार सबैभन्दा ठूलो दल नेकपा एमाले सोमबार सरकारबाट बाहिरिएको छ। राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी पनि यसअघि नै सरकारबाट बाहिरिएका थिए। यी दलहरू बाहिरिएपछि १६ मन्त्रालय खाली भएको छ।
यी दलहरू सरकारबाट बाहिरिएपछि र समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले पुन: संसदबाट विश्वासको मत लिनुपर्ने भएको छ। एक महिनाभित्र प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रवक्ता महतले राष्ट्रपति उम्मेदवार तय गर्दा नै प्रधानमन्त्रीलाई असजिलो पर्दा विश्वासको मत दिनेजस्ता काम गरिनेबारे कुराकानी भएको बताए।
‘राष्ट्रपति निर्वाचनमा ८ दल एक ठाउँमा उभिएका थिए। ती दलहरू एक ठाउँमा बसेपछि के कसरी अगाडि बढ्ने निष्कर्ष निस्केला,’ महतले भने, ‘राष्ट्रपति निर्वाचनमा हाम्रा उम्मेदवार रामचन्द्र पौडेलजीलाई समर्थन गर्दा त्यस्तो परिस्थिति आयो भने हामीले सरकारलाई समर्थन गर्ने कुरा भएकै थियो। त्यसलाई कसरी अघि बढाउने भन्ने कुरा छलफल हुन्छ।’
८ दलबीच बैठक बसेपछि मात्रै सरकारमा कहिले जानेजस्ता विषयमा कुराकानी हुने महतले बताए। ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि वा अघि सरकारमा जाने भन्नेबारे त छलफलपछि थाहा हुन्छ,’ उनले भने, ‘हामीले प्रधानमन्त्रीजीलाई पहिले पनि समर्थन दिएकै हो।’
पहिलो चरण को प्रधानमन्त्री बन्ने भन्ने कुरा नमिल्दा चुनावका बेलाको पाँचदलीय गठबन्धन टुटेको थियो। पहिलो कार्यकाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अडानमा बसेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालकोट पुगेर गत पुस १० गते एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।
तर गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएपछि नयाँ परिस्थिति बनेको थियो। कांग्रेसले विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको र त्यसमा माछा नपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका थिए। तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसका नेताहरूले प्रधानमन्त्री दाहालसँग भेटवार्तालाई बाक्लो बनाए र राष्ट्रपतिमा माओवादीको समर्थन लिएका थिए। दाहालले पनि राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गरिनुपर्ने बताइरहेका थिए।
तर एमालेलाई राष्ट्रपतिमा सहयोग गर्ने पुस १० को सहमति प्रधानमन्त्री प्रचण्डले तोडेको भन्दै एमालेले सोमबार सरकार छाडेको छ। अब प्रधानमन्त्री प्रचण्डले चुनावका बेलाको पाँच दल र नयाँ थपिएका साना दल समेटेर ८ दल सामेल हुने गरी मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना छ।
गत शुक्रबार ८ दलबीच छलफल हुँदा शक्ति बाँडफाँटमा समेत सहमति भएको थियो। प्रचण्ड साढे २ वर्ष प्रधानमन्त्री हुने, त्यसपछि माधवकुमार नेपाल १ वर्ष प्रधानमन्त्री हुने र त्यसपछि चुनाव गराउने गरी अन्तिममा डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति बनेको थियो।