ललितपुर महानगरले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका सन्दर्भमा छलफल गर्न ललिपुर जिल्लाका सांसदहरूसँग छलफल आयोजना गरेको छ।
छलफल कार्यक्रममा ललितपुर क्षेत्र नंं.१ का सांसद उदय शमशेर राणाले तीन तहको सरकारबीच योजनामा डुप्लिकेसन रहेको स्वीकार गरे।
संघीय सांसदको भूमिकामा ललितपुर महानगरसँग योजनाहरूमा समन्वय गर्ने उनले बताए।
ललितपुर महानगरभित्र सार्वजनिक जग्गा अतिक्रमण धेरै भएको स्पष्ट पार्दै ललितपुर महानगरले पार्किङलाई अबको आर्थिक वर्षको योजनामा प्राथमिकता राख्नुपर्ने उनले बताए।
अबको आर्थिक वर्षदेखि बजेट साइकल बदलिएको बताउँदै उनले भने, ‘पुँजीगत खर्चका लागि बजेट साइकलले सहयोग गर्छ।’
ललितपुर क्षेत्र नंं.३ की सांसद तोसिमा कार्कीले दैनिक हजारौं नेपाली नागरिक बिदेसिएको अवस्थालाई इंगित गर्दै उनले महानगरले पार्ट टाइम जबको अवधारणा ल्याउन सुझाव दिइन्।
त्यसैगरी एक घर एक रोजगारीको अवधारणालाई कार्यान्वयन गर्न महानगरले विशेष योजना ल्याउनुपर्ने उनले धारणा राखिन्।
ललितपुर महानगरको वडा नंं. १४ मा रहेको उमा महेश्वर स्वास्थ्य सेवा केन्द्र तथा परिवार नियोजन संस्थागत क्लिनिकमा भएका स्वास्थ्य उपकरण वर्षौदेखि प्रयोगविहीन भएको तर्फ इंगित गर्दै वडामा रहेको स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो।
उनले भनिन्, ‘वडामा चिकित्सक हुँदा, सामान्य चिरफार र औषधि उपचारका लागि पाटन अस्पताल नै पुग्नु पर्दैन, वडामा नै डाक्टर व्यवस्था हुँदा पाटन अस्पतालमा बिरामीको घुइँचो हुँदैन।’
तीन तहको सरकारको समन्वय होस् भनेर यो छलफल कार्यक्रम आयोजना गरेकोमा सासंद डा तोसिमा कार्कीले महानगरलाई धन्यवाद दिइन्।
ललितपुर महानगरमा ललितपुर क्षेत्र नंं.२ का सासंद प्रेम महर्जनले नागरिकलाई अनुभव गर्न सक्ने गरी विकास गतिविधि अनुभूति गराउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए।
महानगरकाभित्र धेरै कृषिजन्य जमिन रहेको बताउँदै ती जमिनको उपयोग गरेर उत्पादन कृषि उत्पादन बढाउने योजनालाई प्राथमिकता दिन उनले महानगरलाई अनुरोध गरे।
उनले भने, ‘यसले आयातलाई रोक्छ, आत्मनिर्भर बनाउँछ’ महानगरमा सार्वजनिक जग्गा अतिक्रमण धेरै संरक्षण महानगरले प्राथमिकता दिनुपर्ने बताए।