अल्पमतमा रहेको मधेस प्रदेश सरकार जोगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालले सहकार्यका लागि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग संवाद जारी राख्ने निर्णय गरेको छ।
मधेस भवनस्थित मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा बिहीबार बसेको जसपा संसदीय दलको बैठकले दुबै पार्टीको समर्थन लिई यही सरकार टिकाइराख्न हरसम्भव कोसिस गर्ने निर्णय गरेको जसपा संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले बताए।
जसपा विभाजनपछि नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिइसकेको छ।
नेकपा एकीकृत समाजवादीको मात्रै समर्थन रहेको जसपा नेतृत्वको प्रदेश सरकार अहिले अल्पमतमा छ।
दुवै दलले समर्थन फिर्ता लिइसकेपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
संसदीय दलको बैठकमा ३० दिन नकुरेर त्यस अगावै विश्वासको मत लिने समेत निर्णय भएको प्रमुख सचेतक यादवले जनाए।
‘बहुमतका लागि सहकार्य गर्न कांग्रेस र लोसपासँग संवाद जारी राख्ने निर्णय भएको छ। दुबै पार्टीसँग संवाद भइरहेको पनि छ। उनीहरू सरकारलाई समर्थन दिन सकारात्मक पनि छन्। यो सरकारले विश्वासको मत पाउँछ,’ उनले भने।
नीति तथा कार्यक्रममा कस्ता योजना समावेश गर्नेबारे दलका सबै सांसदहरूले सरकारलाई लिखित सुझाव समेत दिने निर्णय भएको उनको भनाइ छ।
विभाजनपछि आएको अवस्थालाई मध्यनजर गरी पार्टीलाई थप मजबुत बनाउन सम्पूर्ण सांसद एक ढिकका भएर लाग्ने पनि संसदीय दलले निर्णय गरेको छ।
विभाजनपछि बसेको संसदीय दलको दोस्रो बैठकमा जसपाका १९ मध्ये १८ जना सांसद उपस्थित भएका थिए।
पूर्वमुख्यमन्त्री लालबाबु राउत पार्टीकै काममा लागेकाले उनी बैठकमा आउन नसकेको प्रमुख सचेतक यादवले बताए।